
काठमाडौं । प्रसिद्ध निबन्धकार शंकर लामिछानेको ४९औं स्मृति दिवसका अवसरमा नेपाली साहित्यमा उहाँको योगदानको चर्चा गरिएको छ । शंकर लामिछाने प्रतिष्ठानको आयोजनामा काठमाडौंमा गरिएको स्मृति दिवस कार्यक्रममा उहाँको योगदानको चर्चा गरिएको हो ।
बागमती प्रदेशका सांसद एवं पूर्वमन्त्री दीपेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त स्मृति दिवसमा प्रमुख अतिथि श्रेष्ठले लामिछानेको तस्वीरमा माल्यार्पण गर्दै नेपाली साहित्यमा निबन्धको माध्यमले योगदान गर्ने स्व. लामिछानेलाई मूर्धन्य साहित्यकारको रूपमा आफूले बुझेको बताउनुभयो । उहाँले नेपाली भाषा र साहित्यका लागि प्रदेशको तर्फबाट र व्यक्तिगत पहलमा हुनसक्ने सबै सहयोगका लागि सदैव तयार भएको प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा प्राडा.सुरेन्द्र केसीले ‘जम्मा ४८ वर्ष बाँचेका स्व.लामिछानेको नेपाली साहित्यमा गरेको योगदान हेर्दा उमेरले केही नहुने रहेछ भन्ने आफ्नो निष्कर्ष रहेको सुनाउनुभयो । उहाँले स्रष्टाहरूमा आजकाल मौलाउँदै गएको प्रशंसामात्र खोज्ने प्रवृत्ति गलत भएको जिकिर गर्नुभयो ।
प्राडा.गोविन्दमान सिंह कार्कीले शंकर लामिछानेको समग्र व्यक्तित्व, साहित्यमा उहाँको भूमिका, व्यक्तित्व र योगदानको चर्चा गर्नुभयो । ‘नेपाली साहित्यमा हाइकु भिœयाउने श्रेय लामिछानेलाई जान्छ । उहाँको पहिलो रचना विसं.२००३ सालमा छापिएको थियो । लामिछाने लेखनीमा मात्र सीमित हुनुहुन्थेन सम्पादनको भूमिकामा समेत उहाँको योगदान रहेको छ’, प्राडा.कार्कीले भन्नुभयो ।
वरिष्ठ कथाकार, साहित्यिक पत्रकार किशोर पहाडीले आफू लेखनीमा लामिछानेको पदचाप पहिल्याउँदै हिँडेको सुनाउँदै सशरीर नभेटेपनि उहाँको सफाचट बनेर हिँड्ने बानीको बारेमा जानकारी भएको बताउनुभयो । उहाँले लामिछाने विशेषांक ‘रूपरेखा’ले विसं.२०३३ सालमा निकालेको र आफूले पनि उहाँको बारेमा लेखेको सम्झना गर्नुभयो ।
प्राडा.गोपी उप्रेती, प्रतिष्ठानका संरक्षक तथा लामिछानेकी बैनी संगीता शर्मा र सविता ढुंगाना, वरिष्ठ साहित्यकार विमल भौकाजी, कवि केदार कोइराला, अनेसास अष्टिन च्याप्टरका पूर्वउपाध्यक्ष किशोर विश्वकर्मालगायत अतिथि दीर्घामा रहनुभएको थियो । प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले नैै कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै सबैलाई स्वागत गर्नुभएको थियो ।
लामिछानेकी काकाकी छोरी एवं प्रतिष्ठानका संरक्षक संगीता शर्माले आफ्नो नाम पनि दाइ शंकर लामिछानेले राखिदिएको बताउँदै घरमा महाकवि लक्ष्मीप्रसाद देवकोटा, कविशिरोमणी लेखनाथ पौड्यालहरू आउने गरेका बताउनुभयो । यसैगरी उहाँले शंकर लामिछानेले सदैव हामीलाई जहाँ पनि चिनाउने, तिमीहरू अघि बढ्नुपर्छ भनेर उत्प्रेरित गर्ने गरेको स्मरण गर्दै कार्यक्रम समापन गर्नुभएको थियो ।
कार्यक्रममा प्रतिष्ठानले विमल भौकाजीलाई जन्मदिनको शुभकामनासहित सम्मान गरेको थियो भने प्राडा.गोपी उप्रेति, किशोर विश्वकर्मा र केदार कोइरालालाई सम्मान गरेको थियो । साहित्यकार डा.दामोदर पुडासैनी ‘किशोर’ले सहजिकरण गर्नुभएको कार्यक्रमा पद्मावती सिंह, शंकर भारती, प्रदीप सापकोटा, हरिश कल्पित, कृष्ण भुसाल, सानुकाजी श्रेष्ठ, रुद्र थपलिया, रमेश दाहाल, ममता कार्की, धुर्व श्रेष्ठ, हरि न्यौपानेलगायत व्यक्तित्वहरूको उपस्थिति थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच