
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको हिरासत बसाइ पुनः लम्बिएको छ । सोमबारबाट सुरु भएको थुनछेक बहस नसकिएपछि गार्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्धकसमेत रहनुभएका लामिछाने कम्तीमा बुधबारसम्म हिरासतमा रहनुपर्ने भएको हो । आज (मंगलबार) सरकारी बिदा भएकाले बुधबार मात्रै फेरि निरन्तर सुनुवाइ हुनेछ । उहाँविरुद्ध काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगीमा पनि मुद्दा दर्ता भएको थियो । मुद्दाको बयानका लागि लामिछाने आइतबार काठमाडौं जिल्ला अदालत हाजिर हुनुभएको थियो । बयान नसकिएपछि न्यायाधीश माधवप्रसाद अधिकारीले आइतबार रविलाई हिरासत पठाउने आदेश दिनुभएको थियो । सोमबार पनि रवि पक्षका वकिलहरूले बाहिरै राख्न अनुरोध गरेका थिए । तर, न्यायाधीश अधिकारीले आइतबारकै आदेशलाई निरन्तरता दिनुभयो ।
काठमाडौं जिल्ला अदालतमा सोमबार पीडित र सरकारी वकिलले बहस गरेका थिए । समय अभाव भएकाले प्रतिवादीको तर्फबाट भने बहस हुन सकेन । उहाँको आदेशसँगै रविलाई न्यायिक हिरासतमा पठाइएको थियो । लामिछानेलाई प्रहरीको जिम्मा लगाइएको हो । बुधबार अदालतमा पेस गर्न आदेश दिएको छ ।
सोमबार पहिले वादी पक्षबाट सरकारी वकिल र जाहेरवाला तर्फका कानुन व्यवसायीले मात्र बहस गरेका थिए । सरकारी वकिलका तर्फबाट चन्द्रप्रसाद सन्जेल, खडिन्द्रराज पन्त, राधिका सुवाल, सन्तोषराज कटुवाल लगायतले बहस गर्नुभएको थियो । त्यसपछि जाहेरवालाका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले बहस गर्नुभएको थियो । प्रहरीले स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन गरेको लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो । सहकारीबाट अपचलन भएको रकमसहित प्रहरीले एक अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ बिगो मागदाबी गरेको छ । स्वर्णलक्ष्मी सहकारीका साढे पाँच हजार बचतकर्ताको एक अर्ब १९ करोड संगठित रूपमा ठगी गरेको अभियोग छ । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम ठगी मुद्दामा उहाँ बिहीबार कास्की जिल्ला अदालतबाट धरौटीमा छुट्नुभएको थियो । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
जिल्ला अदालतले गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई ६५ लाख, पूर्वउपाध्यक्ष छविलाल जोशीलाई ८८ लाख, रामबहादुर खनाललाई १५ लाख, लीला पछाईलाई ३७ लाख रुपैयाँ धरौटी तोकेको थियो । यस्तै, सूर्यदर्शन सहकारीका पूर्व-पदाधिकारी कृष्णबहादुर गुरुङलाई एक लाख, मीना गुरुङ र आरती गुरुङलाई पाँच-पाँच लाख रुपैयाँ धरौटी तोकिएको थियो । धरौटी बुझाएर ६ जना बिहीबार नै छुटेका थिए । पछाई शुक्रबार धरौटी बुझाएर रिहा हुनुभयो । अदालतको आदेशसँगै उहाँ ८४ दिनपछि हिरासतमुक्त हुनुभएको थियो । उहाँलाई गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेर पोखरा लगिएको थियो । पोखरासँगै उहाँलाई रुपन्देही, काठमाडौं, चितवन र पर्सासमेत लगेर बयान लिइएको थियो ।
लामिछानेविरुद्ध रुपन्देहीको सुप्रिम सहकारी, चितवनको साहारा र पर्साको सानो पाइला सहकारीमा पनि ठगी आरोपमा मुद्दा दर्ताको तयारी भइरहेको छ । सूर्यदर्शन सहकारीकै ठगीमा गत वर्ष १९ जनाविरुद्ध मुद्दा चलाइएकामा पक्राउ परेका ६ जनालाई नै जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको थियो । रिहाइको माग गर्दै उच्च अदालत पोखरा र सर्वोच्च अदालतमा निवेदन दिए पनि कास्की अदालतकै आदेश सदर भएका कारण उनीहरू कारागारमा छन् । सरकारी वकिलको कार्यालयले लामिछानेविरुद्ध सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामा लगी अपचलन गरेको तीन करोड ३७ लाख ६५ हजार रुपैयाँका लागि अभियुक्त बनाएको थियो । यस्तै, सम्पत्ति शुद्धीकरणतर्फ २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ बिगो कायम गरी त्यति नै जरिवाना मागदाबी गरिएको छ ।
प्रधानमन्त्रीविरुद्ध रास्वपा कार्यकर्ताको उत्तेजक नाराबाजी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध उत्तेजक नाराबाजी गरेका छन् । जिल्ला अदालत काठमाडौंले सोमबार पनि पुनः रास्वपा सभापति रवि लामिछानेलाई हिरासतमा पठाउन आदेश दिएपछि रास्वपा कार्यकर्ताले उत्तेजक नाराबाजी गरेका हुन् । थुनछेक बहस नसकिएपछि न्यायाधीशले प्रहरी हिरासतमा पठाउने आदेश दिएपछि रास्वपा समर्थकले काठमाडौं जिल्ला अदालतबाहिर प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गरेका हुन् । थुनछेक बहसका क्रममा बोल्दै रविले आफू पोखराबाट आएर अदालतमा हाजिर भएको उल्लेख गर्दै फेरि घर पठाइदिन आग्रह गर्नुभएको थियो । सहकारी ठगी प्रकरणमा लामिछानेलाई प्रहरीले पक्राउ गरेदेखि नै रास्वपाका नेता कार्यकर्ता सरकारले प्रतिशोध राखेको भन्दै चर्को विरोध गर्दै आएका छन् । रवि पक्राउलगत्तै पोखरा केन्द्रित आन्दोलन गरेको रास्वपाले त्यसपछि केही दिन काठमाडौंमा पनि प्रदर्शन गरेको थियो । तर, समर्थकको उल्लेख्य साथ नपाएपछि रास्वपा विरोधका कार्यक्रमबाट ब्याक भएको थियो । लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दायर भएसँगै उहाँको सांसद पद निलम्बनमा परेको छ । प्रहरीले मुद्दा दायर गरेसँगै रास्वपाले उपसभापति डोलप्रसाद अर्याललाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएको छ । त्यसअघि लामो समयसम्म रास्वपाले कार्यबाहक सभापति तोकेको थिएन । मुद्दा दाएर भएपछि मात्रै रास्वपाले कार्यबाहक सभापति तोकेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच