
आज २०८१ साल पुस २६ गते बिहान एकजना विद्यावारिधि गरेका र बारम्बार सरकारका महत्वपूर्ण मन्त्रालयहरूको मन्त्री पदको महत्वपूर्ण भूमिका निर्वाह गरिसकेका विद्वान् व्यक्तिको अन्तर्वार्ता रेडियोबाट सुनेँ । अन्तर्वार्ता लिने व्यक्ति भने बौद्धिक कोणबाट मूल्यांकन गर्दा उनी निख्लाम मध्येकै खालका थिए । दुर्भाग्य हाम्रो पत्रकारिता क्षेत्रमा तर्क प्रधान र विचार प्रधानभन्दा हल्लाखोरहरूको बोलाबाला छ । हल्लाखोर पत्रकारले पत्रकारिता क्षेत्रको प्रतिष्ठाको भने इतिश्री गरेका छन् । उनी निर्धक्कका साथ आफ्नो योग्यता कमर्शमात्रै पढाइ हुने कमर्श क्याम्पसबाट राजनीति शास्त्रमा आइए गरेको छु भन्छन् । कमर्शमात्रै पढाउने क्याम्पसमा राजनीतिशास्त्रबाट आइए कसरी पास गरे ?
उनले दिएको आफ्नो शैक्षिक योग्यताको हवालाले उनको हैसियत र कार्यक्षमतालाई प्रष्ट्याउँछ । तसर्थ उनको अन्तर्वार्ताको शैली, विषयवस्तु, प्रस्तुतीकरणको विषयमा थप चर्चा नगरौं । हाम्रो पत्रकारिता क्षेत्रमा र राजनीतिमा नपढेकाले आफूलाई योग्य प्रमाणित गर्न धेरै बेतुकका कुरा र विषयवस्तु पस्कन्छन् । बोलीमा तुक नभएका अझ भन्नुपर्दा बकम्फुसे विचार सार्वजनिक गर्न नाम चलेका भनिएका सञ्चारमाध्यमले तँछाड मँछाड गरेको देख्दा, सुन्दा दिक्क लाग्छ ।
विद्वानमध्येबाट पनि सरकार शब्दसम्म उच्चारण गर्दा शुद्ध उच्चारण नहुने अवस्था आफैंमा दुर्भाग्यपूर्ण भन्नुपर्छ । यसमा दोषी को ? व्यक्ति कि शिक्षा पद्धति ? यो विषय साधरण लाग्ला तर जिम्मेवारबाट भएको गल्ती, गैरजिम्मेवारीको विषय किमार्थ साधारण र क्षम्य हुँदैन ।
यस्तो परिस्थितिमा विकासप्रधान समाचार, दृष्टिकोण प्राथमिकतामै नपर्ने दुर्भाग्यपूर्ण परिस्थितिको सिकार हाम्रो पत्रकारिता क्षेत्र कहिलेसम्म हुने ? पत्रकारिताले प्राथमिकता विचारलाई होइन पदलाई दिने अनौठो संस्कार विकसित गरेका छौं । यहाँ अनुसन्धाता वैज्ञानिकहरू जस्ता विचार प्रवाह गर्नेप्रति, नवप्रवर्तनप्रति हाम्रो पत्रकारिता बेखबर छ तर विचार, तर्क नभएका पदमा रहेकाको बकमफुसे विषयले समाचारमा प्राथमिकता पाउँछन् । यस्ता पढ्दै नपढेकाको मौखिक, लिखित विचारलाई नै नेपाली पत्रपत्रिकाले तँछाड मँछाड गरेर पस्कन्छन् ।
के नेपाली पाठकहरूले सधैं निख्लामे पत्रकारहरूका निख्लामे प्रस्तुति, विषयवस्तुका साथै निख्लामे राजनीतिज्ञको निख्लामे विचार सधैं सुन्न र पढ्नुपर्ने हो ? तर विद्वानमध्येबाट पनि सरकार शब्दसम्म उच्चारण गर्दा शुद्ध उच्चारण नहुने अवस्था आफैंमा दुर्भाग्यपूर्ण भन्नुपर्छ । यसमा दोषी को ? व्यक्ति कि शिक्षा पद्धति ? यो विषय साधरण लाग्ला तर जिम्मेवारबाट भएको गल्ती, गैरजिम्मेवारीको विषय किमार्थ साधारण र क्षम्य हुँदैन ।
जतासुकै विकृति, विसंति, गुणस्तरहीनता, अयोग्यताको पसारोमात्रै किन देख्नु-सुन्नुपर्छ ? कहिलेकाहिँ त के लाख्छ भने ‘नो नलेज इज गुड नलेज’ भन्ने भनाइलाई सम्झन्छु । त्यसले मन कुँडिन्छ । यदि आफूले पनि पढ्ने गल्ती नगरेको भए गाउँघरमा पशुपालन, कृषि जस्ता काममा संलग्न हुँदै चौतारीमा पात बजाउने गरेको भए यस्ता अयोग्य र अक्षमको विषयमा ज्ञान हुन्थ्यो न चर्चा नै । जान्नु पनि अभिशाप नै रहेछ । विषयवस्तु हो अन्तर्वार्ता लिने, अन्तर्वार्ता दिने पात्र र विषयवस्तुको समीक्षा । यी पात्रले नेपालीहरूको अन्तर्वार्ता लिने प्रवृत्ति र पात्र दुबैको प्रतिनिधित्व गर्छन् । यो प्रसंगलाई कोट्याउँदै गर्दा चार दशकअघि ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्जमा प्राध्यापन गर्दाको घटना सम्झना भयो ।
त्यसबेला ठाकुरराम क्याम्पसमा क्याम्पस प्रमुख हुनुहुन्थ्यो डा.मोहनप्रसाद लाखे । लाखे सरले एउटा घटनाको व्याख्या र विश्लेषण गर्दै गर्दा एकजना साथीले त्यो घटनासँग सम्बन्धित पात्रको नाम सोध्नुभयो । डाक्टर लाखेले उहाँलाई भन्नुभयो, ‘तपाईंभन्दा म उमेर र अनुभव दुबैले परिपक्व भएको नाताले यस्ता विषयवस्तुमा कहिल्यै पनि घटनासँग जोडिएका पात्रहरूको नाम न सोध्नु हुन्छ न यस्ता पत्रको नाम नै भन्नु हुन्छ । घटना सुन्नुहोस् पात्रको नाम नसोध्नुहोस् । त्यस दिनको जमघटमा भएको यो घटनाको प्रसंगले मलाई जीवनमा व्यावहारिक शिक्षा र ज्ञान दुबै दिएको छ । यहाँ विषयवस्तुलाई प्रस्तुत गर्दा पात्रलाई होइन प्रवृत्तिलाई पस्कनुपर्छ ।
घटनासँग सम्बन्धित व्यक्तिको नाम किटानी साथ भन्नुहुन्न भन्ने विषयले प्रभाव पारेका कारण मैले पात्रहरूको नाम उल्लेख नगरिकन उनीहरूको प्रवृत्ति, संस्कृति, योग्यता वा अयोग्यताको विषयमा मात्रै केन्द्रीकृत हुने धृष्टता गरेँ । त्यो हो अन्तर्वार्ता दिने महोदयको भाषा । अन्तर्वार्ता लिनेको भाषा, विषयवस्तु, प्रस्तुतीकरणको अहिले व्याख्या र चर्चा गर्नुभन्दा राजनीतिमा उच्चपदस्थ भइसकेका विद्यावारिधि गर्ने के हैसियत राख्छन् भन्ने विषयवस्तुलाई नै प्रमुखता दिँदा ठीक होला । अहिले विद्यावारिधि गरेका विद्वान् को शब्द उच्चारणको शुद्धाशुद्धिका विषयमा मैले रेडियोबाट सुनेको आधारमा टिप्पणी गर्दैछु ।
उहाँले अन्तर्वार्ताको क्रममा दर्जनौं पटक उच्चारण गर्नुभएको शब्द हो सरकार तर उहाँलाई सरकारसम्म भन्न आउँदो रहेनछ । बारम्बार सरकार शब्दलाई उहाँ ‘सरखार’ भन्दै हुनुहुन्थ्यो । म पनि भाषाको विद्यार्थी नभएको हुँदा कतै सरखार पनि शुद्ध हो कि भनेर शब्दकोश पल्टाएँ । शब्दकोशमा त्यो शब्द नै भेटिनँ । शब्दकोशमै नभएको शब्द कसले प्रयोग गर्यो भने देशको ऊर्जा, अर्थ जस्ता महत्वपूर्ण मन्त्रालयहरूको जिम्मेवारी निर्वाहा गरिसकेको अनुभवबाट खारिएको पार्टी नेतृत्वको अत्यन्तै विश्वासपात्र र देशको महत्वपूर्ण पार्टीको प्रवक्ता जस्तो जिम्मेवारी निर्वाह गरेको व्यक्तिले ।
उहाँ जतिसुकै पढे पनि सरकारसम्म शुद्ध उच्चारण गर्न जान्नुहुन्न भने उहाँको मन्त्रालय र पार्टी चलाउने ढंग कस्तो होला ? देशमा सुशासन, विकास, समृद्धिका कारणहरूको खडेरी उच्च पदमा हुनेहरूको योग्यता र कार्यशैली प्रमुख जिम्मेवार छन् भन्ने कुरा लाटाले पनि अनुमान गर्ने विषय हुन् । सरकार शब्दसम्म शुद्ध उच्चारणको योग्यता नहुनेहरूलाई मन्त्रालयको जिम्मा दिने अवस्थाले हामी कहाँ चुकेका छौं भन्ने थप भन्न जरुरी भएन । नेपाली भाषा, संस्कृति र सभ्यतालाई कसरी हुन्छ नष्ट गर्ने, बदनाम गर्ने र सबैलाई नेपालीपनप्रति नकारात्मक बनाउने एउटा विश्वशक्तिको क्रीडास्थल बनाउने दीर्घकालीन योजनाका साथ देशमा माओवादका नाममा आतंकवादले एकदशक राजनीतिलाई सुधार गर्ने नाममा नकारात्मक विषयवस्तुलाई स्थापित गर्ने कुत्सित विचार जनमानसमा भर्ने दुष्प्रयास भएको विषय जगजाहेर छ ।
त्यसबखत हाम्रो धरोहरका रूपमा रहेको संस्कृत भाषालाई र संस्कृतका गुरुहरूको उछित्तो काढ्नेमात्रै होइन ज्यान लिने अभियानको सुरुवात गर्यो । हुन त यस दृष्टिकोणलाई अंग्रेजी शिक्षाको आयातसँगै यसको जग बनेको थियोे भने त्यो जगलाई माथि उठाउन सम्भवतः पश्चिमाहरू माओवादको आवरणमा देश र समाजलाई, सभ्यता, संस्कृति, धर्मका विरुद्धमा उभ्याउन सफल भएभन्दा अत्युक्ति नहोला । पश्चिमाहरूले देशको अस्तित्व समाप्त गर्न भाषा र संस्कृतिलाई आक्रमण गर्नुपर्छ भन्ने कुरा भारत भ्रमणपछि बेलायतको संसद्मा मेकालेले प्रस्तुत गरेका विचारबाट स्पष्ट हुन्छ ।
भारत जस्तो देशलाई उपनिवेश बनाउने योजनाले सफलता पाउनुको कारण त्यहाँको भाषा, धर्म, संस्कृतिलाई उपेक्षा गर्ने/गराउने वातावरण नै मुख्य जिम्मेवार थियो । संस्कृतप्रति नेपाली र भारतीयलाई नकारात्मक बनाउने योजना रच्ने तर त्यसको ज्ञानलाई आफूले वैज्ञानिक क्षेत्रमा प्रयोग गर्ने पश्चिमाहरूको नीतिले भारतवर्षमा अभाव, गरिबी, भोकमरी, बेरोजगारी, युवा पलायन र आफ्नो भाषालाई उपेक्षा गर्ने मनोविज्ञान अहिले हावी भएको छ । अंग्रेजी जान्नेमात्रै जान्ने हुन्छ भन्ने छाप आधुनिक भनिएकाहरूमा परेको छ । विकास अंग्रेजी भाषा जान्नेहरूले मात्रै गर्छन् भन्ने हौवा पिटिएको छ ।
अहिले विदेशमा पढ्न जानेमध्ये कतिजना भोलि नेपाल फर्कन्छन् ? विदेश पढ्न जाने बहानामात्रै हो उनीहरूको अन्तिम चाहना पलायन हुने हो । होनहार जनशक्ति निर्यात गर्ने, पलायन हुन सहजीकरण गर्ने सरकारले र सरकारी नीतिले देशको विकास हुन्छ, समृद्धि आउँछ भन्नेहरूको विचार र शासनले देशले परनिर्भरताको राजमार्ग खन्दैछ ।
हामीले युगौंदेखि रक्षा गर्दै आएका र चोरिनबाट जोगाएका संसारकै दुर्लभ संस्कृत पुस्तकालयहरूमा संग्रहित पुस्तकलाई जलाएर माओवादीले देशलाई ठूलो घातमात्रै होइन अक्षम्य अपराध गरेको छ । संस्कृत र व्याकरण जस्ता विषय विद्यालयस्तरका पाठ्यक्रममा समावेश नहुँदा नै उच्चपदस्थहरूबाट भाषिक त्रुटि हुनुका मुख्य कारण हुन् । अहिले सरकारको जिम्मेवारीमा हुनेहरूले समेत सरकार शब्द शुद्ध उच्चारण नगरेर ‘सरखार’ शब्द उच्चारण गर्ने भाषिक उपहासको अवस्थालाई दुर्भाग्यपूर्ण भन्नुपर्छ । हामीले शिक्षालाई अंग्रेजी माध्यममा पढाउदा विदेशीहरूको सेवक बन्ने जनशक्ति उत्पादनमा अथाह लगानी गर्दैछौं किन ? यसको प्रभाव हो युवा पलायन हुने वातावरण बनाउने योजना ।
अंग्रेजी शिक्षालाई अत्याधिक प्राथमिकता दिनुभनेको हाम्रो परम्परागत नैतिक शिक्षा, आचरण, धर्म, संस्कृति र सभ्यताप्रति धावा बोल्ने रणनीति हो । यसलाई बुझ्दै नबुझिकन हाम्रो शिक्षाका योजनाकार लहैलहैमा लागे । अहिले हामीले जनशक्ति कस्तो अचकल्चो तयार गरेका छौं भने उनीहरू न शुद्ध अंग्रेज बोल्न लेख्न सक्छन् न नेपाली शुद्ध बोल्न र लेख्न सक्छन् ? नेपाल जस्तो गरिब देशले शिक्षामा गरेको अथाह लगानी, युवाहरूको मिहिनेत र श्रमको लाभ संसारका अमेरिका, अष्ट्रेलिया जस्ता विकसित देशहरूले लिएका छन् ।
शिक्षामा भएको हाम्रो लगानीको प्रायः धेरै अंश विदेशिने विद्यार्थीहरूको शिक्षामा भएको खर्चले हामीलाई लाभ होइन हानि गरेको छ । अर्थात् शिक्षामा भएको लगानीको अधिकांश अंश खेर गएको छभन्दा अत्युक्ति हुँदैन । शिक्षाको बजेटको चरम दुरुपयोग भएकोमा दुर्भाग्य हाम्रो नीति निर्माणको तहमा हुनेलाई ग्लानि छैन । दुर्भाग्य उल्टै गर्व गर्छन् । अहिले कक्षा १२ मा राम्रो नम्बरका साथ परीक्षा उत्तीर्ण गर्ने कतिजना देशभित्रका कलेजमा पढ्छन् ? के यसको लेखाजोखा गर्ने जिम्मेवारी सरकारको होइन ? अलि बौद्धिक क्षमता भएका विद्यार्थी प्रायः सबै विदेशिने अवस्थाले निम्त्याउने नकारात्मक परिणाम बारे चिन्ता र चासो लिने कसले ?
अहिले विदेशमा पढ्न जानेहरूमध्ये कतिजना भोलि नेपाल फर्कन्छन् ? विदेश पढ्न जाने बहानामात्रै हो उनीहरूको अन्तिम चाहना पलायन हुने हो । होनहार जनशक्ति निर्यात गर्ने र पलायन हुन सहजीकरण गर्ने सरकारले, सरकारी नीतिले देशको विकास हुन्छ, समृद्धि आउँछ भन्नेको विचार र शासनले देशले परनिर्भरताको राजमार्ग खन्दैछ । छोराछोरीलाई विदेश पढ्न पठाउनुभनेको अन्ततःपलायन हुने र विदेशी नागरिक हुन्छन् भन्दाभन्दै पढ्न पठाउँदा गर्वको अनुभूति गर्ने समाज र वातावरणका कारण यहाँका कलेजमा विद्यार्थीको संख्या घट्दा कलेज नै बन्द हुने अवस्था बन्यो ।
अब देशको अवस्था के हुन्छ ? किन सरकारका जिम्मेवार यसबारे चिन्ता तथा चासो लिँदैनन् ? छोराछोरी अमेरिका, अष्ट्रेलियाको नागरिक बनेभन्दा गर्व गर्ने र त्यो दुःखद् समाचार सुनेर नेपालमा भोजभतेर गर्ने बाबुआमा र बधाईको ओइरो गर्ने छिमेकीले पछुतो मान्ने दिन अब धेरै टाढा छैन । हाम्रो जनशक्ति आयात गरेर अष्ट्रेलियाले विकास निर्माणको क्षेत्रमा चमत्कार गरेको छ भने हाम्रो आफ्नो विकास र निर्माणको लागि आवश्यक पर्ने बौद्धिक साथै शारीरिक श्रम गर्नेको अभाव झेल्नुपर्ने दुर्भाग्यपूर्ण अवस्थामा हामी किन पुग्यौं ?
यसको आत्मआलोचा र आत्ममूल्यांकन गर्ने सक्षम र योग्य नेतृत्व आवश्यक भएको समयमा नेतृत्वमा सरकार शब्दसम्म शुद्ध उच्चारण गर्न नजान्नेहरूको राजनीतिमा रजगज छ । राजनीतिमा गुणस्तरहीनले रजगज गर्दा यत्रतत्र सर्वत्र गुणस्तरहीनको बोलाबाला हुन्छ । राजनीति गर्ने नै नीति-निर्माणमा जिम्मेवार हुने हुँदा राजनीतिका हस्ती जहिलेसम्म गुणस्तरीय छान्ने व्यवस्था हुँदैन त्यसबेलासम्म विकास, सुशासन, समृद्धि भाषणका, हल्लाखोर राजनीति र पत्रकारिताका विषयहरूमा सीमित हुन्छन् नकि व्यवहारमा ?
Good article.