
काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ पुनः माओवादी केन्द्रको संगठनात्मक भूमिकामा सक्रिय हुनुभएको छ । पार्टीको सोमबार बसेको पदाधिकारी (कार्यालय) बैठकले उहाँलाई उत्पादनसम्बन्धी जिम्मेवारी दिने निर्णय गरेको छ । यद्यपि, पुनलाई कुन तहको जिम्मेवारी दिइने भन्ने विषयमा टुंगो लागेको छैन । उहाँ हाल उपाध्यक्षकै रूपमा बैठकहरूमा सहभागी भइरहनु भएको छ । तर, केही नेताहरूका अनुसार उहाँलाई औपचारिक रूपमा आमन्त्रित सदस्यका रूपमा मात्र उपस्थित गराइएको हो । एक नेताले जानकारी दिँदै भन्नुभयोे, ‘पासाङलाई उत्पादन क्षेत्रको जिम्मेवारी दिइएको छ, तर उहाँको पद वा हैसियतबारे अन्तिम निर्णय हुन बाँकी छ ।’
२०७२ सालमा पहिलोपटक उपराष्ट्रपति बन्नुभएका पुन दोस्रो कार्यकालका लागि पनि निर्वाचित हुनुभएको थियो । तर, २०७९ साल चैत ६ गते उपराष्ट्रपति पदबाट बाहिरिएपछि उहाँ केही समय निष्क्रिय बन्नुभएको थियो । हालै सम्पन्न माओवादी केन्द्रको पुस २१–२३ गतेको केन्द्रीय समिति बैठकमा उहाँले सहभागिता जनाएपछि पुनः सक्रिय भएको देखिएको हो । तर, बैठकमा केही सदस्यहरूले ‘पूर्वउपराष्ट्रपति भइसकेका व्यक्ति फेरि पार्टी राजनीतिमा फर्कनु उपयुक्त छैन’ भन्ने धारणा राखेका थिए । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने यसबारे प्रष्ट पार्दै पुन आफैँले सक्रिय बन्ने चाहना व्यक्त गरेको बताउनुभयो । ‘उहाँलाई पार्टीमा फर्कन माओवादी केन्द्रले आग्रह गरेको होइन, उहाँ स्वयं राजनीतिक रूपमा संलग्न हुन चाहनुभएको हो’ प्रचण्डको भनाइ थियो ।
प्रचण्डको पछिल्लो समयमा उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुनसँग पनि त्यति साह्रो मिल्ती छैन । दुवै नेताहरूले आधार इलाका भन्दै प्रचण्डलाई पनि चुनौती दिन थालेका छन् । नेत्रविक्रम चन्द विप्लवसँग पनि पार्टी एकता हुन सकेको छैन, जसका कारण प्रचण्ड वर्षमान र जनार्दनको घुर्की सुन्दै आउनुभएको छ । पासाङलाई पार्टीमा ल्याएर राजनीतिक सन्तुलन मिलाउन खोजेको माओवादी नेता बताउँछन् ।
रोल्पामा पासाङको राम्रो पकड छ । वर्षमान पनि कहिलेकाहीँ शर्मासँग मिल्दा प्रचण्डलाई अप्ठेरो पर्ने गरेकाले दुवैलाई टक्कर दिन पासाङलाई पार्टीमा ल्याएको हुनसक्ने बताइन्छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा आउने चाहना राखेको कुरा बाहिरिएको छ । भण्डारी पनि नेकपा एमालेको सक्रिय राजनीतिमा आउने चर्चा चलिरहेको समयमा पासाङ भने माओवादीको जिम्मेवारीमा फर्किनुभएको छ । पासाङ सक्रिय राजनीतिक भूमिकामा आएसँगै माओवादीमा पनि आन्तरिक समीकरणमा फेरबदल हुने देखिन्छ । वरीयतामा वरिष्ठ उपाध्यक्ष रहनुभएका श्रेष्ठमाथि हुने कि पूर्वउपराष्ट्रपतिसमेत रहिसक्नु भएका पासाङमाथि हुने भन्ने माओवादीमा बहस सुरु भएको छ । स्रोतका अनुसार प्रचण्डले आफूपछि पासाङलाई राख्ने र त्यसको घोषणा पार्टी कार्यालयबाट गर्ने तयारी छ ।
फागुन १२ बाट ‘जनतासँग माओवादी अभियान’
यसैगरी, माओवादी केन्द्रले फागुन १२ गतेबाट ‘जनतासँग माओवादी अभियान’ चलाउने भएको छ । सोमबार अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले झापाको कचनकवलबाट अभियान सुरु गर्ने निर्णय गरेको हो । हुलाकी राजमार्गमा आधारित भएर यो अभियान चल्ने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । यस्तै, स्थानीय तहका प्रमुख र उपप्रमुखको भेला फागुन ९ गते काठमाडौंमा गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । नेकपा माओवादी केन्द्रले पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित प्रमुख र उपप्रमुखको भेला गर्ने भएको हो । १२३ वटा स्थानीय तहमा प्रमुख र उपप्रमुख गरी माओवादीले नेतृत्व गरेको छ । ‘पार्टीले हुलाकी राजमार्गमा आधारित भएर यो अभियान चल्नेछ । यस्तै, पार्टीले जितेका १२३ स्थानीय तहका प्रमुख र उपप्रमुखको भेला काठमाडौंमा गर्ने निर्णय भएको छ’, बैठकपछि सापकोटाले भन्नुभयो । पुस २३ गते सम्पन्न माओवादीको केन्द्रीय समिति बैठकले पूर्व–पश्चिमको मध्य पहाडी केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।
नेताहरूको जिम्मेवारी हेरफेर
नेकपा माओवादी केन्द्रले नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ । सोमबार प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले नेताहरूको जिम्मेवारी हेरफेर गरेको हो । कोशी प्रदेशमा उपमहासचिव हरिबोल गजुरेललाई यथावत् राखिएको छ । मधेस प्रदेशमा उपमहासचिव मातृका यादवलाई जिम्मेवारी दिएको छ । बागमती प्रदेशमा सचिव हितमान शाक्यले इञ्चार्जको जिम्मेवारी पाउनुभएको छ । यस्तै, गण्डकी प्रदेशमा सचिव दीनानाथ शर्मालाई नै यथावत राखिएको छ । त्यस्तै, लुम्बिनी प्रदेशमा सचिव चक्रपाणि खनाल, कर्णाली प्रदेशमा स्थायी समिति सदस्य कालीबहादुर मल्ल र सुदूरपश्चिम प्रदेशमा उपमहासचिव गिरिराजमणि पोखरेललाई इञ्चार्जमा यथावत् राखिएको छ । सचिव लीलामणि पोखरेललाई सम्पर्क समन्वय प्रदेश इञ्चार्जको जिम्मेवारी दिइएको छ । यसअघि पोखरेल मधेस प्रदेशको इञ्चार्ज हुुनुहुन्थ्यो ।
यस्तै, अध्यक्ष प्रचण्डको सचिवालयमा पनि हेरफेर भएको छ । लामो समयदेखि अध्यक्ष प्रचण्डको स्वकीय सचिव रहनुभएका रमेश मल्ललाई भूगोलको राजनीतिमा पठाइने भएको छ । स्रोतका अनुसार मल्ललाई स्वकीय सचिवबाट बिदा गरेर गोविन्द आचार्यलाई सचिवालयको जिम्मेवारी दिन लागिएको हो । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षसमेत रहनुभएका आचार्य प्रचण्ड प्रधानमन्त्री भएका बेला प्रेस सल्लाहकार हुनुहुन्थ्यो । २०७८ कात्तिकमा जोखबहादुर महरालाई विस्थापित गरेर प्रचण्डको स्वकीय सचिवमा नियुक्त हुनुभएका सल्यानका नेता रमेश मल्ललाई पार्टीले अर्को जिम्मेवारी दिने बताइएको छ । मल्ल र आचार्य दुवैजना केन्द्रीय सदस्य हुनुहुन्छ । यसैगरी, उपत्यका विशेषमा स्थायी समिति सदस्य जयपुरी घर्ती, प्रवासतर्फ सार्क प्रदेशमा लक्ष्मण पन्त, युरोप, अमेरिका प्रदेशमा राम कार्की र एसिया प्रदेशको इञ्चार्जमा ओम शर्माले जिम्मेवारी पाउनुभएको छ । महासचिव माथिका पदाधिकारीले भूगोलको जिम्मा नलिने नीतिगत निर्णय गरेको पनि माओवादीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच