
धनगढी । कैलालीको धनगढीमा भइरहेको प्रधानमन्त्री कप महिला टि-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा दुई विभागीय टोली एपिएफ र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् । दुवै टोलीले सुपर फोरमा जित निकालेका हुन् । बिहीबार फाप्ला मैदानमा भएको सुपर फोरको पहिलो खेलमा आर्मीले बागमती प्रदेशलाई १० विकेटले पराजित गर्यो । बागमती प्रदेशले दिएको ४३ रनको लक्ष्य पछ्याएको एपिएफले ६.५ ओभरमा बिनाविकेटको क्षतिमा भेट्टाएको हो ।
एपिएफका ममता चौधरी २३ र राजमती ऐरी १४ रनमा अविजित रहनुभयो । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बागमती प्रदेशले निर्धारित १८ ओभरमा सबै विकेट गुमाएर ४२ रन बनाएको थियो । बागमतीका लागि यशु पाण्डे, सविका यादव र यलि यादवले समान आठ-आठ रनको योगदान दिनुभयो । विपिशा शाहीले सात रन जोड्दा यशोधा विष्टले तीन रन जोड्नुभयो । बागमती प्रदेशकी कप्तान कञ्चन श्रेष्ठ, सलिना सिलवाल र मनिषा उपाध्याय भने शून्य रनमै पभेलियन फर्किनुभएको थियो । एपिएफका लागि सुमन विष्टले सर्वाधिक तीन विकेट लिनुभयो । यस्तै, रेखा रावल र बिनु बुढाले समान दुई-दुई विकेट लिँदा कविता जोशीको नाममा एक विकेट रहृयो ।
बिहीबार नै फाप्लामा भएको दोस्रो खेलमा आर्मीले सुदूरपश्चिमलाई १४ रनले पराजित गरेको छ । १११ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ९६ रनमात्रै बनाउन सक्यो । सुदूरपश्चिमका लागि मनिषा बोहराले १८, कविता कुँवरले १६ र कप्तान विन्दु रावलले ११ रन बनाउनुभएको थियो । आर्मीकी सुस्मिता भुसालले तीन तथा सीता शाही र लक्ष्मी साउदले एक/एक विकेट लिनुभएको थियो ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले सम्झना खड्काको उत्कृष्ट पारीको मद्दतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ११० रन बनाएको थियो । खड्का ५७ बलमा ७४ रनमा अविजित रहनुभयो । अन्यले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । सुदूरपश्चिमका जानकी थापाले दुई तथा आशिका महरा र रेवती धामीले एक/एक विकेट लिनुभयो ।
फराकिलो जितसँगै सुपर फोरको अंक तालिकामा एपिएफ शीर्ष स्थानमा छ भने आर्मी दोस्रोमा छ । प्रतियोगिताअन्तर्गत आज (शुक्रबार) सुपर फोरका दुई खेल हुनेछन् । सुपर फोरमा अंक तालिकाको पहिलो र दोस्रो स्थानमा रहेका दुई टिमबीच शनिबार फाइनल हुने आयोजक नेपाल क्रिकेट संघले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच