
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नाममा जम्मा भएको झुण्डले काठमाडौंको मुटु शासकीय भवन सिंहदरबारकै ढोकामा रहेको जिल्ला अदालत परिसरमा देखाएको वितण्डा यतिखेर सबैका मन र मुखमा निन्दाको विषय हुनपुगेको छ । सहकारी ठगी, सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधको अभियोगमा प्रहरी हिरासत र अनुसन्धानमा रहेका सभापतिका पक्षमा यो पार्टी पंक्ति आश्चर्यजनक रूपमा उभिएको छ । अदालत परिसरभित्र देखाएको उद्दण्डताबाट यदि भविष्यमा कुनै दिन सत्तामा यो दल पुग्यो भने देशको शासन आजका यस पार्टीका नेता र कार्यकर्ताहरूले कसरी चलाउने होलान् र देशको अनुहार कस्तो हुनेछ भनेर पूर्वसंकेतसमेत दिएको छ । कम्तीमा पनि स्वर्णिम वाग्ले जस्ता आफ्नो स्वर्णिम भविष्यको खोजिमा रास्वपाको नेतृत्वमा पुग्ने विद्वान विदुषीहरूले त यसको सही समीक्षा र मूल्यांकन गरेकै हुनुपर्छ ।
अभियुक्तको पक्ष–विपक्षमा बहस पैरवी गर्ने कानुन व्यवसायीको कर्तव्य नै हो । अदालत भनेकै पक्ष-विपक्षका तर्क र प्रमाणका आधारमा न्याय दिन खडा भएको संस्था हो । तर, आफ्ना पक्षमा मात्रै बहस र फैसला होस् भन्ने एकांगी तर्क तथा मूढेबलका आधारमा जबर्जस्ती हुन थाल्यो भने शासकीय प्रणाली, न्यायिक प्रणाली, सामाजिक सोच, नेतृत्व र संगठन कसरी लोकतान्त्रिक होला ? हाम्रो यो मात्रै प्रश्न हो ।
उत्तरकोरियामा मात्रै अहिले विपक्षमा बोल्न निषेध छ । के राष्ट्रिय स्वतन्त्र पार्टी उत्तरकोरियाली शासक र शासनको नमुना अभ्यास गर्न चाहिरहेको छ ? देशका मूर्धन्य र वरिष्ठ अधिवक्ता, मानव अधिकार र कानुनी राजका पक्षमा सतत्क्रियाशील दिनेश त्रिपाठीमाथि जुन आक्रमण भयो यसैकारण त्यो निन्दनीय भत्र्सनायोग्य छ । गुणडागर्दी यसै पनि वर्जनीय छ । त्यसमा पनि नागरिकको अन्तिम न्यायको आसाकेन्द्र अदालतमा त यस्तो अराजक गुण्डागर्दी अस्वीकार्य हुन्छ । यसरी अराजक आक्रमण सहकारी पीडितहरूले गरेको चर्चा रवि पक्षले गरिरहेका छन् । यदि यसो हो भने पनि रास्वपा समर्थकहरू समेत सहकारी पीडित भएको तथ्य थाहा भएकै विषय हो । पोखरामा पहिले सहकारी पीडित निवेदन दिन पुगेकी सक्रिय महिला रास्वपाका सभापति नै मुछिन लागेपछि उनी आफ्नो अनुहार छोपेर रविको समर्थनमा कुदेको दृश्य नदेखिएको होइन । यदि त्यस चर्चामा विश्वास गर्ने हो भने सहकारी पीडितको आवरणमा पीडकका पक्षमा मानिस उराल्ने र विरोध जनाउने खेल काठमाडौंमा समेत मञ्चित भएको हुनसक्छ ।
अनियमितता, अपचलन, ठगी जस्ता अनेक आरोपहरूको सामना गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको आरोप निरुपण हुन बाँकी नै छ । अमेरिकाको बसाईमा नौवटा भन्दा बढी अभियोग खेपेका रवि नेपाली जनता माझको एउटा पंक्तिमा अत्यन्त चर्चित, विश्वनीय, भरलाग्दो कसरी हुनुभयो त्यो आफैंमा आश्चर्यको विषय छ । उहाँका अनेक अवैधानिक कृत्यहरू एकपछि अर्को गरी सार्वजनिक भएका छन् । पहिले सहकर्मी शालिग्रामको रहस्यमय हत्या वा मृत्यु, अनि चालकको रहस्यमय मृत्यु, अमेरिकी नागरिकता, परित्याग, दोहोरो नागरिकता र पासपोर्ट प्रकरण रविका पृष्ठमा छन् । पछिल्लो चरणमा सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा उहाँमाथि मुद्दा चलिरहेको छ । तर, राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य, समर्थक, शुभेच्छुक भने रविका नाममा सिंगै पार्टी पंक्तिलाई जुवाको खालमा राख्न पछि परेका छैनन् । के चर्चित टिभी पत्रकारका रूपमा उनले विगतमा गरेको आक्रामक प्रस्तुति र पत्रकारिताका मूल्यको सिमोल्लंघनबाट कमाएको सस्तो वाहवाहीको व्याज नै रविको सम्बल हो कि अरू पनि यतिविधि चर्चाको पृष्ठमा केही छ ? यो प्रश्नलाई सरकारमा बस्नेहरू वा अरू राजनीतिक दल वा अनुसन्धानकर्ताहरूले गम्भीर रूपमा सुल्झाउनु आवश्यक छ । नत्र तीन महिनादेखि मानिसहरू एउटा व्यक्तिका पछाडि निरन्तर उत्तेजित भएर कसरी यत्रतत्र जानु र समर्थन गर्नु सम्भव हुन्छ ?
सायद रवि लामिछानेका विषयमा दुई वर्षयता जति शब्दहरू सञ्चारमाध्यमहरूमा खर्च भए विरलै अरूका विषयमा यति भएका होलान् । साधारण पत्रकार असाधारण चरित्रमार्फत असाधारण महत्वाकांक्षाको शिखर चढ्न थालेपछि चर्चामा आउनु अस्वाभाविक रहेन । त्यसमा पनि विगत ३५ वर्षदेखि सत्ताको मियोमा बस्नेहरूको आलोपालोबाट दिक्क भएका मानिसहरूको वैकल्पिक अपेक्षा जगाउन रवि र उनको दल सफल भएर यस्तो चर्चा र समर्थन मिलेको हो कि ? लोकतान्त्रिक परिपाटीमा विश्वास गर्नेहरूले लोकतान्त्रिक विधिलाई सर्वोपरि मानेका हुन्छन् । भिडका आँखा र मस्तिष्क दुवै हुँदैन । व्यक्तिसँग आँखा र मस्तिष्क भए पनि जब त्यो भिड भएर एकाठाउँ उभिन्छ त्यो समय फरक हुन्छ । सिद्धान्तविहीन भिडका भरमा उभिन खोज्नेहरूको प्रयास लोकतन्त्रमा अराजक नै हुने गर्दछ । यस्तो अराजकताले अन्ततः कुनै दिन हिटलर र मुसोलिनीको नयाँ अवतारलाई जन्म दिने खतरा हुन्छ । रविलाई समर्थन गर्दै कानुन हातमा लिन खोज्ने, आफूले भनेअनुसार नै निर्णयको आग्रह गर्ने भिड एकातिर र अर्कातिर पुराना राजनीतिकर्मीहरूको गैरराजनीतिक आचरण तथा व्यवहारको संयोजन हिट्लरको अवतार जन्माउने गर्भाधान गर्न पर्याप्त हुनसक्ने छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी र रवि लामिछानेको ढाल भएर यतिखेर नेकपा माओवादीदेखि समाजवादी पार्टीसम्म प्रतिपक्षमा रहेका दलहरू उभिएको देखिन्छ । सरकारका विपक्षमा प्रतिपक्षहरू एकजुट भएर उभिनु स्वाभाविक हो । नेकपा एमाले र नेपाली कांग्रेसका बीचमा सहकार्यसँगै गठबन्धन भएको अवस्थामा त्यसलाई निस्तेज गराउन अर्को शक्ति सबल भएर आउनै पर्छ । तेस्रो शक्ति उपस्थित भएन भने दुई दलीय निरंकुशता लामो समयसम्म नेपाली जनताले भोग्नुपर्ने हुनसक्छ । तर, के कारण, कस्तो प्रयोजनका लागि प्रतिपक्षी एकता र ढाल हुने भन्ने प्रश्न महत्वपूर्ण हुन्छ । ठगीको प्रतिरक्षा गर्न एकता, सम्पत्ति शुद्धीकरणविरुद्ध एकता, सहकारी पीडितले खोजेको न्यायविरुद्ध एकता, सहकारी ठगीलाई प्रोत्साहन गर्ने पक्षमा एकता कस्तो हुने विपक्षी एकता ? यदि स्वयं पुष्पकमल दाहाल वा माधवकुमार नेपाल सत्तामा रहनुभएको भए यस्तो एकताको अन्तर्य र रूप कस्तो हुने थियो होला ? के यस्ता गम्भीर प्रश्नहरूमा विवेचना हुने थियो कि थिएन ?
यदि रवि, छवि, जिवीहरूमाथि अन्याय भएको प्रमाणित भएमा र अभियोगहरू सिद्ध नभएमा न्यायालयले न्याय गर्ने नै होला । त्यसबेला सरकारले क्षतिपूर्ति समेत भर्नुपर्ने हुन्छ । तर सिधा अभियोगहरू छन्, न्यायालयमा सुनुवाइ चलिरहेको अवस्था त्यस्तो बेला अराजकता उद्दण्डता देखाइन्छ, विपक्षमा बोल्ने कानुन व्यवसायीहरूमाथि सांघातिक आक्रमण गरिन्छ भने त्यसको जिम्मेदारी अभियुक्त, तिनका समर्थक र समर्थन गर्ने दलहरूले नै लिनुपर्ने हुन्छ । हामी व्यावसायिक धर्मका पक्षमा छौं र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथिको त्यो आक्रमणको निन्दा गर्दछौं । भोलि कतै सहकारी पीडितहरूले रविका पक्षमा बहस गर्ने कानुन व्यवसायीहरूमाथि यसरी नै आक्रमण गर्न थाले भने त्यसको जिम्मेदार को हुने ? अथवा पक्ष-विपक्षमा बहस-पैरवी गर्ने जुनसुकै मुद्दाका जुनसुकै कानुन व्यवसायीमाथि यसरी नै सांघातिक आक्रमण हुनलागे के हुन्छ ? अराजक भिड जसको आँखा र मस्तिष्क हुँदैन उसले त जवाफ दिनसक्दैन । तर, पृष्ठमा बसेर समर्थन गर्नेहरूले त जवाफ दिनै पर्ने हुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच