
कर्णाली । कर्णाली प्रदेशको कालीकोट जिल्लामा अवस्थित सान्नीत्रिवेणी गाउँपालिकामा पर्ने त्रिवेणी पाटनले आफ्नो अनुपम सौन्दर्यल पर्यटकको मन लोभ्याउँदै आएको छ । यो पाटनको काखमा रहेका दर्जनौं सुन्दर मैदान र प्राकृतिक छटाले यसलाई भूस्वर्गको उपमा दिन बाध्य बनाउँछ ।
त्रिवेणी पाटनलाई भेट्न आउने पर्यटकले यहाँको सौन्दर्यलाई अनुभव गर्दै आफूलाई पृथ्वीको स्वर्गमा भएको महसुस गर्छन् । चार हजार मिटर उचाइमा रहेको यो स्थल पश्चिम नेपालको सुन्दर पर्यटकीय गन्तव्यको रूपमा विकसित भइरहेको छ ।
त्रिवेणी पाटन मात्र पाटन होइन, यो धार्मिक आस्थाको धरोहर पनि हो । यहाँ रहेको त्रिवेणी धाममा गंगा र जमुना नदीको संगम छ, जसलाई पवित्र मानिन्छ । जनविश्वास अनुसार, यहाँ स्नान गर्दा पाप र रोग पखालिन्छ । यो क्षेत्रबाट भक्तजन बडिमालिका मन्दिरसम्मको यात्रा आरम्भ गर्छन् ।
त्रिवेणी पाटनलाई बडिमालिका जाने प्रमुख आधार क्षेत्र मानिन्छ । बाजुरा र कालीकोटको सिमानामा रहेको बडिमालिका मन्दिरसम्म पुग्न एक दिन त्रिवेणी धाममा बास बस्नुपर्ने हुन्छ । विशेष गरी जनैपूर्णिमामा यहाँ अत्यधिक चहलपहल बढ्छ । भारतको कुमाउ गढवालदेखि नेपालका विभिन्न जिल्लाबाट हजारौं भक्तजन त्रिवेणी पाटन हुँदै बडिमालिका पुग्छन् ।
धार्मिक महत्त्वसँगै यहाँका मनमोहक दृश्यले पर्यटकको मन जित्ने गरेका छन् । लेकाली वन, कलकल बग्ने खोला, र हिमाली शृंखलाले त्रिवेणीलाई अनमोल बनाएको छ ।
त्रिवेणी पाटनमा १४० भन्दा बढी जातका फूल, सयौं जातका जडीबुटी, र ७० भन्दा बढी प्रकारका चराचुरुंगी पाइन्छन् । यस क्षेत्रको जडीबुटी र वनस्पतिले औषधीय महत्त्व बोकेको छ ।
अनुसन्धानकर्ताका लागि पनि यो क्षेत्र अनुपम स्थल हो । यहाँ रहेका सञ्जीवनी, गधाल्लो, बाहजडी बुटीजस्ता बहुमूल्य जडीबुटीको सही सदुपयोग गर्न सकिएमा यस क्षेत्रले कर्णाली र सुदूरपश्चिमको अर्थतन्त्रलाई पनि समृद्ध बनाउन सक्छ ।
त्रिवेणी पाटन पुग्न तीन दिनको कठिन पैदल यात्रा गर्नुपर्छ । कालीकोटको सदरमुकाम मान्म हुँदै सान्नीको मेहलमुडी र मुम्राको गोरेटो बाटो पार गर्दै यहाँ पुगिन्छ । यो यात्रा शारीरिक रूपमा चुनौतीपूर्ण भए पनि, प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाले थकान मेटाउँछ ।
तर, त्रिवेणी क्षेत्रको विकासमा सरकारी ध्यान अझै पुगेको छैन । सिजनअनुसार मात्र पर्यटक पुग्न सक्ने भएकाले यहाँका होटल, धर्मशाला, र यातायात पूर्वाधार निकै कमजोर छन् ।
सान्नीत्रिवेणी गाउँपालिकाका अध्यक्ष महेश केसीका अनुसार, त्रिवेणी क्षेत्रलाई संरक्षित क्षेत्रका रूपमा विकास गर्ने योजना छ । ‘त्रिवेणी पाटन मात्र नभई त्रिवेणी धामको धार्मिक र पर्यटकीय महत्त्वको संरक्षण गर्न आगामी दिनमा आवश्यक पूर्वाधार निर्माण गर्ने तयारी भइरहेको छ । तर, यस क्षेत्रको पर्यटन विकासका लागि तत्काल सुधार गर्नुपर्ने आवश्यकता छ । गुणस्तरीय धर्मशाला, सुरक्षित पैदल मार्ग, र व्यवस्थित होटल तथा खानेपानीको अभावमा पर्यटकले धेरै असुविधा भोगिरहेका छन् ।
त्रिवेणी पाटनलाई व्यवस्थित गर्न सकिएमा यो क्षेत्र कर्णालीको समृद्धि केन्द्र बन्न सक्छ । यहाँको पर्यटनले कालीकोट र छिमेकी जिल्लाहरू बाजुरा, बझाङ, अछाम, र डोटीको आर्थिक अवस्थामा समेत सकारात्मक प्रभाव पार्न सक्ने देखिन्छ ।
स्थानीय अनुसार त्रिवेणीको जडीबुटी र पर्यटकीय महत्त्वले सिंगो क्षेत्रको आर्थिक उन्नति सम्भव छ । तर, यसको संरक्षण र प्रवर्द्धनमा ध्यान दिन ढिला भइसकेको छ ।
त्रिवेणी पाटन केवल एक पाटन मात्र होइनस यो कर्णाली र सुदूरपश्चिमको धार्मिक, सांस्कृतिक, र पर्यावरणीय धरोहर हो । यसको संरक्षण, प्रचारप्रसार, र पूर्वाधार विकासले यस क्षेत्रलाई विश्वकै उत्कृष्ट गन्तव्यका रूपमा स्थापित गर्न सकिन्छ ।
सरकार र स्थानीय समुदायको समन्वयमा त्रिवेणीको पर्यटन सम्भावना उजागर गर्न सकिन्छ । यसले स्थानीयलाई मात्र होइन, सम्पूर्ण देशलाई आर्थिक, पर्यावरणीय, र सांस्कृतिक लाभ पुर्याउनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच