
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकारले गरेका नीतिगत सुधारका कारण पछिल्लो समय मुलुकको अर्थतन्त्र क्रमिकरूपमा सुधार हुँदै गएको बताउनुभएको छ । बिहीबार राजधानीमा आयोजित राष्ट्रिय वाणिज्य बैंकको सम्पन्न ६०औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । देशको अर्थतन्त्रमा छिटो सुधार ल्याउन सरकारले अध्यादेशमार्फत् विभिन्न ऐनहरू जारी गरेको पनि उहाँको जिकिर थियो । अर्थमन्त्री पौडेलले भन्नुभयो, ‘समय अभाव र काम गर्नैपर्ने दबाबका कारण अध्यादेश ल्याइएको हो । वर्तमान सरकार अर्थतन्त्रका समस्या चिन्दै, चिर्दै र समाधान गर्दै अघि बढ्ने कोसिस गरिरहेको छ । समग्र अर्थतन्त्र गतिशील, चलायमान बनाउने र उत्पादन, उत्पादकत्व वृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने र सबल राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्ने अभियानमा तीव्रताका साथ सरकार लागिरहेको छ ।’
अहिलेको सरकार कुनै औसत काम गरेर एउटा सरकारको सूचीमा अर्को एउटा सरकार भएर दिन बिताउने पक्षमा नरहेको भन्दै उहाँले अर्थतन्त्रका क्षेत्रमा रहेका समस्या प्रभावकारी समाधान गर्ने पक्षमा सरकार रहेको बताउनुभयो । अर्थमन्त्री पौडेलले भन्नुभयो, ‘हाम्रो मुलुकको अर्थतन्त्र केही समयअघिदेखि दबाब र चापमा रहँदै आएको छ । हामीले अर्थतन्त्रका समस्या चिन्दै, चिर्दै र समाधान गर्दै अघि बढ्ने कोसिस गरिरहेका छौँ । क्रमशः यस दिशामा सफलता पनि प्राप्त गरेका छौँ ।’ ऐनहरू अर्को प्रक्रियाबाट पनि ल्याउन सकिने भए पनि अर्को प्रक्रियाबाट लामो समय लाग्ने भएकाले अध्यादेशमार्फत् ल्याउनुपरेको उहाँको भनाइ थियो ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको नियमनमा रहेका कुनै पनि संस्था समस्यामा पर्न नदिने बताउनुभयो । बैंक तथा वित्तीय संस्थासम्बन्धी सम्पूर्ण तथ्यांक राष्ट्र बैंकसँग हुने भन्दै उहाँले अनावश्यक बजार हल्लाबाट त्रसित नहुन पनि आग्रह गर्नुभयो । गभर्नर अधिकारीले भन्नुभयो, ‘राष्ट्र बैंकले रेगुलेट गरेको कुनै पनि संस्थालाई हामी समस्यामा पर्न दिँदैनौं । यो हाम्रो एक खालको प्रत्याभूति नै हो । त्यसै हिसाबले नै हाम्रो रिसोर्सेसहरू परिचालन भएको छ । निरीक्षण गर्छौं, सुपरीवेक्षण गर्छौं, नियमन गर्छौं । बैंक वित्तीय संस्थाहरूमा उतारचढाव आउँछन् । नआउने होइन । त्यसलाई हामीले स्वभाविकरूपमा लिनुपर्छ । तर, अप्ठ्यारो परेको बेला कसरी म्यानेज गरिन्छ, त्यो कुरा महत्वपूर्ण हो । यो मामिलामा नेपाल राष्ट्र बैंक एकदमै सचेत छ । हामीले प्रत्येक वित्तीय संस्थालाई नजिकबाट हेरिरहेका र्छौं ।’
उहाँले संस्थागत सुशासनको इस्यु भएका बैंकलाई कारबाही गर्ने र अन्य कारणले समस्यामा परेका कार्यलाई रिजोलुसनका उपाय गर्ने भन्दै समग्र निक्षेपकर्तालाई निश्चिन्त रहन आग्रह पनि गर्नुभयो । बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढुंगानाले नेपाल सरकारले प्राथमिकताप्राप्त क्षेत्र घोषणा गरेका क्षेत्र कृषि, ऊर्जा, पर्यटन तथा उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह गर्न बैंक निरन्तर लागिपरेको बताउनुभयो भने बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैंकको वर्तमान स्थिति र समग्र योजनाबारेमा जानकारी गराउँदै भर्खरै आर्थिक वर्ष २०८०/०८१ को वार्षिक लेखापरीक्षण सम्पन्न गरी २०८१ पुस २९ गते १९ औँ वार्षिक साधारणसभा सम्पन्न भएको बताउनुभयो ।
कार्यक्रममा पूर्वअध्यक्ष डा. रेवतबहादुर कार्की, बैंकमा क्रियाशील तीनवटै ट्रेड युनियनका अध्यक्षहरू क्रमशः राष्ट्रिय वाणिज्य बैंक, कर्मचारी संघ नेपालका अध्यक्ष लक्ष्मीप्रसाद पाण्डेय, नेपाल वित्तीय संंस्था कर्मचारी संघ, राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष ईश्वरबहादुर सिंह, नेपाल राष्ट्रिय कर्मचारी संगठन, राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष दिपेन्द्र कार्की, राष्ट्रिय वाणिज्य बैंक पूर्वकर्मचारी संघका अध्यक्ष दिनेशविक्रम थापालगायतले बोलेका थिए । बैंकका अनुसार २०८१ पुस मसान्तमा बैंकको कुल निक्षेप चार खर्ब ५० अर्ब, कुल कर्जा सापट दुई खर्ब ८४ अर्ब, चुक्तापुँजी १५ अर्ब ६३ करोड, कुल सम्पत्ति पाँच खर्ब २६ अर्ब तथा नेटवर्थ ५२ अर्ब पुगेको छ । २०८१ पुस मसान्तमा बैंकको कोषको लागत ३.८१ प्रतिशत तथा आधारदर ५.४४ प्रतिशत रहेको छ । २०२२ साल माघ १० गते मुलुकको आर्थिक क्षेत्रकोे विकासमा टेवा पुर्याउने उद्देश्यका साथ स्थापना भएको बैंकमा कारोबार गर्ने कुल ग्राहकको संख्या ४६ लाखभन्दा बढी पुगेको छ भने भौगोलिक उपस्थितिको हिसाबले सातवटै प्रदेशका ७७ वटै जिल्ला र सबै जिल्ला सदरमुकाममा समेत गरी जम्मा दुई सय ९४ शाखा कार्यालय सञ्चालनमा रहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच