
लण्डन । च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीको दोस्रो चरणको यात्रा कठिन बन्दै गएको छ । बुधबार राती भएको खेलमा दुई गोलको अग्रतालाई जोगाउन नसकेपछि इङ्लिस क्लब म्यानचेस्टर सिटीको युरोपेली च्याम्पियन्स लिगको दोस्रो चरणमा प्रवेशको सम्भावना कठिन बनेको हो । बुधबार राती पिएसजीसँगको खेलमा ४-२ ले पराजित भएको हो । आठ अंकसहित २५औँ स्थानमा रहेको सिटीले प्लेअफमा छनोट हुन अर्को साता ब्रुगसँग हुने खेलमा अनिवार्य जित निकाल्नुपर्नेछ ।
ज्याक ग्रेलिस र एर्लिङ हलान्डले गोल गर्दै सिटीलाई दोस्रो हाफको आठौं मिनेटमा दुई गोलको अग्रता दिलाउनुभएको थियो । वैकल्पिक खेलाडी ओसमाने डेम्बेले र ब्राडली बार्कोलाले पिएसजीका लागि तुरुन्त गोल फर्काएपछि खेल रोमाञ्चक बनेको थियो । भिन्टिन्हाको फ्रिकिकमा जाओ नेभिसले हेडमार्फत् गोल गरेपछि खेलको ७८औँ मिनेटमा म्यानचेस्टरले अग्रता लिएको थियो । गोन्कालो रामोसले इन्जुरी समयमा पिएसजीका लागि अन्तिम गोल गर्नुभयो ।
पिएसजीले अन्ततः केलियन एमबाप्पेको अनुपस्थितिमा पनि च्याम्पियन्स लिगमा चम्किन सक्ने क्षमता देखाएको छ । पिएसजीलाई अब अर्को साता स्टुटगार्टसँग बराबरी गरेमात्र पनि अगाडि बढ्न पर्याप्त हुनेछ । ‘आजको प्रदर्शनले मलाई गर्व महसुस भएको छ । यस्तो टोली र प्रशिक्षकविरुद्ध खेल्दा हाम्रो प्रदर्शन उत्कृष्ट रहृयो,’ पिएसजीका प्रशिक्षक लुइस एनरिकेले भन्नुभयो, ‘यो एक उत्कृष्ट प्रदर्शन थियो ।’
एमबाप्पे, नेयमार र लिओनल मेस्सीजस्ता स्टारहरूले भरिएको पिएसजीले विगतमा च्याम्पियन्स लिगको ठूलो मञ्चमा सफलताको खोजी गर्दा पटक-पटक असफलता हात पारेको थियो । एम्बाप्पेले यसै सिजन रियल जाने निर्णय गरेपछि पिएसजीले च्याम्पियन्स लिगमा गोलको अभाव महसुस गर्दै आएको थियो । टोलीले सिटीको भ्रमणअघि ६ खेलमा मात्र ६ गोल गरेको थियो । तर, बुधबारको जितले टोलीको सामूहिक प्रयासले नतिजामा फरक पर्न सक्ने प्रमाणित गरेको छ ।
सिटीको दोस्रो चरणको यात्रा कठिन बन्दै गर्दा रियल मड्रिड भने च्याम्पियन्स लिगको प्लेअफ चरणमा पुगेको छ । भिनिसियस जुनियरले १०० गोल पूरा गर्दै साल्जबर्गविरुद्ध ५-१ को जित दिलाएपछि रियल प्लेअफमा पुगेको हो । भिनिसियसले खेलको ९९औँ र १००औँ गोल गर्दै आफ्नो कीर्तिमान पूरा गर्नुभएको हो । युएफएका अनुसार च्याम्पियन्स लिगमा भिनिसियसका २८ गोल भइसकेका छन्, जसले उहाँलाई ब्राजिलियन शीर्ष गोलकर्तामा तेस्रो स्थानमा पुर्याएको छ । नेयमार ४३ गोलसहित शीर्ष स्थानमा हुनुहुन्छ भने काका ३० गोलसहित दोस्रो स्थानमा हुनुहुन्छ ।
तर, रियल मड्रिडका अनुसार भिनिसियसले क्लबका लागि १०१ गोल गर्नुभएको छ । रियल मड्रिड च्याम्पियन्स लिगको १५ पटकको कीर्तिमानी च्याम्पियन हो । जितसँगै रियल मड्रिड ३६ टोलीको लिग चरणमा १६औँ स्थानमा पुगेको छ । रोड्रिगोले मड्रिडका लागि दुई गोल थप्नुभयो भने साल्जबर्गका गोलकिपर जानिस ब्लासविचको गल्तीको फाइदा उठाउँदै किलियन एम्बाप्पेले अर्को गोल गर्नुभयो । रोड्रिगोले पछिल्ला चार खेलमा पाँच गोल गर्नुभएको छ भने भिनिसियसले दुई खेलमा तीन गोल गर्नुभएको छ । एम्बाप्पेले पनि पछिल्ला चार खेलमा पाँच गोल गर्नुभएको छ । रियल मड्रिडले आफ्नो अर्को खेल फ्रान्सेली क्लब ब्रेस्टसँग खेल्नेछ ।
यता, बायर्न म्युनिख च्याम्पियन्स लिगमा भने पलपलमा ठेस खाइरहेको छ । बुधबार राती फेयनुर्डसँग ३-० को पराजयले बायर्नको राउन्ड अफ १६ पुग्ने आशामा धक्का पुगेको हो । यो सिजनको च्याम्पियन्स लिगमा बायर्नको यो तेस्रो हार हो । फेयनुर्डसँग ३-० को हार बेहोर्दै बायर्नले यस सिजनको तेस्रो पराजय बेहोरेको हो । अब बायर्नले प्लेअफ खेलेरै अघि बढ्नुपर्ने स्थिति सिर्जना भएको छ । बायर्नले खेलभरिमा धेरै मौका सिर्जना गरे पनि गोल गर्न सकेन । तर, विपक्षीले सजिलै गोल गर्दै खेल आफ्नो पक्षमा पार्यो ।
फेयनुर्डका लागि स्यान्टियागो गिमेनेजले दुई गोल गर्नुभयो भने आयासे उएडाले काउन्टर अट्याकमार्फत् तेस्रो गोल गर्दै टोलीलाई प्रभावशाली जित दिलाउनुभयो । बायर्न हाल बुन्डेसलिगामा चार अंकको अग्रता बनाएर शीर्ष स्थानमा भए पनि च्याम्पियन्स लिगमा उनीहरूको प्रदर्शन निराशाजनक छ । यसअघि टोली एस्टन भिल्ला र बार्सिलोनासँग पराजित भइसकेको थियो । ३६ टोली सहभागी च्याम्पियन्स लिगको अंक तालिकामा बायर्न १५औँ स्थानमा झरेको छ । अब अन्तिम आठमा पुग्न र प्लेअफ टार्न बायर्नले अर्को साता स्लोभान ब्राटिस्लावामाथि जित हासिल गर्नैपर्नेछ । यो सिजनको च्याम्पियन्स लिगको फाइनल म्युनिखमै खेलिनेछ ।
च्याम्पियन्स लिगमा एसी मिलानले जिरोनाविरुद्ध १-० को कठिन जित दर्ता गरेको छ । जितसँगै सात खेलमा १५ अंक जोडेको मिलान छैटौं स्थानमा छ । पराजित जिरोना समान खेलबाट तीन अंकका साथ ३१औँ स्थानमा छ । घरेलु मैदान सान सिएरोमो राफेल लियोले गरेको एकमात्र गोल मिलानलाई जित दिलाउन पर्याप्त बन्यो । उहाँले खेलको ३७औँ मिनेटमा गोल गर्नुभएको थियो । बुधबारै सम्पन्न अर्को खेलमा इन्टर मिलानले स्पार्टा प्राहविरुद्ध १-० कै जित दर्ता गर्यो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच