
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को छ महिनामा रेमिट्यान्स आय ४.१ प्रतिशतले बढेर सात खर्ब ६३ अर्ब आठ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आय २२.२ प्रतिशतले बढेको थियो । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको पुससम्मको तथ्यांकअनुसार अमेरिकी डलरमा रेमिट्यान्स आय १.१ प्रतिशतले बढेर पाँच अर्ब ५८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १९.५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय आठ खर्ब ३२ अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय सात खर्ब ९९ अर्ब ५४ करोड रहेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या दुई लाख ३० हजार चार सय ३९ र पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख ६२ हजार छ सय २८ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः दुई लाख छ हजार तीन सय ९० र एक लाख ३३ हजार नौ सय ९४० थियो ।
साढे दुई खर्ब शोधनान्तर बचतमा
समीक्षा अवधिमा चालु खाता एक खर्ब ४८ अर्ब १७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता एक खर्ब ६२ अर्ब ५६ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब २२ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा एक अर्ब आठ करोडले बचतमा रहेको छ । त्यस्तै, खुद पुँजीगत ट्रान्सफर चार अर्ब २९ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर तीन अर्ब ११ करोड थियो । समीक्षा अवधिमा छ अर्ब ५० करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी चार अर्ब ५४ करोड थियो ।
चालु आर्थिक वर्षको पुसमा शोधनान्तर दुर्ई खर्ब ४९ अर्ब २६ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर दुई खर्ब ७३ अर्ब ५२ करोडले बचतमा थियो ।
त्यसैगरी शोधनान्तर स्थिति दुई खर्ब ४९ अर्ब २६ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति दुई खर्ब ७३ अर्ब ५२ करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा दुई अर्ब छ करोडले बचतमा रहेको शोधनान्तर समीक्षा अवधिमा एक अर्ब ८२ करोडले बचतमा रहेको छ ।
२०८१ असारमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १३.५ प्रतिशतले वृद्धि भई २०८१ पुसमा २३ खर्ब १६ अर्ब ८४ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ पुुसमा १०.३ प्रतिशतले वृद्धि भई १६ अर्ब ८४ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा २०८१ पुसमा १२.१ प्रतिशतले वृद्धि भई २० खर्ब ७२ अर्ब ३४ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असारमा एक खर्ब ९२ अर्ब ५५ करोड रहेकोमा २०८१ पुसमा २७ प्रतिशतले वृद्धि भई दुई खर्ब ४४ अर्ब ५० करोड कायम भएको छ । आर्थिक वर्ष २०८१÷८२ को छ महिनाको आयातलाई आधार मान्दा बंैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.३ महिनाको वस्तु आयात र १४.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने केन्द्रीय बैंकले जनाएको छ ।
३१.८ प्रतिशतले बढ्यो निर्यात
आर्थिक वर्ष २०८१/८२ को छ महिनामा कुल वस्तु निर्यात ३१.८ प्रतिशतले बढेर ९८ अर्ब ७९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ७.२ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ४६.१ प्रतिशत, १९.७ प्रतिशत र १.० प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा सोयाबिन तेल, चिया, पोलिस्टर यार्न तथा थे्रड, पार्टिकल बोर्ड, अलैंचीलगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिंक सिट, अदुवा, तयारी पोशाक, जडीबुटीलगायतका वस्तुको निर्यात घटेको छ । आर्थिक वर्ष २०८१/८२ को छ महिनामा कुल वस्तु आयात ७.१ प्रतिशतले बढेर आठ खर्ब २२ अर्ब ३७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३.१ प्रतिशतले घटेको थियो । भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ५.९ प्रतिशत, ८.९ प्रतिशत र ९.० प्रतिशतले बढेको छ भने वस्तुगत आधारमा कच्चा भटमास तेल, चामल÷धान, यातायात उपकरण, सवारी साधन तथा अन्य सवारी साधनका स्पेयर पाटर््स, स्पन्ज आइरन, खाने तेललगायतका वस्तुको आयात बढेको छ । पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, सुन, रासायनिक मल, केराउलगायतका वस्तुको आयात घटेको छ ।
मूल्यवृद्धि ५.४१ प्रतिशत
२०८१ पुसमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.४१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.२६ प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.६७ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.१९ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा यी समूहको मुद्रास्फीति क्रमशः ५.७५ प्रतिशत र ४.९३ प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप-समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक २८.५२ प्रतिशत, घ्यू तथा तेलको १०.६७ प्रतिशत, दाल तथा गेडागुडीको ९.४८ प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको ७.२३ प्रतिशतले बढेको छ भने मरमसला उप-समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ३.१२ प्रतिशतले घटेको छ । ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता
मूल्य सूचकांक ५.६८ प्रतिशतले बढेको छ भने शहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ५.३१ प्रतिशतले बढेको छ ।
प्रदेशगतरूपमा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.७३, मधेस ५.९६, बागमती ५.१४, गण्डकी ४.३७, लुम्बिनी ४.८३,
कर्णाली ४.६० र सुदूरपश्चिम प्रदेशको ५.६७ प्रतिशत रहेको छ । त्यस्तै काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.०३, तराई ५.६०, पहाड ५.४१ र हिमालको ५.२७ प्रतिशत रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच