
गीता अधिकारी सञ्चारकर्मी हुनुहुन्छ । उहाँका लेखहरू विभिन्न पत्रपत्रिकाहरूमा बाक्लै पढ्न पाइन्छ । रङ्गकर्मीहरूसँगको सम्पर्कमा बढी रहनुभएकी अधिकारीले पत्रपत्रिकाहरूमा उहाँहरूसँगको अन्तरसंवाद पनि गरिरहेको पढ्न पाइन्छ । साथै छापा पत्रिकामै आबद्ध भएरसमेत उहाँ काम गरिरहनुभएको छ । गायक, सङ्गीतकार, गीतकार, अभिनेता अभिनेतृलगायत सबै कलाकारसँगको निकट सम्बन्धमा रहँदै आउनुभएकी अधिकारी मिलाप मासिकको सम्पादकसमेत रहनुभएको छ । हिमालय टाइम्समा पनि जोडिनुभएकी उहाँले आजका मितिसम्म आइपुग्दा धेरै संख्यामा लेख रचना प्रकाशित गरिसक्नुभएको छ भने लेखक साहित्यकारका पुस्तकहरूको समीक्षासमेत गर्दै आउनुभएको छ ।
विविध क्षेत्रका यति धेरै आलेख समेटेर प्रकाशनमा ल्याइएको यो पुस्तक पठनीय छ । लेखक, साहित्यकार, कलाकारका साथै विभिन्न स्थान र पर्व बारे जानकारी राख्न चाहने व्यक्तिका लागि यो कृति एउटा राम्रो सन्दर्भ सामग्री बन्नसक्ने कुरामा दुई मत रहनै सक्दैन । त्यसैले पुस्तक पठनीय तथ सङ्ग्रहणीयसमेत छ ।
यही सन्दर्भमा आफ्नो जन्मदिवसको मौका पारेर उहाँले आफूले लेखेको समीक्षात्मक लेखहरूको सङ्ग्रह ‘मैले पढेको ५१ पुस्तकहरू’ शीर्षकमा प्रकाशनमा ल्याउनुभएको थियो । अहिले पनि उहाँले यही सराहनीय कार्यलाई निरन्तरता दिनुभएको छ । हालैमात्र उहाँले आफ्नो जन्मदिनको सन्दर्भ पारेर अर्को पुस्तक सार्वजनिक गर्नुभएको छ ‘मेरा कलमका डोबहरू’ शीर्षकमा । यस कृतिमा उहाँले लेखेका छानिएका लेखमात्र सङ्ग्रहित भएका छन् । तैपनि यो पुस्तक भीमकाय छ । यसका लागि लेखक अधिकारीलाई धन्यवाद दिनैपर्छ । जन्मदिनको सन्दर्भमा भोजभतेर गरी पैसा खर्च गर्ने संस्कृतिको विकास हुँदै गएको वर्तमान सन्दर्भमा उहाँले भने पुस्तक प्रकाशन गरेर आफ्ना विचारलाई अभिलेखबद्ध गर्नुभएको छ ।
माथि नै भनियो किताब निकै मोटो छ । प्रकाशक मिलाप पब्लिकेसन प्रा.लि.बागबजार रहेको यस पुस्तकको सर्वाधिकार लेखकमै छ । हालैमात्र सार्वजनिक भएको पुस्तकको यो पहिलो संस्करण हो । भूमिका खण्डसहित ४७५ पृष्ठको डिएमआई साइजको पुस्तकको मूल्य ९९९ रुपैयाँ र विदेशका लागि ४ डलर रहेको पाइन्छ । पहेँलो हलुका कागज प्रयोग भएको यस पुस्तकको छपाइ स्तरीय छ र अशुद्धि कमै मात्र भेटिन्छन् । यसको डिजाइन स्नेह डिजाइन एण्ड प्रिन्टले गरेको छ । आवरण रङ्गीन र आकर्षक छ । माथि ठूला अक्षरमा पुस्तकको शीर्षक रहेको छ र तल लेखक अधिकारीको नाम छ ।
नीलो, रातो, पहेँलो र सेतो पृष्ठभूमिमा कलमले केही लेखिरहेको जस्तो अमूर्त चित्र राखेको हुँदा आवरणमा पनि शीर्षकको सार्थकता देखिन आएको छ । पृष्ठ आवरणमा लेखिकाको फोटोसहतिको छोटो चिनारी र भूमिकाबाट उद्धृत गरिएको छोटो भनाइ दिइएको पाइन्छ । पुस्तकको आवरणको फोटो र प्रकाशक संस्था मिलापको लोगोसहित नाम पनि यहाँ उद्धृत गरिएको छ । अधिकारीले आफ्ना मातापितामा यो पुस्तक समर्पण गर्नुभएको छ । खेमनाथ दाहालको ‘भूमिका’ प्रकाशकीय र लेखकीय रहेका छन् । त्यसपछि विषयक्रम छ । पुस्तक पाँच खण्डमा विभाजित छ ।
पहिलो खण्ड व्यक्ति-व्यक्तित्व रहेको छ जसमा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिलाई समेटिएको पाइन्छ । दोस्रो खण्डमा पर्व र दिवसहरू बारेका लेखरचना रहेका छन् । यसैगरी तेस्रो खण्डमा उहाँका नियात्रात्मक लेख छन् भने चौथो खण्डमा चलचित्र तथा गीतसङ्गीतसम्बन्धी लेखरचना छन् । अन्तिमा पाँचौं खण्डमा उहाँले विविध क्षेत्रका लेखरचनालाई समेट्नुभएको छ । यो सानो मिहिनेतले हुने कुरा होइन । एक वर्षअगाडि मात्र पहिलो पुस्तक प्रकाशन गर्नुभएकी अधिकारीले एक वर्षको अन्तरालमा यति ठूलो आकारको अर्को पुस्तक प्रकाशनमा ल्याउन गर्नुभएको मिहिनेतको अनुमान लगाउँदामात्र पनि उहाँको लगनशीलता र परिश्रमबारे आँकलन गर्न सकिन्छ ।
विविध क्षेत्रका यति धेरै आलेख समेटेर प्रकाशनमा ल्याइएको यो पुस्तक पठनीय छ । लेखक, साहित्यकार, कलाकारका साथै विभिन्न स्थान र पर्व बारे जानकारी राख्न चाहने व्यक्तिका लागि समेत यो कृति एउटा राम्रो सन्दर्भ सामग्री बन्नसक्ने कुरामा दुई मत रहनै सक्दैन । त्यसैले यो पुस्स्तक पठनीय तथ सङ्ग्रहणीयसमेत छ । यसका लागि पुस्तकको लेखक गीता अधिकारीलाई बधाई तथा पुस्तकको सफलताको समेत कामना छ । यसका साथै उहाँबाट यस प्रकारका अन्य पुस्तक पनि आइरहून्, उहाँलाई अग्रीम शुभकामना ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच