
काठमाडौं । सरकारले चालु वर्षको वर्षायाममा आएको बाढीपहिरोका कारण ३८१ सडक र पुललगायतका पूर्वाधारमा क्षति भएको जनाएको छ । सोमबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएको हो । प्राधिकरणका अनुसार सातै प्रदेशमा बाढीपहिरोका कारण साना-ठूला गरी सो क्षति भएको देखिएको जनाएको छ । सबैभन्दा बढी असार, साउन, भदौ र असोजमा आएको बाढीका कारण सबैभन्दा बढी बागमतीमा क्षति भएको देखिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव डा. भीष्मकुमार भुसालले जानकारी दिनुभयो ।
उहाँले बाढीले क्षति गरेका १७४ सरकारी भवनहरू पुनर्निर्माण गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले बाढीका कारण ऊर्जा तथा जलस्रोतका दुई हजार १९ वटा आयोजनाहरू पुनर्निर्माण गर्नुपर्ने देखिएको बताउनुभयो । उहाँले विपद्पछि पुनर्निर्माणका लागि गर्नुपर्ने कतिपय कामहरू गर्न सरकारले पुस २८ गते गरेका निर्णयले सहज भएको बताउनुभयो । उहाँले सातै प्रदेशमा भएको क्षति पुनर्निर्माणका लागि इञ्जिनियरहरू आवश्यकता पर्ने भएकाले सातै प्रदेशमा रहेका इञ्जिनियरहरूलाई आवश्यकताका आधारमा सबैतिर खटाएर काम गर्ने निर्णय आइतबार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १६औँ बैठकले गरेको बताउनुभयो ।
उहाँले पुनर्निर्माण प्रक्रियालाई अगाडि बढाउनका लागि पनि अड्किएर बसेका कामहरू निजी आवास पुनर्निर्माणका लागि कार्यविधि स्वीकृत भएसँगै अगाडि बढ्ने बताउनुभयो । उहाँले सरकारले विपद्मा राम्रोसँग सूचना सञ्चार हुन नसकेको कारणले क्षतिहरू बढेको अवस्थालाई मूल्यांकन गरी प्राधिकरणले जोखिम न्यूनीकरणका लागि सूचना तथा सञ्चार योजना पनि जारी गरेको बताउनुभयो । त्यस्तै, सरकारले विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड नेपाल सरकारले जारी गरेको बताउनुभयो ।
आइतबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १६औँ बैठकले पश्चिम नेपाल भूकम्प तथा २०८१ सालको मनसुनजन्य विपद्पश्चातको पुनर्निर्माण तथा पुनः स्थापनाका लागि योजना स्वीकृत गरेको थियो । योजना स्वीकृतिसँगै आगामी माघ २ गतेदेखि लाभग्राहीसँग सम्झौता प्रक्रिया प्रारम्भ गरी पुनर्निर्माण थालनी हुने प्राधिकरणले जनाएको छ । क्षतिको विस्तृत आँकलन (डिडिए) नभएका क्षेत्रमा सोही दिनदेखि डिडिएको प्रक्रिया प्रारम्भ गर्ने निर्णय भएको जानकारी दिनुभयो । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय प्राधिकरणले पुनर्निर्माण र पुनःस्थापनाका लागि सडक तथा यातायात, सरकारी भवन तथा शहरी पूर्वाधार, विद्युत् वैकल्पिक ऊर्जा र सिँचाइ, निजी आवास, शैक्षिक संरचना, स्वास्थ्य संरचना, खानेपानी सरसफाइ तथा स्वच्छता र पुरातात्विक संरचनालाई प्राथमिकताका क्षेत्रमा समावेश गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच