
आगामी हप्तादेखि सञ्चालन हुने संसद्को अधिवेशन प्रतिपक्षी दलहरूको विरोधका कारण अराजक अवस्थामा पुग्ने कुराको संकेत अहिले नै पाइएको छ । संसद्को अधिवेशन राष्ट्रपतिबाट आहृवान भइसकेको छ । आगामी हप्ताको १८ गते शुक्रबारदेखि संसद्को दुबै सदन संघीय संसद् भवन नयाँबानेश्वरमा हुनेगरी सरकारले सिफारिश गरेबमोजिम राष्ट्रपतिबाट उक्त अधिवेशनको आहृवान भएको हो । सरकारको सिफारिश बमोजिम संसद्को अधिवेशनको आहृवान र समापन राष्ट्रपतिबाट गर्ने संवैधानिक व्यवस्था भए अनुसार यस पटकको अधिवेशनको आहृवान पनि भएको हो । तर, प्रतिपक्षी दलहरूले अधिवेशनको सुरुकै बैठकदेखि आफूहरूले आगो बाल्ने धम्की दिइरहेका छन् । आगो किन र केका लागि बाल्नेभन्दा पनि सरकारको विरोधकै लागि यसरी आगो बल्न लागेको बताइएको छ ।
यस्तो कार्य हामीले राजनीतिमा विकास गर्दै आएको संस्कारको प्रतिफल हो भन्नुपर्ने बाध्यता छ । हामी राम्रा काम गरेर देखाउँछौं, जनताका हितमा काम गर्छौं, देशको भलाइमा समय खर्च गर्छौं भन्न सक्ने राजनीतिक पार्टीहरू पाइएका छैनन् । देश बर्बाद पार्ने संसद्को गरिमा समाप्त बनाउने र आगो बाल्छौँ भन्ने जस्ता धम्कीपूर्ण अभिव्यक्ति दिने राजनीतिक पार्टीहरूबाट जनताको भलाइ हुन्छ भन्ने कुरामा कसरी सहमत हुन सकिन्छ ? त्यो सोच्नुपर्ने विषय हो । केही दिन पहिलेसम्म सरकारले संसद्को अधिवेशन आहृवान गरेन भनेर विरोध भइरहेको थियो र यसका लागि आवाज उठेको थियो । सरकारबाट संसद्को अधिवेशन डाक्न ढिलो भएकै हो ।
त्यसमा सरकारका केही बाध्यता थिए कि भनेर हेर्ने काम भएन र छिटोभन्दा छिटो अधिवेशन नबोलाए विशेष अधिवेशनका लागि आवाज उठाउने प्रतिपक्षको चेतावनी थियो । प्रतिपक्षको त्यही चेतावनीका कारणले मात्र त होइन होला सरकारको आफ्नै कार्यतालिकाका आधारमा ढिलो भएको हुनसक्छ तर जे भए पनि अहिले संसद्को अधिवेशन डाकिएको अवस्था छ । यसको अत्यधिक मात्रामा उपयोग गरी आफ्ना धेरैभन्दा धेरै एजेन्डाहरू पारित गराउँछौं, जनतालाई दिएर आएका वाचा र प्रतिज्ञाहरू पूरा गर्छौं, देशको भलाइका कामहरू गर्छौं । यसका लागि हामी एक्लैको आवाज त्यहाँसम्म नपुगे हामी सरकारसँग सहयोग माग्छौं भन्नुपर्नेमा हामी संसद्को पहिलो बैठकदेखि नै आगो बाल्छौं भन्नु कुनै जिम्मेबार नेता, दल र प्रतिपक्षको कर्तव्य हो भनेर मान्न सकिँदैन । संसद्मा आगो बाल्छौं भन्ने अभिव्यक्तिको आसय सकारात्मक हुन सक्दैन ।
जनताका चुला-अँगेनाहरूमा आगो बालिदिन्छौं भनेको भए त्यसको निश्चय पनि सकारात्मक अर्थ लाग्न सक्थ्यो । त्यसले गरिब दुःखी जनतालाई सहयोग गर्छौं भनेको अर्थ लाग्थ्यो तर संसद्मा आगो बाल्छौं भन्नुको अर्थ त्यो निश्चय संरचनात्मक अर्थ र आसयको अभिव्यक्ति हुनै सक्दैन । कानुन बनाउने ठाउँ हो संसद्, कानुन देशलाई व्यवस्थित गर्न, अभावको पूर्ति गर्ने काम गर्न र सरकारलाई सहयोग पु¥याउन त्यस ठाउँको प्र्रयोग हुनुपर्ने हो । सभामुख जस्तो गरिमामय पदमा पुग्नुभएका व्यक्तिबाट त्यस प्रकारको अराजक अभिव्यक्ति, आउनु शोभनीय होइन । राजनीतिक दलका नेताहरू, सांसद भएर जानुको अर्थ संसद्मा आगो बाल्न हो कि जनताको घरमा आगो बाल्न सक्ने सामथ्र्यको व्यवस्थापन गर्न सांसद बनेर हुनुभएको हो भन्ने प्रश्न तपाईंहरूका मतदाता जनताले सोधे भने तपाईंहरूसँग कुनै तयारी जवाफ त होला तर जनताले ‘सही हो’ भनेर समर्थन गर्ने खालको जवाफ हुन सक्दैन ।
सांसदहरू सम्यम बन्न नसक्नु भनेको संसद्को अपमान र दुरुपयोग । त्यहाँ कसैले आगो बाल्दैमा बालिन्छ ? कुनै एक व्यक्तिको, एक- दुई दलको र कसैको स्वार्थमा परिचालित हुने ठाउँ पनि त होइन नि त्यस्तो गरिमामय संसद् । यस्ता कुरा थाहा नपाए झैँ गरी किन सांसदहरूले बुझपचाएर बेल्ने गरेका ? त्यो जनताले बुझ्न नसकिरहेको विषय हो । पञ्चायतकालीन एकजना सदस्य र मन्त्रीका अनेक प्रकारका किस्साहरू नेपालको राजनीतिक बजारमा अहिलेसम्म पनि चर्चामा छन् । संसद्मा बसेर सांसद भएर त्यहाँबाट बुझिलिने सेवासुविधाका धोक्राहरूमात्र लिएर जाने देश तर जनताका लागि कुनै रचनात्मक काम नगर्ने हो भने भोलिको पिँढीले तिनै पञ्चायतकालका मन्त्री जस्तै किस्सा र उपहासको पात्र तपाईंहरूलाई चाहिँ नबनाउलान् र ?
त्यतातिर ध्यान दिन सके तपाईंहरूको भावी इतिहास उज्यालिन सक्थ्यो कि ? नामै लिएर भन्नुपर्दा माओवादी पार्टीको राजनीति गरेर आएकाहरूमा ओनसरी घर्तीले सभामुखमा रहँदा आफ्नो छवि जोगाएकै हो तर कृष्णबहादुर महराले आफ्नै कारणले आफ्नो अनुहारमा कालो पोतेर जानुप¥यो । पूर्वसभामुख तथा हाल माओवादी केन्द्रको उपाध्यक्ष अग्निप्रसाद सापकोटा आफ्नो छुचो बोलीमाथि नियन्त्रण लगाउन सक्नु हुन्न । उहाँजस्तो उच्च पदमा आसीन भइसकेको व्यक्तिबाट संसद्मा आगो बाल्ने अभिव्यक्ति आउनुलाई केही समर्थकबाहेक अन्यबाट सही हो भनेर समर्थन आउन मुस्किलै छ । उहाँले अहिले भने जस्तो भोलिका दिनमा संसद्मा आगो बाल्न सक्नुभएन भने उहाँको बोलीको अडान पनि देखिने छैन ।
अब त उहाँलाई त्यहाँ आगो बाल्छुभन्दा पनि त्यसको विरोध हुने र बाल्न नसक्दा पनि उपहास हुने अवस्था सिर्जना भएको छ । अरूले के भने त्यो महत्वकोविषय होइन । दुई वा तीनजना सांसद जिताएर पठाउन सकेका पार्टीका नेताहरूले बोलेको कुरा त्यति अर्थपूर्ण मानिँदैन त्यो बेली त माओवादी केन्द्रको आडमा आएको अभिव्यक्ति हो । त्यसैले के सरकार पक्ष के प्रतिपक्ष मिलेर संसद् चलाउने, थन्किएर बसेका विधेयकहरू पारित गर्ने, सरकारलाई रचनात्मक सुझाव दिने, सरकारका गलत कार्यलाई त्यसो नगर्न सल्लाह दिने काम प्रतिपक्षको हो, संसद्मा आगो बाल्ने काम होइन । यसतर्फ ध्यान दिनु सबैका लागि हितकर हुनजान्छ ।
यसै पनि उत्तेजक भाषालाई संसदीय मानिँदैन । संसद्मा बोलिने, संसद्का लागि बोलिने भाषाको व्यवकरण फरक छ । सापकोटाजी सहित कतिपय पार्टीका निकै जिम्मदार नेताहरू अहिले सांसद हुनुहुन्न । तर उहाँहरूले संसद्को मुख्यसमेत भएर अनुभव हासिल गर्नुभएको छ । अनुभवीहरूले अरूलाई संसदीय मर्यादाको पाठ सिकाउनुपर्ने हो । आफैं अराजक अभिव्यक्तिको कारक बन्ने होइन । उत्तेजक भाषाशैली र व्यवहारको मात्रै नक्कल सजिलै देखिन्छ । असल काम र मर्यादापूर्ण व्यवहारको पनि अनुकरण, अनुशीलन गर्ने बानी बसालौं, हाम्रो आग्रह यत्ति नै हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच