
काठमाडौं । इ-स्पोट्स संघ नेपाल (इशान) को आयोजना तथा नेपाल प्लेजको व्यवस्थापनमा हुन लागेको दोस्रो इ-स्पोट्स राष्ट्रिय च्याम्पियनसिपका लागि उल्लेख्य संख्यामा नाम दर्ता भएको छ । च्याम्पियनसिपका विभिन्न ६ विधाका लागि ११ हजारभन्दा बढी खेलाडीले नाम दर्ता गराएको इ-स्पोर्ट्स संघ नेपालले जनाएको छ । च्याम्पियनसिपमा पब्जी मोबाइल, इ-फुटबल, मोबाइल लेजेण्ड्स, डोटा टू, भ्यालोरेन्ट र कस प्ले गरी ६ विधामा प्रतिस्पर्धा गराइनेछ ।
इ-फुटबलमा दुई हजार ५१९ जनाले नाम दर्ता गराएका छन् । यसैगरी पब्जी मोबाइलमा एक हजार ३९ टिम, मोबाइल लेजेण्ड्समा २८१ टिम, भारोलेरेन्टमा ६६ टिम, डोटा टूमा ५८ टिमले नाम दर्ता गराएका छन् । कस प्ले विधामा भने अझै दर्ता खुला नै राखिएको छ ।
नेपाल प्लेजमा एमडी उज्जेनलाल श्रेष्ठले सबै विधामा गरेर ११ हजार पाँच सयभन्दा बढी खेलाडीले नाम दर्ता गराएको बताउनुभयो । त्यसमा टिमका रूपमा गणना गर्दा भने चार हजारभन्दा बढी टिम हुनेछ ।
च्याम्पियनसिपको क्वालिफायर राउण्डका खेलहरू माघ १४ देखि १८ गतेसम्म (जनवरी २७-३१) सम्म हुनेछन् । यसैगरी समूह चरण र प्लेअफका खेलहरू माघ २० देखि फागुन २ गतेसम्म (फेब्रुअरी २-१४) सम्म हुनेछन् । क्वालिफायर र प्लेअफका खेलहरू अनलाइनमा हुनेछन् भने अन्तिम चरणको खेलमात्र भौतिकरूपमा (ल्यान इभेन्ट) हुनेछ । च्याम्पियनसिपको अन्तिम चरणको खेल आगामी फागुन ८ देखि १० गतेसम्म भौतिकरूपमै त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा आयोजना गरिने इशानले जनाएको छ ।
अन्तिम चरणमा पब्जीतर्फ १६ टिमले प्रतिस्पर्धा गर्नेछन् । पब्जीमा हरेक टिममा चारजना मुख्य खेलाडी हुनेछन् भने एक अतिरिक्त खेलाडी र एक म्यानेजर हुनेछन् । यसैगरी मोबाइल लेजेण्ड्समा दुई टिमले अन्तिम चरणमा प्रतिस्पर्धा गर्नेछन् । यसमा हरेक टिममा पाँचजना खेलाडी हुनेछन् भने एक अतिरिक्त खेलाडी र एक म्यानेजर हुनेछन् । इ-फुटबलमा अन्तिम चरणमा ३२ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । यसैगरी डोटा टू र भ्यालोरेन्टमा चार-चार टिमले अन्तिम चरणमा प्रतिस्पर्धा गर्नेछन् । कस प्लेमा भने कुनै लिमिटेसन राखिएको छैन । उनीहरूले फेसन शो शैलीमा स्टेजमा डेमो देखाउनेछन् ।
च्याम्पियनसिपको कुल प्राइज २५ लाख रहेको छ । जसबाट ६ विधाको विजेता तथा उपविजेता खेलाडीहरूलाई पुरस्कार प्रदान गरिनेछ । हरेक इभेन्टको पुरस्कार राशि फरक हुनेछ । पछिल्लो समय नेपालमा इ-स्पोर्ट्स खेलको गतिविधि बढिरहेको र नेसनल च्याम्पियनसिपको दोस्रो संस्करणमै ठूलो माहोल बनेको इशानका अध्यक्ष अञ्जन धमलाले बताउनुभयो । अन्तिम चरणको खेललाई रोमाञ्चक र आकर्षक तरिकाले आयोजना गर्ने तयारी भइरहेको नेपाल प्लेजका एमडी उज्जेनलाल श्रेष्ठले जानकारी दिनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच