
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ठूला उद्योग स्थापना हुने क्रममा रहेको बताउनुभएको छ । स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) को रजतजयन्तीका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले स्वदेशमै फलाम खानी र मल कारखानाजस्ता ठूला उद्योग स्थापना हुने क्रममा रहेका र बन्द भएका उद्योगलाई नयाँ ढाँचामा सञ्चालनको तयारी भएकाले उत्पादित ऊर्जाको खपतको चिन्ता लिइरहनुनपर्ने बताउनुभएको हो । प्रधानमन्त्री ओलीले ऊर्जा उत्पादकले उत्पादित ऊर्जा खपतका ठाउँ आफैं बनाउने भएकाले ऊर्जा बिक्रीको चिन्ता गरिरहनुनपर्ने बताउनुभयो । सरकारले आगामी ११ वर्षभित्र २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादनको मार्गचित्र तयार गरेको उहाँले बताउनुभयो ।
‘हामीसँग आठवटा औद्योगिक क्षेत्र छन् । धौवादी फलाम खानी र मल कारखाना खोल्दैछौँ । दैलेखमा ग्याँस उत्पादन हुँदैछ । ध्वस्त भएका उद्योगले पुनर्जीवन पाउँदैछन् । ती सबैमा ऊर्जाको खपत हुनेछ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘ग्रिन हाइड्रोजन इनर्जी उत्पादन गर्न पनि अनुसन्धान भइरहेको छ । यस क्षेत्रमा नयाँ-नयाँ सम्भावनाको खोजी गर्नुपर्नेछ । देशलाई आधुनिकीकरण र विकास गर्दै अँध्यारोबाट उज्यालोमा लाने प्रयासमा लागेका ऊर्जा उत्पादकको योगदानको म प्रशंसा गर्दछु । तपाईंहरू लगानी गर्नुहोस्, लगानी खोज्दै अरूलाई खोला दिइरहनुपर्दैन ।’
प्रधानमन्त्री ओलीले ऊर्जा क्षेत्रमा सरकारको लगानीका साथै निजी र वैदेशिक क्षेत्रको लगानीलाई पनि उत्तिकै महत्व दिइएको जनाउँदै व्यवस्था बदलियो अवस्था बदलिएन भन्नेहरूलाई ऊर्जा उत्पादकहरूले हासिल गरेको सफलताले देशको अवस्थामा परिवर्तन ल्याएको स्पष्ट गर्नुभयो ।
प्रधानमन्त्री ओलीले आयातित कोइला, पेट्रोल, डिजेललगायत वातावरणमा समेत प्रभाव पार्ने ‘फोसिल फ्युल’को प्रयोग घटाउँदै अधिकभन्दा अधिक नवीकरणीय ऊर्जा उत्पादन बढाएर मुलुकलाई समृद्ध बनाएरै छाड्ने दृढता व्यक्त गर्नुभयो ।
जलविद्युत््मा ढुक्कले लगानी गर्नुहोस् : ऊर्जामन्त्री खड्का
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ढुक्कले जलविद्युत् क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानको कार्यक्रममा आफ्ना भनाइ राख्दै उहाँले यस्तो बताउनुभएको हो । ‘मुलुकको अवरोध गरेका सबै कुरालाई फुकाउँदै अगाडि बढ्ने हो । हामी निजी क्षेत्रसँग मिलेर नै अगाडि बढ्ने हो । डर नमानी, खुट्टा नकमाई जलविद्युत्मा लगानी गर्न आग्रह गर्दछु,’ ऊर्जामन्त्री खड्काले भन्नुभयो ।
उहाँले उत्पादन बढाउन र बिक्री गर्न नसके नेपालमा समृद्धि ल्याउन नसकिने बताउनुभयो । समृद्वि र रोजगारी सिर्जना गर्न नै सरकारले काम गरिरहेको उहाँले दाबी गनुभयो ।
जलविद्युत् क्षेत्रमा लगानी गर्न डराउनुपर्ने अवस्था नरहेको समेत उर्जामन्त्री खड्काले स्पष्ट पार्नुभयो । बजार सुनिश्चित रहेकाले ढुक्कले लगानी गर्न उहाँले आग्रह गर्नुभयो । आन्तरिक खपतलाई पहिलो प्राथमिकता दिने गरिएको उहाँले दाबी गर्नुभयो । बाँकी रहेको बिजुली मात्रै बेच्ने उहाँले बताउनुभयो । ‘सरकारले राम्रा कामका लागि विभिन्न ऐन कानुन बनाएको हो । काम गर्न नै कानुन बनाइएको हो । कसैले पनि यसमा रोइकराइ गर्नुपर्दैन,’ मन्त्री खड्काले भन्नुभयो ।
‘वन तथा वातावरण मन्त्रालयले झन्झट दियो’
जलविद्युत् आयोजना निर्माणका निम्ति वन तथा वातावरण मन्त्रालयले सबैभन्दा धेरै दुःख दिएको भन्दै ऊर्जा उत्पादकले दुखेसो पोखेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)को २५औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार प्रधानमन्त्री ओलीलाई उनीहरूले आफ्ना समस्या सुनाएका हुन् । कार्यक्रममा इप्पानका अध्यक्ष गणेश कार्कीले जलविद्युत् आयोजना निर्माण गर्न वन मन्त्रालयसँग ठोक्किनैपर्ने र उसले धेरै झन्झट थपिदिएको बताउनुभयो । ‘वनमा तीन÷चार वर्षसम्म पनि अनुमति पाउनै सकिन्न । अनुमति पाइहालेमा पनि अहिले वनक्षेत्र प्रयोग गरेबापत तिर्नुपर्ने रकम तीन गुणासम्म बढाइएको छ,’ उहाँले भन्नुभयो, ‘अझ विद्युत् विकास विभागले अध्ययनका लागि लाइसेन्स दिएर निजी क्षेत्रले धेरै खर्च गरेर अध्ययन गरेपछि फेरि राष्ट्रिय निकुञ्जबाट अनुमति लिनुपर्ने र त्यो अनुमति निकुञ्ज विभागबाट लिनुपर्ने प्रावधानबाट हामी धेरै प्रताडित भएका छौँ ।’
नेपालको कुल विद्युत्् उत्पादन क्षमता तीन हजार ५०० मेगावाट पुगेको छ । निजी क्षेत्रबाट मात्र २५ वर्षको अवधिमा २७ सय ४० मेगावाट विद्युत्् उत्पादन भइसकेको कार्कीले जानकारी गराउनुभयो । ‘यो भनेको कुल उत्पादनमा निजी क्षेत्रको योगदान करिब ८० प्रतिशतभन्दा बढी हो । चार हजार मेगावाट क्षमताका आयोजना निर्माणाधीन रहँदा चार हजार ३०० मेगावाट क्षमताका आयोजनाहरू पिपिए सम्पन्न गरेर वित्तीय व्यवस्थापनको पर्खाइमा छन् । १२ हजार ९६५ मेगावाट क्षमताका आयोजनाहरू अध्ययन सकेर विद्युत् खरिद-बिक्री सम्झौताको पर्खाइमा छन् । यीमध्ये पनि ८० प्रतिशतभन्दा धेरै आयोजना निजी क्षेत्रले नै विकास गरिरहेको छ,’ उहाँले भन्नुभयो ।
२८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने मार्गचित्र छ । यसमा १३ हजार ५०० मेगावाट विद्युत् नेपालमै खपत गर्ने र बाँकी बिजुलीमात्र छिमेकी मुलुकमा निर्यात गर्ने लक्ष्य राखिएको छ । गाडीदेखि विद्युतीय चुलोसम्मको प्रवद्र्धनमा इप्पान लागिरहेको उहाँले बताउनुभयो । ‘विद्युत् उत्पादनको लक्ष्य प्राप्त गर्नका लागि ६२ खर्ब रुपैयाँ लगानी चाहिने र त्योमध्ये ४० खर्ब रुपैयाँ स्वदेशमै रहने हाम्रो प्रक्षेपण छ । वार्षिक सात लाख रोजगारी सिर्जना हुनेछन् । यसले नेपालको अर्थतन्त्रमा दूरगामी महत्व राख्नेछ,’ उहाँले भन्नुभयो ।
आइपिओ निष्कासनको अनुमतिका लागि आग्रह
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले साधारण सेयर (आइपिओ) निष्कासनको अनुमतिका लागि प्रधानमन्त्री ओलीसँग आग्रह गरेको छ । शुक्रबार इप्पान रजतजयन्ती समारोहमा बोल्दै (इप्पान) का अध्यक्ष कार्कीले यस्तो आग्रह गर्नुभएको हो । आइपिओ निष्कासनको अनुमति नपाउँदा समस्यामा परेको उहाँले गुनासो गर्नुभयो । आइपिओ निष्कासनको अनुमतिका लागि प्रधानमन्त्रीलाई निर्देशन दिन अध्यक्ष कार्कीले आग्रह गर्नुभयो ।
‘लामो समयदेखि आइपिओ निष्कासनको अनुमति पाएका छैनौँ । सेबोनमा अर्बौंको आइपिओ अड्किएर बसेको छ । निष्कासन अनुमति नपाउँदा हामी समस्यामा परेका छौँ । अनुमतिको निर्देशन दिन प्रधानमन्त्रीसमक्ष आग्रह गर्दछु,’ उहाँले भन्नुभयो ।
ऊर्जामा नेपालले फड्को मारेको बताउँदै भन्दै उहाँले भन्नुभयो, ‘हिजोका दिनमा हामीले उत्पादन गरेका बिजुली खपत हुन्छ कि हुँदैन भनेर चिन्तित हुनुपर्ने स्थिति थियो । अब हामीले हाम्रै बिजुली प्रयोग गर्ने र खपत हुनेमा ढुक्क बन्ने वातावरण बनिरहेको छ ।’ हाम्रोमा खपत गरेर बढी भएको बिजुली भारतमा निर्यात गर्ने कार्य भइरहेको सकारात्मक रहेको उहाँले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच