
काठमाडौं । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज रूपन्देही जिल्ला अदालतमा हाजिर हुँदै हुनुहुन्छ । बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा दायर भएपछि आज उहाँ अदालतमा हाजिर हुन लाग्नुभएको हो । पोखराको सूर्यदर्शन सहकारी ठगीको अभियोगमा जिल्ला अदालत कास्कीबाट लामिछाने ६५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा हुनुभएको थियो । त्यस्तै, काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट ६० लाख बुझाएर रिहा हुनुभएको थियो । दुवै जिल्ला अदालतमा धरौटी रकम बुझाएर रिहा भएपछि थुनछेक आदेशका लागि लामिछाने आज रूपन्देही जिल्ला अदालतमा उपस्थित हुनु लाग्नुभएको हो ।
लामिछानेविरुद्ध बुटवलको सुप्रिम सहकारीको बचत ठगी आरोपमा आइतबार रूपन्देही अदालतमा पूरक दर्ता भएको थियो । लामिछाने, छविलाल जोशी, जिबी राईसहित पूरक अभियोगका १४ र सुरु मुद्दाका २८ गरी ४२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । लामिछाने र पूर्व-डिआइजीसमेत रहेका जोशीसहित २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराध कसुरमा पूरक र गितेन्द्रबाबु राई जिबीसहित १७ जनालाई थप कसुर र बिगो थपसहितको मुद्दा दर्ता भएको हो । लामिछानेसँग ४ करोड बढी बिगो माग गरिएको छ ।
सुप्रिम सहकारीमा रवि लामिछानेको मुद्दा के हो ?
पहिलोपटक ०८१ वैशाख ३ गते रवि र छविका साझेदार एवं सुप्रिमका सञ्चालक गितेन्द्रबाबु र राई (जिबी), सुप्रिमकै अध्यक्ष ओमप्रकाश गुरुङ, सहकारीका व्यवस्थापक सागर केसी र कुमार रम्तेलसहित २८ जनालाई सहकारी ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको थियो । तर, रवि पोखरामै हुँदा जिल्ला अदालत रुपन्देहीबाट पक्राउ पुर्जी जारी भएको थियो । त्यसपछि बयानका लागि उहाँलाई रूपन्देही लगिएको थियो ।
सहकारी संस्था बचत अपचलनसम्बन्धी छानविन गर्न बनेको सांसद सूर्यबहादुर थापा क्षत्री नेतृत्वको संसदीय छानविन विशेष समितिले लामिछानेले सुप्रिम सहकारीको पनि रकम अपचलन गरेर ग्यालेक्सी टेलिभिजनमा लगेको निष्कर्ष निकालेको थियो । जसका लागि एक हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको संसदीय समितिको प्रतिवेदनमा उल्लेख छ ।
संसदीय समितिको प्रतिवेदन र विभिन्न तथ्यलाई आधार मान्दा सुप्रिम बुटवलबाट १४ करोड ३० लाख रुपैयाँ साँवा गोर्खा मिडिया नेटवर्कमा लगानी भएको छ । उक्त रकममध्ये २ करोड रुपैयाँ लामिछानेको नाममा व्यापार कर्जा स्वीकृत गरेर चलानी भएको छ । तर, यसको ब्याजको हिसाब गर्न र अन्य कुरा मिलाउन बाँकी रहेकाले तलमाथि हुनसक्ने देखिन्छ । सुप्रिम सहकारीको प्रतिवेदन हेर्दा २०७७ चैतमा गोर्खा मिडिया नेटवर्कको खातामा रविकै नाममा जम्मा भएको छ । उक्त खाता ग्लोबल आइएमई बैंकको हो । रविको नाममा गएको दुई करोडमध्ये ४ लाख रुपैयाँ बैंकले सेवा शुल्कका रूपमा कटाएको छ । यो रकम जम्मा गर्ने सागर केसी र रोशनी गुरुङ हुन् । रोशनी सुप्रिमको लेखा शाखामा काम गर्थिन् भने सागर व्यवस्थापक थिए । उनीहरूले संसदीय समितिको बयानमा रविकै नाममा रकम जम्मा गरेको बताएका थिए ।
यति मात्रै होइन, रास्वपा कोषाध्यक्ष विपिनकुमार आचार्यको नाममा पनि सुप्रिम सहकारीबाट रकम प्रवाह भएको देखिन्छ । अभियोग पत्रमा विपिनको नामबाट ०७८ पुसमा १ करोड ५६ लाख १५ हजार गोर्खा मिडिया नेटवर्कको खातामा पुगेको छ । आचार्य सञ्चालक रहेको नोबडी प्रोडक्सन कम्पनीमा पनि सुप्रिम सहकारीबाट रकम प्रवाह भएको छ । सहकारीको प्रतिवेदनअनुसार २०७७ कात्तिकमा सुप्रिम सहकारीबाट प्रोडक्सनको नाममा ७५ लाख रुपैयाँ जम्मा गरेको देखिन्छ । विपिनको नाममा जम्मा भएको रकमबारे अदालतमा लगिएको अभियोग पत्रमा पनि स्पष्ट लेखिएको छ ।
कस्तो सहकारी हो सुप्रिम ?
सुप्रिम सहकारी बचत तथा ऋणसँग सम्बन्धित सहकारी हो । रूपन्देहीको बुटवलमा आर्थिक वर्ष २०५७/०५८ मा दर्ता भएको यो सहकारी मैत्रेय बचत तथा ऋण सहकारी संस्थाको नाम परिवर्तन भएर सुप्रिय बचत तथा ऋण सहकारी संस्था बनेको थियो ।
वि.सं. २०५७ मा सहकारी स्थापना हुँदा अध्यक्ष स्वर्गीय राजु गुरुङ, उपाध्यक्ष माया गुरुङ, सचिव ओमप्रकाश गुरुङ तथा सदस्यहरू धनबहादुर गुरुङ, अकबहादुर गुरुङ, पौबहादुर गुरुङ, फत्तबहादुर गुरुङ थिए । तर, अध्यक्ष राजु गुरुङको दुर्घटनामा मृत्यु भएपछि संस्थाका उपाध्यक्ष माया गुरुङ अध्यक्ष बनिन् । सहकारी अद्यावधिक भए पनि कारोबार खासै थिएन । कारण पारिवारिक नाताका मान्छे समितिमा आएपछि आफूखुसी चलेको थियो ।
त्यसपछि देशभर सहकारी संस्थाको नेटवर्क बनाएर बचतकर्ताको रकम हिनामिना गरिरहेका जिबीको प्रवेश भएको थियो । २०७२ मा राई समूह प्रवेश गरेसँगै सहकारीको नाम पनि फेरेर सुप्रिम राखिएको संसदीय समितिको प्रतिवेदनमा उल्लेख छ ।
सहकारीका पूर्वपदाधिकारी तथा संरक्षक जिबी राई र दीपेशकुमार पुनले उक्त सहकारी चलाउने प्रस्ताव २०७२ मा गरेका हुन् । त्यहीअनुसार २०७२ मा साधारणसभा गरी सहकारीको अध्यक्षमा जिबी चयन भए ।
ओमप्रकाश गुरुङ उपाध्यक्ष हुँदा जिबी समूहका राजु बराल सचिव र दीपेशकुमार कोषाध्यक्ष बने । पुन माओवादीका युवा नेता तथा पूर्व–उपराष्ट्रपति नन्दबहादुर पुन पुत्र हुन् । यस्तै, जिबीका दाजु देवेन्द्रबाबु राई र भूपेन्द्र राई सदस्य बने । नयाँ सञ्चालक समितिसँगै सहकारीको नाम पनि फेरेर सुप्रिम बचत तथा ऋण सहकारी संस्था भएको थियो ।
उच्च अदालतले माग्यो रवि सहितलाई धरौटीमा छाड्ने आदेशको ‘कैफियत प्रतिवेदन’
उच्च अदालत पोखराले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ७ जनालाई धरौटीमा छाड्ने आदेशको ‘कैफियत प्रतिवेदन’ झिकाउन आदेश दिएको छ । न्यायाधीश राजकुमार खतिवडाको इजालासले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा धरौटीमा छाड्ने कास्की जिल्ला अदालतको आदेश झिकाउन आदेश गरेको हो ।
जिल्ला अदालत कास्कीले गत पुस २५ गते सूर्यदर्शन सहकारी ठगीविरुद्धको मुद्दामा लामिछानेसहित ७ जनालाई धरौटीमा छाड्न आदेश दिएको थियो । न्यायाधीश नितिज राईको इजलासले लामिछानेलाई ६५ लाख, पूर्वडिआइजी छविलाल जोशीलाई ८८ लाख, रामबहादुर खनाललाई १५ लाख, लीला पछाईलाई ३७ लाख, मीना गुरुङलाई ५ लाख, आरती गुरुङलाई ५ लाख, कृष्णबहादुर गुरुङलाई १ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको थियो ।
सोही आदेश खारेजीको मागसहित सरकारी वकिल कार्यालय उच्च अदालत पुगेको थियो । उच्च अदालतले लामिछाने सहितलाई धरौटीमा छाड्नुको आधार र कारण खोज्दै जिल्ला अदालतको कैफियत प्रतिवेदन मगाउने आदेश गरेको सूचना अधिकारी नीलप्रसाद पनेरुले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच