राजनीतिक व्यवस्था आफैंमा अस्थिर हुँदैन । अस्थिर शासक हो । शासकको अस्थिरताले नै राजनीतिलाई विचलनको खाडलमा धकेलेको हुन्छ । त्यसैले शासकको स्थिरता नै राजनीतिको भविष्यसित जोडिएको हुन्छ । शासकको अस्थिर र अव्यवस्थित राजनीतिक साँठगाँठले देशको शासकीय पद्धति नै धर्मराउने गरेको हुन्छ । राजनीतिक स्थिरता नै देशविकासको पहिलो मेरुदण्ड हो । राजनीतिक अस्थिरताले देशको विकासमा मात्र होइन सबै क्षेत्रमा तहसनहस बनाउने अवस्था सिर्जना भएको हुन्छ । स्थिरता र स्थायित्वका माध्यमबाट देशको काँचुली फेर्ने अवस्थाको पहिचान आजको राजनीतिक भविष्यको मर्म पनि हो । व्यवस्था आफैंमा राम्रो वा नराम्रो होइन । व्यवस्थाका सञ्चालक वा राजनीति गरेर सत्तारोहण गर्ने व्यक्ति कस्तो हो भन्ने सन्दर्भलाई राजनीतिक विचाराधाराले बोकेको हुन्छ ।
हाम्रो देश शासकीय व्यवहारमा आज गणतन्त्रात्मक मुलुक हो । गणतन्त्र आएको सत्र अठार वर्ष बितिसकेको छ । आज पनि नेता भाषण गर्दा शिशु गणतन्त्र भनेर कुर्लिरहेका छन् । कहिलेसम्म शिशु रहने हो । यो जानकारी न नेपालका नेता न नेपाली जनतालाई थाहा छ ।
हाम्रो सनातन परम्परामा रामलाई सबैभन्दा उत्तम राज्य सञ्चालक मानिएको छ । रामले शासन गर्नुपूर्व उक्त राज्यका सञ्चालक रामका पिता दशरथ थिए । दशरथको समयमा राज्यको व्यवस्थापकीय पक्ष र मन्त्री कति थिए । रामले नै राज्यको सुधार गरे वा दशरथको समयमा नै अयोध्याको शासन व्यवस्था गतिलो थियो भन्ने सन्दर्भलाई मूलरूपमा हेर्नुपर्ने देखिन्छ । सूर्यवंशी राजा दशरथ आफ्नो वचनप्रति पूर्ण विश्वस्त थिए । दृढ थिए । आफ्नो निर्णयका विरुद्ध कहिले पनि गएनन् । आफूले बोलेको कुरालाई जस्तोसुकै अवस्था आए पनि पूरा गरेर छाड्थे । त्यो उनमा देखिएको शासकीय विचार थियो । पद्धति थियो । विश्वास थियो । शासन चलाउने सन्दर्भमा उनले आफ्ना गुरु र विद्वान्सित अनिवार्य परामर्श लिने गर्दथे । त्यसैले नै रामको राज्यलाई दशरथको शासकीय विचारले सहयोग गरेको थियो ।
दशरथको शासन
प्रधान शासकलाई शासकीय मार्गमा गतिशील बनाउने आधार मन्त्री हो । मन्त्रीको रायसुझावलाई शासकले अनिवार्य रूपमा मानेको हुनुपर्दछ । मन्त्रीले दिने सल्लाह वा राय देशको र राज्यको हितमा हुनुपर्दछ । राज्यको हितमा भएन भने शासकले मन्त्रीका निर्देशन नमान्न पनि सक्छ यो सत्य हो । दशरथको शासकीय व्यवस्था कस्तो थियो भन्ने सन्दर्भमा
तां पुरीं स महातेजा राजा दशरथो महान्
शशास शमितामित्रो नक्षत्राणीव चन्द्रमा ।।
चन्द्रमाले नक्षत्रलोकमा जसरी शासन गरे त्यसरी नै दशरथले अयोध्यामा शासन गरे । चन्द्रमालाई नक्षत्रका पति मानिन्छ । दशरथको शासकीय व्यवस्था कति सुदृढ थियो भन्ने सन्दर्भमा उल्लेख गरिएको छ । राज्यको व्यवस्थापकीय सन्दर्भलाई बाहिर ल्याउने सन्दर्भमा मन्त्रीको विचार विमर्शलाई प्राथमिकतामा राखिएको हुन्छ । मन्त्रीले प्रधान शासकलाई सही मार्ग देखाउनुपर्दछ । मन्त्री देशको सबैभन्दा महत्तम पदमा रहेको व्यक्ति विद्वान् हुनुपर्दछ । मन्त्रीको संख्या कम हुनुपर्दछ । राजा दशरथको शासनमा जम्मा आठ मन्त्री थिए ।
अष्टौ बभूवुर्वीरस्य तस्यामात्या यशस्विनः
शुचयश्चानुरक्ताश्च राजकृत्येषु नित्यशः ।।
राजा दशरथका आठ मन्त्री थिए । मन्त्रको तत्वलाई बुझ्ने र जान्ने मानिसका बाहिरी परिवेश हेरर नै मनको कुरालाई बुझ्न सक्थे । उनीहरू सधैं राजाको हित र कल्याणमा समर्पित रहने गर्दथे । मन्त्रीको आचारविचार शुद्ध थियो । त्यसैले अयोध्याका राजा दशरथको यश चारैतिर फैलिएको थियो । शासन गर्ने सन्दर्भमा उनी आफ्नो राज्यको मात्र होइन अन्य राज्य वा शत्रुपक्षका बारेमा पनि पूर्णरूपमा जानकार थिए । शासनमा यति सुदृढ थिए उनलाई सबै राज्यको जानकारी उनलाई प्राप्त थियो ।
तेषामविदितं किंचित् स्वेषु नास्ति परेषु वा
क्रियमाणं कृतिं वापि चारेणापि चिकीर्षितम् ।।
आफ्नो शत्रुपक्षको सबै कुरा उनलाई जानकारी रहन्थ्यो । अन्य राज्यका राजा के गर्दथे के गरिरहेका थिए के गर्दैछन् के गर्न चाहन्थे उनलाई सबै गुप्तचरहरूले बताउने गर्दथे । रामराज्यलाई जसरी सनातन परम्पराको सबल व्यवस्था मानिन्छ । रामराज्यको आगमनपूर्वका राजा दशरथको शासकीय स्वरूपले रामलाई बल प्रदान गरेको देखिन्छ । राजा दशरथ आफ्नो राज्यमा मात्र चर्चित थिएनन् । उनी विदेशमा ख्याति पाएका शासक थिए भन्ने सन्दर्भ हो यो :
विदेशेष्वपि विज्ञाताःसर्वतो बुद्धि निश्चय ।।
विदेशका सबै शासक पनि उनलाई सम्मान गर्दथे । उनी बुद्धिबाट पूर्णरूपमा व्यवस्थित थिए । अयोध्याका राजा दशरथ तत्कालीन समयका सबल शासक मानिएका थिए । उनको शासकीय व्यवहार र पद्धति राजनीतिक विचारबाट होइन शासकको व्यवहारबाट चलेको थियो । उनको शासनमा मानिसको व्यवहार र व्यावहारिक पद्धति गतिलो शासकीय आधारमा चलेको थियो । उनले मन्त्रीको संख्यामा बढोत्तरी गरेनन् । आचार्य वशिष्टको गुरु परम्परामा रहेको र उनको सल्लाहबाट राजकाज चलाएको तथ्यलाई पूर्णरूपमा व्यवस्थित गरिएको देखिन्छ ।
तत्कालीन समयको राजतन्त्र भए पनि शासकले व्यवस्थित तरिकाले शासन चलाउँथे भन्ने सन्दर्भलाई दशरथको शासकीय व्यवहारले देखाएको छ । शासन र व्यवस्था जस्तोसुकै भए पनि शासकमा विद्यमान् उसको व्यावहारिक पक्षले शासनलाई गतिलो तरिकाले बाहिर ल्याएको देखिन्छ । राजा दशरथ आफ्नो शासनकालमा यदि छोराले पनि गलत काम गरेको भए दण्ड दिन पछि पर्दैनथे ।
प्राप्तकालं यथा दण्डं धारयेयुः सुतेश्वपित ।।
उनले अपराध गरेमा आफ्ना आफन्त मात्र होइन छोरालाई पनि दण्ड दिने गर्दथे । यही थियो दशरथको शासकीय पद्धति जसले रामराज्यलाई आधारभूमि दिएको थियो ।
हामी बिचरा !
हाम्रो देश शासकीय व्यवहारमा आज गणतन्त्रात्मक मुलुक हो । गणतन्त्र आएको सत्र अठार वर्ष बितिसकेको छ । आज पनि नेता भाषण गर्दा शिशु गणतन्त्र भनेर कुर्लिरहेका छन् । कहिलेसम्म शिशु रहने हो । यो जानकारी न नेपालका नेता न नेपाली जनतालाई थाहा छ । शासन व्यवस्था गतिलो छ । यो व्यवस्थालाई ल्याउन नेपालीको बलिदानलाई पनि बिर्सन सकिँदैन । नेपालीले बगाएको आलो रगतबाट आएको गणतन्त्रले नेपालीका दुःख र पिरमर्कालाई बुझ्नुपर्ने हो बुझेको देखिँदैन । शासक आफ्नो हितका लागि होइन । शासक देशको हो । देशको हितका लागि शासक आवश्यक भएको हुन्छ । त्यसैले गतिलो शासकबाट शासित देशले जहिले पनि प्रगतिको बाटो पहिल्याएको हुन्छ । हामी विभिन्न चरणका आन्दोलनले विभिन्न प्रकारका शासन व्यवस्थाको अनुभूत गर्ने भाग्यशाली नेपाली हौं ।
शासकीय व्यवस्थामा परिवर्तन र त्यसले ल्याएको नयाँ व्यवस्थालाई सञ्चालन गर्ने व्यक्ति पुरानै भए । आजको शासक देशहितमा समर्पित हुनुपर्नेमा त्यसो हुन सकेको देखिँदैन । देशको व्यवस्था फेरियो । शासकीय आधार फेरिए । केन्द्रीकृत शासन प्रणालीलाई विकेन्द्रीकरण गरियो । गाउँगाउँमा सिंहदरबारका नारा लागे । सोही अनुसार सावधिक निर्वाचन पनि भयो । शासक गाउँगाउँमा विकासका लहर फुटाउन थाले । नेपालीका सपना पूरा हुने भए । सपनाको संसारमा विचरण गरेको युवापुस्ताले नेतृत्व गर्ने अवसर पनि पायो । क्रान्तिकारी भाषण छाँट्ने नेता पनि मन्त्री भयो । देशको काँचुली हामीले फेर्ने हो भन्ने पनि देखिए । नेपालीले आफ्नो मतको भरपूर प्रयोग पनि गरेको देखियो । उत्साहबर्धक मतदान पनि भयो । स्थानीयतहले आफैं कर निर्धारण गरेर आफूलाई तलबभत्ताको व्यवस्था पनि नगरेको होइन गरेरै छाड्यो । नेपाली जनताको सपना साकार हुने कुरा निश्चित प्रायः देखियो ।
अपराधीविरुद्ध बहस गर्ने वकिल सडकमै पिटिन थाले । यही हो गणतन्त्र र त्यसले दिएको उपहार । आजको राजनीति स्वार्थरहित हुन सकेन । राजनीतिक दलका कार्यकर्तालाई विभिन्न ठाउँमा नियुक्त गर्ने परम्पराले आजको नेपाललाई गाँजेको देखियो । शासकले सामान्य अवस्थामा पनि आफूलाई सुरक्षित गरेको देखियो ।
समानुपातिक निर्वाचन प्रणालीबाट सबै जातजातिको प्रतिनिधित्व पनि भयो । अब देशमा रोजगार सिर्जना हुने विश्वास पढेलेखेको जनमानसमा अटेसमटेस भएर भरियो । हामी साँच्चै नै नयाँ नेपालको पर्खाइमा रहेको तथ्यलाई अस्वीकार गर्न मिलेन । यही थियो साधारण नेपालीको सपना पनि । पहिलो निर्वाचनपछि देखिएको सत्ताको खेलले सबै नेपालीलाई अचम्भित पार्यो । स्थानीयतह भ्रष्टाचारका अखाडा बने । मूल शक्तिका विरुद्ध प्रचारबाजी गरेर नयाँ शक्तिको उदय भयो । नयाँ शक्तिलाई नेपाली जनताले मत पनि दिए । आज सामाजिक अभियन्ताका नाममा विभिन्न विकृति नेपाली समाजमा भित्रिए ।
नेपालको शिक्षित युवा स्वदेशमा बसेर केही गर्न सक्ने अवस्थामा छैन । २०६० पछिको पुस्ताका लागि राजनीतिक दलले कुनै पनि राजनीतिक स्थिरताका र रोजगारको व्यवस्था गर्न सकेनन् । राजनीतिक दलका कार्यकर्ता र आफन्तमात्र पोसिए । उनीहरूका आफन्तमात्र नियुक्तिका भागीदार बने । राजनीतिक स्थिरतालाई राजनीतिक दलले स्थापना गर्न सकेनन् । विदेशी भूमिमा जान लामबाद्ध बनाए युवालाई । विदेशी गल्लीमा अध्ययन तथा कामका शिलशिलामा नेपालीहरू बाहिर हानिए । विदेशमा रहेर नै देश र देशका नेताका बारेमा विष बमन गर्न थाले । आफू विदेशी नागरिक भएर पनि देशमा आएर अभियन्ताका नाममा सरकार र सरकारी नियम कानुनको खिल्ली उडाउन थाले ।
अपराधीविरुद्ध बहस गर्ने वकिल सडकमै पिटिन थाले । यही हो गणतन्त्र र त्यसले दिएको उपहार । आजको राजनीति स्वार्थरहित हुन सकेन । राजनीतिक दलका कार्यकर्तालाई विभिन्न ठाउँमा नियुक्त गर्ने परम्पराले आजको नेपाललाई गाँजेको देखियो । शासकले सामान्य अवस्थामा पनि आफूलाई सुरक्षित गरेको देखियो । नेपाल र नेपालीको सुरक्षामा अहिले पनि सरकार कमजोर बनेर उपस्थित भएको छ । कानुनी राज्यको खिल्ली उडाइएको छ । राम्राभन्दा पनि हाम्रा भन्ने भावनाले नेपालका राजनीतिक दलले आफूलाई केन्द्रमा राखेको देखियो ।
अयोध्यकालीन दशरथको शासन त आउन सक्दैन । राजनीतिक दलको भविष्य पनि अबको अवस्थामा सुरक्षित देखिँदैन । राजनीतिक दल विचार र दर्शनमा चल्नुपर्ने हो चल्न सकेनन् । व्यक्तिगत लहडका रूपमा उनीहरू चले । यही कारणले नेपालको राजनीतिमा बेथितिका चाङ देखियो । सच्चिने र आफूलाई सुरक्षितमात्र होइन देशका जनतालाई पनि आधार बनाएर राजनीति गर । दशरथ नबने पनि नेपालको भूगोल र नेपालीलाई माया गर्ने राजनीति गर । देशको विकास नेपालीको उन्नतिलाई मनमा राखेर राजनीति गर ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर