
दाङ । आज माघ १ अर्थात् माघे संक्रान्ति । यस्तै, आज राष्ट्रिय योग दिवस पनि रहेको छ । माघे संक्रान्ति मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । थारू, मगर, किराँत समुदायले माघ १ गतेलाई नयाँ वर्षका रूपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर मनाउँछन् । आज नेपालमा विभिन्न नदीनाला, खोला तथा त्रिवेणीमा गएर स्नान गर्नुका साथै पूजाआजा गर्ने प्रचलन रहेको छ । माघे संक्रान्तिका दिनबाट सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने भएकाले यसलाई ‘मकर संक्रान्ति’ पनि भन्ने गरिन्छ । धार्मिक मान्यताअनुसार पनि माघ महिना विशेष हुन्छ । सामान्यतया पुस महिनामा विवाह व्रतबन्ध जस्ता कार्यक्रम नहुने हुँदा माघ सुरु भएलगत्तै विवाहलगायत शुभकार्य गर्ने चलन पनि रही आएको छ ।
विविध जाति, समुदाय र सम्प्रदायको बाहुल्यता रहेको हाम्रो देशमा यो पर्व धेरैले मनाउने गरेको पाइन्छ । तराईका जिल्लाहरूमा मैथिलीले तिला संक्रान्ति पर्वका रूपमा मनाउँछन् । तराईमा यसदिन खिचडी, तिल लगायतका परिकार बनाएर खाने गरिन्छ भने माघी थारूहरूको मौलिक संस्कृति पर्व रूपमा रहेको छ । यसैगरी, मगर जातिले यस पर्वलाई तीन दिनसम्म विशेष धुमधामका साथ मनाउँछन् । नेपालमा बसोबास गर्ने अधिकांश जाति समुदायको साझा पर्वको रूपमा रहेको छ माघे संक्रान्ति ।
माघे संक्रान्तिका दिन नेपाली प्रचलनअनुसार तरुल, पिँडालु, चाकु, घ्यू, तिलौरीलगायत खाने गरिन्छ । विशेष गरी तरुल पुस सकिने राति पकाएर माघे संक्रान्तिको बिहान खाने प्रचलन रहेको छ । जसले गर्दा ‘पुसमा पाके माघमा खाके’ पनि भन्ने गरिन्छ । त्यसैले माघे संक्रान्तिमा केही दिन अगाडिदेखि नै तरुल, पिँडालु, सखरखण्ड, चाकु, स्कुसका जराहरूको माग बढी हुने गरेको छ ।
विशेषगरी हिन्दू, बुद्धमार्गी र किराँत समुदायको साझा पर्वको दिन माघ १ अर्थात् माघे संक्रान्ति रहन गएको छ । यो दिनलाई राई समुदायले येले थेचे र सुनुवार समुदायले सामी पिदार पर्वका रूपमा मनाउँछन् । नेपालका अधिकांश समुदायको साझा चाडको रूपमा रहेको छ माघे संक्रान्ति ।
माघ १ मा राष्ट्रिय योग दिवस पनि मनाइँदै आइएको छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक जुन २१ मा मनाइँदै आए पनि नेपाल सरकारले ०७२ सालदेखि माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रूपमा मनाउन थालेको हो । यस दिनमा सरकारले राष्ट्रिय बिदा दिएको छ ।
मकर संक्रान्ति तथा माघी पर्वको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ साथै अन्य दलका नेता लगायतले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।
थारू समुदायमा विशेष रौनक
थारू समुदायले माघ १ गतेलाई नयाँ वर्षका रूपमा धुमधामका साथ उन्मुक्ति दिवसका रूपमा मनाउँदै छन् । यस अवसरमा थारू समुदायका मानिसले स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाउने गर्छन् । सूर्य उत्तरायणमा प्रवेश गर्ने दिन माघ १ गते थारू समुदायको नयाँ वर्ष माघी पर्व पर्दछ । माघ १ गतेदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ । पुसको अन्तिम दिन रातभर जाग्राम बसेर रमाइलो गरी माघीका दिन बिहानै नयाँ वर्षलाई स्वागत गर्ने गरिएको जाकारका भुवन चौधरील जानकारी दिनुभयो । ‘आफूभन्दा ठूलासँग आशीर्वाद लिई सानालाई आशीर्वाद दिने गरिन्छ, बहिनी र छोरीलाई विशेष दान दिने संस्कृति थारू समुदायमा छ’, उहाँले भन्नुभयो ।
विसं २०५७ साउन १ गते कमैया मुक्ति हुनुअघि माघ १ गतेका दिन मालिकका घरमा काम गर्न बसेकालाई घर फर्कन दिने चलन थियो । यसैले यस पर्वलाई उन्मुक्तिको पर्व भनेर थारू समुदायमा चिनिन्छ । माघ १ गते बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूला बडाकहाँ गएर आशीर्वाद लिने परम्परा थारू समुदायको छ । बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाउँछन् । धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपिन गर्छन् । यस दिनदेखि पाँच दिनसम्म उनीहरूले आफू स्वतन्त्र भएको अनुभव गर्छन् । यस अवसरमा सक्नेहरू चारधाम जाने र नसक्नेले नजिकको तीर्थमा गई गच्छेअनुसार दीनदुःखीलाई दान गर्ने चलन छ । कुनै कारणवश श्राद्ध कर्म रोकिएकाहरूले आजैका दिन श्राद्ध गर्नुपर्छ भन्ने मान्यता पनि यस समुदायमा छ ।
तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी जम्मा ६ प्रकारले तिलको प्रयोग यस दिन जसले गर्छ त्यो असफल हुँदैन भन्ने विश्वास थारू समुदायमा पनि छ । तिलको तेल घस्नाले शरीरको तापक्रम बढ्न गई जाडो कम हुन्छ भन्ने वैज्ञानिक मतसमेत छ । गाउँका मुखिया, महतो, गुरुबा, पूजारी, धामी, झाँक्री, चौकीदार, कमैया, हली, गोठालो, घरायसी काम गर्ने, आदि सबैले माघीका दिन आपसी सहमतिबाट एक वर्षका लागि अगुवा छनोट गर्छन् । थारू जातिमा यस दिन गरिएको सहमति एक वर्षका लागि अकाट्य हुन्छ । बीचमा फेरबदल हुँदैन । यस प्रथालाई ‘माघी देवानी’ भनिन्छ ।
नेपालमा लोकतान्त्रिक शासन व्यवस्थाको प्रारम्भ हुनु अघिदेखि नै थारू समुदायमा माघ १ गते अगुवा चुन्ने प्रचलन थियो । थारू समुदायले वर्षभरी गरेका कामको समीक्षा आजैका दिन गर्छन् । विशेष गरी तराईका थारूले चामल र मासको दालबाट बनाइएको खिचडी खाने हुनाले यस चाडलाई तराई क्षेत्रमा खिचडी भन्ने चलन पनि छ । थारू समुदायका मानिसले माघीका दिन खानका लागि पुसकै दिन अनदी चामलको जाँड बनाएर राख्ने गर्छन् । विवाह, यात्रा, बसाइँसराइका लागि माघीका समयमा साइत हेर्न नपर्ने विश्वास पनि थारू समुदायमा छ ।
भलमन्सा, गुरुवा चयन गरिँदै
थारू समुदायमा भलमन्सा (गाउँका मुखिया), गुरुवा(धामीझाक्री) र चिरागी (कटवाल) पनि चयन गरिन्छ । गाउँमा सडक ममर्तदेखि सार्वजनिक कार्यक्रम, खोप कार्यक्रम लगायतको जानकारी चिरागीमार्फत दिइन्छ । सामाजिक काममा भलमन्साको रोहबरमा निर्णय हुन्छ । ससाना विवाद पनि यही टिमले समाधान गर्छ । माघीको दोस्रो दिन २ माघमा गाउँगाउँमा माघी दिवानी (विशेष छलफल) गरिन्छ । त्यसदिन छलफलका माध्यामबाट थारू समुदायमा नयाँ नेतृत्व चयन गर्ने परम्परा छ ।
मगर जातिको नयाँ वर्ष
माघे संक्रान्ति पर्व नेपालका मगर जातिको पनि प्रमुख चाड हो । मगर समुदायमा यो पर्वलाई नयाँ वर्षको रूपमा पनि मनाउँदै आएका छन् । माघे संक्रान्तिलाई मगरहरूको राष्ट्रिय पर्वका रूपमा मान्यता दिइएको छ । मगर समुदाय प्रकृतिपूजक हुन् । माघे संक्रान्ति विशेषतः मगर जातिमा चेलिबेटीको चाड हो । यस अवसरमा विशेषगरी मगर जातिका कुलदेवताको पूजाआजा गरिन्छ । मगर जातिका कुलदेवता वराहथान हो । मगर समुदायले माघे संक्रन्तिलाई आफ्नो समुदायको प्रमुख चाडका रूपमा मनाउने परम्परा रहिआएकाले विगतमा झैँ यस वर्ष पनि भव्यताका साथ उक्त पर्व मनाउन लागिएको मगर संघले जनाएको छ ।
नयाँ यामको सुरुवात यसै दिनदेखि उभौली सुरु भई साउने सक्रान्तिमा समापन भई सोही दिनदेखि उधौली सुरु हुने प्रचलन छ । यस चाडमा चेलीहरूले मूलको पानी र जमरास्वरूप जौको पूmल लिएर घरको धुरी खाबोमा पूजा गर्ने गरिन्छ यस दिन छोरी चेलीहरूलाई पूजा गर्ने गरिन्छ । चामलको सेतो टीका र जौ, पाटीको फूल लगाई दक्षिणा अनि आशीर्वाद दिने चलन छ ।
माघे सकरातीको दिन छोरी चेलीहरूलाई मिस्रा अर्थात् (उपहार) दिने गरिन्छ घरमा आएका चेलीहरूलाई घरमै र आउन नसकेका छोरी चेलीलाई उनीहरूकै घर-घरमा पठाइदिने गरिन्छ । मिस्रा भन्नाले तरुल, गिठ्ठा, भ्याकुरको परिकारहरू, भुजौरी, खिचडी, घ्यूको परिकार बनाइएको परिकार हो । यस चाडमा मौलिक रुपले भैलो खेल्ने, पुतली नाँच्ने, सिस्नो खेल्ने, पिङ खेल्ने, धनुषवाँण हान्ने आदि गरिन्छ ।
सांस्कृतिक हिसाबले यस चाडदेखि कौडा नाचको सुरुवात गर्ने र मादल, बाजाहरू (चर्को आबाज निकाल्ने बाजागाजा बन्द गर्ने गरिन्छ । यसै दिनदेखि बेशीबाट लेकतिर बसाइँ सर्ने गरिन्छ । मगर समुदायमा यस चाड सांस्कृतिक र सामाजिक हिसाबले अत्यन्तै महत्व राख्ने गर्दछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच