
काठमाडौं । २०७९ सालमा भएको आमनिर्वाचनबाट नेपाली कांग्रेस ८९ सिटसहित प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल बन्यो । तत्कालीन नेपाली कांग्रेस नेतृत्वको माओवादी केन्द्रसहितको गठबन्धनको घेरालाई तोड्दै नेकपा एमाले ७८ सिटसहित संसद्को दोस्रो ठूलो दल बन्यो । नेपाली कांग्रेससहितका दलहरूको साथ पाएको नेकपा माओवादी केन्द्र ३२ सिटसहित संसद्को तेस्रो ठूलो दल बन्यो । २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतको लागि १३८ सांसदको समर्थन आवश्यक पर्छ । तर, निर्वाचनबाट कुनै पनि दलले बहुमत ल्याउन नसकेपछि गठबन्धन सरकार बन्ने निश्चित भयो । संसदीय प्रक्रिया र अंकगणितको आधारमा निर्वाचनपछि सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्नुपर्ने थियो । कांग्रेसले बहुमत जुटाउन नसकेको अवस्थामा भने दोस्रो ठूलो दल नेकपा एमालेको नेतृत्वमा सरकार बन्ने अवस्था थियो । तर, यी दुवै विकल्पबाट सरकार बन्ने अवस्था देखिएन ।
शान्ति सम्झौतापछि खुला राजनीतिमा प्रवेश गर्नुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजनीतिका चतुर खेलाडी भन्ने गरिन्छ । आफूलाई दिइएको चतुर खेलाडीको संज्ञालाई प्रमाणित गर्नेगरी ३२ सिट मात्र ल्याउनुभएका प्रचण्ड पहिलो र दोस्रो ठूलो दललाई मात खुवाउँदै सरकारको नेतृत्व गर्न सफल हुनुभयो । पछिल्लो आमनिर्वाचनपछि कहिले कांग्रेस त कहिले एमालेको समर्थन लिँदै प्रचण्ड निरन्तर सरकारको नेतृत्व गर्न सफल हुनुभयो । संसद्मा बहुमत ल्याउन १३८ जना सांसदको समर्थन आवश्यक पर्ने भए पनि ३२ सिट भएको पार्टीले सरकारको नेतृत्व गरिरहँदा राजनीतिक वृत्तमा विभिन्न खिसिट्युरी हुने गरेका थिए । आफू र आफ्नो पार्टीको संसदीय हैसियतप्रति हुने गरेका खिसिट्युरीको जवाफ दिँदै प्रचण्डले ३२ सिटलाई म्याजिक नम्बर भन्न थाल्नुभयो । तर, प्रचण्डको म्याजिक नम्बरले लामो समयसम्म काम गर्न सकेन । गत असार १६ गते मध्यराति संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता साझेदारीसहितको समझदारी बनेसँगै प्रचण्डको उपयोगितावाद र म्याजिक नम्बर दुवैले फेल मात्र खाएनन् केन्द्रदेखि प्रदेशसम्म सत्ताविमुखको स्थिति बन्यो । सत्ताबाट बाहरिएपछि पनि अध्यक्ष प्रचण्ड म्याजिक नम्बर अर्थात् ३२ सिटलाई जादुको छडी भन्दै सत्तारूढ दलहरूलाई तर्साउन छोड्नुभएको छैन । चौतर्फी प्रयास गर्दा पनि ३२ नम्बरको म्याजिकले काम नगरेपछि पूर्व-प्रधानमन्त्रीसमेत रहनुभएका प्रचण्ड अब आगामी निर्वाचनमा जादु गर्ने भन्न थाल्नुभएको छ ।
सुशासनका लागि माओवादीलाई बहुमत : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देशलाई सुशासन दिन माओवादीले बहुमत ल्याउनुपर्ने दाबी गर्नुभएको छ । शनिबार दाङमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले ३२ सिटलाई आफूले प्रतिकात्मक रूपमा म्याजिक नम्बर भन्ने गरेको उल्लेख गर्दै भन्नुभयो, ‘प्रतिकात्मक भनाइ थियो । हामीसँग ३२ सिट थियो । मैले नबुझेको त होइन । अब हामीलाई पर्याप्त नम्बर चाहियो । संख्यात्मक रूपमा त्यसले काम नगर्ने भएकोले अब बहुमत सिट आवश्यक छ । सुशासन दिने हो, स्थिरता र विकास दिने हो भने बहुमत चाहियो । मैले नेपाली जनतालाई यही भन्दै हिँडेको छु ।’ आफू देश दौडाहको क्रममा जनता माओवादीतिर फर्केको पाएको दाबी गर्दै अध्यक्ष प्रचण्डले माओवादी ०६४ सालकै अवस्थामा फर्किन लागेको समेत जिकिर गर्नुभयो ।
वर्तमान सरकार कायम रहे माओवादीलाई फाइदा
अध्यक्ष प्रचण्डले कांग्रेस र एमालेसहितको गठबन्धनको सरकार ०८४ सम्म नटिक्ने ठोकुवा गर्नुभएको छ । ०८४ सम्म टिकिदिए हुन्थ्यो भन्ने आफूहरूको चाहना भए पनि सरकार त्यो अवधिसम्म नजाने दाबी गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘उहाँहरू ०८४ सम्म मिलिराख्नुभयो भने हामीलाई फाइदा छ भन्ने हाम्रो विश्लेषण छ । तर, साँचो कुरा भन्नुपर्छ, उहाँहरू जान सक्नुहुन्न । त्यस्तो वातावरण सुरु भइसकेको छ । नेपाली कांग्रेसका धेरै साथीहरूले ठीक भएन भनेर बोलिराख्नु भएको छ । एमालेभित्र उकुसमुकुसको स्थिति छ । यो सबै परिस्थितिमा जान्छ भन्ने लाग्दैन ।’ माओवादी आफैँ सरकार गिराउनतिर नलागेको जिकिर गर्दै प्रचण्डले भन्नुभयो, ‘यो सरकार आफ्नै भारीले थिचिएर जान्छ, हामीले केही धेरै गर्नुपर्दैन । आफ्नै भारी थाम्न नसकेर जान्छ भन्ने छ । फाल्नका लागि हामी हतारिएका छैनौँ । हामी जनतामा गइरहेका छौँ, अभियानमा छौँ । अहिले यही नै ठीक छ ।’ अध्यक्ष प्रचण्डले अब कसैको वैशाखी नटेक्ने दाबी गर्दै अबको चुनावमा माओवादी केन्द्र एक्लै चुनाव लड्ने जिकिर गर्नुभयो । अब ०८४ सम्म एमालेसँग सहकार्य गर्ने कुनै सम्भावना नै नरहेको स्पष्ट पार्दै उहाँले भन्नुभयो, ‘सर्बसम्त रूपमा हामीले निर्णय गरेका छौँ । आगामी निर्वाचन आफ्नै खुट्टामा उभिएर लड्ने हो । माओवादी आफ्नै खुट्टामा उभिन सक्दैन भन्ने भाष्य बनाउन खोजियो त्यसको पनि समीक्षा गरेर यो निर्णय गरियो । एमालेसँगै अब सहकार्यको कुनै सम्भावना छैन । सहकार्य हुँदै पार्टी एकीकरण गर्दा पनि असफल भइयो । इन अफ इज इन अफ, अति नै भयो ।’ अध्यक्ष प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरिरहेको कांग्रेस–एमाले गठबन्धन सरकार अप्राकृतिक भएको समेत दोहो¥याउनुभएको छ ।
शंकर पोखरेलको प्रश्न : ‘३२ सिटले सरकारको नेतृत्व गरेको चाहिँ प्राकृतिक हुन्छ ?’
नेकपा एमालेका महासचिव शंकर पोखरेलले दुई ठूला पार्टीको मिलन अप्राकृतिक भए जनताले अस्वीकार गरेकाहरूले शासन गर्ने कुरा प्राकृतिक हुन्छ ? भन्दै प्रश्न गर्नुभएको छ । राष्ट्रिय युवा संघको कार्यकर्ता भेलालाई शनिबार सम्बोधन गर्नेक्रममा महासचिव पोखरेलले पछिल्लो समय कांग्रेस र एमालेको मिलनलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अप्राकृतिक भएको आरोप लगाउँदै आएको कुराप्रति आक्रोश पोख्दै भन्नुभयो, ‘२७५ सिट भएको संसद्मा ३२ सिट भएको माओवादी सत्तामा हुँदा चाहिँ प्राकृतिक हुने, जनताले रोजेका पार्टीहरूले सरकारको नेतृत्व गर्दा चाहिँ अप्राकृतिक हुन्छ ? त्यो सत्ता गुमाउँदाको छटपटीबाहेक केही होइन । आज प्रचण्ड सत्ता गुमाएको छटपटीबाट विचलित भएका छन् । प्रचण्ड फेरि समाजमा अराजकता फैलाउन सकिन्छ कि भन्ने मान्यताको आधारमा वर्तमान सरकारविरुद्ध लागेका छन् ।’
सरकार परिवर्तनबारे प्रतिक्रिया दिन जरुरी छैन : अर्थमन्त्री पौडेल
उपप्रधान तथा अर्थमन्त्रीसमेत रहनुभएका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकार परिवर्तन हुन्छ भन्ने हावादारी कुराको प्रतिक्रिया दिन जरुरी नभएको टिप्पणी गर्नुभएको छ । सरकार परिवर्तन हुन्छ भन्ने भ्रमपूर्ण र हावादारी कुरा दिनदिनै हुने गरेको उल्लेख गर्दै पौडेलले भन्नुभयो, ‘बजारु र हावादारी कुराको प्रतिक्रिया दिन जरुरी छैन । अहिलेको कांग्रेस-एमालेबीचको सहकार्य ०८४ सम्म भएकाले ०८४ पछि मात्रै सरकार परिवर्तन हुन्छ । सुशासन, आर्थिक सुधार र संविधान संशोधनका लागि एमाले र कांग्रेसबीच गठबन्धन भएको हो । कुशासन र भ्रष्टाचार नियन्त्रणका साथै कालोबजारी र तस्करी नियन्त्रणमा सरकार लागिपरेको छ ।’
अस्थिरता चाहनेहरूले सरकार ढल्ने हल्ला चलाए : सञ्चारमन्त्री गुरुङ
नेकपा एमालेका उपमहासचिवसमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार नढल्ने दाबी गर्नुभएको छ । सरकारका प्रवक्तासमेत रहनुभएका गुरुङले कांग्रेस-एमालेबीचको गठबन्धन ०८४ को चुनावसम्म जाने दाबी गर्दै भन्नुभयो, ‘कांग्रेस र एमालेसहित केही साना दलहरूले समर्थन गरेपछि दुई तिहाइको बहुमत छ । त्यसैले यो सरकार आगामी चुनावसम्म सहज ढंगले अगाडि बढ्छ । सरकार फेरिने हल्ला प्रतिपक्ष दलका नेताहरूले कार्यकर्तालाई उत्साह दिनको लागि मात्रै भनेका हुन् । अस्थिरता चाहनेहरूले सरकार परिवर्तनको हल्ला चलाएका छन् ।’
प्रचण्डले शेखर कोइरालालाई कांग्रेस फुटाउन उक्साउँदै छन् : नेता बस्नेत
नेकपा एमालेका नेता महेश बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस नेता डा.शेखर कोइरालालाई पार्टी फुटाउन उक्साइरहेको आरोप लगाउनुभएको छ । राष्ट्रिय युवा संघ नेपालको कार्यकर्ता भेलालाई सम्बोधन गर्नेक्रममा नेता बस्नेतले कांग्रेसभित्र कहिले देउवा त कहिले शेखरसँग कुरा गरेर प्रचण्डले खेलिरहेको आरोप लगाउँदै भन्नुभयो, ‘१८ महिना कांग्रेस र एमालेलाई खेलाएर प्रधानमन्त्री बनेका प्रचण्ड सत्ताबाहिर आएपछि कहिले शेरबहादुर देउवाकहाँ गएर तपाईं प्रधानमन्त्री भइदिनुप¥यो, विपक्षी ८० सांसद मसँग छन् भन्छन्, तिनै प्रचण्ड शेखर कोइरालाहरूलाई राखेर कांग्रेस विभाजन गरिदिन प¥यो पनि भन्न भ्याउँछन् ।’ नेकपा माओवादी केन्द्रका १५-१६ र नेकपा एकीकृत समाजवादी (नेकपा एस) का ७ सांसद विद्रोह गर्ने स्थितिमा रहेको बस्नेतको दाबी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच