
लण्डन । च्याम्पियन्स लिगको नकआउट चरणको समीकरण पूरा भएको छ । लिभरपुलको शतप्रतिशत जितमा ब्रेक लागे पनि लिग चरणमा लिभरपुल शीर्ष स्थानमा रहेर प्रि-क्वाटरफाइनल प्रवेश गरेको छ । लिगको अन्तिम खेलमा लिभरपुललाई नेदरल्याण्ड्सको पिएसभी आइन्डहोभनले पुनरागमन गर्दै ३-२ ले पराजित गरेको हो । लिभरपुलसँगै इंग्ल्याण्डबाट आर्सनल र एस्टन भिल्ला गरी सर्वाधिक तीन क्लब अन्तिम आठमा पुगेका छन् । यसैगरी स्पेनिस क्लब बार्सिलोना र एट्लेटिको मड्रिड, इटलीको इन्टर मिलान, जर्मनीको बायर लेभरकुजन र फ्रान्सको लिल पनि सिधै अन्तिम १६ मा प्रवेश गरेका छन् । यसबाहेक रियल मड्रिड, बायर्न म्युनिख, म्यानचेष्टर सिटी, पेरिस सेन्ट जर्मेन, एसी मिलान जस्ता क्लबले भने प्रि-क्वाटरफाइनल पुग्न प्लेअफ खेल्नुपर्ने भएको छ ।
लिग चरणमा ३६ क्लबले प्रतिस्पर्धा गरेकोमा शीर्ष आठ टोली सिधै प्रि-क्वाटरफाइनल पुग्दा नवौंदेखि २४औँ स्थानसम्मका टोलीहरूले प्रि-क्वाटरफाइनल प्रवेशका लागि प्लेअफ खेल्नेछन् । २५औँ देखि अन्तिम स्थानसम्म रहेका क्लबहरू भने बाहिरिएका छन् । अब नकआउट चरण पुग्नका लागि प्लेअफ खेल हुनेछ र त्यसपछि अन्तिम १६ को खेल हुनेछ । लिगको शीर्ष दुईमा रहेका लिभरपुल र बार्सिलोनाबीच अब फाइनलअघि भेट हुने छैन ।
इंग्लिस क्लब म्यानचेष्टर सिटी, एस्टन भिल्ला र आर्सनल, जर्मन क्लबहरू बायर्न म्युनिख, बायर लेभरकुसेन र बोरुसिया डर्टमन्ड, स्पेनिस क्लब रियल मड्रिड र एट्लेटिको मड्रिड तथा इटालियन सिरी ‘ए’ क्लब इन्टर मिलान विजयी भएका हुन् । बार्सिलोना भने एट्लान्टासँग बराबरीमा रोकियो । म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको ‘प्लेअफ’ मा पुगेको छ । बेल्जियमको क्लब वर्गविरुद्ध ३-१ को पुनरागमन जित निकाल्दै सिटीले ‘प्लेअफ’ मा स्थान पक्का गरेको हो ।
सिटी अन्तिम खेलअघि अंक तालिकाको २५औँ स्थानमा थियो । प्लेअफको सम्भावनालाई जीवित राख्न सिटीलाई जित आवश्यक थियो । सिटी पहिलो हाफमा १–० ले पछि परेको थियो । दोस्रो हाफमा सिटी नतिजा उल्ट्याउन सफल भएको थियो । पहिलो हाफको अन्तिम मिनेटमा राफेल न्वाडिकीको गोलमा क्लब वर्गले खेलमा अग्रता बनाएको थियो । दोस्रो हाफको सुरुवातमा बराबरी गोल गर्दै सिटी खेलमा फर्केको थियो । ५३औँ मिनेटमा माटेओ कोभासिसले बराबरी गोल गर्नुभएको थियो । ६२औँ मिनेटमा साभिन्होको क्रसलाई जोगाउने ओर्डोनेजको प्रयासमा आत्मघाती गोल भएपछि सिटीले अग्रता लिएको थियो । साभिन्होले ७७औँ मिनेटमा गोल गरेपछि सिटी विजयी भएको हो । ८ खेलमा ३ जितसहित ११ अंक बनाएर २२औँ स्थानमा रहँदै सिटी प्लेअफमा पुगेको हो । समान ११ अंक जोडेको क्लब वर्ग २४औँ स्थानमा रहेर प्लेअफमा पुगेको छ ।
यसैगरी, साबिक विजेता रियल मड्रिडले च्याम्पियन्स लिगको खेलमा फ्रान्सेली क्लब ब्रेस्टलाई पराजित गरेको छ । बिहीबार बिहान भएको खेलमा रियलले ३-० को सहज जित हात पारेको हो । ब्रेस्टको घरेलु मैदानमा भएको खेलमा रियलको जितमा रोड्रिगोले २ तथा जुड वेलिंघमले एक गोल गर्नुभयो । रोड्रिगोले खेलको २७औँ र ७८औँ मिनेटमा गोल गर्नुभयो । वेलिंघमले खेलको ५६औँ मिनेटमा गोल गर्नुभएको थियो । जितसँगै रियल ८ खेलमा १५ अंकका साथ ११औँ स्थानमा रहेको छ । रियल च्याम्पियन्स लिगको प्लेअफका लागि छनोट भएको छ । पराजित ब्रेस्ट समान खेलमा १३ अंक जोड्दै १८औँ स्थानमा छ ।
यता, स्पेनिस क्लब बार्सिलोना भने इटालियन क्लब एट्लान्टासँग बराबरीमा रोकिएको छ । बार्सिलोनाले एट्लान्टासँग २-२ को बराबरी खेलेको हो । बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा भ्रमणकारी टोलीका लागि एन्डर्सन र मारिओ पासालिकले गोल गर्नुभयो । बार्सिलोनाका लागि लामिन यामल र रोनाल्ड अरौजोले गोल गर्नुभयो । खेलमा सुरुवाती अग्रता भने घरेलु टोलीले लिएको थियो ।
बार्सिलोनाका लागि यामलले खेलको ४७औँ मिनेटमा गोल गर्नुभएको थियो । एट्लान्टाका लागि एन्डर्सनले ६७औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभएको थियो । बार्सिलोनाका लागि रोनाल्ड अरौजोले ७२औँ मिनेटमा गोल गर्दै टोलीलाई फेरि अग्रता दिलाउनुभएको थियो । तर, ७९औँ मिनेटमा मारिओ पासालिकले गोल गर्दै एट्लान्टालाई हारबाट जोगाउनुभएको थियो । बराबरीपछि पनि बार्सिलोना च्याम्पियन्स लिगको आठ खेलमा १९ अंकका साथ दोस्रो स्थानमा छ । बार्सिलोनाले यसअघि नै अन्तिम १६ मा स्थान बनाइसकेको छ । २१ अंकसहित लिभरपुल शीर्ष स्थानमा छ । समान खेलबाट १५ अंक जोडेको एट्लान्टा नवौं स्थानमा रहेको छ । एट्लान्टाले प्लेअफमा स्थान पक्का गरेको छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच