
नवनवोन्मेषशालिनी बुद्धिः प्रतिभा
नित्य नयाँ कुराको कल्पना या सिर्जना गर्ने बुद्धिलाई प्रतिभा मानिएको छ । नेपालका महान् व्यक्तिमध्ये पृथ्वीनारायण शाह, बहादुर शाह, भीमसेन थापा, अमरसिंह थापा, विश्वेश्वरप्रसाद कोइराला सामाजिक क्षेत्रमा नित्य नयाँ कुराको कल्पना गरेर समाजलाई मार्गनिर्देश गर्ने व्यक्तिका रूपमा चिनिएका हुन् । भानु, मोती, ढुंगेल, पौड्याल, देवकोटा र मोहन कोइराला पनि नवप्रवर्तनका लागि निरन्तर केही न केही गरिरहेका देखिन्छन् तापनि समग्र समाजलाई नै तत्काल प्रभावित पार्नसक्ने शक्ति राख्ने भनेको राजनीति नै हो । यो श्लथ, शिथिल, लोभी, जुम्स्याहाका र धोकेवाजका हातमा पर्दा समग्र समाज नै गतिहीन हुँदोरहेछ भन्ने कुरो नेपालीले देखेभोगेकै हुन् ।
सुशील कोइरालाको महाप्रयाणपछि खासगरी अहिलेका ठूला तीन पार्टीका तीनजनाको उदय भएपछि सम्पूर्ण नेपाल नै गतिहीन निराशालाग्दो भएर आज पनि त्यस चक्रवातबाट मुक्त हुनसकेको छैन । वातावरण बनाउने, जनतामा उत्साह भर्ने भनेको समाजलाई नै नेतृत्व दिन्छु भनेर आएका नेताले नै हो । समाजलाई नवीन मार्गमा आरुढ गराएर नवगन्तव्यमा हिँडाउन सबै लाग्न सक्दैनन् । कुनै क्रान्त द्रष्टामात्र यसरी अगाडि बढ्न लाग्दछ । जसरी २०३९ साल श्रावण ६ गतेपछि धेरै लामो समय यस देशका युवक, प्रौढ सबै नै स्वप्नविहीन भई सर्वत्र निराशा र गतिहीन बनेर केबल धानिएर गरिखाने न मरिजाने भएरमात्रै आएको कुरो हामी सबैले अनुभव गरेकै छौं ।
यसै सन्दर्भमा यस्तै अवस्था देशले भोगेका बेला देशलाई नवउन्मेषमा आबद्ध गराएका थिए विश्वेश्वरप्रसाद कोइरालाले । आज पनि उनले कल्पना, चिन्तन र व्याख्या विश्लेषण गरेर यस देशलाई रोग, भोक, अशिक्षा, अन्धविश्वास र भाइभाइका बीचका संकीर्ण शासनका सिकन्जाबाट समेत उन्मुक्ति दिने खालको राजनीतिक पद्धतिको स्थापनामा उनले जोड दिएका कुराको नै सान्दर्भिकता छँदैछ । त्यसलाई तत्कालीन सामन्त दरबार तथा त्यसका पृष्टपोषकले समेत नसहेर बीपी कोइराला राजनीतिको चौडा मैदानबाट सैनिक थुनामा पुग्नुपरेका कारणले नेपालको विकासमात्र होइन नवस्वप्न देख्ने प्रक्रिया नै बन्द भएको थियो ।
बीपीले सुमेकरको ‘सानो सुन्दर हुन्छ’ भन्ने विकासको नमुना, ‘स्थानीय सामग्रीको उन्नतीकरण र प्रयोग’ भन्ने टोनी हेगनको विकासको नमुना आवश्यक छ भनेका थिए । अहिले डा.शेखर कोइरालाले पनि ‘बीपीको समाजवाद र स्थानीय सरकार’ नामक पुस्तक तयार गर्न लाएका छन् ।
राजाले लादेको पञ्चायतभरि पँधेरामा र चौतारामा राजारानी भेटिएको बाहेक बोल्न नपाउने अवस्था बनाइयो भने २०४६ सालमा बहुदलीय राजनीतिक व्यवस्था, सावधिक निर्वाचन प्रणाली र विधिको सर्वोच्चतासहितको प्रजातान्त्रिक भनिएका व्यवस्थाले पनि दम्भी, पाखण्डी, वन्चक र घुस्याहा व्यक्तिलाई शासनको उच्च आसनमा पु¥याइएको हुनाले देश मूल बाटामा खनिएको वर्षे आहालमा रूपान्तरण भयो । अहिले घुस्याहा कांग्रेस, घुस्याहा एमाले र घुस्याहा माओवादी अनि घुस्याहा, वन्चक र लुट्ने अवसरको मात्र खोजी गर्ने राष्ट्रिय स्वतन्त्र नामको दलले बन्धक बनाएको पार्टीका कुरामात्र सुन्न विवश बनाइएका बेला आशाको झरिलो मशाल बोकेर झिस्मिसेको शुक्रतारा जस्ता बनेर डा.शेखर कोइराला राजनीतिको मैदानमा देखापरेका छन् ।
घाँटी हेरी हाड निल्नु
बीपी कोइराला आजको हेनरी फोर्डको विकासको नमुना र लर्ड-मेकालेको शिक्षाले हामी जस्ता पिछडिएका र उन्नत अर्थतन्त्र तथा प्रविधि नभएका मुलुकका लागि राम्रो गर्दैन भन्थे । उनले सुमेकरको ‘सानो सुन्दर हुन्छ’ भन्ने विकासको नमुना र ‘स्थानीय सामग्रीको उन्नतीकरण र प्रयोग’ भन्ने टोनी हेगनको विकासको नमुना आवश्यक छ भनेका थिए । अहिले डा.शेखर कोइरालाले पनि ‘बीपीको समाजवाद र स्थानीय सरकार’ नामक पुस्तक तयार गर्न लाएर लामो अन्धकारले जकडिएर रहेको नेपालीका घरदैलामा प्रजातन्त्र, स्थानीय सरकारको प्रबलता, स्थानीय गाउँबस्तीलाई सुविधासम्पन्न बनाउने क्रान्तिकारी, परिवर्तनकामी कार्यक्रम र राजनीतिक दर्शन लिएर देशका कुनाकाप्चामा रहेका बस्तीबस्तीमा पुग्न लागेका देखिन्छन् ।
आज विज्ञानले सानो एक हल गोरु अट्ने ठाउँमा चलाउन सकिने हाते ट्याक्टरको आविष्कार गरेको छ । अतः सुधारेको हलाका स्थानमा आजका किसानलाई त्यो सामग्री उपलब्ध गराएर किसानलाई औद्योगिक भूमिकामा लैजान सकिन्छ । पहाडका बस्ती खाली भएका छन् । त्यहाँका जमिनलाई चक्लाबन्दी र आवश्यक व्यवस्था मिलाएर अनुकूल हुनेगरी पशुपालन, फलफूलखेती, तरकारीखेती गराएर निकासीसमेत गर्न सकिन्छ । यसका निमित्त बिचौलियालाई नियन्त्रण सरकारले गर्नुपर्छ । सरकारै बिचौलियाको दास बनेको देखिन्छ । अहिले नेपाली तरकारी र दूध किसानले उचित मूल्य नपाएका कारणले खाडल खनेर पुर्ने र सडकमा पोख्ने काम गरेको बिचौलियाका मुठीको माखो बनेको वर्तमान सरकार निरीह बनेर किसान माराको फेटा गुतेर बसेको देखिन्छ ।
निर्माण व्यवसायीको पैसा नतिर्ने, किसानले डेरीमा बेचेको दूध र तज्जन्य परिकारको पैसा नतिर्ने, सहकारीलाई फटाहा ठगले लैनुगाई बनाएर गरिब मार्दा पनि आँखा चिम्लेर बस्ने पनि प्रजातान्त्रिक र प्रगतिशील भनाउँदाको सरकार भनेर हामीले भोकभोकै मृत्युवरण गरेर यिनलाई सत्ता दिनुपर्ने भन्छन् अत्यधिक व्यवसायी । किसुन्जीले मेलम्ची ल्याएर काठमाडौंलाई काकाकुलका जीवनबाट मुक्ति गर्न सकिने कुरा गर्दा एमाले कुल्ला गर्न नपुग्ने पानीले सडक धुने धक्कु भनेर कुर्लेको थियो तर आज ४० वर्षपछि पनि त्यसभन्दा भरपर्दो अर्को विकल्प देखिएको छैन । ठीक यसैगरी बीपी कोइरालाको विकासका मोडेललाई नै स्थानीय अवस्थानुकूलन गरेर उपयोग नगर्ने हो भने यो देशका जनताले कहिल्यै सुखी र समृद्ध जीवन जीउन नपाउने सुनिश्चित छ ।
गाउँको विकास नै नेपालको विकास हो
हाम्रो जस्तो कटिलो भू-बनावट भएको, अनेकौं जातजाति तथा विचारधारा भएका विकास र निर्माणभन्दा वैयक्तिक स्वार्थमा बढी गाढा नजर भएका अशिक्षित तर जमिन्दारी प्रवृत्तिका मान्छेका हातबाट केही नभएका, दुईवटा पाखुरा, पिठ्यूँ नै आयआर्जनको स्रोत भएका जनताको जीवनस्तर उठाउन त्यति सजिलो छैन । यस देशका पुस्त्यौने सामन्त र सामन्तबाट बक्सिसमा पाएको धन, जायजेथा जोगाउन कम्युनिष्ट बनेका समूहलाई पनि गरिबोत्थानमा सहभागी गराउन भूमिसुधार, जमिनको हदबन्दी, बेठबेगारी उन्मूलन, वनको राष्ट्रियकरण, जोत्नेका नाममा जमिन र पोत्नेका नाममा घर कायम गर्ने नीति लिनेबित्तिकै सामन्तका पृष्टपोषक जमिन्दारहरूले दाङदेउखुरी काण्ड मच्चाएका थिए ।
आज पनि दाङका मजगैयाँ र अरूका बीचमा यो अवस्था छँदैछ । त्यहाँका धनाड्य मजगैयाँ जायजेथा जोगाउन कोही कम्युनिष्ट बने भने कोही कांग्रेसमा पनि लागे । जनकपुर महोत्तरीमा जमिन्दारहरू तराई कांग्रेस, मधेसवादी दल, सद्भावना पार्टी आदिका नाममा त्यो बेला विभाजित भएर दरबारलाई सहयोग पुर्याउने किसिमका क्रियाकलापमा लागेको देखेर नै भद्रकाली मिश्रका विरुद्ध वेणीमाधव कुशबाहालाई उठाएर बीपी कोइरालाले राष्ट्रिय राजनीतिको गन्तव्य देखाएका थिए । अहिले पनि साम्प्रदायिक र जातजातीय बखेडा प्रदर्शन गर्नेलाई गाउँको विकासमा सहभागी गराएर नै साम्प्रदायिक चिन्तनले बालेको आगोमा पानी हाल्न सकिन्छ । अहिलेको विश्वमा पनि यसैगरी अनेकौं नवसाम्प्रदायिक र पश्चगामी प्रवृत्तिको आविर्भाव भएको देखिन्छ ।
विकास गर्ने साधन प्रविधि हो तर त्यो उपयोग गर्ने मान्छे सुशिक्षित, उच्च नैतिकवान् भएन भने ओलीजीको तुइन विस्थापनको समयावधि जस्तै गरी जन्म जन्मान्तर जानसक्छ । जत्रो बाघ उत्रै कोरलीको सिद्धान्त विकासका लागि आवश्यक हुन्छ । जहाँको दुवाली त्यहीँको चपरी भन्ने उखानले बीपीका चिन्तनलाई समर्थन गरेको छ ।
खाली दिमाग सैतानका घर भनेझैं पढेका युवक बेरोजगार भएका छन् । प्रतिवर्ष लाखौंलाख सीप, प्रविधि र आधुनिक शिक्षा पाएका युवकयुवती १५ हजारदेखि बीस हजारका दरले दिनहुँ महिनौं दिन त्रिभुवन विमानस्थालमा लर्को लागेर विदेशिएका देखिन्छन् । सरकार मुकदर्शक, दलहरू निःशुल्क विदेश पठाउने व्यवस्थाका नाममा भोट माग्न थालेका छन् । यस प्रकारका समस्यालाई समाधान गर्ने हो भने आधुनिक व्यवसायमूलक, प्रविधिपरक पाठ्यक्रम बनाउनुपर्छ, त्यसमा केही अंश हाम्रा पारम्परित व्यवसाय र सीपलाई पनि समावेश गराउनुपर्छ । साना साधनको निर्माण किसानमा वितरण गरेर घरजग्गा व्यवसायीलाई नियन्त्रण गर्ने, वन जोगाउने, वन पैदावारलाई उपयोग र प्रवद्र्धन गर्ने नीति लिनु आवश्यक छ ।
ठूला र खर्चिला भू-बनावट बिगार्ने खालका सडक निर्माण नगरी भूमि, ढुंगोमाटो, बोटबिरुवा जोगाएर साना साधन चल्न सक्ने एकात् ठूला साधन पनि निश्चित ठाउँसम्म जानेगरी सडक बनाउने र पुल्पुलेसा निर्माण गर्ने हो भने त्यस्तो विकास नेपालमा चिरस्थायी हुन्छ । बनेपा सिन्धुली बीपी राजमार्ग जापानले त्यसै मोडेलमा बनाएको थियो तर हामी बुद्धिहीनले डाँडाका टुप्पामा डोजर लगेर डाँडा भत्काएर धनी हुने उद्योग चलायौं जसका कारणले २०८१ भदौ, असौजमा रोसी र कोशी सुन्दर ढंगले बहुलाए । धेरै बासिन्दाको कन्तबिजोक भयो । यसको जिम्मेवारी ती क्रसर उद्योग चलाउन अनुमति दिने, क्रसर उद्योगीले लिनुपर्ने कानुन बनाउनुपर्छ । प्रजातन्त्रविनाको आर्थिक समानता भैंसीलाई दिइएको सुविधा हुन्छ भने आर्थिक उन्नति बेगरको स्वायत्तता पनि भोका पेटको वक्वकमा परिणत हुँदोरहेछ भन्ने अब हामीले राम्ररी बुझ्यौँ ।
विकास गर्ने साधन प्रविधि हो तर त्यो उपयोग गर्ने मान्छे सुशिक्षित, उच्च नैतिकवान् भएन भने ओलीजीको तुइन विस्थापनको समयावधि जस्तै गरी जन्म जन्मान्तर जानसक्छ । जत्रो बाघ उत्रै कोरलीको सिद्धान्त विकासका लागि आवश्यक हुन्छ । जहाँको दुवाली त्यहीँको चपरी भन्ने उखानले बीपीका चिन्तनलाई समर्थन गरेको छ । अहिले हाम्रा देशमा बजेट दुरुपयोग, आफ्नो हात जगन्नाथ, नसनाता, भरिया र फरियावादका कारणले व्यक्ति धनी देश र देशका संस्था गरिब हुँदै जाने रोगका सिकार भएका छन् ।
अल्लो, अदुवा, अम्रिसो, ओलन, आलु, अलैंचीजस्ता वस्तुले इलाम प्रसिद्ध भए जसरी नै अन्य जिल्लामा पनि जे जे छन् तिनै तिनैलाई संरक्षण, प्रवद्र्धन र विकास तथा आय आर्जनका स्रोत बनाए मात्रै समग्र देशको विकास गर्न सकिन्छ । हेनरी फोर्डका विकास मोडेलले ग्रामीण पुँजी र संस्कृतिको विनास गरेर ठूला बजारु कुरामा जनतालाई लैजाने हुनाले हाम्रो जस्तो गाउँ नै गाउँले भरिएका देशलाई शान्ति, समृद्धि र अमनचयन प्रदान गर्न सक्दैन भन्ने बीपीको चिन्तनलाई बुझेर अबका कांग्रेसका नेताले सरकार, जनता र दलहरूलाई यस मार्गमा डोहोर्याउन सक्नुपर्छ ।
समष्टिमा
अहिले धेरै वर्षपछि नेपाली कांग्रेसमा डा.शेखरले एउटा हलचल ल्याएका छन् । बीपी विचारका मर्मलाई विचार गरेर उत्खनन् गरेर देशको भू-बनावट, नेपाली गाउँबस्तीका आवश्यक्तालाई राम्ररी चिनेर बनाएका विकासका मोडेलका योजना गाउँगाउँमा पुर्याउन र तिनलाई इमान्दारीका साथ लागू गर्न नसक्ने हो भने नेपालीको सुखमय, विकसित जीवन ओलीजीका स्वीच थिच्नेबित्तिकै ग्यास भ्यार्र बल्ने र विदेशी समुद्रमा नेपाली झण्डा भएको पानी जहाज कुदाउने गफ जसरी नै बतासले उडाएर लैजान्छ । अतः कुनै कामका निमित्त पहिले आफूलाई योग्य बनाउनुपर्छ । हावादारी गफले देश बन्दैन । संविधान संशोधनलाई मूल आधार बनाएर कांग्रेस र एमालेबाट बनेको सरकारका प्रधानमन्त्रीले भर्खरै काँग्रेस, एमाले र नेपाली जनतालाई नै भयानक धोका दिएका छन् । ६/६ वर्षपछिको समय देखाएर दलहरू र कांग्रेस तथा इमानदार कार्यकर्तालाई अलमल्याएर वामएकताको खेती गरेर प्रचण्ड र ओलीको संयुक्त सरकार बन्ने दिन धेरै टाढा छैन भन्ने शंका सर्वत्र गर्न थालिएका सन्दर्भमा कांग्रेस त्यो भन्दा पहिले नै सतर्क र सजग बन्नुपर्छ जस्तो अवस्था देखिन थालेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच