
हाल राजनीतिक पार्टीहरूका गतिविधितर्फ एकातिर जनताको चासो घटेर गएको छ भने अर्काेतर्फ अन्य राजनीतिक पार्टीहरूमा पनि काम गर्ने तदारुकता कम भइरहेको छ । यो र त्यो पार्टी भन्ने कुरा होइन वास्तवमा हालका दिनमा सबै पार्टीहरूकै अवस्था ‘उस्तै-उस्तै हो नानु’ भन्ने स्थितिमा पुगेको छ । नेपाली कांग्रेस पार्टी पनि सरकारमा पुग्ने अभियानमा मात्र रहँदै आएका कारण अलोकप्रिय र कामचलाउमात्र बन्दै आएको छ । ध्यान सरकारतर्फ तानिएका कारण पार्टी संगठन मजबुत पार्नेतर्फ ध्यान पुगेको छैन । पञ्चायती व्यवस्थालाई विस्थापन गर्दा २०४६ सालमा एकपटक राज्य प्रणाली परिवर्तन भयो भने अर्कोपटक त्यसयता माओवादीको विद्रोहको सकुशल अवतरणपछि यस्तो परिवर्तन हुन पुग्यो ।
चासो र रुचिका आधारमा धेरैले पहिलो परिवर्तनलाई परिवर्तनका रूपमा हेरे । त्यो वास्तविक पनि हो । पञ्चायती राज्य संरचना भत्किएर बहुदलीय संरचना स्थापित हुँदा जनताले परिवर्तनको अनुभूति गर्न पाएका थिए । सबैमा चासो थियो र आपूmले आस्था राखेको पार्टीका प्रायः सबै अवयव र सरकारका बारेमा सामान्य ज्ञानको चासो भएको व्यक्तिलाई सबै कुरा जानकारी हुन्थ्यो । नेपालमा २०४६ सालको परवर्तन भएताका संयुक्त राज्य अमेरिकामा त्यहाँका ४० प्रतिशत जति नागरिकलाई आफ्नो देशको राष्ट्रपतिको नाम थाहा हुँदैन रे भन्ने चर्चा हुँदा त्यो पत्यारिलो लाग्दैनथ्यो । त्यहाँका अधिकांश नागरिकलाई राजनीतिप्रति चासो हुँदैन भन्नका लागि त्यसो भनिन्थ्यो ।
हाम्रो देशमा भने आफ्नो देशको प्रधानमन्त्रीलगायत मन्त्री, राज्यमन्त्री, सहायकमन्त्री, विभिन्न पार्टीका धेरैजसो पदाधिकारी, कुन जिल्लाबाट कुन पार्टीको को विजयी भएर प्रतिनिधिसभामा आएको छ भन्ने जस्ता अधिकांश जानकारी हुने गथ्र्यो । बिस्तारै त्यो चासो घटेर हालका दिनमा सरकारका केही महत्वपूर्ण मन्त्रालयका मन्त्रीहरूबाहेक मन्त्री, सांसद, पार्टीका नेताहरू बारेको जानकारी घटेर गएको छ र अमेरिकी जनतालाई राष्ट्रपतिको नाम थाहा नभएको जस्तो विभिन्न व्यावसायिक व्यक्ति, कलाकारलगायत मानिसलाई राष्ट्रपति, प्रधानन्याधीश, प्रधानसेनापति, प्रहरी महानिरीक्षकहरूको नाम थाहा हुँदैन । साहित्यकार लेखकहरू चाहिँ अरूभन्दा बढी सचेत वर्ग भएका हुनाले उनीहरूलाई बढी जानकारी हुन्छ । पार्टी र तिनका कार्यक्रम बारेको चासो हाल कसैलाई पनि छैन ।
यस्तै कारणले गर्दा हाल पार्टीहरू आफ्ना विभिन्न कार्ययोजनका साथ जनतासामु गएर उनीहरूलाई आकर्षण गर्ने योजनामा हुन्छन् तर जनचासो नभएका कारण ती पार्टीहरू आफ्ना योजनाका सफल बन्दैनन् । अहिले भइरहेको पनि यस्तै हो । नेपाली कांग्रेसले राखेको १३० दिने अभियान पनि यही कारण त्यति सफल बन्न सकेन । अर्को कुरा नेताहरूकै कारणले यस्ता कार्यक्रमहरू असफल बन्ने गरेको पाइयो । पार्टीले खटाएका जिल्लाहरूमा जाने तर समग्र पार्टीको हितमा भन्दा आफ्नो खेमाका नेताहरूसँग भेटघाट गर्ने तिनीहरूसँग केही दिन बस्ने खाने गर्ने र तिनीहरूकै हित प्रवद्र्धन गर्ने खालका काम गरेर फर्किने गर्नाले पार्टीलाई सघाउ पुग्नुको सट्टा उल्टो झन् अहितका काम मात्र भएको यस्ता अभियानबाट पार्टीलाई फाइदा पुग्नसकेको पाइएन ।
अर्कातिर क्रियाशील सदस्यता वितरणका काम पनि यथासमयमा भइरहेका छैनन् । क्रियाशील सदस्यता वितरण तथा नवीकरणका बेला पनि सबै पक्षले आ-आफ्ना मानिसलाई सदस्य बनाएर आफू महाधिवेशन तथा महासमिति सदस्यमा विजयी बन्नका लागि बाटो तयार गर्ने काम मात्र हुने गरेको छ । क्रियाशील सदस्य वितरणका बेला पनि भाँडभैलो मच्चिने गर्छ । अझ यस्ता काम समयमा हुँदैनन् र चाहिँदैन भन्नेलाई कर गरेर दिने र मलाई देऊ, भन्नेहरूलाई नदिने प्रवृत्तिले पार्टीप्रतिको धारणा फेरिँदै गएको छ । यस पार्टीका संस्थापक नेताहरूप्रतिको सम्मान र आस्थाका कारणले मात्र नेपाली कांग्रेस आजका मितिसम्म आफ्नो अस्तित्व जोगाएर बसेको छ ।
अब भने हिङ सक्किसकेको र टालोमात्र बाँकी रहेका कारण हिङ बाँधेको टालो देखाएरमात्र कति दिनसम्म यो पार्टी जीवित रहनसक्ने हो भन्ने प्रश्न उठिरहेको छ । हालका पार्टी पदाधिकारीहरूलाई बीपी कोइराला, गणेशमान सिंह, सुवर्णशमशेर राणा, महावीरशमशेर राणा, महेन्द्रविक्रम शाह, कृष्णप्रसाद भट्टराईहरूको उत्तराधिकार थाम्ने नेताहरूका रूपमा स्वीकार्न सक्ने अवस्था छैन । समयले मात्र होइन नियत र प्रवृत्तिले उहाँहरूलाई फुटबल खेलाइरहेको छ । कहिले सिद्धान्तै नमिल्नेहरूसँग गठबन्धन गर्ने र गठबन्धन फेरिरहने, कहिले भ्रष्टाचार, अनियमितताका अनेकौं प्रकरणहरूमा जोडिन पुग्ने, जनता र राष्ट्रको स्वार्थ छोडेर आफ्नो निजी स्वार्थका पछि लाग्ने जस्ता अनेकौं कमजोरीका कारण वर्तमान नेतृत्वप्रति जनताको सम्मान कम हुँदै गएको हो । यो सम्मान यसैगरी कम हुँदै गइरहेको खण्डमा भोलिका दिनमा पार्टीलाई तिनले गर्ने समर्थनमा पनि कमी हुनजान्छ भन्ने कुरा नेताहरूले बिर्सनु हुँदैन ।
२०४६ सालको परिवर्तन देखेका भोगेका र संलग्न भएका व्यक्तिहरूका लागि २०६२/०६३ सालको परिवर्तनले धेरै प्रभाव पारेन तर नयाँ पुस्ता र माओवादी अभियानमा लागेकालाई भने यसले ठूलो प्रभाव पार्यो । राजतन्त्र हटाएर गणतन्त्रको स्थापना यस आन्दोलनको उपलब्धिका रूपमा देखियो । शासकीय स्वरूप परिवर्तन भयो तर आजका दिनसम्म आइपुग्दा भने त्यही एउटा प्रश्नको जवाफ आउन सकेको छैन । प्रश्न हो ‘जति परिवर्तनहरू भए पनि नेपाली जनताले चाहिँ के पाए त ?’ नेपालका तमाम पार्टीहरूले यस प्रश्नको जवाफ खोज्नुपर्छ र नेपाली राजनीतिको मियो बनेर पौने शताब्दी राजनीति गरेको नेपाली कांग्रेसले अझै बढी जिम्मेवार भएर यस प्रश्नको जवाफ दिनुपर्छ, पन्सिन र भाग्न मिल्दैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच