
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गर्नुभएको समाजवादी मोर्चा कहिले निदाउँदै र कहिले ब्युँझदै गरिरहेको छ । हाम्रो सन्दर्भमा समाजवाद नै अपरिभाषित छ । यसलाई सबैले आ-आफ्नो ढंगमा परिभाषा गरिरहेका छन् । नेपाली कांग्रेसले पनि आफ्नो राजनीतिक सिद्धान्तमा समाजवादलाई समेटेको छ । राष्ट्रियता, प्रजातन्त्र (लोकतन्त्र) र समाजवाद नेपाली कांग्रेसका राजनीतिक सिद्धान्त हुन् । नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले समाजवादको सबैलाई चित्त बुझ्दो परिभाषा गर्नुभएको छ । समाजवाद भनेको एउटा आर्थिक नीति हो ।
यसको आसय समानता हो तर एक मानो दूध दशजनाले बराबरी बाँडेर खानुलाई उहाँले समाजवाद मान्नुभएको छैन ।
यसको प्राथमिकता निर्धारण हुनुपर्छ, त्यस आधारमा आवश्यक पर्ने व्यक्ति वा वर्गले त्यसको उपभोग गर्नुपर्छ भन्ने बीपीको तर्क थियो । यसैगरी कम्युनिष्ट विचारधार राख्ने राजनीतिक पार्टीहरूले पनि आफ्नो राजनीतिक सिद्धान्त समाजवाद भएको धारणा राख्ने गरेका छन् । कम्युनिष्टहरूको धारणाका आधारमा जुनसुकै कुराको पनि समान ढंगले हुने वितरण समाजवाद हो । यस्तै वादको पहेलीभित्र बीसौं शताब्दीको विश्वराजनीतिले चक्कर लगाइरहेको छ । हाम्रो देशका राजनीतिज्ञहरू पनि रनभुल्लमा पर्दै आएका छन् । यही क्रममा माओवादी केन्द्रका अध्यक्ष आफ्नो संयोजकत्वमा समाजवादी मोर्चा गठन गरी त्यसलाई सक्रिय पार्ने प्रयासमा रहनुभएको छ ।
उहाँले नेपाली कांग्रेस इतरका पार्टीहरूलाई एकीकृत गरेर समाजवादी मोर्चा बनाउनुभएको थियो । नेपाली कांग्रेसबाहेको शक्तिहरू एक ठाउँमा जम्मा गर्नुले एकातार्फ नेपाली कांग्रेसलाई एक्लो पार्न खोजेको अर्थमा हेर्न सकिएला भने अर्कोतिर नेपाली कांग्रेस पार्टी चाहिँ समाजवादी होइन भनेर अर्थ गर्न खोजेको भन्न सकिन्छ । उहाँले आफू नेपाली कांग्रेससँगको सत्ता गठबन्धनमा रहेकै बेला यस्तो मोर्चा बनाउनुभएको थियो । यसबाट त्यसबेला उहाँले सत्ताको साझेदार पार्टी नेपाली कांग्रेसलाई मनोवैज्ञानिक रूपमा तर्साउन खोजेको हुनसक्छ भने सत्ताबाहिर भएका बेला यो सक्रियता देखाएकाले विरोधीहरूको शक्ति सञ्चय गरेको हुनसक्छ ।
तर, सत्तास्वार्थ वा राजनीतिक आकर्षणका कारण यस्ता दलहरू उहाँसँगै प्रतिबद्ध भएर रहिरहन सकेका छैनन् । ती दलहरू अन्यत्र सम्भावना देख्दा त्यतै लाग्ने र अन्त सम्भावना नदेखेकाखण्डमा प्रचण्डसँग जोडिने गरेका छन् । यो मोर्चा नेपाली कांग्रेसलाई तर्साउनकै लागि बनेको जस्तो देखिन आएको छ । २०७४ सालको आमनिर्वाचनताका यसरी नै वामएकता भएको थियो । त्यस बेलाको वामएकताले नेपाली कांग्रेसलाई कमजोर त पारेकै हो तर एकतामा आएका दलहरू छिटै छिन्नभिन्न भए । हालको यो समाजवादी मोर्चा पनि विस्तारै यस्तै अवस्थामा पुग्ने निश्चित छ । मोर्चामा बोलाइएका उपेन्द्र यादवको समर्थन नदेखिएको अवस्थाले यसको पुष्टि गरिरहेको छ ।
प्रचण्डले मोर्चाको बैठक बोलाउनुभएकोमा उपेन्द्र यादव उपस्थित हुनुभएन । समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस), विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र महेन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) संलग्न छन् । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव भने मोर्चाको बैठकमा उपस्थित हुनुभएन । उहाँले समाजवादी मोर्चासँग तत्काल सहकार्यको सम्भावना छैन भन्ने धारणा राख्नुभएको छ । मधेसवादी पार्टी हाल छिन्नभिन्न अवस्थामा छन् । पहिलेदेखि नै मधेसका पार्टीहरू सँगै बस्न सकेका छैनन् । सुरुमा गजेन्द्रनारयण सिंहले नेपाल सद्भावना पार्टी खोल्नुभएकोमा उहाँको अवसानपछि केही समय उहाँकी श्रीमती आनन्दीदेवीका नामबाट उक्त पार्टी सञ्चालन भएको थियो ।
पछि उक्त पार्टीमा चिरा पर्दै गएपछि तराई मधेस केन्द्रित पार्टीहरू नै दर्जनौं बन्न पुगे । हालका दिनमा समाजवादी मोर्चामा संलग्न हुनेभन्दा तराईका पार्टीहरूबीचको मोर्चाबन्दीमा मधेसका पार्टीहरूको ध्यान केन्द्रित बन्दै आएको पाइएको छ । मधेसी दलहरूले वर्तमान संविधान निर्माण हुँदादेखि यसको विरोध गरे । मधेसीहरूका अधिकार यस संविधानमा स्थापित बन्न सकेनन् भनेर विरोध भयो तर पछि यही संविधानअन्तर्गत बनेका सरकारहरूमा यीमध्ये केही पार्टीहरूको संलग्नता हुनथाल्यो । विरोधका स्वरहरू हालका दिनमा सुनिन छोडेका छैनन् । अहिले संविधान संशोधनको चर्चा चलिरहेको छ । यसले गर्दा मधेसी दलहरू पनि चनाखो भइरहेका छन् ।
संविधानमा गरिएका व्यवस्थालाई सुरक्षित गर्दै थप अधिकार स्थापित गर्न सकिने सम्भावना देखेका कारण अब मधेस केन्द्रित दलका बीच मोर्चाको तयारी गरी त्यसका लागि लागि पर्नुपर्ने आवश्यकता देखेर मधेस केन्द्रित दलहरू समाजवादी मोर्चातर्फ भन्दा मधेसी मोर्चाका लागि सक्रियता देखाइरहेका छन् । नेताहरूको दलबदल पनि चलिरहेकै छ तर मधेसवादीहरूको मोर्चा समाजवादी मोर्चाभन्दा तदारुकताका साथ प्राथमिकतामा रहेर बन्ने अवस्था देखिएको छ ।
प्रचण्डले समाजवादी मोर्चामा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, अशोक राई नेतृत्वको जसपा, सिके राउत नेतृत्वको जनमत, प्रभु साह नेतृत्वको आमजनता पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चासहितका दलहरूलाई समेत एकताबद्ध गर्ने प्रयास गरिरहनुभएको छ । तर, प्रचण्डले उक्त मोर्चालाई विगत समयमा आफ्नो स्वार्थ अनुसार उपयोग गर्नुभएका कारण यी दलहरूले समाजवादी मोर्चामा सामेत हुने उत्सुकता देखाइरहेका छैनन् । बरू जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयश त्रिपाठीको समन्वयमा मधेस केन्द्रित यी दलहरूले आ–आफ्नो दलबाट वार्ता टोली बनाएका छन् । यसमा स्वतन्त्र सांसद अमरेशकुमार सिंह पनि सहभागिता जनाउँदै आइरहनुभएको छ । प्रचण्डको प्रयास एकातिर छ भने मधेस केन्द्रित दलहरू आफ्नै खालको मोर्चा बनाउनेतर्फ लागिरहेका छन् । प्रचण्डको स्वार्थ केन्द्रित समाजवादी मोर्चा एमालेको संलग्नता बिना शक्तिशाली बन्न सक्दैन । माओवादी दलको सबैभन्दा बढी विरोधमा संसद्मा समेत आफ्नो दृढ धारणा राख्ने गरेको एमाले हाल सरकारमा रहेर नेतृत्व नै उसैले गरिरहेको छ । त्यस कारण प्रचण्ड नेतृत्वको समाजवादी मोर्चाको सबलता हालका लागि त्यति सम्भव हुने अवस्थामा रहेको पाइँदैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच