
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैले आत्मविश्वासका साथ काम गरेमा अब नेपाल पछाडि पर्नुपर्ने कुनै कारण नरहेको बताउनुभएको छ । श्रीपञ्चमीका अवसरमा सोमबार काठमाडौंमा आयोजित ‘युवा अन्तरक्रिया कार्यक्रम’मा प्रधानमन्त्री ओलीले विकासका पूर्वाधार बनाएर र आधुनिक गुणस्तरीय शिक्षा दिएर युवाहरूलाई विश्व बजारको प्रतिस्पर्धी बनाउने संकल्प पनि गर्नुभएको थियो ।
देशको स्वाधीनताको झण्डा झुक्न नदिन र देशलाई समृद्ध नेपाल बनाउन लाग्नुपर्नेमा उहाँको जोड थियो । प्रधानमन्त्री ओलीले ज्ञानभूमि र तपोभूमिका साथै पुर्खाको गौरवगाथाले भरिएको नेपाल कहिल्यै कुनै पनि देशको अधीनमा बस्नु नपरेको स्मरण गराउँदै विद्यार्थीलाई देशभक्तिलाई शिरमा बोकेर इमानदार बनेमा सफलतामा पुग्न सकिने उहाँको भनाइ थियो । उहाँले विद्यार्थीहरू अरूको बहकावमा लाग्न नहुने र असल नेपाली संस्कारलाई पछ्याउन लाग्नुपर्नेमा जोड दिँदै युवाहरूका लागि स्वदेशमै अवसरको सिर्जना गर्न सरकारले विशेष ध्यान दिइरहेको दाबी गर्नुभयो ।
नेपाल र चीनबीचको सम्बन्धबारे एक विद्यार्थीको प्रश्नमा प्रधानमन्त्री ओलीले नेपालले चीन, भारतलगायत विभिन्न देशसँग मित्रवत् सम्बन्ध राख्दै आएको बताउँदै हालैको औपचारिक चीन भ्रमणका क्रममा ‘बेल्ट एण्ड रेड इनिसियटिभको फ्रेमवर्क’मा सम्झौतालगायत विभिन्न सहकार्य विस्तार भएको बताउनुभएको थियो । उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’ नै आफ्नो ठूलो सपना भएको स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीसमक्ष विद्यार्थीहरूले उहाँका रुचिका विविध पक्षमा पनि प्रश्न राखेका थिए ।
‘कलंकको रूपमा रहेको गरिबीलाई छिटो हटाउनुपर्छ’
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल समृद्ध देश बन्नुपर्ने बताउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाल समृद्ध देश बन्ने आधारहरू धेरै रहेको उल्लेख गर्नुभएको थियो । उहाँले नेपाल गौरवपूर्ण खोज अध्ययन, अनुसन्धान गरेका विद्वान् पुर्खाहरूको देश भएको उल्लेख गर्दै स्वाधीन र स्वाभिमानी देश भएको बताउनुभयो । उहाँले नेपालको भूगोल उर्वर रहेको र भौगोलिक क्षेत्रको आवश्यक विविधता पनि नेपालसँग रहेको बताउनुभयो । नेपालले तेल र फलाम खानीहरूको उत्खनन गरिरहेको भन्दै कलंकको रूमपा रहेको गरिबीलाई छिटो हटाउन आवश्यक रहेको उहाँको भनाइ थियो । ‘एआईको जमानामा एउटा कलंकको रूपमा रहेको गरिबी छ, त्यसलाई सकेसम्म छोटो समयमा समाप्त पार्नुपर्दछ । यस देशलाई समृद्ध नेपाल बनाउनु पर्दछ, धनी जनता बनाउनु पर्दछ । नेपाली जनतालाई सुखी बनाउनु पर्दछ,’ उहाँले भन्नुभयो ।
व्यावसायिकता र उद्यमशीलतातर्फ लागौँ
प्रधानमन्त्री ओलीले नयाँ पुस्ता आत्मनिर्भरता बन्नेतर्फ लाग्नुपर्ने बताउनुभएको छ । काठमाडौंमा आयोजित युवासँगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले जब अपरच्युनिटी खोज्नेभन्दा पनि व्यावसायिकता र उद्यमशीलतातर्फ उत्प्रेरित गर्नतर्फ लाग्नुपर्ने बताउनुभएको हो । ‘जब अपरच्युनिटी खोज्नेभन्दा पनि व्यावसायिकता र उद्यमशीलतातर्फ उत्प्रेरित गरौँ ताकि उनीहरू आफैँ आत्मनिर्भर हुन सकून्’, प्रधानमन्त्रीले भन्नुभयो, ‘केही नयाँ चिज गर्न सकून् र अरूलाई पनि रोजगारीका अवसरहरू दिन सकून् । त्यसतर्फको जनशक्ति तयार गर्न सकौँ ।’
साथै प्रधानमन्त्रीले युवाहरूलाई कहिल्यै पनि गलत संगतमा नलाग्न आग्रह गर्नुभयो । ‘गलत संगतमा कहिल्यै नजानुहोस् । गलत ठीक छैन भन्नेबित्तिकै छाडिदिनुहोस् । संगत ठीक गर्नुहोस् । मैले भन्ने गरेको छु मौरीको साथ लाएर हिँड्यो भने फूलबारीमा पुगिन्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘झिँगाको साथ लाएर उड्यो भने त्यसले फोहोरको डंगुरमा पुर्याउँछ । त्यसकारण फोहोरको डंगुरमा झिँगाको साथ लाएर जान हुँदैन ।’ राष्ट्रिय आवश्यकताअनुसार दक्ष जनशक्ति उत्पादन गर्नेतर्फ सरकारले पहल गरिरहेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।
जब विद्यार्थीले सोधे ‘ए प्लस बी’को ‘होल स्क्वायर’ को सूत्र
सोमबार युवा विद्यार्थीसँग अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीलाई एकजना विद्यार्थीले अनपेक्षित प्रश्न गरेपछि कार्यक्रमको माहौल नै बदलियो । सो कार्यक्रममा विद्यार्थीहरूले रमाइला प्रश्न गरेका थिए । कार्यक्रमको अन्ततिर नौ कक्षामा पढ्ने एकजना विद्यार्थीले प्रधानमन्त्री ओलीलाई एउटा यस्तो प्रश्न सोधे जसको प्रधानमन्त्रीलाई र आयोजकलाई समेत सम्भवतः अपेक्षा नै थिएन । ती विद्यार्थीले उभिएर प्रधानमन्त्रीलाई सोधे, ‘सम्माननीय प्रधानमन्त्रीज्यूलाई मेरो एकमात्र प्रश्न रहेको छ । मलाई गणित विषयको फर्मुलाले कहिलेकाहीँ त टेन्सन नै दिन्छ । तपाईंलाई थाहा छ, ए प्लस बी को होल स्क्वायरको फर्मुला के होला ? थाहा छ भने कृपया बताइदिनुस् न ।’ जवाफमा प्रधानमन्त्री ओलीले धेरै कुरा पुरानो गर्नुभयो भन्दै उतैतिर फर्किएर प्रश्न गर्नुभयो, ‘ए स्क्वायर प्लस टुएबी प्लस बी स्क्वायर हो ? यस्तै लाग्छ, तर धेरै पुरानो सम्झिन गाह्रो ।’
तलबाट विद्यार्थीले हो भनेर ताली बजाएपछि प्रधानमन्त्री ओलीले जिन्दगीका जटिलतालाई पनि सूत्रबाट हल गर्न सिकाउनुभयो । उहाँले भन्नुभयो, ‘मेरो एउटा सल्लाह के छ भने सबै सूत्रहरू सबै फर्मुलाहरू ती सबै मान्छेले बनाएका हुन् । व्याकरणको होस् अथवा गणितको होस, अथवा विज्ञानका हुन्, यी सबै मान्छेले बनाएका र प्रमाणबाट संक्षिप्तीकरण गरेपछि फर्मुला बन्छ । बरु यी संक्षिप्तीकरण कसरी भयो ? भन्ने बुझ्नुपर्छ अनि सबै फर्मुला आउँछ । जिन्दगीलाई सहज बनाउने हो भने सबैभन्दा सजिलो सूत्रबाट जानुपर्छ । सूत्र जान्यो भने एउटै साँचोले धेरै ताला खोलेजस्तै धेरै सहज बनाउँछ । त्यसैले ताला खोल्ने साँचो जस्तो हो सूत्र भनेको हो ।’ अन्तक्रियाका क्रममा प्रधानमन्त्री ओलीले आफ्नो सानो नातिको उदाहरण दिँदै भाषा कस्तो बनाउने भन्नेबारे राम्रो ज्ञान हुनुपर्ने जिकिर गर्नुभयो । नाति सानै भएको र भाषाबारे ज्ञान नहुँदा कागलाई तपाईं र आफूलाई तिमी भन्ने गरेको उल्लेख गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच