
नेपाली कांग्रेसमा एकातिर राजनीतिक सक्रियता देखिँदै आएको छ । यसका विभिन्न विभागमा धमाधम पदाधिकारी तथा सदस्यहरूको चयन भइरहेको छ । विभागले सक्रियतापूर्वक भेटघाटका कार्यक्रम अगाडि बढाइरहेका छन् । अब ‘सुवर्णशमशेर इकोनेमिक कन्क्लेभ’ हुनेभएको छ । नेपालको पहिलो अर्थमन्त्री सुवर्णशमशेर जसले पहिलोपटक बजेट पेश गर्नुभएको थियो उहाँकै नाममा यो कार्यक्रम गर्न लागिएको हो । विदेशीहरूलाई समेत डाकेर आगामी फागुन महिनामा गर्न लागिएको यस कार्यक्रमको सम्बन्ध जनताका रोजगार र आयआर्जनसँग जोडिनेछ । यस्ता प्रयासबाट समृद्धिमा टेवा पुग्नसक्ने भएको हुनाले यो प्रशंसनीय कार्यक्रम हो । यसले पूर्वजलाई सम्झिने कामका साथै अर्थप्रणालीको सैद्धान्तिक अवधारणाको विकास हुनसक्छ ।
तर, अर्कातिर कांग्रेस राजनीतिक विचलनको बाटोबाट अगाडि बढिरहेको छ । ठोस कार्य योजना बनाएर अगाडि बढ्न नसक्दा सधैं अलमलमै परिरहेको जस्तो देखिनाले नेपाली कांग्रेससँग कुनै ठोस कार्ययोजना नै हुँदैनन् भन्नेहरूका लागि सहयोग पुगेको छ । अपवादलाई छोडेर उक्त पार्टी सधैंभरि नेपालको राजनीतिको पहिलो दल बन्न सफल छ तर आफू एक्लै बहुमत पु¥याएको अवस्थामा बाहेक आपूm सबैभन्दा ठूलो पार्टी भएर पनि अरूलाई अगाडि लाएर आफू सरकारमा टाँसिन जानुपरेको छ । पार्टीमा एकताको कसिलो गाँठो पनि कहिल्यै देखिएको छैन । पार्टी नेतृत्वमा जो-जो पुगे पनि तिनका बीच फाटोको अवस्था विद्यमान भएकै छ ।
नेपाली कांग्रेसका हालै दिवंगत भएका नेता दमननाथ ढुंगानाले एकपटक नेपाली कांग्रेसको जमलस्थित पार्टी कार्यालयमा भन्नुभएको भनाइ स्मरणीय हुन आउँछ । उहाँले प्रजातन्त्र त ल्याइएला तर बचाउन चाहिँ सकिन्छ कि सकिँदैन भन्ने बारेमा सोच्नुपर्छ भन्नुभएको थियो । पञ्चायतकालको अन्त्यतिर जनआन्दोलनको तयारी गर्दैगर्दा उहाँले भन्नुभएको उक्त भनाइ कालान्तरमा सही सावित हुन पुग्यो । प्रजातन्त्र आएको एक दुई वर्षभित्रै त्यही अवस्था देखियो र कांग्रेस छरपष्ट भएर पोखियो । ती सन्दर्भ पुराना भएभन्दा भन्दै हालको मतान्तरको बिउ भने त्यतिबेलै रोपिएको हो भन्न सकिन्छ । हालका दिनमा नेपाली कांग्रेस मतमतान्तरको चरम अवस्थामा छ ।
संस्थापन पक्ष र संस्थापन इतर समूह भनेर दुई भागमा विभाजित रहेको र दुई थरी विचार प्रस्तुत हुँदै आएका छन् । पार्टीभित्र मतमतान्तर हुनुलाई एक प्रकारले उचित भन्ने हो भने सीमित हुन सक्नुपर्ने हो । अन्य सबै पार्टीहरूको अवस्था पनि यस्तै हो भनेर आफ्नो पार्टीलाई खँगार्दै लाने हो भने निश्चय यसले राम्रो गर्दैन । महाभारत कालमा ज्येष्ठ पाण्डवले माहिला भाइलाई सुझाव दिँदै ‘भाइ हामी आपसमा सय र पाँच भएर लडे पनि बाहिर अन्यसँग लड्दा एक सय पाँच भएर लड्नुपर्छ’ भनेका थिए । यस भनाइलाई शिरोधार्य गर्नसक्ने हो भने एउटा नेपाली कांग्रेस पार्टीमात्र होइन अन्य सबै पार्टीहरूको भलाइ हुनसक्छ ।
हालै ल्याइएका अध्ययादेशको विरोध र समर्थन बाहिरै स्पष्ट देखिने गरी भइरहेको छ । यसबाट अध्यादेश सिफारिश गर्ने बेलामा सरकारमा संलग्न भएका दलहरूका बीच र यी विभिन्न दलले आ-आफ्नै पार्टीभित्र आन्तरिक रूपमा छलफल गरेका रहेनछन् भन्ने हाल नेताहरूले दिँदै गरेका अभिव्यक्तिबाट देखिन आउँछ । नेपाली कांग्रेसका केही नेताहरूले यस प्रकारका अभिव्यक्ति दिने गर्नुभएको छ । पार्टीमा कडा अनुशासन भएकाले हुनसक्छ सरकारको नेतृत्व गरिरहेको पार्टी एमालेका नेताहरूले भने यस प्रकारको अभिव्यक्ति दिने गरेका छैनन् । कुनै पनि अध्यादेश जारी भएको मितिले छ महिनासम्म सक्रिय हुने र त्यसपछि बसेको संसद्को बैठकबाट त्यसलाई पारित गराउनुपर्ने नियम भएका कारणले हालै जारी भएका अध्यादेशको सार्वजनिक रूपमा आलोचना गर्नुभन्दा अब बस्नै लागेको संसद्को अधिवेशनबाट ती अध्यादेशहरू आवश्यक छन् भने पारित गराउनु, नत्र खारेज गराउने काम गर्नु उचित हुन आउँछ ।
हाल इतरपक्ष आलोचना गर्दै आइरहेको छ भने संस्थापन पक्ष बचाउको अवस्थामा छ । आफैंभित्रको आलोचनाको अचानोमा पिल्सिँदा अरूले खेल्ने र खेद्ने अवसर राम्ररी पाउँछन् भन्ने बुझेर अगाडि बढ्ने हो भने लामो इतिहास बोकेको सबैभन्दा ठूलो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेस नेपालको राजनीतिको मूल धारमा अझै लामो समयसम्म रहन सक्थ्यो । हाल नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी हो तर निरिहजस्तो बनेको छ । अरू दोस्रो वा तेस्रो पार्टीलाई प्रधानमन्त्री सुम्पिएर आफू केही थान मन्त्री खाएर सत्तामा बस्न विवश छ । यसले नेपाली कांग्रेसको गौरवमय इतिहासमा बादल लाग्दैगएको अवस्था हो भन्ने देखाउँछ भने वर्तमानमा संस्थापनकाल र प्रजातन्त्र पुनःस्थापनापछिको समयका जस्ता राष्ट्रिय-अन्तर्राष्ट्रिय स्तरको ख्याति र उचाइ भएका नेताहरू देखिएका छैनन् ।
पार्टीमा लोभ-पाप बढेको छ । स्वार्थ हावी भएको छ, नातावाद र कृपावादले जरागाडेको छ । व्यक्ति र परिवारको कब्जामा पार्टी जकडिन पुग्यो भनेर आलोचना बढिरहेको छ । यस्ता कुरा पार्टी चलाउने नेतालाई थाहा नहुने कुरा होइन तर निहित स्वार्थले गर्दा पार्टी र राष्ट्र प्राथमिकतामा पर्न सकेका छैनन् ती विषयलाई गौण बनाइएको छ । सुवर्णशमशेरको नाममा गर्न लागेको उक्त कार्यक्रममा यस्ता विषयमा सोच्नुपर्ने हुन्छ । अग्रजलाई सम्मान, अनुज पुस्तालाई प्रोत्साहन हुने कार्यक्रम हुनुलाई भने सकारात्मक रूपमा लिन सकिन्छ, यस्ता कामले निरन्तरता पाइरहनुपर्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच