महाकवि लक्ष्मीप्रसाद देवकोटाले सुलोचना महाकाव्यमा लेखेको पंक्ति हो यो- ‘म आफ्नो घरको राजा, झोपडी नै भए पनि’ । धनी र गरिबका बीचमा विवाद हुँदा गरिबले गर्वका साथ भनेको वाक्य हो यो । धनमा अलिक कमजोर ब्राहृमण मित्रले जमिनदार मित्रसँग आफ्नो आत्मस्वाभिमान जोगाउनका लागि गरेको प्रतिरोध हो यो । मान्छेका स्वाभिमानमा धन हुनु र नहुनुले कुनै अर्थ राख्दैन भन्ने बताउनका लागि महाकवि लक्ष्मीप्रसादले महाकाव्यमा उतारेको कविताको एक हरफ हो यो । धनमा तलमाथि भए पनि धनकै कारणले कुनै धनीमानीसँग मनुष्यले आफ्नो शिर निहुर्याउन आवश्यक छैन भन्ने सन्देश दिन लेखिएको हो यो ।
एमालेका वर्तमान अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पार्टीले तोकेको उमेरहद सत्तरी वर्षलाई निलम्बन गरेर पुनः अध्यक्षमा आउने चर्चा चल्दैछ । केपी ओलीको इच्छा र आशयविपरीत कसैले धारणा राखेमा एमाले पार्टीमा रहन सक्दैन भन्ने त समय समयका घटना परिघटनाहरूले पुष्टि गरिसकेको छन् । भीम रावलहरू यसका ज्वलन्त उदाहरण हुन् ।
यो पंक्ति आजभोलिका नेताहरूले राम्रैसँग पढेका जस्तो लाग्दछ । पढेका मात्रै होइनन् कि व्यवहारमै उतार्न नेताहरू सफल भएका छन् । कविताको मर्म एकातिर होला तर यसको बाहिरी अर्थ लगाउन नेताहरू खप्पिस भए झैँ लाग्दछ । यो वा त्यो पार्टीको नेता होइन कि सबै पार्टीका नेताहरूले यो पंक्तिको भित्री मर्म बुझेरै आफूलाई तदनुरूप व्यवहारमा ढाले जस्तै देखिन्छ । नेता अर्थात् राजनीतिक दलको शीर्षस्थानमा रहेका र शीर्षस्थानका लागि प्रयत्नरत नेताहरू महाकवि देवकोटाले लेखेका यी शब्दलाई पूर्णतः अनुसरण गर्नका लागि क्रियाशील भएको पाइन्छ । दलको अवस्था चाहे जेसुकै होस् तर कसैको विरोध सुनेर नबस्ने र दबाब पनि नझेल्ने मनस्थिति नेताहरूको देखिन्छ ।
स्वाभिमान भन्दै ठूलो हैसियत भएको राजनीतिक दललाई टुक्रा टुक्रामा विभाजन गरिएको छ । स्वतन्त्रताका नाममा दोस्रो तेस्रो दर्जाका नेताहरूले जथाभावी गर्ने र नेतृत्वले नपचाए पार्टी टुक्र्याउने प्रवृत्ति बढ्दै गएको छ । दोस्रो तेस्रो दर्जाका नेताहरूलाई दास सरह राख्न पार्टीको नेतृत्व सदैव प्रयत्नशील रहने र नसकेमा वा नियन्त्रणमा नआए कारबाही गरेर पार्टीबाट निष्काशन गर्ने प्रचलन चलेको छ । पार्टीमा कुनै नेताले पनि मूल नेतृत्वको आशयविपरीत कुरा राख्न नपाउने र राखेमा कारबाहीको भागीदार हुनैपर्ने अवस्था आएको छ ।
एकपटक शीर्ष नेतृत्वमा पुगेको व्यक्तिको मनमा अकण्टक पार्टी चलाउने रहर पैदा भएको पाउँछौं । आफू बाँचुञ्जेल पार्टीको नेतृत्व आफ्नै हातमा हुनुपर्ने र यसका लागि जे गर्न परे पनि पछि नपर्ने बानीको विकास भएको छ । पार्टीका सबै विरोधीलाई निकालेर जयजयकार गर्नेहरूको मात्रै पार्टी बनाउने प्रवृत्ति मौलाउँदै गएको छ । लाखौँ सदस्य रहेको दललाई हजार सदस्य संख्याको बनाएर भए पनि दलमा एकलौटी हैकम कायम गर्नुमा नै नेताहरूले आफ्नो सफलता देख्न थालेका छन् । अर्थात् सानै दलको भए पनि अध्यक्ष हुनु नै एकमात्र लक्ष्य रहन थालेको पाइन्छ ।
जनताका बीचमा गएर आफ्नो दलको सिद्धान्त, विचार र आदर्शको प्रचार प्रसार गर्ने र सदस्य संख्या बढाउने भन्ने कुरा गौण हुँदै गएका छ । नेताहरूको अनुशासन, इमानदारीता, सदाचार र राजनीतिमार्फत सेवा गर्ने चरित्र प्रदर्शन गरेर अन्य दलभन्दा ठूलो बन्ने भन्ने चाहना कुनै पनि दलको रहेजस्तो लाग्दैन । जनसेवालाई नै एकमात्र उद्देश्य बनाएर गाउँगाउँमा जनताका पीरमर्कासँगै घुलेर राजनीतिक दललाई लोकप्रिय बनाउने कुरा एकादेशको कथा जस्तै हुनपुगेको छ । नेताहरूको चाहना यति मात्रैमा सीमित हुनपुगेका छ कि चाहे दल घैँटो जस्तो ठूलो होस् वा खुम्चिएर अम्खोरा जस्तो सानो होस्, सभापति आफैं वा आफूले भनेको मान्छे नै हुनुपर्दछ । अर्थात् म आफ्नो घरको राजा झोपडी नै भए पनि ।
दल फुट्ने कुरामा नेपाली कांग्रेस अलि पछाडि छ । दलका सदस्यलाई कारबाही गरेर बाहिर लखेट्ने काम पनि कांग्रेसमा हुने गरेको छैन । एमाले र माओवादी मिलेर बनेको ठूलो दल नेकपा साढे दुई वर्ष पनि टिकेन । नेकपाबाट एमाले र माओवादी बन्दै गर्दा एमालेकै पुराना नेताहरूले समेत नेकपा एस नामको नयाँ पार्टी बनाए । पुराना दल त पुरानै भए भर्खरै उदाएको रास्वपाले समेत नजन्मिँदै तीन पात भने झैँ सभापतिका विपक्षमा धारणा राखेका कारण महामन्त्री मुकुल ढकाललाई पार्टीबाटै निकाल्यो ।
नेपाली कांग्रेस अरू दल जस्तो फुट्ने र जुट्ने गरेको त छैन तर पनि शीर्षतहमा रहेका नेताहरूको क्रियाकलापले आमनागरिक र सो दलका कार्यकर्ताहरूलाई सन्तुष्टि प्रदान गर्न सकेको देखिँदैन । संस्थापन र इतरपक्षमा बाँडिएर आफ्नो पक्ष ठूलो बनाउन दुवै पक्ष जुटेका छन् । सर्वसाधारणको मत बटुल्नभन्दा पनि पार्टी सदस्यता लिएकाहरूकै बढीभन्दा बढी समर्थन जुटाउने प्रयासमै नेताहरू केन्द्रित भएको पाइन्छ । एक पक्षले अर्को पक्षका समर्थकहरूलाई हार्दिकताका साथ हेर्न सके जस्तो लाग्दैन । विचार र नेता चयनमा फरक मत भए पनि चुनावका बेला दुबै पक्षकाले रूखमै भोट हाल्ने हो भन्ने पनि ख्याल गर्न सके जस्तो लाग्दैन ।
नेकपा एमालेको त कुरा गर्नै परेन । वर्तमान अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पार्टीले तोकेको उमेरहद सत्तरी वर्षलाई निलम्बन गरेर पुनः अध्यक्षमा आउने चर्चा चल्दैछ । भोलि उनले के गर्ने हुन् भन्ने त उनैलाई मात्रै थाहा छ तर ओलीको छत्रछायाँमा बसेर हात चाट्न रमाएकाहरू यसैका निम्ति उक्साउँदै छन् । केपी ओलीको इच्छा र आशय विपरीत कसैले धारणा राखेमा एमाले पार्टीमा रहन सक्दैन भन्ने त समय समयका घटना परिघटनाहरूले पुष्टि गरिसकेको छन् । भीम रावलहरू यसका ज्वलन्त उदाहरण हुन् ।
मधेसी जनताहरूको उत्थानका लागि भन्दै सुरुमा तराईमा एउटा दल उदायो । त्यही दल विभाजित हुँदै मधेसी जनताकै नाममा थुप्रै दल उदाए । एउटा नेताले अर्को नेतालाई अध्यक्षका रूपमा पचाउनै नसक्ने रोग मधेसवादी भनिएका दलहरूका नेताहरूमा देखियो । अहिले मधेसका जनताकै नाम लिएर दर्जनौं राजनीतिक दलहरू क्रियाशील छन् र पनि जनताको अवस्था फेरिएको छैन ।
अध्यक्षको विरोधमात्रै नभई पार्टीको हितमा बोल्दा पनि कारबाहीमा परेका उदाहरण छन् । बृन्दा पाण्डे र उषाकिरण तिमल्सिनाहरूले विवादित व्यापारीका हातबाट चन्दा लिनुहुँदैनभन्दा अस्ति भर्खरै निलम्बनमा परेका छन् । अध्यक्ष वा अध्यक्षका वरपरकाले गरेका काम वा गर्न खोजेका कामका आशयविपरीत बोल्न पाइँदैन भन्ने सन्देश यी कारबाहीबाट दिन खोजिएको छ । पार्टीमा १८ वर्ष शक्तिशाली महासचिव बनेका माधव नेपालले पार्टी छाड्नुपरेको कुरा पनि चानचुने होइन । विसं २०५४ को स्थानीय निर्वाचनमा एमालेलाई ठूलो पार्टी बनाउन सबैखाले कर्म गरेका वामदेव त्यही पार्टीमा अटाउन नसक्नुले पनि सकारात्मक सन्देश पक्कै दिँदैन ।
दश वर्षे सशस्त्र द्वन्द्व चलाएर मुलुक र मुलुकका पुराना राजनीतिक दलहरूलाई तहसनहस बनाई सत्तामा बारम्बार पुगेको माओवादी पार्टी समेत एक ढिक्का भएर रहन सकेन । अनेकौं टुक्रामा विभाजित हुँदाहुँदै विसं २०६४ को चुनावमा सर्वाधिक ठूलो दल बनेको माओवादीको गन्तव्य विसं २०८४ को चुनावमा पुग्दा कता पुग्ने हो कसैले अनुमान गर्न नसक्ने भएको छ । यद्यपि साढे तीन दशक नेतृत्व गरेका पार्टी अध्यक्ष प्रचण्डले यसमा आफ्नो कमजोरी देख्दैनन् र भोलिका दिनको नेतृत्व छाड्ने पनि कुनै सम्भावना देखिएको छैन ।
मधेसी जनताहरूको उत्थानका लागि भन्दै सुरुमा तराईमा एउटा दल उदायो । त्यही दल विभाजित हुँदै मधेसी जनताकै नाममा थुप्रै दल उदाए । एउटा नेताले अर्को नेतालाई अध्यक्षका रूपमा पचाउनै नसक्ने रोग मधेसवादी भनिएका दलहरूका नेताहरूमा देखियो । अहिले मधेसका जनताकै नाम लिएर दर्जनौं राजनीतिक दलहरू क्रियाशील छन् र पनि जनताको अवस्था फेरिएको छैन । मधेसका नाममा पार्टी खोलेर नेता भएकाहरू बारम्बार मन्त्री, उपप्रधानमन्त्री भएर उनीहरूको अवस्था फेरिएकोमा भने कुनै शंका छैन ।
समग्रमा भन्नुपर्दा वर्तमान परिवेशका राजनीतिक दलहरूका नेताहरूमा दललाई लोकप्रिय बनाउने अभिलाषा छ जस्तो लाग्दैन । जनताका नाममा दललाई समर्पण गरेर दलका नाममा अपार समर्थन बटुल्ने चाहना नेताहरूमा देखिँदैन । प्रतिस्पर्धी राजनीतिक दलहरू भन्दा आफ्नो दललाई सक्रिय तुल्याएर मुलुकको अवस्था परिवर्तनमा मुख्य भूमिका खेल्ने दलमा बदल्ने प्रयास गरिएको छैन भन्न कुनै संकोच मान्नुपर्दैन । दल जतिसुकै खुम्चिँदै जाओस्, पार्टी नेतृत्व आफ्नै वा आफ्नै परिवारका हातमा रहनुपर्दछ भन्ने सोच विकसित भएको छ । अर्थात् म आफ्नो घरको राजा, झोपडी नै भए पनि तर यसले मुलुकलाई हित भने गर्दैन ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच