
देशको बहुपक्षीय विकासको महत्वपूर्ण र अपरिहार्य पूर्वाधार भनेको अध्ययन, अनुसन्धान, आविष्कार र लेखन संस्कृतिको लत अर्थात् आदतको विकास हो । अध्ययन, आविष्कार, अनुसन्धान र लेखनकोको लतलाई विकास तथा विस्तार गर्न नसक्ने शिक्षा पद्धति वास्तवमा देशको साधनस्रोत, जनशक्तिको दुरुपयोग गर्ने सूत्र हो । देश र नागरिकप्रतिको धोका हो । अध्ययन, अनुसन्धान, आविष्कार र लेखनलाई जुन शिक्षा पद्धतिले लतको रूपमा विकास गर्ने क्षमता प्रबद्र्धन गर्दैन त्यस जनशक्तिले प्रगति, नवप्रवर्तन र सीर्जनशीलताको किमार्थ विकास गर्दैन । शिक्षा अध्ययन, अनुसन्धान, लेखन र चिन्तनको लत विकासको अभिन्न अंगमात्रै नभएर यो विकास र आविष्कारको पूर्वाधारको जग हो ।
अध्ययनले र लेखनले यदि सिर्जनशीलता र नवप्रवर्तन विकास गर्दैन भने त्यस अध्ययनको के अर्थ ? शारीरिक श्रम र बौद्धिक श्रम दुबैको संयुक्त प्रतिफलबाटै कुनै पनि देश र समाजको विकास, आविष्कार, समृद्धिको द्वार खुल्छ । दुईमध्ये एकको अनुपस्थितमा विकास, आविष्कार, अनुसन्धानको कल्पना फगत कल्पनामै सीमित हुन्छ । नेपाली समाज, नेपाली विद्यालय, विश्वविद्यालय, शिक्षक प्राध्यापकले हाम्रो शिक्षा नीतिले अध्ययन, अनुसन्धान, आविष्कार, लेखन संस्कृतिको विकासमा खासै योगदान दिन नसक्दा रोजगारी प्रबद्र्धनमा सीपमूलक शिक्षालाई आत्मसात नगर्दा बेरोजगारी, युवा पलायनमात्रै होइन देश लथालिंग बन्यो ।
नेपाललाई भ्रष्टाचार र कुशासनको हब बनाउने नपढेकाहरू किमार्थ होइनन् पढेलेखेका नै हुन् । शिक्षितहरूमा माटोप्रतिको विशेष ममता र अपनत्व हुनुपर्नेमा त्यसो हुन नसक्नु दुर्भाग्यको सूचक हो । शिक्षा प्रणालीले शिक्षित जनशक्तिलाई विदेशिन उत्प्रेरित गर्दासमेत नीतिनिर्माताहरूले नेपाली माटाको हित गर्ने शिक्षा पद्धति पहिल्याउन किन सक्दैनन् ?
अध्ययनलाई, लेखनलाई फगत परीक्षा पास गर्ने, प्रमाणपत्र लिने र जागिरे बन्ने सीमित लक्ष्य बनाउँदा शिक्षक, प्राध्यापकहरूमा समेत अध्ययन, अनुसन्धान, आविष्कार, सीप विकास, लेखनबाट आनन्द लिने र त्यसलाई लतको रूपमा विकास गर्ने संस्कृति, संस्कारको हामीमा नितान्त अभाव छ । जहाँका शिक्षक र प्राध्यापकमा समेत अध्ययन, अनुसन्धान, आविष्कार, लेखनको आदत छैन भने तिनीहरूबाट उत्पादित जनशक्तिमा लेखन, अध्ययन, अनुसन्धान आविष्कारको लत कसरी बस्छ ? तसर्थ शिक्षक, प्राध्यापकमा सर्वप्रथम अध्ययन, लेखन, अनुसन्धानको लत बस्न अनिवार्य छ । अहिलेको शिक्षाको गन्तव्य फगत जीविकोपार्जन र धन आर्जनमा सीमित रहृयो ।
यो शिक्षा पद्धतिले ज्ञान, अनुसन्धान, आविष्कार र नवप्रवर्तनका क्षेत्रमा खासै योगदान गर्न सकेन । अंग्रेजी शिक्षा विशेषतः विदेशीहरूलाई अनुकूल हुने जनशक्ति उत्पादन गर्ने शिक्षा बन्यो । यस शिक्षा पद्धतिले देशलाई सकारात्मक भन्दा नकारात्मक योगदान गरेको अनुभूति आफैंमा दुर्भाग्यपूर्ण भन्नुपर्छ । वर्तमान शिक्षा पद्धतिले युवाहरूलाई विदेशिने मार्ग प्रशस्त गरेका कारण वर्तमान शिक्षा पद्धति देश, समाज र नागरिकको हितमा छैनभन्दा किमार्थ अत्युक्ति हुँदैन । शिक्षाको र शिक्षार्थीको गन्तव्य मातृभूमिलाई परित्याग गर्नु र बिगार्नु किमार्थ होइन बरू सिँगार्नु हो । हाम्रो शिक्षित जनशक्ति पलायन हुने प्रतिस्पर्धामा लीन छ ।
नेपाललाई भ्रष्टाचार र कुशासनको हब बनाउने नपढेका किमार्थ होइनन् पढेलेखेका नै हुन् । शिक्षितहरूमा माटोप्रतिको विशेष ममता र अपनत्व हुनुपर्नेमा शिक्षाले नागरिकलाई विदेशिन उत्प्रेरित गर्ने काम गर्नु भनेको दुर्भाग्यको सूचक हो । शिक्षा प्रणालीले शिक्षित जनशक्तिलाई विदेशिन उत्प्रेरित गर्दासमेत नीतिनिर्माताले नेपाली जनजीवन, आर्थिक सुदृढीकरण र माटाको हित गर्ने शिक्षा पद्धति पहिल्याउन किन सक्दैनन् ? अंग्रेजी शिक्षा धन संकलनमा मानिसलाई केन्द्रीकृत गर्ने शिक्षा हो । यसले देशमा भ्रष्ट नागरिक उत्पादन गर्न योगदान ग¥यो । यसको दुष्प्रभावको सिकार नेपाल र नेपाली भएको विषयमा अब चिन्ता लिने कसले ? तसर्थ अब भ्रष्टाचार रोक्नलाई हामीले यस धनप्रधान शिक्षा प्रणालीको सट्टा ज्ञानप्रधान अर्थात् ज्ञानमा आधारित शिक्षा पद्धति लागू गर्नुपर्छ ।
यथास्थितिमा भ्रष्टाचार नियन्त्रणको मागल गाउनु यो फगत स्टन्टमात्रै हो । अंग्रेजी शिक्षा धन शिक्षा हो भने ज्ञान शिक्षाको आधार भनेको र सदाचारी नागरिक उत्पादन गर्ने भनेको निःसन्देह संस्कृत शिक्षा हो । अब भ्रष्टाचार नियन्त्रण, देशको हावापानी अनुकूलको शिक्षित नागरिक उत्पादन गर्न हामीले शिक्षाको आधार संस्कृत शिक्षालाई नै बनाउनुपर्छ । संस्कृत भाषा संसारकै भाषामध्ये उत्कृष्ट छ भन्ने कुरा नासाका वैज्ञानिकले समेत स्वीकार गरेको अवस्थामा हामीले संस्कृतको महत्व र उपादेयतालाई किन आत्मसात गर्न सकेनौं ? अध्ययनलाई फगत परीक्षा जागिर प्राप्त गर्ने औजारको रूपमा प्रयोग गर्नु हाम्रो दुर्भाग्य हो ।
अध्ययनको गन्तव्य नवप्रवर्तन ज्ञान आर्जन हुनुपर्छ न कि धनार्जन । परीक्षाको प्रमाणपत्र जागिरको नियुक्तिपछि अब अध्ययनको अर्थ र औचित्य छैन भन्ने सोच, दृष्टिकोणले अध्ययनलाई एउटा बिन्दुपछि पूर्णविराम दिने नितान्त गलत संस्कार र संस्कृति बस्यो । म त्रिचन्द्र क्याम्पसमा स्नातक तह पढ्दा अंग्रेजी विषयमा द इंग्लिस उइ युज पढ्नुपर्दथ्यो । धेरै विद्यार्थी त्यो विषयमा फेल हुन्थे । त्यस बखत सेमेस्टर प्रणाली प्रचलनमा थियो । छ महिना पढाएपछि परीक्षा हुन्थ्यो । परीक्षामा असफल हुनेलाई पुनःपरीक्षा दिन पाइन्थ्यो । परिणामस्वरूप छ महिनापछि सफलता हात पार्थे ।
मेरै ब्याचका एकजना विद्यार्थीले त्यो विषय तीन-चार पटकमा पुनःपरीक्षा दिन पाउने सुविधाका कारण पास गरे । ती विद्यार्थी जसले बल्लतल्ल त्यस विषयलाई पुनःपरीक्षा दिएर पास गरे उनले विचित्रको निर्णय गरे । त्यो निर्णय थियोे अब आजका मितिदेखि अंग्रेजी नपढ्ने भन्ने संकल्पका साथ भगवान् पशुपतिनाथको मन्दिरमा गएर उक्त पुस्तक चढाए । यो वास्तविक हो कपोलकल्पित घटना होइन । आजभन्दा पचास वर्षअघिको यस घटनाका पात्र अहिले पनि सक्रिय छन् । उनी समयक्रममा त्रिचन्द्रबाट स्नातक तह एनकेन पास गरेपछि अरब देशहरूमा जागिर खान हान्निए । जागिरमा के-के हण्डर खाए या कमाए त्यो निजी विषयमा प्रवेश नगरौं तर उनले अंग्रेजी अब पढ्दिन भनेर पशुपतिनाथमा गरेको संकल्पलाई भंग गरेछन् । अंग्रेजीलाई राम्रो सुधारेछन् ।
त्यसको परिणाम उनी जागिरबाट बिदामा आउँदा उनले गाउँका अंग्रेजी पढ्दै नपढेका र पढेका तर बोल्न बानी नभएकालाई तेजोबध गर्ने हतियार अंग्रेजीलाई बनाए । यो परिवर्तन किन आयोभन्दा उनले अंग्रेजी सिक्ने र बोल्ने लत बसाले अर्थात् इमानदार अभ्यास गरे । त्यसको परिणाम भन्नुपर्छ नेपालमा बस्ने आफ्ना साथीहरूको तेजोबध गर्ने हतियारका रूपमा अंग्रेजीलाई प्रयोग गरे । भाषालाई कसैको तेजोबध गर्ने शैली ठीक हो होइन त्यसको छिनोफानोको जिम्मा पाठकलाई नै दिन्छु । यहाँ फगत घटनाको तस्बिर प्रस्तुत गरेको हुँ । अझ भरखरै मात्र उनैले २०२५ अंग्रेजी वर्षको पहिलो महिनाबाट अंग्रेजीमात्रै बोल्ने नेपाली नबोल्ने प्रतिज्ञा गरेछन् । त्यो कति व्यावहारिक हो त्यसको जिम्मा पाठकलाई दिन उपयुक्त होला ।
उनकी आफ्नै श्रीमती अंग्रेजीको अल्फाबेट नै चिन्दिनन् भने उनको अंग्रेजीमा मात्रै बोल्ने निर्णय कति अव्यावहारिक र हाँस्यास्पद होला ? नेपालमा किनमेललगायत अन्य व्यवहारलाई सुचारु गर्न के अंग्रेजीमात्रै बोलेर सम्भव छ ? यो अंग्रेजी बाजहरू अव्यावहारिक र अकुशल हुन्छन् भन्ने कुरा नेपालको उद्योग अर्थतन्त्र र सम्पूर्ण समाजलाई विखण्डित र ध्वस्त पार्ने काम नै अंग्रेजीबाजहरूले गरेका कारण अब हामी यसको पछि लागेर अझै सिद्धिने कि व्यावहारिक, अध्ययनशील, सुसंस्कृत बन्न संस्कृतलाई शिक्षाको आधार बनाएर सच्चिने भन्ने मझधारमा हामी छौं । शिक्षित व्यक्तिमा विवेक, ज्ञान, व्यावहारिकता परिस्थितिलाई बुझ्ने क्षमता सबै हुनुपर्छ ।
उनले जानेको अंग्रेजी कसरी, कहाँ, कहिले, कोसँग प्रयोग गर्ने विषयमा हेक्का नपु¥याउँदा उनी समाजमा, साथीबीच पक्कै आलोचित हुनुपर्छ । यो उनको कमजोरीभन्दा शिक्षा नीतिको कमजोरी हो । अंग्रेजी जान्नु र प्रयोग गर्नु भनेको बुद्धि विवेक र ज्ञानको ढोका उघ्रेको होइन । अंग्रेजी फगत शब्दको विनिमयको साधनबाहेक साध्य होइन । नेपालीहरू अहिले पनि ठूलो संख्यामा अशिक्षित छन् । शिक्षितमध्ये कति प्रतिशत नेपालीहरू अंग्रेजीमा बेहिचकिचाहटमा वार्तालाप गर्न सक्छन् ? हाम्रा प्रधानमन्त्रीजीले जसरी अंग्रेजी बोल्दै गर्दा नेपाली शब्द मिसाएर बोल्नुभयो यसले अंग्रेजी बोल्नेहरूको हैसियत नांगिएको छ ।
नेपाली युवाहरूको तीन समूह छ । एउटा अध्ययनपछि देशभित्रै भुल्ने । अर्को समूह अध्ययनपछि विदेश जाने र विदेशमा जागिर व्यवसायपछि देश फर्कने । अर्को युवा समुदाय भने अध्ययनपछि थप अध्ययनका लागि वा व्यापार व्यवसाय वा जागिरका लागि विदेशिने र उतै बस्ने र विदेशी नागरिकता लिने ।
यी अंग्रेजीमात्रै बोल्छु भन्ने विद्वानले यो कुरा बुझेको भए आफ्नै श्रीमती निरक्षर हुने व्यक्तिले अब अंग्रेजीबाहेक नेपाली नबोल्ने घोषणा भनेको विकासको नाम जप्ने तर विकासको नाममा भ्रष्टाचारमा चुर्लुम्म डुब्ने हाम्रा नेता नामका तस्कर, दलाल, माफियाहरूका सहयोगी प्रधानमन्त्री, मन्त्रीहरूभन्दा उनी के फरक भए ? विद्याले विनयशील बनाउँछ भन्ने निष्कर्ष संस्कृत शिक्षाको हो भने अंग्रेजी शिक्षाले आडम्बरी र आत्मप्रशंसक बनाउँछ भन्ने कुरा नेपाली भएर नेपाली पढ्न नजान्ने वर्तमान परराष्ट्रमन्त्री आरजु देउवाले प्रमाणित गरेकी छन् ।
यहाँ नेपाली युवाहरूहरूको तीन समूह छ । एउटा अध्ययनपछि देशभित्रै जागिर, व्यवसाय आदिमा भुल्ने । अर्को समूह छ अध्ययनपछि विदेश जाने र विदेशमा जागिर व्यवसायपछि देशमा फर्कने । अर्को युवा समुदाय भने अध्ययनपछि थप अध्ययनका लागि वा व्यापार व्यवसाय वा जागिरका लागि विदेशिने, उतै घरबास जोड्ने, विदेशी नागरिकता लिने । विदेशतिरै स्थायी बसोवास गर्ने फेरि नफर्कने भएको हुनाले तिनीहरूसँग त नेपाल र नेपाली समाजले चासो चिन्ता र सन्तुष्टि आदि लिनुको अर्थ रहेन । ती युवाहरू जसलाई देशले जन्मायो, हुर्कायो, पढायो, उनीहरूलाई स्वास्थ शिक्षामा अनगिन्ती लगानी गर्यो । दुर्भाग्य देशको नागरिकता नै परित्याग गर्ने बैगुनी नागरिकमा उनीहरूले आफूलाई दर्ता गरे । जननी जन्मभूमिश्च स्वर्गाद्वारी गरियसी जस्तो आदर्श वाक्यलाई भुल्ने, बेवास्ता गर्ने ती नागरिकका रूपमा कलंक हुन् ।
ती कलंकहरूको विषयमा थप चासो, चिन्ता र गर्व गर्नुको अर्थ छैन । किनकि तिनले आफैंलाई जन्म दिने आमाबाबुको रेखदेख त गरेनन् नै अन्तिम अवस्थामा, मृत्युसंस्कारमा समेत उपस्थिति हुन नसक्ने खबर सम्प्रेषण गरेर यहाँ भएका इष्टमित्रलाई समेत निराश बनाउने अधर्म गरेका छन् । जसले भूमिसँगको सम्बन्ध विच्छेद गर्यो उसले देशलाई, समाजलाई निराश बनाउन कुनै अप्ठ्यारो हुने कुरै भएन । उनीहरूमध्ये धेरैले धर्म परित्यागसमेत गरेकाले तिनीहरूमा हाम्रो संस्कार, संस्कृति र सम्बन्धप्रति कुनै अपनत्व नै छैन । त्यस समुदायले धर्म, संस्कृतिलाई मात्रै धोखा दिएको छैन बाबुआमा दिदीबहिनी, दाजुभाइ इष्टमित्र र नेपाली समाजलाई नै धोखा दिएको छ ।
अब नेपालले शिक्षा, स्वास्थ र तिनीहरूको लालनपालनमा गरेको सम्पूर्ण लगानी नेपाल र नेपालीका लागि खेर गयो । आगामी दिनमा राज्यले विदेशिने नागरिकका लागि लगानी गरेर देशको दुर्लभ मुद्रा र खर्चिला विविध सेवासुविधालाई दुरुपयोग नहुने वा त्यसरी गरेको सम्पूर्ण लगानीलाई असुलीपछि मात्रै विदेश जाने अनुमति दिनुपर्छ । त्यसलाई कार्यान्वयन गर्नुपर्छ । शिक्षा नीति र पद्धति कस्तो हुने ? देश विकास गर्ने जनशक्ति उत्पादन गर्ने कि शिक्षित जनशक्ति निर्यात गर्ने नीति र पद्धति अवलम्बन गर्ने ?
यसको छनौट र छिनोफानो राज्यको नीतिनिर्माताहरूले अविलम्ब गर्नुपर्छ । प्राथमिकता देशलाई दिने कि नागरिक पलायन हुन उत्प्रेरित गर्ने शिक्षा नीतिलाई दिन यस विषयमा राज्यसँग स्पष्ट धारणा र नीतिगत स्पस्टता हुनैपर्छ । देशको शिक्षा र शिक्षानीतिको गन्तव्य भनेको अध्ययन, अनुसन्धान, सीप, आविष्कार, नवप्रवर्तन, लेखन आदिमा लीन हुने नागरिक उत्पादन गर्नुपर्छ न कि टापटिपे, मातृभूमि नै परित्याग गर्ने, भ्रष्टाचार, कुशासनका बादशारु उत्पादन गर्ने शिक्षाले हाम्रो प्रगतिको प्रतिनिधित्व नगरेर अधोगतिको संकेत गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच