
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकाले आधुनिक प्रशासनिक भवन निर्माण गरी आज औपचारिक उद्घाटन गरिएको छ। कटुञ्जेमा अवस्थित यो भवनको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई विकास र स्थिरतामा अघि बढाउन दुई ठूला दलको सहकार्य महत्वपूर्ण भएको बताउनुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सत्ताको खिचातानीबाट माथि उठेर वर्तमान सरकारले देशलाई विकास र स्थिरताको बलियो आधार तयार गर्न प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “राजतन्त्रको पालामा शासन टिकाउन मात्रै केन्द्रित हुँदा विकासले गति लिन सकेन। तर लोकतन्त्रपछि विकास निर्माणको गतिमा ठुलो परिवर्तन आएको छ।”
प्रधानमन्त्रीले विकासका लागि राम्रो प्रणाली र सक्षम नेतृत्वको आवश्यकता औंल्याउँदै देशको अस्थिर राजनीतिक परिस्थितिलाई समाधान गर्न दुई ठूला दल - नेपाली कांग्रेस र नेकपा (एमाले) को सहकार्य अपरिहार्य भएको बताउनुभयो। उहाँले थप्नुभयो, “सरकार अहिले ढल्यो, भरे ढल्यो भनेर शंका गर्नुको कुनै औचित्य छैन। नेपाली कांग्रेस र एमालेले देशलाई स्थिरता दिने संकल्प गरिसकेका छन्।”
संसदको हिउँदे अधिवेशनलाई कानुन निर्माणमा सक्रिय बनाउने योजना रहेको बताउँदै प्रधानमन्त्रीले सहमतिका आधारमा संविधान संशोधन गर्न सकिने तर सहमति नभए केही समय लाग्न सक्ने स्पष्ट पार्नुभयो।
सरकारविरुद्ध फैलिएको भ्रम र प्रचारप्रति कटाक्ष गर्दै प्रधानमन्त्रीले आफूलाई सामान्य रुघाखोकी हुँदा अस्पतालको आइसियुमा बसेको झुटो प्रचार गरिएकोमा असन्तुष्टि व्यक्त गर्नुभयो। “मलाई रुघाखोकी लागेको हो। तर, हाँच्छ्यू गर्दा पनि आइसियुको फोटो सार्वजनिक गर्छन्। यस्तो भ्रमबाट देशलाई जोगाउनु जरुरी छ,” उहाँले भन्नुभयो।
नवनिर्मित प्रशासनिक भवनलाई स्थानीय जनताका लागि सहज र प्रभावकारी सेवा प्रदान गर्ने माध्यम बनाइने प्रधानमन्त्रीले उल्लेख गर्नुभयो। उहाँले जनतासँग जोडिने कामलाई प्राथमिकता दिँदै लोकतान्त्रिक अभ्यास र विकासको मार्गमा एकताबद्ध भएर अघि बढ्न सबैलाई आग्रह गर्नुभयो।
कार्यक्रममा प्रतिनिधिसभाका सदस्य दुर्लभ थापा, पूर्वमन्त्री महेश बस्नेत, र नगरप्रमुख वासुदेव थापाले राजनीतिमा प्रतिस्पर्धा र विकासमा एकताबद्धताको मर्मलाई आत्मसात् गर्नुपर्नेमा जोड दिनुभयो।
सूर्यविनायक नगरपालिकाको यो नयाँ भवनले स्थानीय प्रशासनलाई थप प्रभावकारी बनाउँदै जनताका समस्या समाधानमा सहजता ल्याउने अपेक्षा गरिएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच