काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशनको मिति नजिकिएसँगै सभामुख देवराज घिमिरेले सक्रियता बढाउनुभएको छ । सरकारको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले यही माघ १८ गते शुक्रबार दिउँसो १ बजे बस्नेगरी संघीय संसद्का दुवै सदनको बैठक आहृवान गर्नुभएको छ । बैठक बस्ने मिति नजिकिएसँगै सभामुख घिमिरेले सरकार, सत्तापक्ष र प्रतिपक्षसँगको संवादलाई तीव्रता दिनुभएको हो । संवादका क्रममा सभामुख घिमिरेले आइतबार सत्तापक्ष र प्रतिपक्ष दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग छुट्टाछुट्टै छलफल गर्नुभएको छ । दुवै छलफलहरूमा सभामुख देवराज घिमिरेले संघीय संसद्को हिउँदे अधिवेशनलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर परामर्श गर्नुभएको हो । छलफलका क्रममा सभामुख घिमिरेले सत्तापक्षसँग सदनलाई प्रभावकारी ढंगले अघि बढाउने वातावरण बनाउन र विधेयकहरूलाई छिटो अघि बढाई संसद्लाई बिजनेस दिन आग्रह गर्नुभएको छ । समितिमा अल्झिएर रहेका विधेयक, अघिल्लो संसददेखि थाती रहेका केही विषय लगायतमा सभामुखले चासो व्यक्त गर्नुभएको नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिनुभयो ।
सत्तापक्षका प्रमुख सचेतकहरूसँगको छलफलमा सभामुखले सदनलाई प्रभावकारी बनाउन देखाएको चासोलाई सकारात्मक रूपमा लिँदै सदनलाई सहज ढंगले अघि बढाउन आफूहरूको पनि सकारात्मक पहल हुने प्रतिबद्धता जनाएको जानकारी दिँदै घिमिरेले भन्नुभयो, ‘सभामुखले राष्ट्रिय सभाबाट पारित भएर आएका संवैधानिक परिषद्सम्बन्धी विधेयक र मर्यादासम्बन्धी विधेयकलगायत प्रतिनिधिमै अड्किएका अन्य विधेयकबारे धारणा माग गर्नुभएको छ, त्यस बारेमा पार्टीमा छलफल गरेर सोमबार फेरि सभामुखसँग बस्नेगरी आजको छलफल टुंगिएको छ ।’
त्यस्तै, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसद्को प्रभावकारिताका साथै महत्वपूर्ण विधेयक अघि बढाउन सत्तारूढ दलले सहयोग गर्नुपर्नेमा सभामुखको जोड रहेको जानकारी दिनुभयो । सभामुख घिमिरेले आज (सोमबार) प्रमुख पाँच राजनीतिक दलका प्रमुख सचेतक रसचेतकसँग संयुक्त छलफल राख्नुभएको छ । त्यस्तै, माघ १५ गते बुधबार कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएकोे छ । यसबाहेक सभामुख घिमिरेले संसदीय समितिहरूमा अड्किएका विधेयकहरूका बारेमासमेत सम्बन्धित समिति सभापतिहरूसँग अलग–अलग संवाद गरिरहनुभएको सभामुखको सचिवालयले जनाएको छ । संसद् बैठक आहृवान हुनु केही दिनअघि मात्र सरकारले ल्याएको अध्यादेशका बारेमा सत्तापक्ष र प्रतिपक्ष विभाजित अवस्थामा छन् । यही अवस्थामा बस्ने संसद् बैठकमा सत्तापक्ष र प्रतिपक्ष अध्यादेशको पक्ष र विपक्षमा उभिने निश्चित छ । प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रसहितका प्रतिपक्ष दलहरू अध्यादेशको विपक्षमा उभिने तयारीमा छन् भने सत्तापक्षका दलहरूले अध्यादेशको बचाउ गर्न आफ्ना सांसदहरूलाई औपचारिक÷अनौपचारिक ढंगले निर्देशन दिइसकेका छन् ।
संवैधानिक परिषद् विधेयकमा खोजे सत्तापक्षको धारणा
सभामुख देवराज घिमिरेले संवैधानिक परिषद्सम्बन्धी विधेयकमा सत्तापक्षका सांसदहरूको धारणा माग्नुभएको छ । आइतबार सिंहदरबारमा नेपाली कांग्रेस र नेकपा एमालेका प्रमुख सचेतकसँगको छलफलमा सभामुख घिमिरेले संवैधानिक परिषद्सम्बन्धी विधेयकबारे धारणा माग गर्नुभएको छ । सभामुखको जिज्ञासाको जवाफ दिँदै नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भन्नुभयो, ‘राष्ट्रिय सभाबाट पारित भएर आएका विधेयकहरू मर्यादासम्बन्धी विधेयकलाई के गर्ने हो ? अगाडि बढाउने कि नबढाउने ? यो विषयमा प्रष्ट पार्नुप¥यो भनेर सभामुखले जिज्ञासा राख्नुभयो । हामीले संसद्मा विचाराधीन सबै विधेयक अघि बढ्ने र संवैधानिक परिषद्सम्बन्धी विधेयक पनि अघि बढ्ने प्रष्ट पारेका छौँ ।’
हिउँदे अधिवेशनको पहिलो दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने
प्रधानमन्त्री केपी शर्मा ओलीले हिउँदे अधिवेशनको पहिलो दिन संसद्मा सम्बोधन गर्ने हुनुभएको छ । संसद्को हिउँदे अधिवेशन आगामी माघ १८ गतेका लागि बोलाइएको छ । उक्त दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएको जानकारी दिँदै नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले भन्नुभयो, ‘प्रधानमन्त्रीले पहिलो दिन संसद्मा सम्बोधन गर्नुहुनेछ । आइतबारै प्रधानमन्त्रीलाई सभामुखले भेट्नुभएको थियो । भेटमा प्रधानमन्त्रीले सम्बोधन गर्ने हामीलाई सभामुखले बैठकमा जानकारी गराउनुभयो । सम्बोधन गर्ने कुरा चलेको छ । अर्को बैठकमा के गर्ने भन्ने निर्णय हुन्छ ।’ प्रमुख सचेतक बर्तौलाले आइतबार नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्नुभएको छ ।प्रधानमन्त्रीसँगको भेटमा संसद्को हिउँदे अधिवेशन, बिजनेस, अध्यादेश लगायतका विषयमा छलफल भएको बर्तौलाले जानकारी दिनुभयो ।
एमालेले सांसदहरूलाई प्रशिक्षण दिने
सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमाले संसदीय दलको बैठक आगामी माघ १५ गते बस्ने भएको छ । संसद्को हिउँदे अधिवेशन माघ १८ मा बोलाइएकाले त्यसअघि दलको तर्फबाट सांसदहरूको भूमिकाबारे छलफल गर्न बैठक बोलाइएको संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो । संसद् भवनको ल्होत्से हलमा अपराहृन १ बजे बोलाइएको बैठकमा दुवै सदनका सांसदहरू सहभागी हुनेछन् । संसद् बैठकमा दलको तर्फबाट कसरी प्रस्तुत हुने र विधेयकहरूमा कसरी सहभागी हुने भन्नेबारे सांसदहरूलाई प्रशिक्षण दिइने बर्तौलाको भनाइ छ ।
सदनमा कांग्रेस एकढिक्का भएर प्रस्तुत हुने
सत्तारूढ दलको प्रमुख घटक नेपाली कांग्रेस संसद्को बैठकहरूमा एकढिक्का भएर प्रस्तुत हुने भएको छ । विचाराधीन विधेयक, जनजीविकाका सवाल र सरकारले हालै ल्याएका अध्यादेशको पक्षमा एकढिक्का संसद्मा प्रस्तुत हुने कांग्रेसको रणनीति छ । सदनभित्र र बाहिर पनि अध्यादेशको पक्षमा एकढिक्का हुन कांग्रेस शीर्ष नेतृत्वले पार्टी पंक्तिलाई निर्देशनसमेत दिएको छ । सिंहदरबारस्थित दलको कार्यालयमा सरकारमा सहभागी आफ्ना मन्त्रीहरूसँगको छलफलको क्रममा कांग्रेस शीर्ष नेतृत्वले पार्टी सरकारले ल्याएका अध्यादेशको पक्षमा एकढिक्का रहेको सन्देश दिएको हो । संसद् छलेर एकपछि अर्को अध्यादेश ल्याएपछि कांग्रेसकै धेरै नेताले सरकारको आलोचना गरेका थिए । तर, शनिबारको बैठकले अध्यादेश वर्तमानको बाध्यात्मक आवश्यकता रहेको स्पष्ट सन्देश दिएको छ । आइतबार बसेको संसदीय दलको बैठकमा पनि पार्टीका शीर्ष नेताहरूले पार्टीको निर्णय, रणनीति र निर्देशनबारे सांसदहरूलाई प्रशिक्षण दिएको छ । बैठकमा संसद्मा कसरी प्रस्तुत हुने, विधेयकहरू माथिका छलफलमा भाग लिने सवाल लगायतका संसदीय प्रक्रियाका विषयमा विज्ञहरूले प्रशिक्षणसमेत दिएका छन् । संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकहरू तथा यसअघि नै प्रस्तुत भइसकेका तर विभिन्न समितिमा छलफलको चरणमा रहेका विधेयकहरू र सरकारले ल्याएका अध्यादेश लगायतका विषयमा सांसदहरूलाई प्रशिक्षित गराउने काम भएको जानकारी दिनुभयो ।
रास्वपाद्वारा सचिवालय बैठक आहृवान
प्रतिनिधि सभाको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बस्दै छ । आज (सोमबार) बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्नेगरी बैठक बोलाइएको हो । बैठकमा समसामयिक राजनीति र पार्टी गतिविधिबारे छलफल हुनेछ । त्यस्तै, विभिन्न नियमावलीहरूमाथि पनि छलफलको कार्यसूची छ । जसअन्तर्गत विभाग सञ्चालन नियमावली २०८१, संशोधन प्रस्ताव, नयाँ नियमावलीहरू प्रस्ताव (संगठन विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१, प्रवास नेपाली सम्पर्क विभागको नियमावली २०८१, ¥याट विभाग नियमावली २०८१ रहेका छन् । तेस्रो कार्यसूचीमा सातै प्रदेशमा पदाधिकारीको नेतृत्वमा विशेष भेटघाट कार्यक्रम आयोजना गर्नेबारे छलफल हुनेछ । चौथो कार्यसूची स्वतन्त्र जनप्रतिनिधिहरूको रास्वपा आबद्धता हुने सम्बन्धमा पनि सचिवालय बैठकले छलफल गर्दै छ । आगामी संसद् अधिवेशनमा कसरी प्रस्तुत हुने भनेर पनि सचिवालय बैठकले एजेण्डा बनाएको छ ।
सत्तापक्षकै कारण विधेयकहरूमा ढिलाइ : प्रमुख सचेतक पाण्डे
सभामुख देवराज घिमिरेले प्रतिपक्ष दलका प्रमुख सचेतक र सचेतकहरूसँग पनि छलफल गर्नुभएको छ । सभामुखसँगको छलफलमा प्रतिपक्ष दलका सचेतकहरूले सरकारले संसद्मा पुगेका विधेयक फिर्ता नै नगरी अध्यादेश ल्याएको भन्दै ध्यानाकर्षण गराएका छन् । विधेयक फिर्ता नलिई अध्यादेश ल्याएको बारेमा सभामुखले पनि सरकारसँग कुरा गर्नुपर्ने उल्लेख गर्दै प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भन्नुभयो, ‘अध्यादेशका बारेमा सरकारले संसद्लाई रेस्पोन्स गरिरहेको छैन । संसद्को समितिमा रहेको विधेयकमा पनि अध्यादेश आएको छ । अध्यादेशमा आएका कन्टेन्टका बारेमा हामी सरकारसँग संसद्मा कुरा गर्छौं ।’ प्रमुख सचेतक पाण्डेले सत्तापक्षका सांसदहरूका कारण समितिमा रहेका विधेयकहरू अघि बढ्न नसकेको समेत टिप्पणी गर्नुभएको छ । आइतबार सभामुख देवराज घिमिरेसँग प्रतिपक्ष दलका प्रमुख सचेतकहरूसँगको छलफलपछि प्रमुख सचेतक पाण्डेले संसद् अधिवेशन, विधेयकको अवस्था लगायतका बारेमा चासो राख्नुभएको जानकारी दिँदै पाण्डेले भन्नुभयो, ‘समितिमा रहेका संघीय निजामती, विद्यालय शिक्षा लगायतका महत्वपूर्ण विधेयकहरू छिटो अघि बढाउन पाए हुन्थ्यो भनेर सभामुखले चासो राख्नुभयो । तर, यी विधेयकहरू अघि बढाउन सत्तापक्षका सांसदहरूले पनि ध्यान दिनुपर्छ भनेका छौँ ।’







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच