
काठमाडौं । नेपाली कांग्रेसले अर्थ र रोजगारी जोडिएका विषयको कार्यक्रम ‘सुवर्ण शमशेर इकोनोमिक कन्क्लेभ’ गर्ने भएको छ । विसं २००८ सालमा अर्थमन्त्री बन्नुभएका नेपाली कांग्रेसका संस्थापक नेता सुवर्ण शमशेरको नाममा इकोनोमिक कन्क्लेभ गर्न लागिएको हो । नेपालको पहिलो बजेट राणाले ल्याउनुभएको थियो । अर्थ संवादका लागि विदेशी व्यक्तिहरू समेत ल्याएर कांग्रेसले कार्यक्रम गर्न लागेको हो । आगामी फागुनको २६ र २७ मा गते सुवर्ण शमशेर इकोनोमिक कन्क्लेभ गर्न लागिएको नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जानकारी दिनुभयो । इकोनोमिक कन्क्लेभमा केही विदेशी वक्ताहरू समेत आउने महामन्त्री थापाले जानकारी गराउनुभयो ।
साथै, कांग्रेसले रोजगारीका सन्दर्भमा रहेर एकवर्षे बहस निरन्तर गर्ने भएको छ । माघको मसान्तबाट रोजगारी बहस चलाउनेसमेत तयारी गरिएको जानकारी दिँदै महामन्त्री थापाले भन्नुभयो, ‘नेपालमा रोजगारी कहाँ छ ? रोजगारीको अवस्था के छ ? भन्ने बारेमा एक वर्षभरि बहस चलाउने गरी तयारी गर्दैछौँ ।’ यही माघको माघ १६ र १७ गते ‘नेपाल स्टार्ट अप एण्ड एमई समिट’ गर्न लागिएको छ । केन्द्रीय कार्यालय सानेपामा दुईदिने कार्यक्रम राखिएको छ । स्टार्ट अप र उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यले प्रदर्शनी गर्न लागिएको केन्द्रीय सदस्य उर्मिला थपलियाले जानकारी दिनुभयो । थपलिया प्रमुख रहेको उद्यमशीलता र साना तथा मझौला विकास विभागले दुईदिने कार्यक्रम राखेको हो । थपलियाका अनुसार केन्द्रीय कार्यालयमा स्टलहरू राखेर प्रदर्शनी गरिने भएको छ । ९ माघमा आर्थिक नीति तथा योजना विभागले ‘नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति’ विषयक संवाद गोष्ठी राखेको थियो ।
रोजगारी सिर्जना गर्ने निजी क्षेत्रले हो, सरकारले वातावरण बनाउने हो : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रोजगारी दिने कार्य सरकारको नभई निजी क्षेत्रको भएको बताउनुभएको छ । नेपालमा वर्षको करिब पाँच लाखलाई रोजगारी दिनुपर्नेमा सरकारको तर्फबाट २० हजार बढीले काम नपाउने थापाले दाबी छ । महामन्त्री थापाले भन्नुभयो, ‘चार लाख ८० हजार मानिस बाँकी रहन्छ । काम कहिल्यै पनि सरकारले दिन सक्दैन । काम भनेको जहिले पनि निजी क्षेत्रले दिन्छ । संसारभर यही हो । सरकारले काम दिन्छु काम दिन्छु भनेको कसैले नपत्याउनुस् । सरकारले रोजगारी सिर्जनाका लागि वातावरण बनाउने हो ।’ दक्ष जनशक्ति हुन उत्पादन नहुँदा रोजगारी प्राप्त नहुने समस्या रहेको उहाँको भनाइ छ ।
संसदीय दलको बैठक आहृवान
नेपाली कांग्रेसले संसदीय दल बैठक बोलाएको छ । माघ १३ गते आइतबारका लागि कांग्रेसले संसदीय दल बैठक बोलाएको हो । आइतबार दिउँसो २ बजे संघीय संसद् भवनको ल्होत्से हलमा बैठक बस्ने संसदीय दल कार्यालयले जनाएको छ । बैठकमा संसद् र समितिमा रहेका विचाराधीन विधेयकहरू र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ । यस्तै, बैठकले आगामी हिउँदे अधिवेशनमा संसद्मा पार्टीले राख्ने एजेण्डा, भूमिका र कसरी अगाडि बढ्ने ? भन्ने सम्बन्धमा पनि रणनीति तय गर्ने बताइएको छ । बैठकमा पार्टीका प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरू सहभागी हुनेछन् । संघीय संसद्को दुवै सदनको बैठक माघ १८ गतेका लागि बोलाइएको छ ।
ज्येष्ठ राजनीतिज्ञ सभामा रहनेको नाम संकलन गर्न तीन नेतालाई जिम्मेवारी
नेपाली कांग्रेसको विधानअनुसार गठन हुने ज्येष्ठ राजनीतिक सभामा रहने व्यक्तिहरूको पहिचान गरी केन्द्रलाई नाम सिफारिश गर्न तीन नेतालाई जिम्मेवारी दिइएको छ । केन्द्रीय सदस्यहरू अजयबाबु शिवाकोटी, तारामान गुरुङ र हरिशरण नेपालीलाई उक्त जिम्मेवारी दिइएको हो । ज्येष्ठ राजनीतिज्ञ सभामा रहने व्यक्तिहरूको नाम सिफारिश गर्दा मापदण्ड पूरा गर्नुपर्ने उल्लेख गरिएको छ । लोकतान्त्रिक आन्दोलनमा दुःख कष्ट सहेका, प्रतिकूल समयमा समेत राष्ट्रियता, लोकतन्त्र र समाजवादका लागि क्रियाशील व्यक्तिहरू हुनुपर्ने मापदण्ड बनाइएको छ । नामहरू संकलन गर्दा जिल्लामा आवश्यक समन्वय गर्न तीन नेताहरूलाई जिम्मेवारी दिएको बताइएको छ । उक्त सभा सभापतिको नेतृत्वमा हुने विधानको व्यवस्था छ ।
कांग्रेसलाई ‘मिसन ०८४’ भन्ने छुट छैन : साउद
नेपाली कांग्रेसका नेता एनपी साउदले कांग्रेसलाई ‘मिसन ०८४’ भन्ने छुट नभएको बताउनुभएको छ । गृहजिल्ला कञ्चनपुरमा शुक्रबार भएको कार्यक्रममा नेता साउदले कांग्रेसलाई ०७९ को चुनावबाट जनताले ‘म्याण्डेड’ दिइसकेको उल्लेख गर्दै भन्नुभयो, ‘कांग्रेसलाई मिसन ०८४ भन्ने छुट छैन । हामी देशको ठूलो पार्टी भएकाले ०८४ कुर्नुपर्ने काम छैन । हारेकाहरूले हो, मिसन ०८४ भनेर जनतालाई भ्रमित बनाउने । तीनवटै तहका जनप्रतिनिधिले उदाहरणीय काम गरे ०८४ मा जनताले आफैँ कांग्रेसको खोजी गर्छन् । जनप्रतिनिधि भइसकेपछि आलोचनाबाट डराउनुपर्ने छैन, जनप्रतिनिधिले आफ्नो काममा केन्द्रित हुन आवश्यक छ । पार्टीमा युवालाई योगदान र कामका आधारमा न्याय दिने कुरामा पनि विश्वास दिलाउन चाहन्छौँ ।’
संविधान संशोधन सुझाव कार्यदल गठनको गृहकार्यमा
सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधन सुझाव कार्यदल गठनको गृहकार्य अगाडि बढाएका छन् । वर्तमान सरकार बनाउँदा गरिएको सात बुँदे समझदारीअनुसार संयुक्त कार्यदल बनाएर संविधान संशोधनका विषयहरू पहिचान गर्न लागिएको नेताहरूको भनाइ छ । कांग्रेस र एमालेले १७ असार २०८१ मध्यराति संयुक्त सरकार बनाउने गरी सातबुँदे समझदारी गरेका थिए । सरकार बनाउँदाको यही समझदारीलाई पृष्ठभूमिमा राखेर कांग्रेस र एमालेका दोस्रो तहका नेताहरू संविधान संशोधनका विषय र प्रक्रियाबारे छलफलमा जुटेका हुन् । कार्यदल गठनको गृहकार्य अगाडि बढेको जानकारी दिँदै कांग्रेस महामन्त्री गगन थापाले भन्नुभयो, ‘दुई चार दिनमा सक्छौँ । चार जनाको टाक्स फोर्स बन्छ । त्यो टाक्स फोर्सलाई हामी एक डेढ महिनाको समय दिन्छौँ । कार्यदलले कांग्रेस र एमालेले चाहेको संविधान संशोधनका विषयलाई एकीकृत गर्नेछ । कार्यदलले दिएको सुझावका आधारमा अन्य दलहरूसँग छलफल गरिनेछ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच