एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बिबी ‘अल-कादिर ट्रस्ट प्रकरण’मा दोषी ठहर भएका छन् । इमरानलाई १४ वर्ष र बुशरालाई सात वर्षको जेल सजाय सुनाइएको छ । शुक्रबार न्यायाधीश नासिर जावेद राणाले अदियाला जेलमा बनाइएको अस्थायी अदालतमा यो फैसला सुनाउनुभएको हो । अदालतले फैसला सुनाउँदा इमरान खान, उनकी श्रीमती र अन्य पिटिआई नेताहरू अदालतमै उपस्थित थिए । पूर्वप्रधानमन्त्री खान हाल जेलमै छन् । अल-कादिर ट्रस्ट’को १९० मिलियन युरो (नेपाली रुपैयाँ करिब २७ अर्ब) हिनामिना गरेको भन्दै अदालतले यस्तो सजाय सुनाएको हो । अदालतले इमरान र बुशरालाई थप १० लाख र पाँच लाख रुपैयाँ जरिवाना पनि लगाएको छ । जरिवाना नतिरेमा इमरानलाई ६ महिना र बुशरालाई थप तीन महिना जेल सजाय हुनेछ ।
न्यायाधीश नासिर जावेद राणाले फैसलाबारे भन्नुभयो, ‘अभियोजन पक्षले आफ्नो मुद्दा प्रमाणित गरेको छ । खान दोषी ठहरिएका छन् ।’ भ्रष्टाचारविरोधी अदालतले खानलाई राखिएको राजधानी इस्लामावाद नजिकैको जेलमा भएको सुनुवाइपछि फैसला सुनाएको हो । उनीहरूले मिलेर स्थापना गरेको ‘अल-कादिर ट्रस्ट’ नामक कल्याणकारी फाउन्डेसनका नाममा भएको आर्थिक अनियमितताका कारण उनीहरूलाई दोषी ठहर गरिएको फैसलामा उल्लेख छ ।
खान सन् २०२३ को अगष्टदेखि जेलमा छन् । उनीमाथि करिब २०० वटा मुद्दा लगाइएका छन् । ती मुद्दा उनलाई सत्तामा फर्कनबाट रोक्नका लागि राजनीतिक प्रतिशोधबाट प्रेरित भएको दाबी खानले गरेका छन् । उनकी पत्नी बुशरा बिबी हालसालै जेलबाट रिहा भएकी थिइन् भने उनलाई फैसलापछि शुक्रबार पुनः अदालतबाटै पक्राउ गरिएको थियो । शुक्रबार बिहान अदालतको सुनुवाइमा भाग लिन उनी खानलाई राखिएको जेलमा उपस्थित भएकी थिइन् ।
आम चुनावको लगत्तै, फेब्रुअरी २७, २०२४ मा खान दम्पतीलाई मुद्दामा अभियोग लगाइएको थियो । मुद्दामा इमरान र बुशरा बिबीले बाहरिया टाउन लिमिटेडबाट अर्बौं रुपैयाँ र सयौँ कनाल जग्गा अधिग्रहण गरेको आरोप छ । फैसलामा ‘अल-कादिर युनिभर्सिटी प्रोजेक्ट ट्रस्ट’ स्वतः संघीय सरकारको स्वामित्वमा आउने निर्णय पनि गरिएको छ ।
इमरान खानको राजनीति अब पूर्ण रूपमा समाप्त हुन्छ कि, उनी यस आँधीबेहरीबाट बाहिर निस्कन सक्छन् भन्ने अड्कलबाजीहरू अहिले पाकिस्तानमा भइरहेको छ । नयाँ पाकिस्तान बनाउने सपना बोकेर कुर्सीमा बसेका पूर्व-क्रिकेटरसमेत रहेका खानलाई त्यो कुर्सीबाट हटाइएपछि उनले एकपछि अर्को समस्या भोगिरहेका छन् ।
के हो आरोप ?
डिसेम्बर २०२३ मा, नेसनल एकाउन्टेबिलिटी ब्युरो (एनएबी) ले इमरान र उनकी श्रीमतीसहित अन्य सात जनाविरुद्ध ‘अल-कादिर युनिभर्सिटी ट्रस्ट’को सम्बन्धमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । एनएबीद्वारा दर्ता गरिएको मुद्दामा हाल जेलमा रहेका इमरानले ‘बाहरिया टाउन, कराँचीको जग्गाको भुक्तानीको लागि नामित खातामा पाकिस्तान राज्यमा अवैध रूपमा रकम हस्तान्तरण गर्नमा मुख्य भूमिका खेलेको’ आरोप लगाइएको छ । औचित्य पुष्टि गर्ने र सूचना उपलब्ध गराउने पटक-पटक अवसर दिइए पनि अभियुक्तले जानाजानी दुर्भावनापूर्ण नियतले कुनै न कुनै बहानामा सूचना दिन अस्वीकार गरेको दाबी पनि गरेको छ । सम्पत्ति व्यवसायी मलिक रियाज हुसेन र उनका छोरा अहमद अली रियाज, मिर्जा शहजाद अकबर र जुल्फी बुखारी पनि यस मुद्दामा शंकास्पद छन् । तर, अनुसन्धान र त्यसपछिको अदालती कारबाहीमा सामेल हुनुको सट्टा उनीहरू फरार भएपछि अपराधी घोषित गरियो । इमरानकी श्रीमतीका नजिकका साथी फरहत शहजादी र पिटिआई सरकारको सम्पत्ति रिकभरी इकाइका कानुनी विशेषज्ञ जियाउल मुस्तफा नसिमलाई पनि पिओ घोषित गरियो । यसपछि सबै ६ अभियुक्तको सम्पत्ति जफत गरिएको थियो । एजेन्सीको सहयोगमा ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर