
वर्तमान संविधानको संशोधनको चर्चा चलेको नेपाली कांग्रेस-एमाले गठबन्धनको सरकार बनेदेखि नै हो । संविधान संशोधनलाई नै मुख्य एजेण्डा बनाएर अगाडि बढेको यस सरकारले यस विषयलाई बुढापुराना मानिसहरूले भन्ने गरेको छेपाराको उखानको मिथक जस्तै बनाउँदै आएको छ । वास्तवमा यो मिथकमात्रै नै रहेछ भन्ने कुराको पुष्टि हालै प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यक्त गर्नुभएको अभिव्यक्तिबाट हुनआएको छ । संविधान संशोधन गर्ने भन्ने चर्चा हुँदै आएको बेला उहाँले एकाएक यस संविधानको संशोधन २०८७ सालमा मात्र हुनेछ भन्ने धारणा राख्नुभएको छ । बेलाबेलामा यस्ता चर्चा हुने खालका अभिव्यक्ति दिने प्रधानमन्त्री ओलीको प्रवृत्ति नै हो ।
कि उखान टुक्का कि सबैको ध्यान अन्यत्र मोड्ने खालका कुनै विवादास्पद अभिव्यक्ति दिने काम उहाँबाट हुने गर्छन् । संविधान संशोधनका सन्दर्भमा केही दिनअघिमात्रै उहाँबाट आएको अभिव्यक्ति पनि यही खालको छ । वर्तमान संविधानमा धेरै कमीकमजोरी छन् भन्ने प्रश्न चौतर्फी रूपमा उठिरहेकै हो । केही क्षेत्र र समुदायका हितमा यो संविधान प्रतिकूल छ भनिँदैछ । यसभन्दा पनि ठूलो सवाल हालको शासकीय स्वरूपकै संरचना हटाउनुपर्छ भनेर आवाज उठिरहेको छ । प्रदेशसभाहरू सेतो हात्तीका रूपमा खडा भएका संरचनामात्र हुन् र यिनले राष्ट्रलाई ठूलो व्ययभारमात्र बोकाइरहेका छन् । तर त्यसको तुलनामा कुनै उपलब्धि प्राप्त हुनसकेको छैन भन्नेछ । कमोबेस यो तर्क वा भनाइ सही जस्तो लाग्छ ।
यतिमात्र होइन अन्य अनेकौं कमीकमजोरीहरू यस संविधानमा रहेका कारण यसमा समयानुकूल र राष्ट्रको आवश्यकता अनुकूल संशोधन आवश्यक छ भन्ने प्रश्न उठेकै हो । सत्तासाझेदारी दल नेपाली कांग्रेससँगको सहमतिको पृष्टभूमिमा यही आशय रहेको हुनुपर्छ । तर एकाएक प्रधानमन्त्रीबाट अब २०८७ सालमा मात्रै यो संविधान संशोधन हुनसक्नेछ भन्ने अभिव्यक्ति आएकाले यसबाट राजनीतिक तरंगहरू पैदा भएका छन् । पहिलो तरंग यसबाट संविधान संशोधनलगायत सत्ता सहयात्राको मित्रशक्ति नेपाली कांग्रेससँगको सहयात्रा छोटिँदै गएको हो कि भन्ने आशंका पैदा हुनपुगेको छ । नेपाली कांग्रेस र नेकपा एमालेको सत्ता सहयात्रा छिट्टै समाप्त होस् भन्ने पक्ष यसबाट खुशी बन्नपुगेको देखिन्छ । जुन अत्यन्त स्वाभाविक हो ।
गत २०७९ सालको आमनिर्वाचनमा माओवादीसँग नेपाली कांग्रेसले गरेको चुनावी गठबन्धन जस्तै वर्तमान सरकारका साझेदार दलहरू त्यस बेलासम्म मित्रवत् सम्बन्धमा रहिरहे भने उनीहरूबीच कसिलो सम्बन्ध स्थापित बन्ने र आफू कमजोर बन्न पुगिएला भन्ने प्रतिपक्ष दलहरूलाई लागेको हुनसक्छ । प्रधानमन्त्रीको यस अधिव्यक्तिले नेपाली कांग्रेससँगको सम्बन्ध बिग्रन सक्छ भनेर तिनीहरू खुशी भएका छन् । नेपाली राजनीतिलाई सधैं तरल अवस्थामा राखेर त्यसमा खेलिरहनेहरूका लागि नेपाली कांग्रेस-एमालेको सम्बन्ध बिग्रिएको अवस्था सुरुचिपूर्ण नै हुनेछ । अरूको अवन्नति आफ्ना लागि हो भने उन्नतिको द्वार पनि हो भन्ने ठान्नेहरूले यसलाई सकारात्मक ठानेका हुनसक्छन् ।
नेपाली कांग्रेस पनि प्रधानमन्त्री ओलीको यस अभिव्यक्तिबाट झस्किएको हुनसक्छ । नेपालको राजनीतिमा कुनै न कुनै अभिव्यक्ति र व्यवहारबाट चर्चामा आइरहने ओलीले नेपाली कांग्रेसलाई पनि शंका उत्पन्न गर्ने भाषाको प्रयोग किन गरिरहनु भएको छ ? प्रश्न उठेको छ । उहाँका यस्ता कथनले कतै भोलिका दिनमा पुरवलोकन गर्नुपर्ने हो कि भनेर सोच्ने अवस्था सिर्जना भयो भने कांग्रेसका लागि चुनौतीपूर्ण हुनसक्छ । नेकपामा रहँदा पनि आलोपालो प्रधानमन्त्री बन्ने भनेर पुष्पकमल दाहालसँग गरेको सम्झौता नमानेर भाँडभैलो मच्चाउनुभएका ओलीले हाल नेपाली कांग्रेससँग गरेको सम्झौतालाई भने पालना गर्नुहोला भन्ने कुरा सन्देहमै छ । त्यसैको पूर्वसंकेतका रूपमा उहाँको यस्तो अभिव्यक्ति आएको हो भन्ने अड्कलबाजी भइरहेकै छन् । प्रधानमन्त्री ओलीको यस भनाइलाई अर्को कोणबाट हेर्न सकिन्छ ।
उहाँले हालका लागि संविधान संशोधन गर्न नसकिने आवस्था वा गर्न आवश्यक नभएकाले गर्दा राजनीतिक वृत्तमा एक प्रकारको हलचल पैदा गरिदिनका लागि यसो भन्नुभएको हुनसक्छ । यसो गर्दा राजनीतिमा कसैलाई फाइदा नपुग्ला तर राजनीतिक तरंग पैदा गराएर अरूको प्रतिक्रिया बुझ्न भने यसले सहयोग पु¥याउँछ । राजनीतिका चतुर खेलाडी ओलीले यही झटारो हान्नुभएको अनुमान गर्न नसकिने होइन । यसबाट उहाँले सबै पार्टी र व्यक्तिको भावना बुझ्न सक्नुहुनेछ । यही आसयले उहाँको यस्तो अभिव्यक्ति आएको हो भने नेपाली कांग्रेस नझस्किनुपर्ने हो तर नेपाली कांग्रेस पनि झस्किएको देखिन्छ ।
राजनीति कसले नबुझेको हो र कसले राम्ररी बुझेर तीर हानेको हो त्यो पछिमात्र थाहा होला, अहिले नै कुनै भविष्यवाणी गर्न सकिँदैन । तर, प्रधानमन्त्री ओलीको यो अभिव्यक्ति नेपाली कांग्रेससँगको सहकार्यलाई बाधा पार्नकै लागि आएको नहुन पनि सक्छ । उहाँले आगामी निर्वाचन २०८४ पछि संविधान संशोधन हुनेछ भन्नुभएको थियो भने त्यसको आशय फरक हुनेथियो । तर २०८७ को समय तोक्नुभएको हुँदा त्यस भनाइमा सन्देह भने देखिएको छ । संविधान संशोधनको सम्भावना नदेखेर प्रतिपक्षीहरूलाई उत्तेजित पार्नका लागि मात्र उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हुनसक्छ । उहाँको यही अभिव्यक्तिले नेपाली कांग्रेससँगको सहकार्यमा कुनै नराम्रो प्रभाव परिहाल्छ भन्ने छैन ।
उहाँले सबैतिरबाट आउने प्रतिक्रिया हेर्न दिएको यस अभिव्यक्तिले कांग्रेससँगको सम्बन्ध अझै कसिलो बन्न सक्छ । नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवालाई सत्ता सुम्पनका लागि निर्धारण गरेको समयमा उहाँलाई सत्ता हस्तान्तरण गर्नुहोला वा नहोला त्यस बेलापछि मात्र उहाँको वर्तमानको अभिव्यक्तिको परिणाम देखिन सक्नेछ । राजनीतिका अनेकौं मोड र घुम्तीहरू पार गरेर आउनुभएका ओलीबाट अबका दिनहरूमा भने पहिलेको जस्तो अविश्वसनीय राजनीतिक खेलहरू नहोलान् कि भन्ने अपेक्षा गर्नु अन्यथा हुने छैन । एउटा कुरा के सत्य हो भने नेपाली कांग्रेस र एमालेले मात्रै चाहेर संविधान संशोधन हुनै सक्दैन । यो सत्यलाई बिर्सन सकिँदैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच