गाउँमा रोजगार सिर्जना गर्न डेढ करोड लगानीमा कागती खेती

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 4 mins

बागलुङ । बसाइँसराइका कारण रित्तिदै गएको गाउँमा बागलुङ नगरपालिका-१४ बलेवाका किसानले व्यवसायिक कागती खेती गर्न थालेका छन् । किसानले कृषक समुह बनाएर साढे दुई सय रोपानी जग्गा भाडामा लिएर कागती खेती सुरु भएका हुन् । गाउँका ५२ जना किसानको समूहले झाडीले ढाकिन थालेको खेतीयोग्य जमिनको सदुपयोग गरि कागती लगाएका हुन् ।

वि.सं. २०७७ सालदेखि चासो कृषक समूहले सुरु गरेको कागती खेती फस्टाउन थालेको छ । कागती खेतीका लागि रु एक करोड ५० लाख बढी लगानी भएको चासो कृषक समूहका अध्यक्ष केशव सुवेदीले जानकारी दिनुभयो । गत वर्षदेखि नै कागती उत्पादन हुन थालेको उहाँको भनाइ छ । यस वर्ष झण्डै रु पाँच लाखको विक्री गरेको अध्यक्ष सुवेदीले बताउनुभयो ।

कागती खेतीका लागि कृषि ज्ञान केन्द्रले रु छ लाख र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बागलुङले रु १५ अनुदान दिएको थियो । किसानहरुले झण्डै रु एक करोड ३० लाख लगानी गरेको अध्यक्ष सुवेदीले जानकारी दिनुभयो । गाउँमा मान्छे सेवा र सुविधाको खोजीमा बजार झर्न थालेपछि खेतीयोग्य जमिनको सदुपयोगका लागि कागती खेती सुरु गरेको उहाँको भनाइ छ ।

“गाउँमा रोजगार सिर्जना गरौँ, उर्वर भूमिको सदुपयोग होस् र किसान आयआजर्नसँग जोडिउँ भन्ने हिसाबले गाउँका किसानहरु एकताबद्ध भएर कागती खेती सुरु गरेका हौँ, चार वर्ष अगाडि लगाएको कागतीका विरुवाले अहिले उत्पादन दिन थालेका छन्,” उहाँले भन्नुभयो- “स्वदेशमै पनि राम्रो गर्न सकिन्छ, गाउँमै पनि युवालाई रोजगार दिन सकिन्छ भन्ने उद्देश्यले कागती खेती गरेका हौँ ।”

अध्यक्ष सुवेदीका अनुसार हाल कागती बगानमा चार हजार विरुवा हुर्कि रहेका छन् । उहाँले गाउँमा बाँदर आतंक बढ्दा अरु खेती गर्न छोडेर कागती लगाएको बताउनुभयो । कागती खेती गरेपछि बाँदर आतंक केही कम भएको उहाँको भनाइ छ । वर्षेनी उत्पादन बढ्दै जाने र आम्दानी पनि बढ्ने सुवेदीले बताउनुभयो । यस वर्ष रु पाँच लाखको कागति बागलुङ, कुश्मा लगाएको बजारमा विक्री गरेको उहाँको भनाइ छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बागलुङका प्रमुख नारायण पौडेलले दुई वर्षदेखि उक्त कृषक समूहलाई प्राबिधिक सहयोग र आर्थिक अनुदान दिँदै आएको बताउनुभयो । २०७९ सालमा चक्लाबन्दीका लागि रु १० लाख र गत वर्ष कागती ग्रेडिङ र भण्डारणका लागि रु पाँच लाख सहयोग गरेको उहाँको भनाइ छ ।

प्रमुख पौडेलले भन्नुभयो - “यहाँका किसानहरुले निकै मेहेनत गर्नु भएको छ, अन्य किसानका लागि पनि यो अध्ययन केन्द्र बन्न सक्छ, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले दुई वर्षदेखि निरन्तर सहयोग गर्दै आएको छ, विषादी र अन्य प्राबिधिक सहयोग गरेका छौँ, किसानहरु पनि उत्साहित हुनु भएको छ, बोटले विस्तारै फल दिन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?