
अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाका पूर्वअध्यक्ष तथा नेपाली कांग्रेसका जिल्ला सचिव अच्युत गौतमको राजनीतिसँगै कृषि पेसामा पनि उदाहरणीय योगदान छ । गौतमले पाणिनी गाउँपालिका र आसपासका क्षेत्रलाई आर्थिक र सामाजिक रूपमा परिवर्तन गर्न प्रेरित गरिरहनुभएको छ ।
तरकारी खेती, सुन्तला उत्पादन, कुखुरापालन, र बेमौसमी खेतीजस्ता कृषिमा आधुनिक प्रविधिको प्रयोग गरेर गौतमले वार्षिक २० देखि २५ लाख रुपैयाँसम्म आम्दानी गर्दै आउनुभएको छ । “गाउँको माटोमा सुन फलाउन सकिन्छ,” भन्ने आफ्नो दृढ विश्वासलाई उहाँले निरन्तर परिश्रम र लगनशीलतासँग जोड्दै पाणिनीलाई समृद्धिको बाटोमा अगाडि बढाइरहनुभएको छ ।
गौतमको दिनचर्या बिहान सूर्योदयदेखि बेलुकी घाम अस्ताउने समयसम्म खेतबारीमै बित्छ। उहाँले आलु, बन्दा, काउली, टमाटर, ब्रोकाउली, केराउ, पिँडालुजस्ता बेमौसमी तरकारीहरूको व्यवसायिक खेती गर्दै आउनुभएको छ । यी उत्पादनहरू सन्धिखर्क, दुर्गाफाँट, पाल्पाको तानसेन, र बुटवलका सब्जी मण्डीमा बिक्री हुन्छन्। “बजार व्यवस्थापनमा कुनै समस्या छैन, उत्पादन राम्रो हुनुपर्छ। उत्पादनको माग सँधै धेरै छ,” गौतमले भन्नुभयो।
तरकारी खेतीसँगै सुन्तला उत्पादनमा पनि उहाँ सक्रिय हुनुहुन्छ। सुन्तलाबाट मात्र वार्षिक ५ लाखभन्दा बढी आम्दानी गर्न सफल गौतमले व्यवसायिक कुखुरापालनमार्फत ५ देखि ९ लाख रुपैयाँसम्म आम्दानी गर्दै आउनुभएको छ ।
गौतमले कृषिका माध्यमबाट केवल आर्थिक लाभ मात्र प्राप्त गर्नु भएको छैन, उहाँले समाजमा एक सशक्त र आत्मनिर्भर व्यक्तित्वको पहिचानसमेत बनाउनु भएको छ। “विदेश जानु आवश्यक छैन। मेहनत गरे गाउँकै माटोमा सुन फलाउन सकिन्छ,” गौतम भन्नुहुन्छ। स्थानीय युवा पुस्तालाई स्वदेशमै केही गर्न प्रेरित गर्ने अभियानमा रहनुभएका गौतमको योगदानले पाणिनीको आर्थिक विकासमा नयाँ दृष्टिकोण थपिएको छ।
नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट अर्घाखाँची जिल्ला सचिवमा निर्वाचित गौतम पाणिनी गाउँपालिकाका कुशल नेताका रूपमा परिचित हुनुहुन्छ । उहाँले कृषिलाई केवल व्यक्तिगत लाभको रूपमा नलिएर सामाजिक परिवर्तनको माध्यमका रूपमा लिएको बताउनु हुन्छ ।
उहाँको प्रयासले प्रभावित भएर गाउँका अन्य युवा र जनप्रतिनिधिहरूले व्यवसायिक खेती, सुन्तला खेती, र कुखुरापालन सुरु गर्नुभएको छ। पोखराथोक, पणेना, मैदान पाटौटी, र खिदिम लगायतका वडामा स्वरोजगारको संस्कृति विस्तार हुँदै गएको छ।
“उत्पादन राम्रो होस्, बिक्रीको चिन्ता गर्नु पर्दैन,” गौतमले भन्नुहुन्छ । उहाँका अनुसार गाउँको माटोमा सही योजना र मेहनत गरेकाले आत्मनिर्भर बन्न कुनै समस्या छैन।
उहाँले सानो क्षेत्रफलमा खेती सुरु गर्नुभएको थियो । आधुनिक प्रविधि र बेमौसमी खेती अपनाउँदै उहाँले व्यवसायलाई विस्तार गर्दै लग्नुभयो । आफ्नो अनुभव र सफलताले गाउँका युवाहरूलाई विदेश जानुभन्दा आफ्नै गाउँमा केही गर्न प्रेरित गर्न सकेकोमा उहाँले गर्व गर्नुहुन्छ ।
स्थानीय तुल्सी पौडेल भन्नुहुन्छ, “गौतमजस्तो व्यक्ति पाणिनीका लागि मात्र होइन, सिंगो अर्घाखाँचीकै लागि प्रेरणादायी छन्। उनको मेहनत र लगनशीलताले समाजको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा उल्लेखनीय प्रभाव पारेको छ।”
गौतमको प्रयास केवल उहाँको व्यक्तिगत सफलताको कथा होइन, यो स्थानीयस्तरमा समृद्धि र आत्मनिर्भरता कसरी ल्याउन सकिन्छ भन्ने दृष्टान्त हो। मेहनत र सही योजनाले गाउँको माटोमै समृद्धि फलाउन सकिन्छ भन्ने उहाँको विश्वासले अबको पुस्तालाई गाउँमै बस्ने र स्वरोजगार बन्ने प्रेरणा प्रदान गर्नेछ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच