
दुई दशक पहिले तत्कालीन नेपाली कांग्रेसका नेता आफ्नो नेतृत्वको सरकारबारे कसैले प्रश्न उठाएमा भन्नुहुन्थ्यो : परालको खुट्टा टेकेर म प्रधानमन्त्री भएको होइन । अनि अरू कसैको नेतृत्वको सरकार छ भने भन्ने गर्नुहुन्थ्यो : म यो सरकारलाई फु गरेर एक सासमा ढालिदिनसक्छु । कोइरालाको त्यो भनाइ जस्तै गरी यतिखेर प्रमुखप्रतिपक्षका नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि सरकार ढल्ने र ढाल्ने बहस गर्न थाल्नु भएको छ । संसद्का सबैभन्दा ठूला दुई दल मिलेर बनेको सरकार सामान्य अवस्थामा ढल्दैन भन्ने जानकारी दाहाललमा नभएको होइन । उहाँको सामान्य प्रयासले मात्रै सरकार ढल्दैन । सरकार ढल्न कांग्रेस र एमालेबीच मतभेद हुनु पर्यो र एउटाले छाड्नु पर्यो, कि दुवै पार्टीभित्रको अन्तरविरोध चर्केर दुवै पार्टी दुई-दुई चिरामा विभक्त हुनु पर्यो र मात्रै यो सरकार ढल्ने बाटो खुल्छ । यति सानो गणित बारे पुष्पकमल दाहाल वा प्रतिपक्षमा रहेका नेताहरूमा जानकारी नहोला भनेर कसैले भन्न सक्दैन । तर उहाँ देश दुर्घटनामा जान लागेको हुनाले सरकार ढल्ने कुरा गरिरहनु भएको छ वा ढाल्ने कुरा गरिरहनु भएको छ । यद्यपि यसको आधार भने केही पनि छैन । अब त हुँदाहुँदा युट्युब सञ्चालक, सस्तो लोकप्रियताका लागि जे पायो त्यही भविष्यवाणी गर्ने ज्योतिष र नेताहरूबीचको फरक पाउन पनि कठिन भएको छ । पटक-पटक देशको प्रधानमन्त्री जस्तो गरिमामय पदमा आसीन भइसक्नुभएका व्यक्तिबाट अस्थिर राजनीति, अस्थिर शासकीय प्रणालीका लागि मार्ग प्रशस्त गर्ने यस्ता खालका अभिव्यक्ति आउँदा त्यसबाट जनतामा पनि केही भ्रम सिर्जना होला तर सबैभन्दा ठूलो प्रभाव भने उहाँ स्वयंलाई नै पर्न जान्छ । यही ढाल्ने र ढल्ने सन्दर्भमा सरकारविरुद्ध आक्रामक रूपले संगठित हुने आसयले समाजवादी मोर्चा गठन गर्ने चर्चा भएको धेरै भयो । यसको आसय र अन्तर्य केही होला तर त्यसको सोझो अर्थ भने सत्ता नै हो भन्ने बुझिन्छ ।
बाहिर जुन उद्देश्यबाट यो मोर्चाको गठन गर्ने भनिएको छ भित्री रूपमा त्यसको आसय फरक छ । जो–जो सत्ताबाहिर छन् तिनका बीचमा मात्रै यसको हुट्हुटी छ । यस मोर्चामा माओवादीबाट अलग भएको विप्लवको पार्टी पनि समावेश छ । यसबारे प्रतिक्रिया दिँदै नेत्रविक्रम चन्द विप्लवले समाजवादी मोर्चा कुम्भकर्ण होइन ब्युँझेर आएको छ भन्नुभएको छ । यसको रट धेरै पहिलेदेखिको हो तर हालका दिनमा सरकारका विरुद्धमा यसको सक्रियता बढ्दै गएको छ । यसको सम्पूर्ण सामथ्र्य सरकारका विरुद्धमा केन्द्रित भइरहेको हुँदा यसको अभिष्ट पनि सत्ता नै हो अन्य सुधार, विकास र जनसेवा होइन भन्ने पुष्टि भइरहेको छ ।
सरकार बनेको छोटो अवधिमै प्रमुख प्रतिपक्ष माओवादी केन्द्र सरकारका विरुद्धमा ज्यान छोडेर लागेको देखिन्छ । सरकारको आयुका सम्बन्धमा प्रचण्ड अनेकौं विचार व्यक्त गरिरहनुभएको छ । उहाँले सरकारका बारेमा कसैले केही गर्नै पर्दैन हामी हिँड्दाहिँड्दै ढल्छ भन्नुभएको छ । उहाँको यो प्रतिक्रिया मात्र हो । सरकार ढल्ने कुनै आधार नभई यो सरकार ढल्ने अनुमान कसैले पनि गर्न सक्दैन । राजनीतिमा सरकार ढल्ने र ढाल्ने कार्य सधैं भई नै रहन्छ । प्रचण्ड आफैं पनि बेला बेलामा यस्ता कार्यबाट प्रभावित हुनुभएको व्यक्ति भएका कारण अरूलाई पनि यसैगरी आफू परेका भड्खारामा पार्न पाए हुन्थ्यो भन्ने उहाँको मनोकांक्षा हुनसक्छ तर त्यसका लागि पनि केही न केही आधारहरू त चाहिन्छन् नै ।
वर्तमान सरकार संसद्का पहिलो र दोस्रो दल मिलेर बनेको छ । यससँग सामान्य बहुमतमात्र होइन अत्यधिक बहुमत नै छ । झण्डै दुई तिहाइ बहुमतको निकटमा रहेको यो सरकार तत्काल ढल्ने कुनै आधार छैनन् । कि त यस सरकारका विरुद्धमा देशीविदेशी शक्तिहरूको तीव्र चलखेल हुनुपर्यो र त्यस्ता गतिविधि उहाँले थाहा पाएको हुनुप¥यो । त्यस्तो कुनै अवस्था भएको भए उहाँले थाहा पाउन्जेल अरूले पनि थाहा पाउँथे होला तर कतैबाट यसको पुष्टि हुने आधार कसैले अहिलेसम्म बताएको छैन । त्यसो हुँदा सरकार ढल्छ भन्ने उहाँको भनाइ आधारहीन हो भन्न सकिन्छ । सरकार ढल्ने अर्को कारण हो सत्तासहकर्मी दलहरूबीच मतमतान्तर हुनु ।
अहिले त्यस्तो अवस्था पनि देखिएको छैन । कुनै विषयमाथिको छलफललाई मतमतान्तर भन्न मिल्दैन । त्यसो हो भने नेपाली कांग्रेस र नेकपा एमालेबीच जनस्तरमै थाहा हुनेगरी कुनै मतान्तर भएको छैन । सबैभन्दा ठूलो दल नेपाली कांग्रेस तथा दोस्रो ठूलो दल एमाले सरकारमा छन् र नेतृत्व पहिलो दुई वर्ष एमालेले र त्यसपछि चुनाव गराउने जिम्मेवारीसहित बाँकी समय नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने गरी सम्झौता भएको छ । त्यस सम्झौतामा कुनै कारणले दरार पैदा भयो भनेमात्र यस सरकारको आयुबारे आँकलन गर्न सकिने हो । नत्र हाल सरकारको आयु बारे बोलिने कुरामा विश्वास गर्न सकिने आधार भेटिँदैन ।
राजनीति गर्नेहरूले सरकारमा पुग्ने लक्ष राखेका हुन्छन्, यो स्वाभाविक हो । जोगी बन्न कसैले पनि राजनीति गर्दैन भन्ने नेपाली राजनीतिको मानक भनाइ नै बन्दै आएको छ । राजनीति भनेको समाजसेवा पनि हो भन्ने मान्यतालाई नेपालमा स्थापित गर्न सकिएको छैन । चुनाव जित्नदेखि सरकारमा जानसम्म पनि अकूत सम्पत्ति खर्च गर्नुपर्ने बाध्यता नेपाली राजनीतिको विशेषता बन्दैछ । त्यतिमात्र होइन चुनाव लड्नका लागि आफ्नै पार्टीबाट टिकट लिन पनि पैसै खर्च गर्नुपर्छ । सरकारमा पुग्न हतारो गर्नुपर्ने कारणहरू यिनै हुन् । अनि यसरी साम, दाम, दण्ड, भेदबाट सरकारका पुग्नासाथ आफू त्यहाँसम्म पुग्न गरेको खर्चको उपता र त्यसको हजारौं गुना अन्य कमाइ गर्ने ध्याउन्न नेताहरूको हुने गर्दछ ।
त्यस कारण जनताका कामहरू जो सत्तामा पुगे पनि प्राथमिकतामा पर्ने गरेका छैनन् । नेताहरूको पैसा विभिन्न राष्ट्रहरूमा लागानी भएको छ भन्ने भनाइमा जनविश्वास बढ्दै छ र प्रश्न गरिँदै छ : हिजो शून्य अवस्थाबाट आएका नेताहरूको राजनीतिको मूल धारमा आएको छोटो समयमै यति धेरै सम्पत्ति काहाँबाट आयो ? यो प्रश्नको उत्तर मिलेको छैन । कसैले दिनु आवश्यक सम्झेका पनि छैनन् । तर, आधिकारिक र प्रामाणिक रूपमा भन्न नसके पनि यो सबै नेपाली जनताले तिरेको करबाट उहाँहरूले प्राप्त गर्नुभएको हो भन्न गाह्रो छैन । त्यस कारण अहिलेदेखि नै सरकारको आयु तोक्ने र सरकार बचाउँने भविष्यवाणी गनुपर्ने आवश्यकता छैन । जहिलेसम्म सरकार टिक्छ त्यस दिनसम्म सरकारमा रहेका दलहरूले सकेसम्म राम्रा काम गर्नुपर्ने हुन्छ भने प्रतिपक्षमा रहनेले पनि सकेसम्म सरकारलाई रचनात्मक सहयोग गर्नुपर्छ । आवश्यकताको लिगबाट बाहिर गएर यस्ता बहसमा निरन्तर लाग्दा जनताका समस्याहरू सदा छायाँमा पर्ने छन् र सरकारकै वृत्तमा राष्ट्रको समय र स्रोतको विनाश भई नै रहन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच