
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको कांग्रेस-एमाले गठबन्धन सरकारले ६ महिना पार गरेसँगै सरकारविरुद्ध विपक्षी दलहरू एकजुट भएका छन् । विपक्षीले सत्ता पक्षमै रहेका साना दलहरूको समेत साथ लिएर सरकारप्रति आक्रामक ढंगले प्रस्तुत हुने संकेत देखाएका हुन् । सरकारको कार्यशैलीविरुद्ध विपक्षी दल, समाजवादी मोर्चाको अतिरिक्त मधेश केन्द्रित दलहरूले पनि गतिविधि बढाइरहेका छन् । केही दिनअघि बसेको विपक्षी ६ दलको बैठकले सरकारका गलत कामकाविरुद्ध सशक्त ढंगले प्रस्तुत हुने औपचारिक निर्णय नै गरेका छन् । अध्यादेश, सुशासन, मूल्यवृद्धि, अर्थतन्त्र, परराष्ट्र सम्बन्ध लगायतमा विषयलाई विपक्षी दलहरूले सरकारविरुद्धको हतियारका रूपमा अघि सारेका हुन् । सरकारले संविधान र संसद्लाई उपेक्षा गर्नुका साथै सत्ताको दुरुपयोग गरिरहेको विपक्षीको आरोप छ । सरकारको कदमको विरुद्धमा प्रतिपक्ष सबै दल एकबद्ध हुने लिखित सहमति नै रहेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका कार्यवाहक सभापति डिपी अर्यालको दाबी छ । विपक्षी मोर्चामा मधेश केन्द्रित दल जसपा नेपाललाई पनि समावेश गराउने पहल भइरहेको छ । अर्कोतर्फ दुई दलीय व्यवस्था राख्ने गरी कांग्रेस र एमालेले थ्रेस होल्डको सीमा राख्न खोजेपछि मधेशवादी दलहरूपनि संयुक्त प्रतिवाद गर्ने रणनीतिमा छन् ।
एजेण्डामा एकमत
विपक्षी दलहरूले माघ १८ गते आहृवान भएको संघीय संसद्को हिउँदे अधिवेशनमा समान धारणा बनाएर सरकारीविरुद्ध संसदीय मोर्चा बलियो बनाउने रणनीति लिएका छन् । विपक्षी दलहरूले संसद्लाई छलेर अध्यादेशमार्फत निरंकुश शासन लाद्न खोजेको आरोप लगाइरहेको बेला माघ ७ गते बसेको मन्त्रिपरिषद् बैठकको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले माघ १८ गते हिउँदे अधिवेशन आहृवान गर्नुभएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रसहित विपक्षी सात दलको माघ ४ गते बसेको बैठकले संसद् र सडक दुवै मोर्चालाई प्रभावकारी बनाउने निर्णय गरेको थियो । केपी ओली नेतृत्वको गठबन्धन सरकार ६ महिनासम्म बितिसक्दासमेत जनअपेक्षाअनुरूप काम गर्न नसकेको, महँगी र भ्रष्टाचारलाई बढवा दिएको, अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित राख्न नसकेको विपक्षीको आरोप छ । यी नै विषयलाई लिएर सरकारविरुद्ध आक्रामक ढंगले प्रस्तुत हुने विपक्षीको तयारी छ । हिउँदे अधिवेशनमा जनताका मुद्दा, सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा संयुक्त रूपमा विपक्षी दलहरू प्रस्तुत हुने जानकारी दिँदै नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले भन्नुभयो, ‘विपक्षी सात दल बसेर लिखित सहमति गरेका छौँ । सोही सहमतिका आधारमा संसद्मा जनताको मुद्दा एउटै आवाजमा उठाउँछौँ । ६ महिना बितिसक्दासमेत सरकारले भ्रष्टाचार, महँगी, अनियमितता नियन्त्रण गर्न सकेन । यसविरुद्ध हामी संसद्मा सशक्त प्रतिवाद गर्छौँ ।’
नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले विपक्षी दलहरूले संयुक्त रूपमा जनताको मुद्दा उठाउने जिकिर गर्दै भन्नुभयो, ‘अहिलेसम्म सरकारले गरेको काम निराशाजनक छ । महँगी, भ्रष्टाचार नियन्त्रण हुन सकेको छैन । जनपक्षीय काम गर्न सरकार चुकेको छ । संसद् छलेर जसरी अध्यादेशबाट शासन गर्न खोजिएको छ, त्यसको प्रतिवाद हुन्छ ।’ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद हरि ढकालले कानुन निर्माण, सरकारका गलत कामकाविरुद्ध आवाज उठाउने जानकारी दिँदै भन्नुभयो, ‘सदनप्रति सरकार उत्तरदायी हुनुपर्छ । रास्वपाले एउटा कानुन निर्माणमा सहयोग गर्छ र अर्को सरकारको निगरानी पनि गर्छ । जनताको दैनिक मुद्दा संसद्मा उठाउँछौँ ।’ राज्यले प्रतिशोध र पूर्वाग्रही ढंगले संसदीय दलका नेता रवि लामिछानेलाई पक्राउ गरेको दाबी गर्दै आएको रास्वपाले आगामी संसद् बैठकमा यो विषयलाई पनि जोडदार ढंगले उठाउने तयारी गरेको छ । विपक्षी मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र आमजनता पार्टी गरी सात दलका ८० सांसद छन् ।
सदनमा सशक्त प्रतिवाद हुन्छ : सापकोटा
प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका उपाध्यक्षसमेत रहनुभएका पूर्वसभामुख अग्निप्रसाद सापकोटाले सरकारविरुद्ध सदनमा सशक्त प्रतिरोध गर्ने चेतावनी दिनुभएको छ । सरकारविरुद्ध विपक्षी एकजुट रहेको र संसद् अधिवेशनको पहिलो बैठकमै आफ्नो शक्ति प्रदर्शन गर्ने जानकारी दिँदै सापकोटाले भन्नुभयो, ‘हाम्रा ३२ जनाले अब बानेश्वरमा आगो बाल्नेछन् । विपक्षीहरू एकजुट भएका छौँ । विपक्षीसँग सदनमा ८० जना सांसद छन् । सदनसँगै हामी सडकमा पनि हुनेछौँ ।’
यो सरकार लामो जाँदैन : प्रचण्ड
प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार लामो समयसम्म नजाने दोहोर्याउनु भएको छ । मंगलबार चितवनमा कांग्रेस नेता डा.शशांक कोइराला र चन्द्र भण्डारीलाई दायाँबायाँ राखेर सञ्चारकर्मीसँग कुरा गर्नुभएका अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘यो सरकार धेरै जान्छ भन्ने हामीलाई लाग्दैन । मैले प्रष्ट भन्ने गरेको छु । यो प्राकृतिक, स्वाभाविक र पारदर्शी छैन । सरकारले गरेका कामहरू पनि उल्टापाल्टा हुँदै गएका छन् । अध्यादेशसम्म आउँदा लाजमर्दो भएको छ ।’ प्रचण्डपछि बोल्नुभएका कांग्रेसका पूर्वमहामन्त्री एवं सांसद डा.शशांक कोइरालाले तत्कालै सरकार तलमाथि हुने सम्भावना कमै रहेको बताउनुभयो ।
अहिले नै सरकार परिवर्तन हुँदैन : डा. कोइराला
सत्तारूढ दलको प्रमुख घटक नेपाली कांग्रेसका पूर्व-महामन्त्रीसमेत रहनुभएका सांसद डा. शशांक कोइरालाले देशलाई स्थिरता र विकास दिनका लागि अहिलेको सरकार बनेको बताउनुभएको छ । दुई ठूला दल मिलेर बनेको सरकारले देशमा राजनीतिक स्थिरतासँगै विकास निर्माणमा जोड दिने विश्वास व्यक्त गर्दै कोइरालाले भन्नुभयो, ‘ठूला दल मिलेर स्थिर सरकार दिनुपर्छ भन्ने जनताको चाहना छ । कांग्रेस र एमालेको गठबन्धन सरकार तत्काल तलमाथि हुने सम्भावना कमै छ । नहुने होइन, राजनीतिमा जे पनि हुन्छ, तर हामी स्थिर सरकारको पक्षमा छौँ ।’
राष्ट्रपतिद्वारा संसद्को हिउँदे अधिवेशन आहृवान
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को हिउँदे अधिवेशन आहृवान गर्नुभएको छ । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको हो । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति पौडेलले यही माघ १८ गते अधिवेशन आह्वान गर्नुभएको हो । यसअघि सोमबार मन्त्रिपरिषद्ले १८ गते संसद् अधिवेशन बोलाउने निर्णय गर्दै अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको थियो । राष्ट्रपति पौडेलले यही माघ १८ गते शुक्रबार संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ः०० बजे राष्ट्रियसभा र प्रतिनिधि सभाको बैठक बस्नेगरी आहृवान गर्नुभएको हो । संसद् अधिवेशन अन्त्य र आहृवान सरकारको सिफारिशमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ । वर्षे अधिवेशन गत भदौ ३१ गते अन्त्य भएको थियो । लामो समयदेखि संसद् नचल्दा सरकारको विरोधसमेत भएको थियो । यसबीचमा सरकारले केही अध्यादेशसमेत ल्याएको थियो । संसद्मा हाल २० वटा विधेयक विचाराधीन अवस्थामा छन् । सरकारले हिउँदे अधिवेशनबाट ३० वटा विधेयक पारित गर्ने तयारी गरेको छ । विचाराधीन विधेयक पास, सरकारले हालै जारी गरेका अध्यादेश र थप विधेयक संसद्को आगामी हिउँदे अधिवेशनको मुख्य बिजनेस रहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच