
नेपाली कांग्रेस र नेकपा एमाले चुनावी थ्रेसहोल्ड बढाउनुपर्ने निर्णयमा पुगेका छन् । संसद्मा साना दलहरूको दबदवा कम गर्न थ्रेसहोल्ड वृद्धि नै एकमात्र उपायका रूपमा लिइएको छ । आगामी निर्वाचनमा अझ बढी साना दलहरूको प्रतिनिधित्व हुन पुगी कतै आफ्नो हैसियत खुम्चिने त होइन भन्ने शंकाले ठूला दलहरूलाई घेरेको छ । जनताका मनमा भिजेर परिस्थितिमा परिवर्तन ल्याउन सकिन्छ भन्ने आत्मविश्वास हराउन थालेको अनुभव गरिएको छ ।
मुलुकको भावी दिशा कोर्ने र जनताका समृद्धिका योजनाहरू बुन्ने राजनीतिक दलहरूले नै हो । मुलुक सञ्चालनका लागि उपयुक्त राजनीतिक र आर्थिक प्रणालीका लागि उपयुक्त दर्शन अवलम्बन गरी अग्रगामी दिशामा अगाडि बढाउने दायित्व राजनीतिक दलहरूको नै हो । दलहरूका विचार, सिद्धान्त र आदर्शहरू फरक फरक हुन्छन् र पनि सबै दलहरूका केन्द्रमा देश र जनता नै रहेका हुन्छन् । बहुदलीय व्यवस्था भएका मुलुकहरूमा तसर्थ विकास, समृद्धि र समुन्नतिको तालाचाबी राजनीतिक दलहरूका हातमा नै रहेको हुन्छ ।
जुन राजनीतिक दलले उत्पन्न परिस्थितिहरूको सामना गर्दै समस्याहरूसँग जुधेर अगाडि बढ्ने साहस राख्दछ, सफलता हात पार्ने भनेको पनि त्यही दलले हो । जुन राजनीतिक दलमा उत्साह, जाँगर र आत्मविश्वासले भरिपूर्ण नेताहरूको बाहुल्य रहेको हुन्छ, भोलिको सत्ता जाने भनेको पनि त्यही दलको हातमा नै हो ।
मुुलुक सुसञ्चालनका यति महत्वपूर्ण अभिभारा बोकेका राजनीतिक दलहरू त्यत्तिकै जिम्मेवार हुन अनिवार्य हुन्छ । जिम्मेवारी र उत्तरदायित्व राजनीतिक दलहरूमा हुनुपर्ने अनिवार्य तत्व हुन् । देश र जनताप्रति जवाफदेही हुँदै मुलुकमा सुशासन कायम गर्ने, भ्रष्टाचार न्यूनीकरण गर्ने र विकासको विश्वव्यापीकरणलाई सके उछिन्ने नसके पछ्याउने काम राजनीतिक दलहरूकै हो । यसका लागि मुलुक बनाउँछु र बनाउन सक्छु भन्ने आत्मविश्वास राजनीतिक दलहरूमा हुनुपर्दछ र दलका नेताहरू पनि आत्मविश्वासले भरिएका हुनैपर्दछ ।
मुलुकको विकराल अवस्था देखेर उदासीन हुने राजनीतिक दलले देशको नेतृत्व गर्नै सक्दैन । जनताका भयावह समस्याबाट हतोत्साही भएका नेताहरूले आम नागरिकका पीरमर्कामा मलम दल्ने काम गर्नै सक्दैनन् । आफ्नो स्वरूप र अवस्थाबाट आफैंभित्र डराउने राजनीतिक दल र नेताहरूले देशका स्वरूप बदल्न सक्छन् भनेर विश्वास गर्नै सकिन्न । राजनीतिक परिवर्तनलाई आत्मसात् गरेर त्यसबाट उब्जिएका परिणाम र चुनौतीलाई स्वीकार गरी समस्यासँग जुध्ने साहस नभएकाहरूबाट पनि कसैले केही आशा गर्दैन ।
जुन राजनीतिक दलले उत्पन्न परिस्थितिहरूको सामना गर्दै समस्याहरूसँग जुधेर अगाडि बढ्ने साहस राख्दछ, सफलता हात पार्ने भनेको पनि त्यही दलले हो । जुन राजनीतिक दलमा उत्साह, जाँगर र आत्मविश्वासले भरिपूर्ण नेताहरूको बाहुल्य रहेको हुन्छ, भोलिको सत्ता जाने भनेको पनि त्यही दलको हातमा नै हो । जतिसुकै घेराबन्दी गरिए पनि देश र जनताका काममा आफूलाई निरन्तर क्रियाशील राख्नसक्ने राजनीतिक दल र नेताहरूले नै मुलुकको नेतृत्व गर्ने अवसर प्राप्त गर्दछन् । ससाना समस्या देखेर नै राजनीतिक दल र नेताहरू डराउन थाले भने न मुलुकको विकास हुन्छ, न जनताका सपना पूरा हुन्छन्, न त्यस्ता दलहरूले मुलुकको नेतृत्व गर्ने सौभाग्य नै पाउँदछन् ।
चुनावी घोषणापत्रमा लेखिएका कुराहरू चुनाव जित्ने हतियारमात्रै होइनन् । चुनावका बेला जनतासँग गरिएका वाचा जनता भुल्याउन र फकाउनका लागि तत्क्षणका लागि बोलिने कुराहरू मात्रै पनि होइनन् । सरकारमा जाँदा वा पदबहाली गर्दा गरिएका घोषणाहरू जनतालाई एकछिन न्यानो दिनका लागि गरिने कुरा मात्रै होइनन् । सत्यवादी र बोलेका कुराहरू पूरा गर्न सकिन्छ भन्ने आत्मविश्वास भएका दल र नेताहरू छन् भने त्यसरी खुलेयाम भनिएका कुरा पूरा गर्न प्रतिबद्ध हुनैपर्दछ ।
वर्तमान सरकारले पनि सत्तामा जाँदाजाँदै सात बुँदै प्रतिबद्धता व्यक्त गरेको थियो । नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनाइएको यो सरकारको प्रमुख बुँदाहरूमा सुशासन प्रदान गर्ने, राजनीतिक अस्थिरता अन्त्य गर्ने र अव्यावहारिक देखिएका संविधानका धाराहरूलाई संशोधन गर्ने समझदारी थियो । महत्वपूर्ण मानिएका यी तीनवटै कुराहरूमा आजसम्म न जनता आश्वस्त हुनसकेको देखिन्छ भने न यी दुई दलका नेताहरू नै आफ्नै क्रियाकलापबाट आँफै सन्तुष्ट हुनसकेको पाइन्छ । कहीँ कतैबाट कुनै समस्या सिर्जना नहुँदै यो हुनसक्छ कि सक्दैन भन्ने आत्मविश्वास आफैंमा नभएका कारण आफैं धर्मराइरहे जस्तो देखिन्छ ।
प्रधानमन्त्रीबाटै बारम्बार यो सरकार पूरै अवधि टिक्छ भन्ने भनाइ आइरहँदा राजनीतिप्रति चासो राख्नेहरूमा त्यत्तिकै शंका उत्पन्न हुनपुगेको छ । वर्तमान सरकार ढाल्नका लागि विपक्षीसँग कुनै त्यस्तो गतिलो साँचो छैन । धेरैवटा टेकोमा अडिएको सरकार पनि यो होइन । यो सरकार ढल्नका लागि कि त कांग्रेसले मुख मोड्नुपर्छ कि एमालेले नै बाटो बदल्नुपर्छ । दुबै दलले आन्तरिक सहमति र सहकार्य गरेर राजनीतिक स्थिरता दिने भनेसम्म कसैले हल्लाउन नसक्ने सरकारका प्रमुखले सरकारको आयुका बारेमा हरेक कार्यक्रममा किन बोलिरहनु परेको छ ? यसैले नै कतै यो सरकार गिर्न लागेको त होइन भन्ने सन्देश प्रवाह गरिरहेको छ । दुबै खुट्टा दह्रो भएको मानिसले मेरा दुबै खुट्टा सग्ला छन् भन्दै कुर्लेको सुनिदैन बरू ऊ आफ्नै खुट्टाका बलमा हिँडिरहेको हुन्छ ।
सुशासन अभिवृद्धि र भ्रष्टाचार न्यूनीकरणका विषयमा बोलिरहनु पर्दैन । जनताले प्रत्यक्ष देखेका, भोगेका र सुनेका छन् भने सरकारमा बसेकाहरूले पनि आफैँले आफ्ना कार्यको समीक्ष गरिरहेकै छन् । घुम्ने कुर्सीमा अन्धो मान्छे भने झैँ कोही सत्ताकै रवाफमा रमाइरहेको छ भने उसले पनि पत्रपत्रिका पढ्ने र समाचार सुन्ने गरेकै हुनुपर्दछ । यदि कोही कसैले यसमा दावा गर्दछ भने भोलि बिहानदेखिको आफ्नो समयको एक घण्टालाई पत्रिका पढ्ने र समाचार सुन्ने कामका लागि छुट्याए देश र जनताको अवस्था प्रष्ट हुन्छ ।
देश र जनताको अवस्था जे जस्तो भए पनि बहुदलीय व्यवस्था प्रादुर्भाव भएपछि आजसम्म सत्ता सञ्चालनको अधिकांश जिम्मेवारी पाउने नेपालका राजनीतिक दलहरू भनेका नेपाली कांग्रेस र नेकपा एमाले नै हुन् । त्यसपछिको क्रममा नेकपा माओवादी केन्द्र परे पनि यो दल आन्तरिक आग्रह र पूर्वाग्रहका कारणले त्यसै हराउँदै गएको छ । नेताहरूमा नभएको दूरदृष्टिका कारण तेस्रो ठूलो दल भए पनि सत्ताको नेतृत्व गर्ने अवसर बारम्बार पाएका कारण पुनरपि त्यही अवस्था आउने आशामा यो दल छ । मुलुकमा तत्काल परिवर्तनको सन्देश दिने उग्र नारा र सुशासनको रटानका साथ उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी सभापतिका विगतका क्रियाकलापका कारण मुन्टो लुकाउनुपर्ने अवस्थामा पुगेको छ । यसै दृष्टिबाट पनि कांग्रेस र एमालेले धेरै छिटो विश्राम लिनुपर्ने अवस्था देखिँदैन र पनि दुई दलका नेताहरूमा डर पस्दै गएको अनुभव गर्न सकिन्छ ।
थ्रेसहोल्ड कम राख्दा साना दलहरूले समेत प्रतिनिधि सभा र प्रदेश सभाहरूमा समानुपातिक सदस्य पठाउने मौका पाए । धेरै दलहरूको प्रतिनिधित्व हुँदा सरकार बनाउने र गिराउने कामका लागि पर्याप्त अवसरहरू सिर्जना भए । यी कुरा सत्य हुन् तर साना दलहरूको प्रवेशमा अंकुश लगाउन थ्रेसहोल्डलाई मात्रै उपयुक्त बाटो देख्नु चाहिँ ठूला दलहरूको कमजोरी हो ।
आजका मितिसम्म नेपाली कांग्रेस र नेकपा एमालेले मतदाताको साठी पैँसठ्ठी प्रतिशत विश्वास पाइरहेकै छन् । बाँकी पैँतीस प्रतिशत मतमा अरू सबै दलहरू खेलिरहेका छन् । त्यसैमा पनि एउटा दल फुटेर सात–आठवटा बन्ने क्रमले ज्यादै न्यून संख्या बोकेर उभिएका दलहरूको संख्या धेरै छ । यही परिस्थिति देख्दा एमाले र कांग्रेसलाई चुनौती दिएर तत्कालै तल झार्न सक्ने राजनीतिक दल उदाई हाल्ला जस्तो देखिँदैन । यद्यपि थ्रेसहोल्ड वृद्धि गर्ने योजनाका साथ प्रस्तुत भएको देख्दा कतै ठूला दलहरू विसं २०८४ को चुनावलाई दृष्टिगत गर्दै कतै डराएका त होइनन् भन्ने लाग्दछ ।
संविधानमा संशोधन गर्नुपर्ने अरू धेरै बुँदा थिए तर कांग्रेस र एमालेको दृष्टि थ्रेसहोल्डमा परेको छ । देशलाई अग्रगामी दिशामा अगाडि बढाउन बाधाका रूपमा देखिएका प्रदेश सांसद् संख्या, मन्त्रीको संख्या, प्रतिनिधि सभामा सांसद संख्या, समानुपातिक सांसद्को संख्या, समानुपातिकमा प्रतिनिधित्व गराइँदा अवलम्बन गरिएका नीतिहरू हुन् । जनताले आमरूपमा मन नपराएका संविधानका धाराहरू एकातिर थिए भने दुई ठूला दलका लागि अव्यावहारिक थ्रेसहोल्ड देखियो ।
थ्रेसहोल्ड कम राख्दा साना दलहरूले समेत प्रतिनिधि सभा र प्रदेश सभाहरूमा समानुपातिक सदस्य पठाउने मौका पाए । धेरै दलहरूको प्रतिनिधित्व हुँदा सरकार बनाउने र गिराउने कामका लागि पर्याप्त अवसरहरू सिर्जना भए । यी कुरा सत्य हुन् तर साना दलहरूको प्रवेशमा अंकुश लगाउन थ्रेसहोल्डलाई मात्रै उपयुक्त बाटो देख्नु चाहिँ ठूला दलहरूको कमजोरी हो । अर्कोतिर साना दलहरू पनि थ्रेसहोल्ड वृद्धिबाट सातै जाने गरी तर्सनु आफैंमा कमजोरी हो ।
यदि आत्मविश्वास हुन्थ्यो भने जनताका बीचमा गएर आफ्नो हैसियत बढाउने काममा दलहरू जुट्नुपर्ने हो । ठूला दलहरूले आफ्नो प्रभाव बढाएर साना दलहरूले मौका पाउँदा पाउँदै पनि संसद् प्रवेश गर्ने अवसरबाट बञ्चित हुने अवस्था सिर्जना गर्नुमा नै उनीहरूको सफलता मानिन्थ्यो । साना दलले पनि सधैं च्याँखे थापेर कहिले यता र कहिले उता गर्ने प्रवृत्तिलाई त्यागी जनतामा भिजेर विजयको माला पहिरिने उद्देश्य राखेमा मुलुक र जनताले राहत पाउँथे । चुनावी गठबन्धन गरी साना दलहरूलाई थोरै-थोरै सिट पाउने अवसर दिने पनि ठूला दलहरू नै हुन् । आफ्नो प्रभाव नभएको क्षेत्रमा ठूला दलहरूका प्रतिनिधि सच्चा मनले खटिने हो भने थ्रेसहोल्ड बढाउनै पर्दैन भन्ने आत्मविश्वास हुन जरुरी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच