
काठमाडौं । नइ प्रकाशनले राष्ट्रिय जीवनका ख्यातिप्राप्त दशजना साधकलाई २०८० सालको ‘नइ पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ । नइ प्रकाशनबाट अध्यात्म दर्शन र सनातन धर्मसंस्कृतिको जागरण, संरक्षण र सम्वद्र्धनका लागि प्राज्ञिक रूपमा सात दशकदेखि समर्पित प्रा.चेतोनाथ शर्मा आचार्यलाई ‘नइ चन्द्रधन पुरस्कार’ समर्पण गरिने भएको नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईंले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेपाल राष्ट्रको गौरवमय धर्म, संस्कृतिको अनुसन्धान तथा सांस्कृतिक जागरणका लागि सात दशकअघिदेखि अविच्छिन्न रूपमा समर्पित संस्कृति शिरोमणि हरिराम जोशीलाई ‘नइ भूपालदुर्गा पुरस्कार’ समर्पण गरिने निर्णय भएको हो ।
नेपाली भाषा साहित्यको सेवामा समर्पित रही विविध सिर्जना तथा प्राज्ञिक चिन्तनमा पुर्याएको विशिष्ट योगदानका निम्ति प्रा.गोपीकृष्ण शर्मालाई ‘नइ देरुनीख सुकीर्ति पुरस्कार’ समर्पण गर्ने निर्णय भएको नइले जनाएको छ ।
यस्तै, नेपालको भौगोलिक अखण्डता, सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता र स्वाभिमानको सम्बद्र्धनका लागि निष्ठावान् प्राडा.मोहन लोहनीलाई ‘नइ कीर्तिनिधि पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ । स्वास्थ्य विज्ञानमा मन, वचन र कर्मले समाहित भई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत नेपालको गौरव बढाएबापत न्यूरो सर्जन डा.वसन्त पन्तलाई ‘नइ भावी पुरस्कार’ समर्पण गरिने भएको छ ।
यसैगरी, सञ्चारका माध्यमबाट देशदेशान्तरमा नेपाली भाषाको गरिमा वृद्धिका साथै रेडियो नेपालको जनप्रियता बढाउनसमेत महत्वपूर्ण योगदान दिएबापत कमल प्रधान तथा ध्रुव थापालाई ‘नइ भाजप पुरस्कार’ संयुक्त रूपमा समर्पण गरिने भएको छ । नेपाली भाषामा बालसाहित्यका विविध विधाहरूको सिर्जनाका साथै बाल चेतनाको सम्बद्र्धनका निम्ति रञ्जुश्री पराजुलीलाई ‘नइ रेखा पुरस्कार’ समर्पण गर्नेे निर्णय भएको छ । काठमाडौं उपत्यकाबाहिर रहेर नेपाली भाषासाहित्यको सिर्जना र सम्बद्र्धनमा विशिष्ट योगदान पुर्याएबापत पर्वतका शान्तिनारायण श्रेष्ठलाई ‘नइ धनरूप पुरस्कार’ समर्पण गरिने भएको छ ।
यसैगरी राजधानीबाहिर रही नेपाली भाषा साहित्यको सिर्जनामा निरन्तर समर्पित विराटनगरका श्रीमती राधिका गुरागाईंलाई ‘नइ बुलु शर्मा पुरस्कार’ समर्पण गरिने भएको छ । यी सबै पुरस्कारका राशि जनही एक-एक लाख रुपैयाँ रहेका छन् । नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईंको अध्यक्षतामा सोमबार बसेको नइ प्रकाशनको बैठकले उक्त निर्णय गरेको जनाइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच