
कर्ममै अधिकार तिम्रो, गर कर्म मनस्वी भई
नेपाल भनेकोको जनता, जंगल, जल जस्ता तीनवटा जले भरिएको देश हो एकातिर भने अर्कातिर उहिले धरणीधर कोइरालाले नेपाल भनेको जार, जाँड र जारीले चिनिएको देशबाट हटाएर नेपाल भनेर चिनाउन प्रयास गर्ने दिन आयो भनेका थिए । प्रजातन्त्र आउँदै जाँदै र यसका अनेकौं विकृत सुकृत रूप देखिँदै गर्दा अहिले एउटा आशाको त्यन्द्रो पलाउन लागेको बोध गरेका छन् । बीपीले प्रजातान्त्रिक समाजवादको कुरो आजभन्दा ९० वर्षअघि नै गरेका थिए । २०१५ सालमा उनी आफैँ प्रथम जननिर्वाचित सरकारको नेतृत्व गर्दै प्रधानमन्त्री भएका बेला आफ्नो चिन्तन अनुसारको काम गर्न लागेका थिए । योजना आयोगलाई विकासको लक्ष्य सिकाउन हलो जोत्दै गरेको किसानको फोटो राख भनेर समाजतिर फर्कन सिकाएका थिए ।
भारतीय आड भरोसामा चुनाव जीत्ने मनोकांक्षा बोकेर चुनावी मैदानमा देखापरेका भद्रकाली मिश्रलाई गाउँको विशुद्ध किसान वेणीमाधवलाई उठाएर राष्ट्रवादी चिन्तनको चुरो प्रदर्शन गरेका थिए । जनतामा आशा जगाएर दुईतिहाइ जित हात पारेका थिए । केही ठूला शासकले कब्जा गरेका वनलाई राष्ट्रियकरण गरे, श्रीपेचहरूको भत्ता हटाएर जोत्नेको र पोत्नेको जमिन र घरलाई स्वामित्व दिने कुरो गरे । बालक गर्भमा आउँदादेखि भत्ता खाने र ईश्वरका अनुकम्पाले गर्भिणी बन्ने दिलदिमागमा त्रासको मशाल सल्काइदिएका थिए । देशका सबै प्रकारका अवसरवादी र सामन्त मिलेर उनलाई सैनिक बन्दीगृहमा लगेर थन्क्याए पनि उनले सोचेर नेपाली माटो र नेपालीमनमा रोपेको बीजका बिरुवा धेरैसमय टाक्सिए पनि अब तिनै टाक्सिएका बोट हराभरा र लहलहाउँदा होलान् कि भनेर आस पलाएको छ ।
देखासिकी गरी खा, आहारिसे मरिजा
बीपीका माहिला भाइका छोरा कान्छा डा.शेखर कोइराला विगत एक दशकदेखि मनोयोगले नेपालका गाउँवस्ती दूरदरारमा पुगिरहेका थिए । नेपाली कांग्रेसमा पनि ‘मेरा हजुर्बाले घ्यू खाएका थिए मेरो हात सुँघ त’ भन्ने उपबुज्रुक धेरै छन् । त्यसैले ढिलो राजनीतिमा आएको जागिर छाडेर आएको आदि भनेर डाढ गर्ने र आफ्नो भाग खोस्न आएको भनेर असहयोग गर्नेको पनि थुप्रो नै छ । तर, पनि एकलव्य भावले डा.शेखर नव चिन्तनका साथ आफ्ना काममा लागेको लाग्यै गरिरहेको परिणामस्वरूप हालै बेलायतको दक्षिणपूर्वी एसिया हेर्ने एउटा संसदीय समितिले डा.शेखर कोइरालालाई बेलायती सरकारको औपचारिक आमन्त्रण र कुनै प्रकारको राष्ट्रिय ओहदामा नभए पनि दीर्घकालदेखिको सुसम्बन्धको सम्मानका साथै नेपाली माटोमा उनका ठूलाबाले रोपेको बीज उमार्न वातावरण अनुकूलन गर्ने प्रयत्न गरेको साराले देखे ।
डा.शेखर तिमीले यस परम्पराका विरुद्ध उभिएर महान्हरूको उपस्थितिबाटै कार्यसिद्धि हुन्छ भन्ने सूक्ति चरितार्थ गराउनुपर्छ । धेरै मान्छे पदका लागि मरिहत्ते गर्छन् । एकातिर भने अर्कातिर तिनै राजनीतिमा कोही कसैको पनि स्थायी शत्रु र मित्रु हुँदैन सबै अवसर अनुसार तथा स्वार्थ अनुसार हुन्छ पनि भन्छन् ।
एकातिर शेखरको मिहिनेत र नवप्रवर्तनको ध्याउन्न अर्कातिर कसैको दौराको फेर समातेर सभापति बन्ने स्वप्नभंग हुन लागेको ठानेर कोही दुःखी छन् । बेलायत सरकारले सुपात्र छानेर बोलाएर संसद्लाई सम्बोधन गर्ने र नागरिक अभिनन्दन गर्ने अवसर पनि जुटाएको देखियो । यस लोकका लागि डा.शेखरले बगाएका पसिनाको मूल्य हो भनेर सबैले बुझेका छन् । बुझेर पनि बुझ पचाउने र आफ्ना गैरीखेतमा साँडे पसेर बाली बिगारेको अनुभव बोकेर कुँढिने पनि अहिलेका नेपालमा धेरै छन् । भारतीय एकजना नेताले नेपालमा सबै बुढा र निकम्मा मात्रै नेता छैनन् । डा.शेखर कोइराला जस्ता राम्रा र आसलाग्दा नेता पनि छन् भनेर अन्तर्वार्ता नै दिएका थिए ।
नेपाली मतदाता गाई र गधालाई एकै देख्ने नेत्र रोगग्रस्त हुनाले नेपालमा जो निकम्मा गफाडी उही सबैभन्दा धेरै समय देशको शासनसत्ता सम्हाल्ने ठाउँमा पुगेको पनि देखियो । सम्भवतः युरोप र भारतका प्रजातन्त्रवादीहरू नेपाली जनताको यस्तै निकम्मापनको सोच र बुद्धि देखेर नै जसलाई गणेशमानजीले भन्नु भएको थियो यी भेडा ‘प्रजातन्त्र खोसिँदा पनि दीपावली गर्छन् प्रजातन्त्र आउँदा पनि दीपावली गर्छन’ भनेर । समग्र नेपालको विकासका लागि सतत चिन्तनशील रहने विश्वेश्वरप्रसाद कोइराला बितेको पनि ४१ वर्ष बितेछन् । यस बीचमा पनि उनकै वंशज र उनको विचारका अनुयायीले नै देशका शासनको बाग्डोर समाम्हालेका थिए तर ती या त कुहिराको काग बने या त लोभानी पापानीका खेतीमा लागेर नेपालका निकम्मा वामपन्थीको पुच्छर समातेर शासनमा गएर लुँड्याउने अवसर मात्रै खोजेर समय बिताए ।
नेपाली राजनीतिले बहुरूपियाको भेषमा अनेकौं दुष्कर्म गरेको गरेकै छ । अन्य मुलुकमा गरिबीलाई सिध्याउने ब्रहृमास्त्र ठानिएको सहकारी नेपालमा गरिबमारा ठालुपाला भएर बदलियो । निकम्मा शासन संयन्त्रले नानाभाँती नै गर्दोरहेछ । अहिले केही व्यापारी खुशी पारेर उत्कोच ग्रहणार्थ कालोबजारी गर्ने गराउनेलाई समात्ने कानुन नै खारेज गरेर नेपाल भनेको भ्रष्टाचारीको वैकुण्ठ हो भन्ने साबित गरे ओदेदापौका शासनले ।
क्रियासिद्धि सत्वे भवति महतां नोपकरणे
डा.शेखर तिमीले यस परम्पराका विरुद्ध उभिएर महान्हरूको उपस्थितिबाटै कार्यसिद्धि हुन्छ नकि कुनै उपकरणका सहायताले भन्ने सूक्ति चरितार्थ गराउनुपर्छ । धेरै मान्छे पदका लागि मरिहत्ते गर्छन् । राजनीतिमा बाबुछोराको पनि सम्बन्ध राम्रो नहुन सक्छ भन्छन् । एकातिर भने अर्कातिर तिनै राजनीतिमा कोही कसैको पनि स्थायी शत्रु र मित्रु हुँदैन सबै अवसर अनुसार तथा स्वार्थ अनुसार हुन्छ पनि भन्छन् । मेरा विचारमा निर्घृणी, निर्लज्ज, चोर, ठग मनोवृत्तिका मान्छेले गर्ने नीचस्थलमा गिरेको जसलाई राजनीति होइन लाजनीति भनिन्छ त्यो चाहिँ हो तिनले भनेको । पुरुषार्थीले आफ्नै पुरुषार्थले सबै कुरा आर्जन गर्छ ।
गाउँ नै गाउँले बनेको यो देशलाई बीपी चिटिक्क पारेर समानता, स्वतन्त्रता र विकास निर्माणका साधनस्रोतले सिँगार्न चाहन्थे । उनी त्यस बेला गाउँलाई जसरी स्वतन्त्रता र विकास तथा निर्माणले सिँगार्न चाहन्थे त्यसरी नै आज पनि सिँगार्न सकिन्छ । आवश्यकता छ इमानदार प्रयासको ।
आज पनि दुनियाँबाट त्यो विवेक मरेको रहेनछ । विवेक र बुद्धिको व्यवहार गर्ने देश र नागरिक पनि हुँदारहेछन् हामी सबैले देख्यौँ होइन र ? पञ्चायकालमा बीपीलाई जसरी राजाका भाटले व्यवहार गर्थे करिब डा.शेखर राजनीतिमा आएको सात वर्ष त लगभग त्यसै प्रकारको व्यवहार नेपाली कांग्रेसका केही नेता र तिनका पछौटेले शेखरलाई गरेको पनि यिनै आँखाले देखेको हो । आजै पनि गिरिजाप्रसाद कोइरालाले बसालेको सभापतिमा प्रतिस्पद्र्धा गरेर दोस्रो भएको व्यक्तिलाई पार्टीमा मर्यादाक्रम तोक्दा सभापतिभन्दा पछिल्लो तोक्ने परम्परा वर्तमान सभापतिले अहिलेसम्म पनि पालन गरेका छैनन् । अब भारत र युरोपले संकेत गरेपछि त्यो परम्परा पालन गरे पनि बद्नाम नगरे पनि बद्नामका अवस्थामा छन् वर्तमान नेपाली कांग्रेसका सभापति ।
सभापतिजी बेलामा चुनाव गराउनुस् । बार बखेडा नगरिकन अनि हेर्नुस् भनेर अब जिल्लाजिल्लाका नेता कार्यकर्ता साथीहरूले वर्तमान सभापतिजीलाई सम्झाउने बेला आएको छ । किसानका दूधका पैसा नतिर्ने, सहकारीका फटाहालाई कारबाही गरी तिनका जायजेथाबाट पीडित गरिबका पैसा फिर्ता गराउने, निर्माण व्यवसायीले काम सकेको भुक्तानी गर्नेभन्दा आआफैं मिलेर डकार्ने, भ्रष्टाचारी जोगाउने, बिचौलिया पोस्ने र आमउपभोक्तलाई थला पार्ने तपाईंहरू (ओदेदापौ) का शासनको उत्तम कार्नामा पनि जनताले राम्ररी देखे । आआफ्ना खोपीमा विश्वविद्यालयको सभा बोलाएर विश्वविद्यालयको पनि हुर्मत लिन बाँकी राख्नुभएन ।
आठ कक्षा फेल र वारुणी विशेषज्ञलाई विश्वविद्यालय घाँडो हुने नै भयो । नरहे बाँस नबजे बाँसुरी । यी गिदी बिग्रेका पढालेखाले हामीलाई मान्दैनन् भनेर बदला लिएको त होइन ? याद राख्नुहोला आकाशलाई थुकेका थुकका छिटा आफ्नै मुखमा पर्छन् नि । त्रिचन्द्र कलेज स्थापन गरेर दरबारमा गएर चन्द्र शमशेरले भनेका थिए रे ‘आज मैले आफ्नै मुटुमा किलो ठोकेर आएँ ठाइँला’ । देशका विश्वविद्यालय तपाईंहरूलाई पनि मुटुको किलो जस्तै त लागेको छैन ? डा.शेखर तिमी पनि नेपाली र यही हावापानीमा हुर्के बढेका हौ ।
यस प्रकारका रोगले तिमीलाई नछोओस् भनेर नै पृथ्वीकै सबैभन्दा जेठो प्रजातन्त्रको अभ्यास गरेको मुलुकको सरकार तथा यस पृथ्वीको (वैदिक काललाई छाडेर) स्थापना कालदेखि हिसाब गर्दा सबैभन्दा पुरानो संसद्लाई इतिहासमा पहिलोपटक तिमीले सम्बोधन गर्न पाउनु पूर्वजन्मको कमाइ, वंशको आभा र तिम्रो व्यक्तिगत चारित्रिक शुभ्रताका कारणले हो भन्ने कुरो सपनामा पनि नबिर्सीकन नेपाल र नेपाली गाउँबस्तीमा आफू्लाई भिजाऊ ।
राजनीति पेशा व्यवसाय होइन समाज सेवा र जनताका जीवनको अवस्था रूपान्तरणको यज्ञ हो भन्ने साबित गरिदेऊ । अहिले केही छेपाराले रङ बदली बदलीकन राजनीतिलाई खेतीकिसानी, बन्द व्यपारजस्तो बनाएर खरानी घस्न राजनीति गरेको होइन भन्ने भ्रम सिर्जना गरेर उधुम नै मच्चाइसके । अहिले जे कुरामा पनि कुनै न कुनै किसिमले गरिएको भ्रमलाई भाष्य भन्ने गरेको देखिन्छ । भाष्यते अनेन इति भाष्य अर्थात् जसबाट राम्ररी खुलस्त गरी बुझ्ने र बुझाइने गरिन्छ त्यो भाष्य हो । भ्रमलाई भाष्य भन्न मिल्दैन ।
मेरा हजुर्बाले घ्यू खाएका थिए मेरो हात सुँघ
गाउँ नै गाउँले बनेको यो देशलाई बीपी चिटिक्क पारेर समानता, स्वतन्त्रता र विकास निर्माणका साधनस्रोतले सिँगार्न चाहन्थे । उनी त्यस बेला गाउँलाई जसरी स्वतन्त्रता र विकास तथा निर्माणले सिँगार्न चाहन्थे त्यसरी नै आज पनि सिँगार्न सकिन्छ । आवश्यकता छ इमानदार प्रयासको । बीपीको त्यो चिन्तनलाई हेनरी फोर्डका विकासका मोडेलले गाउँले सम्पदा र गाउँको स्थानीय विशेषतालाई खल्बल्याइदिएको छ । अहिले राजनीतिक दृष्टिले हेर्दा मधेसी, थारू र आदिवासी जनजातिका समस्या छन् । तिनलाई इमानदार बनेर समाधानको उद्घोष गरिएन भने जनता त्यस्ताका पछि किन लाग्ने ? नेपाली कांग्रेस र एमालेका गठबन्धनले कांग्रेसलाई क्षयीकरण गराउन लागेको देखिन्छ ।
अतः विचार नमिल्नेसँगको साँठगाँठ भनेको फर्सीमाथि धारिलो हतियार प्रहार गर्नुजस्तै हानीकारक हुन्छ प्रजातन्त्रमा भन्ने कुरो बुझेर देशदेशावरका प्रजातन्त्रवादीलाई विश्वासमा लिएर कदम चाल्न ढिला हुन लागेको छ । यद्यपि बेलायती निमन्त्रणा र संसदीय समितिलाई तिम्रा सम्बोधनले पुरानो इतिहासको प्रवाहलाई तोडेर नयाँ इतिहासको मार्ग निर्माण गर्न सफल भएकामा विश्वले तिमीलाई बधाई दिएको छ । र मेरो पनि तिमीलाई हार्दिक बधाई । जसरी बीपी नडराइकन इतिहास निर्माणका निमित्त आजीवन प्रतिबद्ध रहे त्यसै गरी तिमी पनि नेपाललाई बीपीले भनेका विकास र स्वतन्त्रता तथा समानताका मार्गमा हिँडाउन दृढतापूर्वक अघि बढ । युग तिम्रो पछाडि छ र जनता पनि तिम्रो इमान परीक्षण गर्न चाहन्छन् । अन्यथा जुन जोगी आए पनि कानै चिरेको भन्ने उखान चरितार्थ हुनेछ ।
हार्दिक बधाई डाक्टर शेखर।
प्रा. डा. कुलप्रसाद कोइराला ज्यू को यो लेख पूर्वाग्रह रहित ढङ्गले राजनीतिको सूक्ष्म विश्लेषण गर्दछ । यो एउटा सटिक सुझाव पनि हो। त्यसैले डाक्टर शेखरले अबका भावी दिनमा दूरदराजमा बसेका नेपाली जनताको हितका लागि विनम्रभावले आफ्नो कार्य अगाडि बढाउने दीड सङ्कल्पका साथ आफ्नो लक्ष्य राख्नुपर्छ त्यसैमा सबैको हित छ।