
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समिति बैठकमा नेताहरूबीच आरोप-प्रत्यारोप चलेको छ । महामन्त्री धवलशमशेर राणाले बैठकमा लिखित विचार राख्दै अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीको विरोध गरेपछि नेताहरू आरोप-प्रत्यारोपमा उत्रिएका हुन् । राणाले संगठन कमजोर भएको भन्दै अध्यक्षलाई दोषारोपण गर्नुभएको थियो । तर, शनिबार बोल्ने केन्द्रीय सदस्यहरूले राणामाथि नै हमला गरेका छन् । राणाको दस्तावेज पार्टीलाई विभाजनमा लैजाने प्रकृतिको भएको भन्दै उहाँको चर्को आलोचना गरेका हुन् ।
सहमहामन्त्री धनबहादुर बुढाले गणतन्त्रवादी पार्टीबाट आएका राणाले जीवनभर राजसंस्थाको पक्षमा उभिएका अध्यक्षलाई आरोप लगाउनु अनैतिक भएको टिप्पणी गर्नुभयो । पार्टीका नेताहरू पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनी, लोकेन्द्रबहादुर चन्दजस्ता नेता गणतन्त्रका पक्षमा उभिँदासमेत आफ्नो निष्ठा नछाड्ने अध्यक्षलाई निष्ठा र इमानदारीको प्रश्न गर्न नमिल्ने उहाँले तर्क गर्नुभयो । पार्टीका अर्का सहमहामन्त्री प्रकाश रिमालले पार्टीको पक्षमा आकर्षण बढेका बेला नेतृत्व कमजोर बनाउने र पार्टीलाई पुनः टुटफुटको शृंखलामा धेकेल्ने प्रयास भएको आरोप लगाउनुभयो ।
पार्टीका केन्द्रीय सदस्य उद्धवराज भेटवालले नयाँ केन्द्रीय सदस्य बनाउने प्रक्रियालाई महामन्त्रीले दुष्कर्मको संज्ञा दिएको भन्दै त्यो शब्द फिर्ता लिएर माफी माग्न आग्रह गर्नुभयो । यसअघि महामन्त्री राणाले पार्टी राजसंस्था र हिन्दू अधिराज्य सहितको लक्ष्य प्राप्ति उन्मुख नभएको भन्दै अध्यक्षको आलोचना गर्नुभएको थियो । इमानदार भएर लिङ्देन नेतृत्वको लेखाजोखा गर्नुपर्ने उहाँको भनाइ थियो । एकता महाधिवेशनको मर्म र भावनाअनुरूप पार्टीलाई एक ढिक्का राख्न अध्यक्ष लिङ्देनमा नयाँ सक्रियता र सत्प्रयासको अभाव देखिएको उहाँको सुझाव थियो ।
राप्रपा बैठकमा विदेशी पासपोर्ट भएकालाई केन्द्रीय सदस्य बनाइएको भन्दै नेतृत्वको आलोचना गरेका थिए । केन्द्रीय सदस्य प्रेमकुमार श्रेष्ठसँग अमेरिकी पासपोर्ट भए पनि पार्टीको विधान र संवैधानिक व्यवस्थालाई खिल्ली उडाउँदै पार्टीले जिम्मेवारी दिनु गलत भएको नेताहरूको भनाइ थियो । बैठकमा धारणा राख्ने केही केन्द्रीय सदस्यहरूले अमेरिकी पासपोर्ट भएको व्यक्तिलाई तत्काल पार्टीबाट निष्कासन गर्न माग गरेका थिए । यसअघि शुक्रबार अध्यक्ष लिङ्देनले समसामयिक राजनीतिक विषयमा मौखिक ब्रिफिङ, महामन्त्री एवं सचिवालय प्रमुख राजेन्द्र गुरुङले सचिवालयको प्रतिवेदन र कोषाध्यक्ष नीलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन पेस गर्नुभएको थियो ।
नेताहरूले बोल्ने क्रम नसकिएपछि राप्रपाको बैठक लम्बिने भएको छ । शनिबार नै सक्ने भनिएको बैठक सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेकाले आइतबार पनि जारी रहने अध्यक्ष लिङ्देनले बैठक हललाई जानकारी दिनुभएको थियो ।
खातामा एक करोड ३६ लाख मौज्दात
राप्रपाको खातामा एक करोड ३६ लाख दुई हजार १९२ रुपैयाँ मौज्दात रहेको विवरण केन्द्रीय समितिमा पेस गरिएको छ । कोषाध्यक्ष नीलकण्ठ काफ्लेले चालु आर्थिक वर्ष २०८१/०८२ को आय-व्यव विवरण बैठकमा पेस गर्नुभएको हो । आर्थिक प्रतिवेदन पेस गर्ने क्रममा काफ्लेले पुस मसान्तसम्मको पार्टीको आम्दानी र खर्चको हिसाब पेस गर्नुभएको हो । पुससम्मको अवधिमा कुल आम्दानी एक करोड ९० लाख ६९ हजार ८९२ रुपैयाँ रहेकोमा सबै खर्च कटाएर एक करोड ३६ लाख दुई हजार १९२ बचत रहेको प्रतिवेदनमा उल्लेख छ । आर्थिक प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षबाट सरेर आएको बैंक मौज्दात एक करोड ३५ लाख २० हजार ८७५ रुपैयाँ थियो भने सांसदको लेभीबापत १६ लाख ८० हजार, प्रदेश सांसदको लेभी १५ लाख ७९ हजार, पार्टी लेभीबाट चार लाख आठ हजार रुपैयाँ संकलन भएको छ । यस्तै सक्रिय सदस्यता शुल्कबापत आठ लाख ८९ हजार ९५०, पशुपति शमशेरबाट सहयोग पाँच लाख, सोभित उप्रेतीबाट दुई लाख रुपैयाँ आम्दानी भएको प्रतिवेदनमा उल्लेख छ ।
यसबाहेक बैंक ब्याज र विभिन्न व्यक्तिबाट केही सहयोग पनि प्राप्त हुँदा खर्चतर्फ सचिवालयको काममा ११ लाख ८६ हजार २२०, भवन मर्मत आठ लाख ६० हजार ५८५, स्थानीय तह उपनिर्वाचनमा ११ लाख १८ हजार ७४० रुपैयाँ भुक्तानी भएको प्रतिवेदनमा उल्लेख छ । यसबाहेक पार्टी प्रवेश कार्यक्रम, प्रशिक्षण, पानी फिल्टर, विभिन्न शीर्षकमा कुल ५४ लाख ६७ हजार ७०० रुपैयाँ खर्च भएको प्रतिवेदनमा देखाइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच