
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकाल सम्हालेलगत्तै करिब २०० कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको छ । मंगलबार अमेरिकाको ४७औँ राष्ट्रपतिको रूपमा शपथग्रहण गरेलगत्तै ट्रम्पले आप्रवासन, जलवायु सम्झौता र नयाँ कर लगाउनेसहित धेरै महत्वपूर्ण कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको हो । ट्रम्पले निवर्तमान राष्ट्रपति जो बाइडेनका लगभग ७८ नियम र विनियमहरूलाई खारेज गर्ने दस्तावेजमा हस्ताक्षर गरेको अमेरिकी समाचार संस्था सिएनएनले जनाएको छ । यद्यपि, यसमा कुन नियमहरू समावेश छन् भन्ने कुरा खुलाइएको छैन ।
अमेरिकी संविधानको धारा २ मा कार्यकारी आदेश जारी गर्ने अधिकार दिइएको छ । अमेरिकामा कार्यकारी आदेशहरू संसद्ले पारित गरेको कानुन बराबर हुन् । तर, पछिका राष्ट्रपतिहरू वा अदालतले भने यसलाई उल्टाउन सक्छन् । राष्ट्रपतिको रूपमा ट्रम्पको यो दोस्रो कार्यकाल हो । रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपतीय चुनावमा उम्मेदवार बन्नुभएका ट्रम्प डेमोक्रेटिक पार्टीकी कमला हृयारिसलाई पराजित गर्दै विजयी हुनुभएको थियो । यसअघि उहाँ सन् २०१६ को नोभेम्बरमा राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो । उहाँ सन् २०२० मा राष्ट्रपति जो वाइडेनसँग पराजित हुनुभएको थियो ।
दक्षिणी ‘सिमाना सिल’ गर्न आदेश, जन्मसिद्ध नागरिकता अधिकार खारेज
ओभल अफिसमा ट्रम्पले अमेरिकाको दक्षिणी सिमानामा आपतकाल घोषणा गर्ने निर्देशनमा हस्ताक्षर गर्नुभयो । ट्रम्पले अमेरिकाको शरणार्थी पुनर्वास योजनालाई चार महिनाका लागि रोक्न निर्देशन दिनुभएको छ । अमेरिकाको दक्षिणी सिमानामा आपतकालीन घोषणाको एक भागको रूपमा ट्रम्पले अधिकारीहरूलाई ‘दक्षिणी सिमानामा थप अवरोधहरू निर्माण गर्ने’ प्रयासहरू पुनः सुरु गर्न निर्देशन दिनुभएको छ । यद्यपि, यो कार्यकारी आदेश होइन । उहाँले पहिलो कार्यकालमा यो उठाउनुभएको थियो । सन् २०१६ मा पहिलोपटक राष्ट्रपति बनेपछि ट्रम्पले मेक्सिकोको सीमामा पर्खाल निर्माण गर्न आदेश दिनुभएको थियो । तर, अवरोधका कारण अधिकांश भागको निर्माण अपूर्ण रहेको थियो । ट्रम्पले सेनालाई ‘सिमाना सिल’ गर्न आदेश दिनुभएको छ । उहाँले जन्मसिद्ध नागरिकता अधिकार पनि खारेज गर्नुभएको छ । राष्ट्रपतिले लागुऔषध कार्टेल र अन्तर्राष्ट्रिय गिरोहहरूलाई विदेशी आतंकवादी संगठनको दर्जा दिने निर्देशनमा पनि हस्ताक्षर गर्नुभएको छ । ट्रम्पले बाइडेनको कार्यकालमा आप्रवासीहरूका लागि ल्याइएको प्रमुख योजनालाई पनि रोक लगाउनुभएको छ । बाइडेनको कार्यकालमा क्युबा, हैटी, निकारागुआ र भेनेजुएलाबाट लगभग ३० हजार आप्रवासीहरूलाई अमेरिका आउन अनुमति दिइएको थियो ।
ट्रम्पले गृहमन्त्रीलाई मेक्सिकोको खाडीको नाम परिवर्तन गरेर ‘अमेरिकाको खाडी’ राख्न निर्देशन दिनुभएको छ । अमेरिकाका २५औँ राष्ट्रपति विलियम म्याककिन्लेको सम्मानमा अलास्काको माउण्ट डेनालीको नाम परिवर्तन गरेर माउण्ट म्याककिन्ले राख्न पनि निर्देशन दिइएको छ । बाराक ओबामा राष्ट्रपति हुँदा माउण्ट म्याककिन्लीको नाम परिवर्तन गरेर माउण्ट डेनाली राख्नुभएको थियो । उहाँले पानामा नहर फिर्ता लिने बताउनुभएको छ । नहरका कारण अमेरिकामाथि धेरै नराम्रो व्यवहार गरिएको उहाँले बताउनुभयो ।
डब्ल्युएचओ र पेरिस जलवायु सम्झौताबाट अमेरिका अलग्गिने
ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)बाट अमेरिका फिर्ता हुनेसम्बन्धी कार्यकारी आदेशमा पनि हस्ताक्षर गर्नुभएको छ । ट्रम्पले कोरोना महामारीसँग जुध्न डब्ल्युएचओले चालेका कदमहरूको आलोचना गर्दै आउनुभएको छ । ट्रम्पले बढ्दो विश्वव्यापी तापक्रमलाई सम्बोधन गर्न महत्वपूर्ण अन्तर्राष्ट्रिय पेरिस जलवायु सम्झौताबाट अमेरिकालाई फिर्ता लिने आदेशमा पनि हस्ताक्षर गर्नुभयो । उहाँले यसअघि पहिलो कार्यकालमा पनि सम्झौताबाट बाहिरिने निर्णय गर्नुभएको थियो । तर, बाइडेनले ट्रम्पको निर्णय उल्ट्याउनुभएको थियो । ट्रम्पले अमेरिकामा चिनियाँ स्वामित्वमा रहेको सामाजिक सञ्जाल कम्पनी टिकटकमाथि प्रतिबन्ध लगाउने कानुनको निर्देशनमा पनि हस्ताक्षर गर्नुभयो । अब टिकटकमाथिको प्रतिबन्ध ७५ दिनको लागि स्थगित गरिएको छ । टिकटकले ट्रम्पको वाचाको स्वागत गरेको छ र अमेरिकामा आफ्नो सेवाहरू पुनस्र्थापित गरेको छ । ट्रम्पको शपथग्रहण अघि केही समय अमेरिकामा टिकटक प्रतिबन्धित थियो । ट्रम्पको आदेशले टिकटकको मूल कम्पनीलाई अमेरिकामा सबैभन्दा ठूलो हिस्सेदारी किन्ने साझेदार खोज्न थप समय दिनेछ । ट्रम्प पहिले टिकटकमाथि प्रतिबन्ध लगाउने पक्षमा हुनुहुन्थ्यो । तर, चुनावी अभियानको क्रममा उहाँका भिडियोहरूले अर्बौं भ्युहरू प्राप्त गरेपछि उहाँले आफ्नो नीतिमा परिवर्तनको संकेत दिनुभएको हो ।
संरक्षणबिना अमेरिकामा बसिरहेका नेपालीहरू अफ्ठेरोमा पर्ने
ट्रम्पको कार्यकारी आदेशको निशानामा सबैभन्दा पहिला कुनै संरक्षणबिना र कानुनी हैसियतबिना अमेरिकामा बसिरहेका नेपालीहरू पर्ने बताइएको छ । केही साताअघि ‘इन्स्टिट्युट फर इन्टिग्रेटेड डिभेलप्मन्ट स्टडिज’ले प्रकाशित गरेको अध्ययनअनुसार अमेरिकामा नेपाली आप्रवासीको संख्या एक लाख ८५ हजारदेखि दुई लाख १५ हजारको बीचमा रहेको छ । त्यसमा अवैध बाटो (डंकी रुट) भएर अमेरिका छिर्नेको संख्या समावेश गरिएको छैन । अमेरिकाको इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्ट (आइस)ले जारी गरेको पछिल्लो तथ्यांकअनुसार अमेरिकामा १३ सय ६५ नेपाली देश निकालाको आदेश पाइसकेपछि पनि लुकिछिपी बसिरहेका छन् । यो संख्या सन् २०१५ को जुन २४ पछि अवैध रूपमा अमेरिका छिरेका या भिजिट अथवा अन्य भिसामा गएर कानुनी प्रक्रिया पूरा नगरेकाहरूको हो ।
संघीय भर्तीहरू रोक्ने, घरबाट काम गर्न नपाइने
ट्रम्पले सैन्य र केही अन्य भर्तीहरूबाहेक सबै संघीय भर्तीहरू रोक्ने आदेशमा पनि हस्ताक्षर गर्नुभयो । यो प्रतिबन्ध ट्रम्प प्रशासनले पूर्ण रूपमा सत्ता सम्हालेसम्म जारी रहनेछ । संघीय कर्मचारीहरूलाई घरबाट काम गर्न दिइने छैन । सबै संघीय कर्मचारीहरूले कार्यालयमा आएर काम गर्नुपर्ने छ । ट्रम्पले न्याय विभाग, धितोपत्र तथा विनिमय आयोग र संघीय व्यापार आयोगजस्ता एजेन्सीहरूमा रहेका अधिकारीहरूमाथि छानविन गर्न महान्यायाधिवक्तालाई निर्देशन दिने आदेश पनि जारी गर्नुभएको छ ।
क्यानडा र मेक्सिकोलाई २५ प्रतिशत कर
ट्रम्पले आफ्नो रणनीतिक तेल भण्डार भर्न सकियोस् भनेर राष्ट्रिय ऊर्जा आपतकाल पनि घोषणा गर्नुभएको छ । उहाँले अलास्कामा तेल र ग्यासलगायत अन्य प्राकृतिक स्रोतहरूसँग सम्बन्धित आदेशमा पनि हस्ताक्षर गर्नुभयो । अमेरिकामा इन्धनको लागि थप उत्खनन गर्ने वाचा पनि उहाँले गर्नुभयो । ट्रम्पले बाइडेन प्रशासनको समयमा सुरु गरिएको ‘ग्रिन न्यु डिल’लाई पनि रोक्नुभएको छ । ग्रिन न्यु डिलले स्वच्छ ऊर्जाको प्रवद्र्धनको बारेमा कुरा गर्छ । ट्रम्पले विद्युतीय सवारी साधनको अनिवार्य आवश्यकता हटाउने कुरा पनि गर्नुभएको छ । ट्रम्पले धेरैपटक जलवायु परिवर्तनको बारेमा खुलेआम शंका व्यक्त गर्नुभएको छ । ट्रम्पले मंगल ग्रहमा अन्तरिक्ष यात्री पठाउने घोषणा गर्नुभएको छ र अमेरिकाले मंगल ग्रहमा पनि आफ्नो झण्डा गाड्ने बताउनुभयो । ट्रम्प समर्थक तथा स्पेसएक्सका मालिक एलोन मस्कले पृथ्वीबाहिर नयाँ मानव बस्ती स्थापना गर्नेबारे धेरैपटक बोल्नुभएको छ । मंगल ग्रहबारे ट्रम्पको घोषणापछि मस्कले उभिएर ताली बजाउनुभएको थियो । ट्रम्पले क्यानडा र मेक्सिकोमा २५ प्रतिशत कर लगाउन सक्ने बताउनुभएको छ । यो निर्णय फेब्रुअरी १ देखि लागू हुनेछ । अब व्यवसायीहरूले क्यानडा-मेक्सिकोबाट अमेरिका आउने सामानमा २५ प्रतिशत कर तिर्नुपर्ने छ । ‘अहिलेसम्म हाम्रो देशको सरकारले अन्य देशहरूलाई धनी बनाउन जनतामाथि कर लगाउँथ्यो । हामी यसलाई परिवर्तन गर्नेछौँ, अब हामी हाम्रो देशका जनतालाई धनी बनाउन अन्य देशहरूमा शुल्क र कर लगाउँछौँ,’ उहाँले भन्नुभयो । उहाँले चुनाव जितेपछि ब्रिक्स देशहरूमा शतप्रतिशत भन्सार लगाउने धम्की दिनुभएको थियो ।
१५ सय समर्थकलाई माफी, दुई लिंगलाई मात्रै मान्यता दिने
ट्रम्पले जनवरी ६, २०२१ मा क्यापिटल हिल हिंसाको लागि पक्राउ परेका आफ्ना लगभग १५ सय समर्थकलाई माफी दिनुभएको छ । माफी पाएकाहरू अति दक्षिणपन्थी समूह ओथ किपर्स र प्राउड ब्वाइजका सदस्यहरू छन् । यसका सदस्यहरूलाई क्यापिटल हिंसासँग सम्बन्धित मुद्दामा देशद्रोहको षड्यन्त्र जस्ता आरोपहरूमा दोषी ठहराइएको थियो । उहाँको आदेशसँगै उनीहरू छुट्न थालेका छन् । ट्रम्पले अमेरिकामा केवल दुई लिंगलाई मात्रै मान्यता दिने घोषणा पनि गर्नुभएको छ । जसमा पुरुष र महिला मात्रै हुनेछ । यो आदेशले राहदानी र भिसाजस्ता सरकारी कागजातहरूमा प्रभाव पार्नेछ । ट्रम्पले चुनावी अभियानको क्रममा ट्रान्सजेन्डर समुदायविरुद्ध अभिव्यक्ति दिनुभएको थियो ।
मध्यपूर्वमा शान्ति ल्याउने प्रतिबद्धता
अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकाको स्वर्ण युग सुरु भएको बताउनुभयो । शपथअघि उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले अमेरिकालाई फेरि एक शक्तिशाली र समृद्ध राष्ट्रको रूपमा उभ्याउने बताउनुभयो । ‘आजदेखि अमेरिकाको स्वर्णयुग सुरु हुँदै छ । हाम्रो देश अब समृद्ध र सम्मानित हुनेछ । म स्पष्ट रूपमा भन्न चाहन्छु कि म सधैँ अमेरिकालाई प्राथमिकता दिनेछु,’ उहाँले भन्नुभयो । ट्रम्पले मध्यपूर्वमा शान्ति ल्याउने बताउनुभयो । ‘अमेरिकाले विश्वको सबैभन्दा महान्, सबैभन्दा शक्तिशाली र सबैभन्दा सम्मानित राष्ट्रको रूपमा आफ्नो उचित स्थान पुनः प्राप्त गर्नेछ । हाम्रो देशले सम्पूर्ण विश्वलाई प्रेरणा दिनेछ र प्रशंसा गर्नेछ,’ उहाँले भन्नुभयो । मध्यपूर्वमा सधैँ ट्रम्पको ध्यान केन्द्रित रहँदै आएको छ । चुनावी अभियानका क्रममा ट्रम्पले मध्यपूर्वमा चलिरहेको युद्ध रोक्ने दाबी गर्नुभएको थियो । उहाँ निर्वाचित भएपछि नै गाजामा युद्धविराम भएको थियो । उहाँले रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्ने र युक्रेन युद्ध अन्त्य गर्ने प्रतिबद्धता दोहोर्याउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच