
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समाजवादी मोर्चालाई सक्रिय बनाउन लागिपर्नु भएको छ । समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस), विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा र महिन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) सहभागी छन् । नेपाली कांग्रेससहितको सत्ता गठबन्धन रहेको बेला तत्कालीन सत्ता र सत्ताबाहिर रहेका कांग्रेस बाहेकका दलहरू मिलेर २०८० साल असार ४ मा समाजवादी मोर्चा गठन भएको थियो । आफू प्रधानमन्त्री भएको बेला सत्ता साझेदार कांग्रेसलाई तर्साएर सत्ता गठबन्धनमा बलियो हुन मोर्चा गठन गर्नुभएका प्रचण्ड अहिले विपक्षीमा पुगेपछि शक्ति आर्जन गर्न समाजवादी मोर्चालाई सक्रिय बनाउन लाग्नुभएको हो । यसअघि प्रचण्ड प्रधानमन्त्री हुँदा सरकारलाई बचाइराख्न र विपक्षीलाई दबाबमा राख्न मोर्चा सक्रिय गराइएको थियो ।
सत्ताबाट बाहिरिएको ६ महिनापछि माओवादीकै अगुवाइमा मोर्चालाई पुनः सक्रिय बनाउने प्रयास भएको हो । नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता गठबन्धन बनेसँगै विपक्षमा पुगेको समाजवादी मोर्चा करिब ६ महिनापछि सक्रिय बन्ने प्रयासमा छ । ६ महिनापछि नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा बुधबार मोर्चाको बैठक बसेको हो । आलोकनगरस्थित नेकपा एसको कार्यालयमा बसेको मोर्चाको बैठकमा सरकारमाथि दबाब बढाउने विषयमा छलफल भएको थियो । तर, बुधबार समाजवादी मोर्चा बैठकमा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल सहभागी भएन । जसपा नेपाल समाजवादी मोर्चा निर्माणको संस्थापक दलमध्ये एक हो । प्रचण्डले आफ्नो स्वार्थअनुकूल मोर्चालाई प्रयोग गरेको भन्दै यादव असन्तुष्टि जनाउँदै आउनुभएको छ । अन्य दललाई समेत मोर्चामा आबद्ध गराउने र संस्थागत रूपमा सरकारमाथि दबाब बढाउने प्रचण्डको योजना छ । उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, अशोक राई नेतृत्वको जसपा, सिके राउत नेतृत्वको जनमत, प्रभु साह नेतृत्वको आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चा सहितका दललाई मोर्चामा आबद्ध गर्न प्रचण्ड सक्रिय हुनुभएको छ । तर, विगतमा मोर्चालाई प्रचण्डले आफ्नो स्वार्थ अनुकूल मात्र प्रयोग गरेकाले विपक्षमा रहेका दलहरूसमेत मोर्चामा आबद्ध हुन उत्साह देखाइरहेका छैनन् ।
समाजवादी मोर्चासँग तत्काल सहकार्यको सम्भावना छैन : यादव
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले तत्कालै समाजवादी मोर्चासँग सहकार्यको सम्भावना नरहेको स्पष्ट पार्नुभएको छ । मधेश बलिदान दिवसका अवसरमा शनिबार सिरहाको लहानमा शहीदको प्रतिमामा माल्यार्पणपछि अध्यक्ष यादवले प्रतिपक्षी दलहरूले समाजवादी मोर्चा सक्रिय बनाउन लागे पनि आफू तत्काल सहभागी हुने सोचमा नरहेको बताउनुभएको हो । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको विश्वासघातकै कारणले सहभागी हुन नसक्ने स्पष्ट पार्दै अध्यक्ष यादवले भन्नुभयो, ‘समाजवादी मोर्चा निर्माणमा मेरो महत्वपूर्ण भूमिका थियो । तर, मोर्चामा हुँदै प्रचण्डजी प्रधानमन्त्री बन्नुभयो । प्रधानमन्त्री बनेपछि मोर्चाभित्रकै आफ्नै सहयोगीलाई विश्वासघात मात्रै गर्नुभएन कि पिठ्ँयुमा छुरा रोप्नुभयो । त्यसरी कसरी सहकार्य हुनसक्छ ? त्यसैले अहिलेको अवस्थामा सहकार्य हुँदैन । जोसँग सहकार्य गरेको छ उसैलाई पिठ्ँयुमा छुरा रोप्ने र राज्य शक्तिको प्रयोग गरेर पार्टी विभाजन गर्ने नेता किन्नु भएपछि कुनै विश्वास छैन । यथास्थितिमा सहकार्य हुँदैन ।’ राष्ट्रिय समस्याको समाधान गर्नको लागि परिवर्तनकारी शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिँदै अध्यक्ष यादवले भन्नुभयो, ‘हामी मधेशको मुद्दा मात्रै होइन । राष्ट्रिय मुद्दाको रूपमा हामी अगाडि बढ्नुपर्छ । राष्ट्रिय समस्याहरू समाधान गर्न, पीडित जनतालाई न्याय दिनको लागि परिवर्तनकारी शक्तिहरू एकठाउँ आउनुपर्छ र संघर्षमा लाग्नुको विकल्प छैन । अहिले जे प्रयास भइरहेका छन् त्यसलाई अगाडि बढाउनुपर्छ भन्ने पक्षमा छौँ ।’
मधेसी मोर्चा निर्माण प्राथमिकतामा
दोस्रो जनआन्दोलन २०६२/०६३ पछि भएको मधेश आन्दोलनबाट उदाएको तत्कालीन मधेसी जनअधिकार फोरम र हाल जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले माओवादी केन्द्र नेतृत्वको समाजवादी मोर्चाभन्दा मधेसी मोर्चा निर्माणलाई प्राथमिकता दिनुभएको छ । छिन्नभिन्न भएर धेरै दलमा विभाजित मधेश केन्द्रित दलहरू पछिल्लो समय पुनः एकपटक मोर्चाबन्दीको प्रयासमा जुटेका छन् । उनीहरूले धेरैपछि माघ १ गते औपचारिक वार्तासमेत गरेका छन् । मधेसी मोर्चा गठनको लागि मधेश केन्द्रित दलहरूले आ-आफ्नो पार्टीबाट वार्ता समिति गठन गरेका छन् । सबै पार्टीबाट गठित वार्ता समिति बीचको माघ १ गते पहिलो साझा बैठक बसेको हो । जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले त्यसको समन्वय गर्नुभएको थियो । मधेश केन्द्रित पाँच पार्टीको वार्ता समितिमा स्वतन्त्र सांसद अमेरशकुमार सिंहको पनि सहभागी हुनुभएको थियो । मधेसी मोर्चा गठनको लागि वार्ता गर्न यादव नेतृत्वको दल जनता समाजवादी पार्टी नेपालले उपाध्यक्ष राजकिशोर यादव, रामकुमार शर्मा र मनीष सुमन रहेको कार्यदल बनाएको छ । तर, पहिलो कार्यदलको बैठकमा भने सहभागी भएन । अर्को बैठकबाट सहकार्य कसरी गरेर जाने, मोडालिटी के हुने लगायतका विषयमा छलफलमा जुट्ने कार्यदलका सदस्यहरूको भनाइ छ । संविधानबाट प्राप्त उपलब्धि पनि गुम्नसक्ने सम्भावित खतरालाई हेर्दै सबै दल र नेताहरूले सहकार्यको आवश्यकता महसुस गरेको मधेश केन्द्रित दलका नेताहरूको जिकिर छ । पहिलो चरणमा मधेश केन्द्रित दलहरूबीच सहकार्य गरिसकेपछि यसलाई थप विस्तार गर्दै अन्य पहिचानवादी आदिवासी जनजाति, उत्पीडित दलित केन्द्रित दल र शक्तिहरूसँग सहकार्यको प्रयास गर्ने उनीहरूको तयारी छ ।
मधेश केन्द्रित दलहरू एकताबद्ध हुनुपर्छ : महतो
राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टीका अध्यक्ष राजेन्द्र महतोले शहीदका सपना पूरा गर्न मधेशका सबै दल एकताबद्ध हुनुपर्ने बताउनुभएको छ । बलिदानी दिवसका अवसरमा शनिबार सिरहाको लहानको शहीद पार्कमा शहीदको शालिकमा माल्यार्पण गर्दै महतोले शहीदका सपना पूरा गर्न मधेशका सबै दल एकताबद्ध हुनुपर्ने बताउनुभएको हो । मधेसी, थारू, आदिवासी, दलित एकजुट भएर आफ्नो अधिकार प्राप्तिमा लाग्नुपर्ने उहाँको भनाइ छ । मधेश केन्द्रित दल टुट्दा मधेशका जनताले अधिकार नपाउने र पाएको अधिकार पनि खोसिनसक्ने खतरा रहेको महतोको दाबी छ । शहीदहरूको सपना पूरा गर्न राष्ट्रिय मुक्ति क्रान्तिको आवश्यकता रहेको जिकिर गर्दै महतोले भन्नुभयो, मधेशले एकल नश्लीय औपनिवेशिक शोषणविरुद्ध विद्रोह गरेको हो, तर उपनिवेशबाट मधेश अझै मुक्त हुन सकेको छैन । मधेशी जनताले बलिदानी दिए, कडा प्रतिरोध गरे, तर पनि पूर्ण सफलता हात पार्न सकेनौँ । असफलतापछि संघर्षको रणनीति परिवर्तन गर्नुको सट्टा केही नेताले सत्तासामु आत्मसमर्पण गरे ।’
लोसपा नेपालका उपाध्यक्ष झा जसपा प्रवेश
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका उपाध्यक्ष पुरुषोत्तमलाल झा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीमा प्रवेश गर्नुभएको छ । जसपाले शनिबार पर्सामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममार्फत उपाध्यक्ष झा प्रवेश गर्नुभएको हो । झा केन्द्रका उपाध्यक्ष हुनुको साथै पर्सा जिल्लाका अध्यक्षको जिम्मेवारीमा हुनुहुन्थ्यो । पाँचपटक वडा अध्यक्ष र एकपटक उपमेयरसमेत भइसक्नु भएका झा लामो समयदेखि मधेश राजनीतिमा लाग्नुभएको हो । उहाँले लोसपा नेपालका कुनै नेतामाथि कुनै व्यक्तिगत टीका टिप्पणी नगर्ने तर पार्टी नै चलायमान नभएका कारण एक नयाँ गतिशील पार्टीमा प्रवेश गरेको जिकिर गर्नुभयो ।
अबको निर्वाचनमा माओवादी पहिलो दल बन्छ : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको निर्वाचनमा माओवादी पहिलो दल बन्ने दाबी गर्नुभएको छ । शनिबार मोरङको ग्रामथान गाउँपालिकामा आयोजित धन्यवाद तथा खबरदारी सभालाई सम्बोधन गर्ने गर्दै प्रचण्डले आगामी निर्वाचनमा माओवादी पहिलो पार्टी बन्ने दाबी गर्नुभएको हो । गत मंसिर १५ मा भएको उपनिर्वाचनले जनतामा माओवादीप्रति उत्साह जागेको दाबी गर्नुभएका प्रचण्डले अब ०८४ को निर्वाचनमा पहिलो दल बन्ने दाबी गर्दै भन्नुभयो, ‘हामी १२२ ठाउँमा स्थानीय तहमा जितेका थियौँ । गएको उपनिर्वाचनमा ग्रामथानले त्यसलाई १२३ ठाउँ पुगेको छ । अब त्यो १२३ लाई हामी २५० बनाउनेछौँ । अबको निर्वाचनमा माओवादी पहिलो दल बन्नेछ । यसमा कसैले रोक्न सक्दैन ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच