
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल विभाजनसम्बन्धी कानुनलाई सच्याउनुपर्ने आवश्यकता भए पनि कुनै दललाई फुटाउने र मिलाउने काम आफ्नो नभएको स्पष्ट पार्नुभएको छ । कुनै दल फुटाउने वा मिलाउने काम आफूले नगर्ने तर राजनीतिक दलसम्बन्धी कानुनलाई भने सच्याउनुपर्ने उल्लेख गर्नुभएका प्रधानमन्त्री ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लाग्यो भनेर केहीले झुटो कुरा फैलाएको टिप्पणी गर्दै भन्नुभयो, ‘दल विभाजन गराउनेसम्बन्धी अध्यादेश ल्याउन लाग्यो भनेर झुट र नकारात्मकता फैलाइयो । कुनै पनि दल मिल्ने र फुट्ने ती दलको आन्तरिक विषय हुन् ।’ विगतमा आफू प्रधानमन्त्री हुँदा कुनै दल विभाजन हुने स्थिति आएमा संसदीय दल र केन्द्रीय कमिटी दुवैमा ४० प्रतिशत चाहिने संविधानको व्यवस्था कार्यान्वयनमा जटिलता आएकाले संसदीय दल वा केन्द्रीय कमिटीमा ४० प्रतिशतको प्रबन्ध गरेर अध्यादेश ल्याएको र विरोध आएपछि फिर्ता लिएको उहाँको भनाइ छ । त्यसबेला विरोध गर्नेहरूले २० प्रतिशत सांसदले पनि दल विभाजन गर्न पाउने भन्ने व्यवस्था गरेर दल विभाजन गराएको नेकपा एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीको टिप्पणी छ । आफू त्यस्तो कुकर्म गर्ने मनसायमा नरहेको पनि उहाँको दाबी छ ।
‘राम्रो काम राति गर्न हुन्न भन्ने छ र ?’
प्रधानमन्त्री ओलीले देश विकास र जनताका सेवालाई ध्यानमा राखेर सरकारले राष्ट्रपतिसमक्ष विभिन्न अध्यादेश सिफारिश गरेको बताउनुभएको छ । नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बधाई तथा शुभकामना दिने क्रममा प्रधानमन्त्री ओलीले जारी नै नभएको अध्यादेशलाई राति राति जारी गर्यो भनेर सम्प्रेषण गरिएको भन्दै असन्तुष्टि जनाउनुभयो । मुलुक र जनताका पक्षमा आफूहरूले दिनरात नभनी काम गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘मैले दल फुटाउन अध्यादेश ल्याएको होइन । त्यो अध्यादेश मध्यरातमा जारी गरियो भनेर पनि हल्ला गरियो । त्यो अध्यादेश त हामीले दिउँसै तयार गरेका हौँ । हामी १०-५ को जागिर खान आएका होइनौँ । देश र जनताप्रतिको जिम्मेवारी बोध गरेर दिउँसो वा राति काम हुन्छ । लुकाएर र छलछाम गरेर काम गर्ने मेरो बानी छैन । देशका हितमा खुलेआम काम गर्ने हो । राम्रो काम राति गर्न हुन्न भन्ने छ ? के बिहान साइत पारेर भ्रष्टाचार गरेमा त्यो राम्रो हुन्छ र ?’ प्रधानमन्त्री ओलीले आफूले जीवनभर स्वयंसेवीको रूपमा काम गर्दै आएको जिकिर गर्दै काम गर्दै जाँदा कतिपय कामको सेड्युल राति पुग्ने गरेको र त्यसलाई अनर्थ लगाउँदै भ्रम छर्ने काम भएको गुनासोसमेत गर्नुभयो । आफू भ्रष्टाचार नगर्ने र भ्रष्टाचारविरोधी अभियानमा रहेको समेत उहाँको भनाइ छ ।
स्वीस बैंकमा पैसा भएको प्रमाणित गर्न चुनौती
प्रधानमन्त्री ओलीले पछिल्लो समय सामाजिक सञ्जालबाट अराजकता फैलिने काम भएको उल्लेख गर्दै त्यस्तो कार्य रोकिनुपर्नेमा जोड दिनुभएको छ । आफूविरुद्ध स्वीस बैंकमा पैसा राखेको भन्ने गलत प्रचार भएको उल्लेख गर्नुभएका प्रधानमन्त्री ओलीले त्यसको पुष्टि गर्न चुनौती दिँदै भन्नुभयो, ‘पछिल्लो समय सामाजिक सञ्जालमा अराजकता बढेको छ । स्वीस बैंकमा मेरो पैसा छ भन्ने गलत हल्ला चलाइयो । त्यो छानविन गर्ने हो भने सरकारी स्तरबाटै पनि छानविन गर्न तयार छु । त्यसका लागि समिति नै बनाउन तयार छु । त्यसरी हल्ला फैलाउने काम गर्नु गलत हो । यस्ता विषयमा पत्रकारहरू पनि सचेत हुनुपर्छ ।’ महासंघको नेतृत्वले प्रधानमन्त्री ओलीलाई ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री ओलीले त्यसलाई कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको समेत बताउनुभएको छ । तर, कांग्रेस सभापति शेरबहादुर देउवाबाट अध्यादेशको विरोध भयो भन्ने झुटो वक्तव्य प्रचार गरिएका जस्ता घटनाबाट नेपाली पत्रकारिता बच्नुपर्ने उहाँले जोड दिनुभयो । यस्ता सूचना र समाचारका कारण जनताको सूचनाको हकको घाँटी निमोठिने भएकाले लोकतन्त्रको दुरुपयोग हुन नदिन पत्रकार महासंघले पनि भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाइ छ । सरकारले विभिन्न नाममा हुने किर्ते र जाली काम रोक्नेगरी कानुन ल्याउने जानकारी दिँदै प्रधानमन्त्री ओलीले पत्रकारको पेसागत सुरक्षा हुनुपर्ने र त्यसमा राज्यको भूमिका हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
देउवाले सरकार र अध्यादेशको विरोध गरेको ‘फेक विज्ञप्ति’ भाइरल
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नाममा ‘फेक विज्ञप्ति’ भाइरल भएपछि नेपाली कांग्रेसले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आइतबार सभापति देउवाको नाममा सरकारले शुक्रबार ल्याएको अध्यादेश र सरकारको विरोध गरेको फेक विज्ञप्ति भाइरल बनेको थियो । फेक विज्ञप्ति भाइरल भएपछि कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली राजनीतिलाई तरंगित गर्ने, गठबन्धनको सरकारका बारेमा अन्योल सृजना गरी नेपाली जनतालाई दिग्भ्रमित गर्ने कुत्सित मनसायबाट नेपाली कांग्रेस पार्टी सभापतिको नामबाट नक्कली प्रेस वक्तव्य विभिन्न सामाजिक सञ्जालहरूमा सम्प्रेषित भएकोमा हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । हतास मनस्थितिबाट घृणित कार्य गरिएकोमा निन्दा गर्दछौँ । त्यस्ता गैरकानुनी कार्यमा संलग्न जो कसैलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग नेपाली कांग्रेस जोडदार माग गर्दछ ।’ कांग्रेसले भ्रमित गतिविधिबाट प्रभावित नहुन सबैमा अनुरोधसमेत गरेको छ ।
संसद् बैठक शीघ्र आहृवान गर्न नागरिक समाजको आग्रह
नागरिक समाजका अगुवाहरूले यथाशक्य चाँडो संसद् बैठक आहृवान गर्नुपर्नेमा जोड दिँदै सबै ऐन कानुन सदनबाटै बन्नुपर्ने बताएका छन् । नागरिक समाजका अगुवाहरूको बैठकले संघीय संसद्को अधिवेशन तत्काल आहृवान गर्न सरकारसँग माग गरेको हो । नागरिक समाजका अगुवाहरू केदारनरसिंह केसी, गोपालकृष्ण घिमिरे, निर्मला शर्मा, विष्णु निष्ठुरी, उपेन्द्रकेशरी न्यौपाने, प्रेमबहादुर खड्का, शेरबहादुर केसी, युवराज घिमिरे, चरण प्रसाईं, डा.चोपलाल भुसाल, डा.अनिलविक्रम कार्की, डा.सञ्जीव तिवारी, डा.भूपेन्द्र बस्नेत, डा.बद्री रिजाललगायत समाजका सदस्यहरूको बैठकले अध्यादेशको मार्ग नरोज्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच