
पाल्पा, बुटवल । मृत्युमार्गको रूपमा परिचित पाल्पा-बुटवल सडक खण्डको अति जोखिम सिद्धबाबा क्षेत्रमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको सिद्धबाबा सुरुङमार्ग (ब्रेक थ्रु) छिचोलिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअलमार्फत सुरुङ छिचोल्नका लागि स्विच थिचेपछि पाल्पा र बुटवल दुवैतर्फबाट खनिएको सुरुङ एक-आपसमा छिचोलिएको हो । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक हजार १२६ मिटर सुरुङमार्ग छिचोल्ने काम सकिएको छ । प्रधानमन्त्री ओलीको उपस्थितिमा मुख्य सुरुङको ‘ब्रेक थ्रु’ गरिने भनिए पनि कार्यक्रमको अन्तिममा आएर प्रधानमन्त्री ओलीको अस्वस्थताका कारण भर्चुअलमार्फत मुख्य सुरुङ ‘ब्रेक थ्रु’ गरिएको आयोजनाले जनाएको छ ।
सुरुङमार्ग छिचोलिएपछि यो सडक क्षेत्र भएर यात्रा गर्ने हजारौँ यात्रुलाई खुसी दिलाएको छ । सिद्धार्थ राजमार्गको तल्लो सिद्धबाबा मन्दिरदेखि पाल्पाको दोभानसम्म अत्यधिक पहिरो झर्ने क्षेत्र पर्छ । सुक्खायाममा पनि धुले पहिरो खस्ने गरेकाले राजमार्गको यस खण्डलाई सुरक्षित बनाउन सुरुङमार्ग निर्माण गरिएको हो । ठूलो क्षति व्यहोर्नु परेको र त्रासदीमा यात्रा गर्नुपर्ने बाध्यतामा रहेका यात्रुहरू सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएपछि वर्षौंदेखि सुरुङ बन्ने सपना विपनामा परिणत हुनेमा ढुक्क भएका छन् ।
यो सडक खण्ड प्रयोग गरी गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बाग्लुङ तथा म्याग्दीसम्म यातायातका साधन चल्ने गर्छन् । यहाँ हरेक वर्ष जाने पहिरोले जनधनको क्षति पुर्याउने गर्दछ । दैनिक हजारौँ सवारीका साधन गुड्ने यो क्षेत्रमा अहिलेसम्म सयौँ मानिसले ज्यान गुमाएका छन् । हिउँदमा समेत पहिरो खसेर कैयौँ यात्रुले ज्यान गुमाउनु परेको इतिहास साक्षी छ । वर्षामा यो सडक क्षेत्र त्यसै पनि अति जोखिममा छ । छिचोलिएको सुरुङमार्गमा एक वर्षपछि नियमित रूपमा सवारी आवागमन हुने सम्बद्ध आयोजनाले जनाएको छ ।
जोखिम क्षेत्रहरूको पहिचान गरी सुुरुङ बनाउने काम भइरहेको छ : ओली
‘ब्रेक थ्रु’ उत्सव समारोहलाई भर्चुअल विधिबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुुलुुक सुुरुङमार्गमा प्रवेश गरेको बताउनुभएको छ । उहाँले जोखिम क्षेत्रहरूको पहिचान गरी सुुरुङ बनाउने काम धमाधम भइरहेको भन्दै सिद्धबाबाको सुुरुङमार्गको बाँकी काम समयमै हुने उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले सिद्धबाबा क्षेत्रमा हरेक वर्ष हुने सवारी दुर्घटना र पहिरोमा पर्ने समस्याबाट नागरिकलाई मुक्त गराउन सुरुङमार्ग निर्माण गरिएको बताउनुुभयो । सुरुङ बनेपछि पाल्पा, पोखरालगायत जिल्ला आवतजावत गर्न सुरक्षित हुने र कुनै समस्या नआउने प्रधानमन्त्री ओलीले विश्वास व्यक्त गर्नुभयो । उहाँले छोटो समयमै सुरुङको ‘ब्रेक थ्रु’ अवस्थामा ल्याइपुर्याएको भन्दै चिनियाँ निर्माण कम्पनीलाई धन्यवादसमेत दिनुभयो । समारोहमा उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह, उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री देवेन्द्र दाहाल, लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य लगायतका उच्च पदस्थ व्यक्तिहरूको उपस्थित रहेको थियो ।
यसरी भएको थियो काम
सुरुङमार्गका लागि २०७७ सालमा मन्त्रिपरिषद् बैठकले बजेट विनियोजन गरेसँगै २०७८ साल जेठ ९ मा सडक विभागले अन्तर्राष्ट्रिय रूपमा बोलपत्र आहृवान गरी सुरुङमार्ग निर्माणको ठेक्का लगाएको थियो । सुरुङभित्र केही समस्या आए निस्कन मिल्नेगरी तीनवटा बाइपास बनाइएको छ । तेस्रो र पहिलो बाइपासको ‘ब्रेक थ्रु’ भदौ तथा असोजमा भएकामा दोस्रो बाइपासको ‘ब्रेक थ्रु’ गत पुस ७ गते भएको हो । यहाँ पहिलो बाइपासको लम्बाइ १५१ मिटर, दोस्रोको लम्बाइ १६१ मिटर र तेस्रोको १३० मिटर छ । पहिलो बाइपास माथिल्लो सिद्धबाबा मन्दिरतर्फको र तेस्रो बाइपास दोभान ड्याम साइडतर्फको हो । सुरुङमार्गको हालसम्म भौतिक प्रगति ४० प्रतिशत भएको आयोजनाकी इञ्जिनियर सविता ज्ञवालीले बताउनुुभयो । सुरुङ छिचोलिएपछि अब अन्य कामलाई तीव्रता दिइने उहाँको भनाइ छ । सुरुङभित्रको भुइँ र भित्तामा बिजुलीबत्ती जडान, गाडी गुड्ने क्षेत्र निर्धारण गरेर ‘पेभमेन्ट’ ढलान, सुरुङमार्गको उत्तर र दक्षिण भागमा ‘रक सेड’ र ‘रक नेट’को काम अघि बढाइने उहाँले जानकारी दिनुभयो ।
सुरूङमार्ग पाँच वर्षमा सक्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले सात अर्ब ३४ करोड २१ लाख ४० हजारको लागतमा सुरु गरेको काम २०८३ सालमा सम्पन्न हुनेछ । स्विस एजेन्सी फर डेभलपमेन्ट एण्ड कोअप्रेसन (एसडिसी)ले २०७५ सालमा यो क्षेत्रको सर्वेक्षण गरी सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेको थियो । उक्त कम्पनीले सिद्धार्थ राजमार्गको बर्तुङ–चिडियाखोला सडकखण्डको सिद्धबाबादेखि दोभान चौकीसम्मको दुई हजार सात सय मिटर सडकक्षेत्र जोखिमयुक्त रहेको जानकारी सरकारलाई दिएको थियो । सोही सुझावअनुसार सुरुङमार्ग निर्माणको निर्णय भएको हो । विशाल चट्टानले युक्त भीरमा रक सेटअर्थात् स्लोप प्रोटेक्सनको काम गर्न सम्भव नभएको क्षेत्रमा सुरुङको प्रस्ताव भएअनुसार यो सुरुङ खन्न थालिएको हो । २०७६ मंसिर २ गते सुरुङमार्गका लागि १० अर्ब १५ करोड रुपैयाँ स्रोत सुनिश्चित भएको थियो । हाल यहाँ दैनिक ४० जना चिनियाँ र नेपाली दक्ष, अर्धदक्ष र अदक्ष गरी १५० जनाले नियमित काम गरिरहेका छन् । सिद्धबाबा मन्दिर नजिकैबाट सुरुङ छिरेर पाल्पातर्फ तिनाउ जलविद्युत् आयोजनाको छेउमा निस्किनेछ ।
‘मेरो जिम्मेवारी अझै पूरा भएको छैन’
सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि सुरुका दिनदेखि नै पहल गर्दै आएका पूर्वमन्त्री एवं नेकपा समाजवादीका नेता सोमप्रसाद पाण्डेयले सुरुङमार्गको ‘ब्रेक थ्रु’ भए पनि आफ्नो जिम्मेवारी अझै पूरा नभएको बताउनुभएको छ । शुक्रबार उहाँले सामाजिक सञ्जालमार्फत ब्रेक थ्रु हुँदा अत्यन्त हर्षित भएको तर पाल्पाली जनताको प्रतिनिधिको हिसाबले जिम्मेवारी पूरा अझै नभएको बताउनुुभएको छ । उहाँले भन्नुभएको छ ‘म जनप्रतिनिधि भएको समयमा र नभएको समयमा पनि मलाई यो विषय अत्यन्तै चिन्ता र चासोको विषय रहृयो । पाल्पाका समकालीन राजनीतिज्ञहरूमध्ये सबैभन्दा बढी यो बाटोको प्रयोग गर्ने म हुँ । मैले २०७४ सालको माघ ८ गते तत्कालीन भौतिक योजनामन्त्री मा. रघुवीर महासेठज्यूलाई अनुरोध गरी यो ठाउँको स्थलगत निरीक्षण गराएको हुँ, त्यो समयमा हालका मन्त्रालयका सचिव केशव शर्मासमेत सहभागी हुनुहुन्थ्यो । मैले सुरुङमार्गको प्रस्ताव गर्दै गर्दा त्यतिखेर मेरा साथीहरू सम्भव छ र ? भन्नुहुन्थ्यो । त्यो समयमा हामीसँग सुरुङसम्बन्धी अध्ययन गर्ने प्राविधिकको कमी भएकोले शर्माज्यूकै रायअनुसार स्विस दूतावासमा प्राविधिक माग गरेको हुँ, त्यसपछि स्विस कन्सल्टेन्टले अध्ययन सुरु गरेको हो । सम्बन्धित सडक विभागबाट बजेट स्रोत सुनिश्चित भएपछि मात्र टेण्डर निस्कने भएपछि प्रधानमन्त्री एवं भौतिक पूर्वाधार मन्त्रीसँग २०७६/१/२६ मा बजेट माग/ताकेता गरेको हुँ । २०७६ सालको मंसिर २ गते सिद्धबाबा सुरुङमार्गको लागि १० अर्ब १५ करोड बजेट सुनिश्चित भएको हो । मैले सम्मानित सदन, सडक विभाग, भौतिक पूर्वाधार मन्त्रालयमा सिद्धबाबा सुरुङ मार्गको तत्काल काम सुरु गर्नको लागि पटक-पटक माग राखेको हुँ । यो सुरुवात नभएमा सदनमै अनशन बस्छुसमेत भनेको व्यहोरा सबैलाई अवगत छ । आज ४० प्रतिशत भौतिक प्रगति भइसकेको अवस्थामा यसको ‘ब्रेक थ्रु’ भइरहँदा म अत्यन्त हर्षित छु । तर, म समग्र पाल्पाली जनताको प्रतिनिधिको हिसाबले मेरो जिम्मेवारी पूरा भइसकेको ठानेको छैन । जुन दिन यो सुरुङमार्गबाट गाडीहरू ओहोरदोहोर हुनेछन् त्यो दिन म एकपटक फेरि खुसी हुनेछु ।’
बुटवल-गोरुसिंगे सडक चार लेन शिलान्यास देशकै महत्वपूर्ण र ऐतिहासिक दिन : प्रधानमन्त्री ओली
बुटवल–गोरुसिंगे सडक चार लेनमा विस्तारको काम शुक्रबारदेखि सुरु भएको छ । बुटवलदेखि गोरुसिंगेसम्मको ५० किलोमिटर सडक स्तरोन्नतिको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट शिलान्यास गर्नुभएको हो ।
पहिलो चरणमा बुटवलदेखि गोरुसिंगेसम्मको सडक निर्माण भएपछि दोस्रो चरणमा गोरुसिंगेबाट चन्द्रौटासम्मको १९ किलोमिटर सडक निर्माणको काम अगाडि बढाइनेछ । सडक शिलान्यासको क्रममा प्रधानमन्त्री ओलीले यो दिन पाल्पा र रूपन्देहीको लागि मात्र नभएर देशकै महत्वपूर्ण र ऐतिहासिक दिनको रूपमा रहेको बताउनुभयो ।
उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले यातायात क्षेत्र विकासको प्रमुख आधार भएकोले सरकारले सडक निर्माणलाई प्राथमिकता दिएर अगाडि बढाएको बताउनुभयो । उहाँले राजनीतिक अस्थिरताको कारण नेपालका विकास आयोजना समयमा सम्पन्न नहुने गरेको कारण राष्ट्रिय राजनीतिको आवश्यकताले वर्तमान सरकार गठन भएको बताउनुभयो । मन्त्री सिंहले शुक्रबार ब्रेक थ्रु भएको सिद्धबाबा सुरुङमार्ग र बुटवल गोरुसिंगे सडक गुणस्तरीय रूपमा र समयमै सम्पन्न गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बुटवलदेखि गोरुसिंगेसम्मको सडक निर्माणमा कुनै पनि ढिलाइ नगरी निर्माण गर्न निर्माण व्यवसायलाई आग्रह गर्नुभयो । उहाँले बुटवल-नारायणगढ सडकबाट पाठ सिकेर त्यस्तो गल्ती नदोहोर्याउने गरी निर्माण गर्न आग्रह गर्नुभयो । गुणस्तरमा कुनै पनि कमजोरी नगरी लागत र समय नबढाई सडक निर्माण गर्न उहाले आग्रह गर्नुभयोे । ‘कतिपय आयोजना समयमा बन्न नसक्दा खुसीभन्दा पीडा भइरहेको छ, यो आयोजनाले पीडा नभई खुसी दिनुपर्ने छ,’ उहाँले भन्नुभयो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बुटवल-नारायणगढ सडक निर्माणमा ढिलाइ भए पनि सिद्धबाबा सुरुङमार्ग र बुटवल गोरुसिंगे सडकखण्डको स्तरोन्नतिको काम समयमै सम्पन्न हुने बताउनुभयो ।
बुटवलदेखि रूपन्देही र कपिलवस्तुको सीमा क्षेत्र कोठी नदीसम्मको २५ किलोमिटर र कोठीदेखि गोरुसिंगेसम्म २५ किलोमिटरलाई दुई भागमा विभाजन गरी गत असार १३ गते सडक निर्माण ठेक्का सम्झौता भएको थियो ।
चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इञ्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवन निर्माण सेवाले ठेक्का सम्झौता गरी सडक निर्माणको लागि ल्याब, क्रसर र कंक्रिट बनाउने ठाउँ बनाइसकेको छ ।
बुटवल-गोरुसिंगे सडक निर्माण आयोजना प्रमुख इञ्जिनियर कुशलता न्यौपानेका अनुसार निर्माण कम्पनीले गत कात्तिक ४ गते सडक विभागसँग कार्यादेश लिएर निर्माणको तयारीको काम अगाडि बढाएको थियो । सडक निर्माणको लागि एउटै कम्पनीले ठेक्का लिए पनि दुई भागमा विभाजन गरी अलग अलग ठेक्का सम्झौता गरिएको छ । निर्माणको काम पनि बुटवल र कपिलवस्तु दुवै तर्फबाट एकैपटक सुरु हुने आयोजनाले जनाएको छ ।
कुल १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रुपैयाँमा निर्माण हुने ५० किलोमिटर सडकका लागि बुटवल-कोठीनदी खण्डको सात अर्ब ८९ करोड र कोठीनदी-गोरुसिंगे खण्डको पाँच अर्ब ६६ करोड रुपैयाँमा सम्झौता भएको छ ।
यो सडक विस्तारका लागि विश्व बैंकले २७ करोड ५० लाख अमेरिकी डलर उपलब्ध गराउने छ । पचास किलोमिटर सडकअन्तर्गत कपिलवस्तु तर्फको सालझण्डी-पिपरा र वनगाई-गोरुसिंगेसम्म करिब २० किलोमिटर जंगल क्षेत्र छ । जंगल क्षेत्रमा सर्भिस लेनबिना २४ मिटर चौडाइको चार लेन सडक बन्नेछ ।
बुटवलतर्फ भने अधिकांश बजार र बस्ती क्षेत्र रहेको छ। बजार र बस्ती भएको क्षेत्रमा दुवैतर्फ सर्भिस लेन सहितको ६ लेन सडक बन्ने आयोजना प्रमुख न्यौपानेले जानकारी दिनुभयो । सहर उन्मुख क्षेत्रमा सर्भिस लेनसहित ३७ मिटर र सहरी क्षेत्रमा सर्भिस लेनसहित ५० मिटर चौडा हुनेछ । ठूला चोकमा अण्डर पास र ओभर पास हुनेछ ।
पहिलो चरणमा बन्ने ५० किलोमिटर खण्डमा ३० वटा ठूला पुल र १४ वटा कल्भर्ट पनि बनाइनेछ । बजार क्षेत्रमा ६ वटा अण्डरओभर पास हुनेछन् । निर्माण कम्पनीले प्रारम्भिक कामका लागि १० प्रतिशत रकम लगिसकेको छ भने पाँच प्रतिशत काम सुरु गरेपछि भुक्तानी गरिनेछ । सम्झौताअनुसार कार्यादेश लिएको मितिदेखि तीन वर्षभित्र अर्थात् २०८४ असोजभित्र काम सक्नुपर्नेछ । तत्कालीन राजा महेन्द्र शाहको पालामा बनेको यो सडक ६२ वर्षपछि स्तरोन्नति हुन लागेको हो ।
आयोजना प्रमुख इञ्जिनियर न्यौपानेले पनि बुटवल-नारायणगढ सडकमा भएका गल्तीबाट सिकेर नयाँ तरिकामा काम गर्ने योजना रहेको बताउनुभयो । बजार र बस्ती क्षेत्रमा दुवैतिर सर्भिस लेन बनाइसकेर मात्र बीचको भाग भत्काइने र सकेसम्म समस्या कम हुनेगरी काम अगाडि बढाइने उहाँको भनाइ छ । निर्माण कम्पनीसँग गरिएको सम्झौताअनुसार कार्यादेश लिएको मितिदेखि तीन वर्षभित्र अर्थात् २०८४ असोजभित्र सडक स्तरोन्नतिको काम सक्नुपर्ने छ ।
५० किलोमिटर सडक स्तरोन्नतिको लागि सात हजार १७७ रूख काट्नुपर्ने आयोजनाले जनाएको छ । झण्डै २० किलोमिटर जंगल क्षेत्र रहेकोले धेरै रूख कटान गर्नुपर्ने न्यौपानेले बताउनुभयो । बजार र बस्ती भएको क्षेत्रमा पनि वर, पीपल, स्वामी, कदम, सिमल लगायतका ठूला ठूला कल्पवृक्ष छन् । सबै क्षेत्रबाट सडक क्षेत्राधिकार भित्रका रूख काट्न स्वीकृति लिइसकेकोले सडकको शिलान्यासपछि कटान सुरू गर्ने न्यौपानेले बताउनुभयो ।
वन नियमावलीअनुसार संरचना निर्माणका लागि एउटा रूख काट्दा सट्टामा १० वटा विरुवा रोप्नुपर्छ । यस हिसाबले यहाँ काटिने रूखको साटो ७० हजारभन्दा धेरै नयाँ विरुवा खाली जमिनमा रोपेर हुर्काउनुपर्ने हुन्छ । यो कामका लागि आयोजनाले चार करोड रुपैयाँ छुट्याएको छ । विरुवा लगाउने काममा आयोजना कार्यान्वयन हुने जिल्ला वन डिभिजन कार्यालयले समन्वय र सहजीकरण गर्नेछ ।
बुटवल-गोरुसिंगेको काम सुरु भएपछि गोरुसिंगे-चन्द्रौटाको ठेक्का लगाउने विभागको तयारी छ । त्यसपछि कोहलपुर र त्यहाँभन्दा पनि पश्चिमसम्म चरणबद्ध रूपमा सडक विस्तार गर्ने लक्ष्य छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच