
रुपन्देही । बुटवल–गोरूसिंगे सडक चार लेनमा बिस्तारको काम आज शुक्रबारदेखि सुरु भएको छ । बुटवलदेखि गोरूसिंगेसम्मको ५० किलोमिटर सडक स्तरोन्नतिको लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट शिलान्यास गर्नुभयो ।
पहिलो चरणमा बुटवलदेखि गोरूसिंगेसम्मको सडक निर्माण भएपछि दोस्रो चरणमा गोरूसिंगेबाट चन्द्रौटासम्मको १९ किलोमिटर सडक निर्माणको काम अगाडि बढाइने छ । सडक शिलान्यासको क्रममा प्रधानमन्त्री ओलीले आजको दिन पाल्पा र रूपन्देहीको लागि मात्र नभएर देशकै महत्वपूर्ण र ऐतिहासिक दिनको रूपमा रहेको बताउनु भयो।
प्रधानमन्त्री ओलीले नेपाल सडकमार्ग मात्र नभएर सुरूङमार्गको युगमा प्रवेश गरिसकेको वताउनु भयो। प्रधानमन्त्री ओलीले अब नेपाल दुर्गमबाट सुगम बन्दै गएको समेत बताउनु भयो। प्रधानमन्त्री ओलीले कसैको हल्लाको पछाडि नलागी मुलुकको विकासमा लाग्न सबैलाई आग्रह गर्नु भयो।
उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले यातायात क्षेत्र विकासको प्रमुख आधार भएकोले सरकारले सडक निर्माणलाई प्राथमिकता दिएर अगाडि बढाएको बताउनु भयो। उहाले राजनीतिक अस्थिरताको कारण नेपालका विकास आयोजना समयमा सम्पन्न नहुने गरेको कारण राष्ट्रिय राजनीतिको आवश्यकताले वर्तमान सरकार गठन भएको बताउनु भयो ।
मन्त्री सिंहले आज ब्रेक थ्रु भएको सिद्धबाबा सुरूङमार्ग र बुटवल गोरूसिंगे सडक गुणस्तरीय रूपमा र समयमै सम्पन्न गर्न आग्रह गर्नु भयो।
कार्यक्रममा बोल्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बुटवलदेखि गोरूसिंगेसम्मको सडक निर्माणमा कुनै पनि ढिलाइ नगरी निर्माण गर्न निर्माण व्यवसायलाई आग्रह गर्नु भयो। उहाले बुटवल-नारायणगढ सडकबाट पाठ सिकेर त्यस्तो गल्ती नदोहो¥याउने गरी निर्माण गर्न आग्रह गर्नु भयो। गुणस्तरमा कुनै पनि कमजोरी नगरी लागत र समय नबढाई सडक निर्माण गर्न उहाले आग्रह गर्नु भयोे। ‘कतिपय आयोजना समयमा बन्न नसक्दा खुसीभन्दा पीडा भइरहेको छ, यो आयोजनाले पीडा नभई खुसी दिनुपर्ने छ,’ उहाले भन्नु भयोे।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बुटवल(नारायणगढ सडक निर्माणमा ढिलाइ भए पनि सिद्धबाबा सुरूङमार्ग र बुटवल गोरूसिंगे सडकखण्डको स्तरोन्नतिको काम समयमै सम्पन्न हुने बताउनु भयो।
बुटवलदेखि रूपन्देही र कपिलवस्तुको सीमा क्षेत्र कोठी नदीसम्मको २५ किलोमिटर र कोठीदेखि गोरूसिंगेसम्म २५ किलोमिटरलाई दुई भागमा विभाजन गरी गत असार १३ गते सडक निर्माण ठेक्का सम्झौता भएको थियो।
चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवन निर्माण सेवाले ठेक्का सम्झौता गरी सडक निर्माणको लागि ल्याब, क्रसर र कंक्रिट बनाउने ठाउँ बनाइसकेको छ ।
बुटवल–गोरूसिंगे सडक निर्माण आयोजना प्रमुख इन्जिनियर कुशलता न्यौपानेका अनुसार निर्माण कम्पनीले गत कात्तिक ४ गते सडक विभागसँग कार्यादेश लिएर निर्माणको तयारीको काम अगाडि बढाएको थियो। सडक निर्माणको लागि एउटै कम्पनीले ठेक्का लिए पनि दुई भागमा विभाजन गरी अलग अलग ठेक्का सम्झौता गरिएको छ। निर्माणको काम पनि बुटवल र कपिलवस्तु दुबैतर्फबाट एकैपटक सुरू हुने आयोजनाले जनाएको छ।
कुल १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रुपैयाँमा निर्माण हुने ५० किलोमिटर सडकका लागि बुटवल–कोठीनदी खण्डको सात अर्ब ८९ करोड र कोठीनदी–गोरुसिंगे खण्डको ५ अर्ब ६६ करोड रुपैयाँमा सम्झौता भएको छ।
यो सडक विस्तारका लागि विश्व बैंकले २७ करोड ५० लाख अमेरिकी डलर उपलब्ध गराउने छ। पचास किलोमिटर सडक अन्तर्गत कपिलवस्तुतर्फको सालझण्डी–पिपरा र वनगाई–गोरुसिंगेसम्म करिब २० किलोमिटर जंगल क्षेत्र छ। जंगल क्षेत्रमा सर्भिस लेनबिना २४ मिटर चौडाइको चार लेन सडक बन्नेछ।
बुटवलतर्फ भने अधिकांश बजार र बस्ती क्षेत्र रहेको छ। बजार र बस्ती भएको क्षेत्रमा दुवैतर्फ सर्भिस लेन सहितको ६ लेन सडक बन्ने आयोजना प्रमुख न्यौपानेले जानकारी दिनुभयो। सहर उन्मुख क्षेत्रमा सर्भिस लेनसहित ३७ मिटर र सहरी क्षेत्रमा सर्भिस लेनसहित ५० मिटर चौडा हुनेछ। ठूला चोकमा अन्डर पास र ओभर पास हुनेछ।
पहिलो चरणमा बन्ने ५० किलोमिटर खण्डमा ३० वटा ठूला पुल र १४ वटा कल्भर्ट पनि बनाइनेछ। बजार क्षेत्रमा ६ वटा अन्डररओभर पास हुनेछन्। निर्माण कम्पनीले प्रारम्भिक कामका लागि १० प्रतिशत रकम लगिसकेको छ भने ५ प्रतिशत काम सुरू गरेपछि भुक्तानी गरिनेछ। सम्झौता अनुसार कार्यादेश लिएको मितिदेखि तीन वर्षभित्र अर्थात् २०८४ असोजभित्र काम सक्नुपर्नेछ।
तत्कालीन राजा महेन्द्रको पालामा बनेको यो सडक ६२ वर्षपछि स्तरोन्नति हुन लागेको हो।
आयोजना प्रमुख इन्जिनियर न्यौपानेले पनि बुटवल–नारायणगढ सडकमा भएका गल्तीबाट सिकेर नयाँ तरिकामा काम गर्ने योजना रहेको बताउनु भयाे। बजार र बस्ती क्षेत्रमा दुवैतिर सर्भिस लेन बनाइसकेर मात्र बीचको भाग भत्काइने र सकेसम्म समस्या कम हुने गरी काम अगाडि बढाइने उहाँको भनाई छ । निर्माण कम्पनीसँग गरिएको सम्झौता अनुसार कार्यादेश लिएको मितिदेखि तीन वर्षभित्र अर्थात् २०८४ असोजभित्र सडक स्तरोन्नतिको काम सक्नुपर्नेछ।
५० किलोमिटर सडक स्तरोन्नतिको लागि ७ हजार १७७ रूख काट्नुपर्ने आयोजनाले जनाएको छ। झण्डै २० किलोमिटर जंगल क्षेत्र रहेकोले धेरै रूख कटान गर्नुपर्ने न्यौपानेले वताउनु भयो। बजार र बस्ती भएको क्षेत्रमा पनि वर, पिपल, स्वामी, कदम, सिमल लगायतका ठूला ठूला कल्पवृक्ष रहेका छन्। सबै क्षेत्रबाट सडक क्षेत्राधिकार भित्रका रूख काट्न स्वीकृति लिइसकेकोले सडकको शिलान्यासपछि कटान सुरू गर्ने न्यौपानेले बताउनु भयो ।
वन नियमावली अनुसार संरचना निर्माणका लागि एउटा रूख काट्दा सट्टामा दस वटा बिरूवा रोप्नुपर्छ। यस हिसाबले यहाँ काटिने रूखको साटो ७० हजारभन्दा धेरै नयाँ बिरूवा खाली जमिनमा रोपेर हुर्काउनुपर्ने हुन्छ। यो कामका लागि आयोजनाले चार करोड रुपैयाँ छुट्ट्याएको छ। बिरूवा लगाउने काममा आयोजना कार्यान्वयन हुने जिल्ला वन डिभिजन कार्यालयले समन्वय र सहजीकरण गर्नेछ।
बुटवल–गोरूसिंगेको काम सुरू भएपछि गोरूसिंगे–चन्द्रौटाको ठेक्का लगाउने विभागको तयारी छ। त्यसपछि कोहलपुर र त्यहाँभन्दा पनि पश्चिमसम्म चरणबद्ध रूपमा सडक विस्तार गर्ने लक्ष्य छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच