
काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रायोजनमा सिस्नुपानी नेपालले संयुक्त अरब इमिरेट्स (युएई) मा ‘दुई थोपा हाँसो’ कार्यक्रम सम्पन्न गरेको छ । नयाँ वर्ष २०२५ को अवसरमा युएईमा बसोवास गरेका श्रमशील नेपाली नागरिकलाई मनोरञ्जन, वित्तीय सचेतना अभिवृद्धि एवं जीवनका बारेमा सकारात्मक भावना अभिवृद्धि गर्ने उद्देश्यले निःशुल्क रूपमा कार्यक्रम गरिएको थियो ।
नेपाली राजदूतावास अबुधाबीको संयोजनमा गैरआवासीय नेपाली संघ युएईको आयोजनामा सिस्नुपानी नेपालका कलाकारहरूको प्रस्तुति रहेको थियो । युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीको प्रमुख आतिथ्यमा समुद्घाटन गरिएको उक्त कार्यक्रम आबुधाबीस्थित अलजोधा, एम ४४, मुसफ्फाबाट जनवरी १० तारिखमा सुरु गरिएको थियो ।
यसैगरी क्लिन्को क्याम्प, सज्जा सारजहाँ र अलकुजको बलेदिया भलिबल ग्राउण्डमा जनवरी ११ तारिखमा गरिएको थियो । जनवरी १२ तारिखमा भने इभर सेन्डाई क्याम्प, सोनापुर र इण्डियन सोसल सेन्टर अजमानमा सम्पन्न भएको थियो ।
कार्यक्रममा सिस्नुपानी नेपालका तर्फबाट कार्यक्रम संयोजक तथा सिस्नुपानी नेपालका महासचिव टंक आचार्य, चर्चित हास्यव्यंग्य कलाकार मनोज गजुरेल, गायक धीरेन्द्र परमर्षि, कलाकार चक्र दवाडी र सरोज घिमिरेको उपस्थिति थियो ।
कलाकार मनोज गजुरेल र चक्र दवाडीले मदन भण्डारी र बीपी कोइरालाको भूमिका निर्वाह गर्दा दर्शकमा निकै रमाइलो छाएको थियो । टंक आचार्यले आफ्नो र अध्यक्ष लक्ष्मण गाम्नागेको कविता सुनाएर परदेशिएका नेपालीलाई भावुक बनाएका थिए । धीरेन्द्र पे्रमर्षिको प्यारोडी गीतले सबैलाई रमाइलो प्रदान गरेको थियो भने सरोज घिमिरेको मन्तव्यले दर्शकलाई उत्साह थपेको थियो ।
राजदूतावासबाट प्रतिनिधित्व गर्दै दीपेन्द्र पौडेल र विकास भट्टराईले नेपालीले ध्यान दिनुपर्ने कुरामा चर्चा गर्नुभयो । स्थानीय कलाकारको पनि उपस्थितिले कार्यक्रम निकै रमाइलो भएको थियो ।
गैरआवासीय नेपाली संघ युएईका अध्यक्ष विकास शाहीको अध्यक्षतामा सम्पन्न ती कार्यक्रममा गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष एवं संरक्षक ठाकुरप्रसाद ढुंगाना, गैरआवासीय नेपाली संघ मध्यपूर्वका उपसंयोजक तथा गैरआवसीय नेपाली संघ युएईका पूर्वअध्यक्ष रमेश श्रेष्ठलगायत धेरै सरोकारवाला संस्थाका प्रतिनिधिको पनि उपस्थिति थियो ।
नेपाली कामदारलाई पायक पर्ने हल तथा उहाँहरू बस्ने क्याम्प क्याम्पमै पुगेर गरिएको यस कार्यक्रमले आर्थिक, सामाजिक तथा कानुनी कुरामासमेत सचेतना थपेको थियो । नेपाली रेमिट्यान्समा उल्लेख्य भूमिका निर्वाह गर्ने श्रमशील नेपालीका दुःखसुखमा ऊर्जा थप्ने उद्देश्यले सिस्नुपानी नेपालले विगत एघार वर्षदेखि यो कार्यक्रम ‘दुई थोपा हाँसो’ गर्दै आएको छ । युएईमा भने यो चौथो संस्करण हो ।
ग्लोबल आइएमई बैंकको ग्लोबल रेमिटको मुख्य प्रायोजन रहेको उक्त कार्यक्रममा नेपाल वायुसेवालगायत अन्य दर्जनौं संस्थाको प्रायोजन रहेको थियो । आगामी दिनमा पनि यस्ता कार्यक्रम नेपालीले श्रम गरिरहेका विभिन्न देशमा गर्दै जाने कुरा आयोजक संस्था र कलाकार समूहद्वारा व्यक्त गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच