
बेला-बेलामा देशका विभिन्न स्थानमा भएका घटनाले नेपाली समाज अपराध उन्मुख हुँदै गएको देखिन आएको छ । देशमा सरकार छ, सरकार मातहतमा प्रहरी र निजामती प्रशासन छ तर आपराधिक घटना भने भइरहेकै छन् । अछाममा दुईजना किशोरीको विभत्स हत्या भएको घटनाले यस्ता घटनाको निरन्तरताको पुष्टि गर्दछ । यो सबैभन्दा पछिल्लो आपराधिक घटना हो । यो घटना यौन अपराधसँग सम्बन्धित छ, मारिने/मार्ने दुवै थरी किशोर बयका छन् । घटनाको पूर्वीदिप्ति गर्ने हो भने अनेकौं छन् । तीमध्ये अधिकांशका कारिणी समातिएका छन्, ती हालका दिनमा कानुनी सजायको भुक्तानीका क्रममा छन् । अत्यन्त जटिल खालका हत्याहिंसाजन्य घटनामा समेत गहन अध्ययन गरेर नेपाल प्रहरीले अपराधी फेला पारेकै छ ।
यस्ता कतिपय घटनामा कुनैमा तुरुन्तै त कुनैमा केही वर्षको अनुसन्धानपछि संलग्न दोषीलाई समात्न नेपाल प्रहरी सफल छ । त्यस अर्थमा नेपाल प्रहरी अनुसन्धानका क्षेत्रमा विश्वमै अब्बल मानिन्छ तर केही घटनामा प्रहरी चुकेको देखिन्छ । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि भएको हत्या अनुसन्धानमा प्रहरीले धेरै वर्ष बितिसक्दा कुनै परिणाम देखाउन सकेको छैन । सयौं राम्रा काम गरे पनि एउटामा मात्र कमजोरी भयो भने समाजले त्यही कमजोरी औंल्याउने काम गरिरहन्छ । त्यसले गर्दा प्रहरीलाई असफलताको आरोप लाग्ने गर्छ । उच्च पदीय हैसियतका व्यक्तिका आफन्तबाट भएको काण्ड भएकाले त्यसको संलग्न अपराधी बाहिर ल्याउन प्रहरीले नसकेको भन्ने गरिएको छ ।
नेपाल प्रहरीका उच्च पदीय हैसियतका सेवानिवृत्त एकजना अधिकारीले नेपाल प्रहरीलाई राजनीतिक हस्तक्षेप नहुने हो भने जस्तासुकै घटनाको छानबिन गरी यथार्थ परिणाम दिन सक्छ भन्ने भनाइलाई उद्धृत गर्ने हो भने प्रहरीले परिणाम दिन नसकेका घटनामा राजनीतिक हस्तक्षेप हुने गर्दा रहेछन् भन्ने थाहा हुन्छ । नत्र नेपाल प्रहरीले रानीबारी हत्याकाण्ड, फादर ग्याफ्ने हत्याकाण्ड र ललितपुर हत्याकाण्ड जस्ता दिनप्रतिदिन रहस्यमय बन्दै गएका जटिल हत्याकाण्डका दोषीलाई लामै समयपछि पनि पक्राउ गरेर कानुनी कठघरामा उभ्याउन सफल भएको छ । वर्तमान गृहमन्त्री रमेश लेखकको गृहजिल्लाकै एउटा हत्याकाण्ड लामो समयदेखि रहस्यमय बन्दै गइरहेको सन्दर्भमा उहाँबाट यसको गहिराइ पत्ता लगाउन नेपाल प्रहरीलाई आदेश दिनुहोला र प्रहरीले स्वतन्त्र रूपमा अनुसन्धान गरी निष्कर्ष दिनसक्ला भन्ने अपेक्षा नेपालीले अझै गरिरहेकै छन् ।
हालै संसद्को मथिल्लो सदन राष्ट्रियसभामा अछाम घटनाको चर्चा भएको छ, दोषीलाई कारबाहीको माग भएको छ । सो हत्याकाण्डले नेपाली समाज असहिष्णु बन्दै गएको पुष्टि भएको छ । अपराध मानिसको मनोवैज्ञानिक समस्या हो । सामान्य कारणले असहिष्णु भएर तुरुन्तै ज्यान मार्नेसम्मको अपराधमा त्यस्ता व्यक्ति संलग्न हुने गर्दछन् । अछाम घटनामा १४ र १५ वर्षीय दुई किशेरीहरूको हत्या भएको छ । ती युवतीहरू उनीहरूकै प्रेमी भनिएका व्यक्तिबाट मारिएका छन् भने हत्याको कारण किशोरहरूको यौनप्रस्ताव किशोरीबाट स्वीकार नगरिनु भनिएको छ । अपराधमा संलग्न व्यक्ति किशोर अवस्थाकै रहेकाले प्रहरीले उनीहरूको नाम सार्वजनिक गरेको छैन ।
त्यस उमेरमा पनि किशोर कसरी ज्यानै मार्नेसम्मको अपराधमा उद्यत् हुनसक्ने रहेछन् भन्ने देखिन आएको छ । त्यस अर्थमा यसलाई मनोवैज्ञानिक कारण भनिएको हो । सामान्य अवस्थाको मानिसले त्यसरी ज्यान मार्न सक्दैन । आवेशप्रेरित हत्या हो भने जसबाट पनि हुनसक्छ तर मनसायप्रेरित हात्या हो भने त्यो सम्भावना रहँदैन । मानसिक रूपमा निकै कठोर बनेरमात्र ऊ यस्ता अपराधमा संलग्न हुनसक्छ । आइतबारको राष्ट्रियसभाको बैठकमा महिला सांसदले घटनाको छानबिन र दोषीलाई कठोर सजाय हुनुपर्ने माग भएको छ । उहाँहरूले महिला हत्याका घटनामा न्यूनीकरण हुन नसकेको बताउँदै यस्ता घटना न्यूनीकरण हुनुपर्ने विचार व्यक्त गर्नुभएको छ ।
वास्तवमा हाम्रोमा सरकार, प्रहरी, प्रशासनबाट पनि अपराधको न्यूनीकरणका लागि विभिन्न उपायहरूको अवलम्बन हुन सकेको छैन । अपराध भएपछि त्यसको छानबिन गर्न र त्यसको निष्कर्ष दिन भने सकेको छ । हुन पनि कहाँ कति बेला कस्तो प्रकृतिको अवरोध हुन्छ भन्ने जानकारी लिनसक्नु सजिलो छैन । केही अपराधहरू प्रहरीको सक्रियताका कारण हुन पाउँदैनन् । शहरी क्षेत्रमा प्रहरीको गस्तीका कारण अपराधीले गर्न तयारी गरेको अपराध गर्न नसकेर भागेका पनि होलान् तर दुर्गम गाउँहरूमा त्यस्तो सम्भव छैन । मनसायप्रेरित अपराध गर्नेहरूबाट प्रहरी प्रशासनलाई झुक्याउन सक्छन् । किनभने त्यस्ता अपराधहरू तयारीका साथ हुने गर्छन् ।
सकिन्छ भने यस्ता अपराध हुनबाट रोक्नु र नसके अपराध भइसकेपछि निष्पक्ष छानबिन गरी विश्वसनीय निष्कर्ष दिनु सरकारका मातहतमा रहेका प्रहरी र प्रशासनको जिम्मेवारी हो । आफ्नो जिम्मेवारीबाट कोही पन्छिन मिल्दैन । लागूपदार्थ ओसारपसार सुनलगायत बहुमूल्य धातुको तस्करीका केही अपराध भने योजनाका साथ हुने हुनाले सुराकका आधारमा प्रहरीले त्यस्ता अपराधलाई पहिले नै रोक्न सक्छ । अपराधको सत्यतथ्य पत्ता लगाई न्यायिक निष्कर्ष निकाल्नुपर्छ । यसमा क्षपोषणको अवस्था रहनुहुँदैन । यसका लागि नागरिकहरूको सचेतता अपरिहार्य रहन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच