
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले दुवै छिमेकी देश भारत र चीनले नेपालसँगको सम्बन्धलाई महत्व दिएर प्राथमिकतामा राखेका उल्लेख गर्नुभएको छ । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सोमबारको बैठकमा मन्त्री डा. राणाले दुवै देशले नेपालसँगको सम्बन्धलाई प्राथमिकताका साथ महत्व दिएका र नेपालसँग आवश्यक मात्रामा सम्वाद, सम्पर्क तथा अन्तरक्रिया भइरहेका जानकारी गराउनुभयो । ‘विभिन्न द्विपक्षीय बैठकहरू, भ्रमण आदानप्रदानका साथै सम्पर्क र सम्वाद भइरहेको छ, नेपाललाई दुवै देशले विगतदेखि सहयोग गर्दै आउनुभएको छ र यो सहयोग र सद्भावले आगामी दिनमा पनि निरन्तरता पाउने नै छ’, उहाँले भन्नुभयो । बैठकमा पछिल्लो समयमा नेपालको कूटनीतिक सम्बन्धका बारेमा समितिका सदस्यहरूले राखेको जिज्ञासामा मन्त्री राणाले उक्त जवाफ दिनुभएको हो ।
जयशंकरको जवाफले परराष्ट्रमन्त्री नाजवाफ भएपछि...
लामो समयदेखि अवरुद्ध रहेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको गतिविधि सुचारु गर्ने सम्बन्धमा नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच भएको संवादले कूटनीतिक तरंग सिर्जना गरेको छ । परराष्ट्रमन्त्री डा.आरजु राणाले भारतीय समकक्षी एस.जयशंकरसँग सार्कबारे कुराकानी गर्दा आफू नाजवाफ भएको बताउनुभएको छ ।
संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको सोमबारको बैठकमा सांसदहरूले सार्क सम्मेलनबारे जिज्ञासा राखेपछि परराष्ट्रमन्त्री डा. राणाले आफूले लिएको पहलबारे जानकारी गराउनुभएको थियो । सो क्रममा राणाले गत भदौमा भारत भ्रमणका दौरान भारतका विदेशमन्त्री एस.जयंशकरलाई आफूले सार्क सम्मेलन आयोजनाबारे जिज्ञासा राखेको बताउनुभएको हो । राणाको जिज्ञासामा जयशंकरले दिएको जवाफ राणाले संसदीय समितिमा जस्ताको तस्तै सुनाउनुभएको हो । ‘भारत भ्रमणका क्रममा मैले सार्क राष्ट्रका प्रमुखहरूको बैठकबारे एस जयशंकरसँग कुरा उठाएको थिएँ । जयशंकरले त्यसबेला, तिम्रो देशमा आएर कसैले मान्छे मारेको भए मिटिङ हुन्थ्यो ? भनेर सोध्नुभयो । त्यसपछि मैले केही भन्ने अवस्था नै रहेन’ राणाले भन्नुभयो । जयशंकरको जवाफ पाकिस्तानप्रति लक्षित थियो ।
पाकिस्तानसँगको तनावलाई कारण देखाउँदै सार्क सम्मेलन हुन नदिन भारतले भूमिका निर्वाह गरिरहेको छ । २०१४ मा नेपालमा १८औँ सार्क शिखर सम्मेलन भएको थियो । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका तत्कालीन प्रधानमन्त्री नवाज सरिफबीच हात मिलाइदिएर सम्बन्ध सुधारका लागि पहल गर्नुभएको थियो ।
संसदीय समितिको बैठकमा परराष्ट्रमन्त्री राणाले भारतीय विदेशमन्त्रीको भनाइ जस्ताको तस्तै सुनाएपछि कूटनीतिक क्षेत्रमा तरंग छ । भारतसँग सम्बन्ध सुधार्न सरकार प्रयत्नरत छ । एक महिनाअघि भारत जाँदा परराष्ट्रमन्त्री राणाले कुनै उच्चस्तरीय भेटघाट गर्न पाउनुभएको थिएन । जानकारहरू परराष्ट्रमन्त्रीको पछिल्लो अभिव्यक्तिले पनि भारतीय पक्षलाई चिढ्याउने बताउँछन् । नेपालले अहिले सार्कको अध्यक्षता गरिरहेको छ ।
बिआरआईमा ऋण उल्लेख छैन
परराष्ट्रमन्त्री डा. राणाले चीनसँग गरिएको बिआरआई कार्यान्वयन सम्झौता नेपालको हितमा रहेको दाबी गर्नुभएको छ । संसदीय समितिमा सांसदहरूको जिज्ञासाको जवाफ दिँदै उहाँले बिआरआईअन्तर्गत सहयोग परियोजनामा हस्ताक्षर भएको तर ऋण लिने उल्लेख नभएको बताउनुभयो । ‘चीनसँगको सम्झौतामा कतै पनि ऋण शब्द उल्लेख छैन । नेपालमा ऋण भनेर प्रचार गरेको पाइयो । ऋण लिने भनेर कतै लेखिएको छैन । ग्राण्ट र एड शब्दको अर्थ ऋण भन्ने हुँदैन’, राणाको भनाइ छ । उहाँले नेपाललाई सहयोग गर्न चीन र भारत दुवै तयार रहेको भन्दै दुवै देशसँगको सम्बन्ध सुमधुर ढंगले अगाडि बढिरहेको जिकिरसमेत गर्नुभयो ।
सांसदहरूले पोखरा विमानस्थल लगायतका विषयमा उठाएको प्रश्नको जवाफ दिँदै राणाले चिनियाँ समकक्षीसँगको भेटका क्रममा चीनले पोखरा विमानस्थल सञ्चालनमा उचित सहयोग गर्ने प्रतिबद्धता जनाएको उल्लेख गर्नुभयो ।
विपिन रिहा हुने विश्वास
परराष्ट्रमन्त्री डा. राणाले हमासको अपहरणमा परेका कञ्चनपुरका विपिन जोशी सकुशल रिहा हुने विश्वाससमेत व्यक्त गर्नुभयो । सरकारले विपिनको रिहाइका लागि हरसम्भव प्रयास गरिरहेको भन्दै राणाले विपिन रिहाइका लागि गरिएका कूटनीतिक प्रयासहरूको सकरात्मक संकेत पाएको बताउनुभयो । ‘विपिन भाइ सकुशल हुनुहुन्छ, उहाँ फर्केर आउनुहुन्छ भन्नेमा ढुक्क छु’, संसदीय समितिमा राणाले भन्नुभयो । उहाँले रुस र युक्रेन युद्धमा फसेका नेपालीहरूलाई स्वदेश फर्काउन पनि सरकारले पहल गरिरहेको उल्लेख गर्नुभयो ।
उहाँले बैठकमा अमेरिकामा भएको संयुक्त राष्ट्रसंघीय महासभाको ७९औँ महासभामा प्रधानमन्त्री केपी शर्मा ओली र आफ्नो सहभागिता र त्यसक्रममा भएका विविध भेटघाट एवं कार्यक्रम, प्रधानमन्त्री ओलीको चीन भ्रमणका साथै आफ्नो भारत भ्रमण र ती भ्रमणमा भएका समझदारी, सम्झौता तथा द्विपक्षीय भेटघाटका विषयमा जानकारी गराउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच