
काठमाडौं । नबिल बैंकले कतारमा रहेका नेपाली आप्रवासी श्रमिकलाई लक्षित गरी सुरक्षित बैंकिङ कारोबारसम्बन्धी चेतनामूलक कार्यक्रम आयोजना गरेको छ । बैंकका अनुसार कतारको र्याडिसन ब्लु होटलमा आयोजित ‘घर त नेपाल’ शीर्षक कार्यक्रममा एक सयभन्दा बढी नेपाली आप्रवासी श्रमिकको सहभागिता थियो । नबिल इन्भेष्टमेन्ट बैंकिङ र नबिल स्टक डिलर लिमिटेडको समन्वयमा आयोजित कार्यक्रममा नबिल बैंकका विभिन्न विभागका प्रतिनिधिले रेमिट्यान्स, निक्षेप, डिजिटल बैंकिङ, कर्जा तथा लगानीका साथै वित्तीय सचेतना, वित्तीय सेवाको उपयोग, बचत र लगानीका सम्बन्धमा अन्तरक्रियात्मक छलफल गरेका थिए । कार्यक्रममा विदेशबाट फर्किएका नेपाली कामदारको उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यले ल्याइएको ‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा’ बारेमा जनकारी दिइएको थियो ।
सो अवसरमा कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेलले औपचारिक माध्यमबाट रकम नेपाल पठाउँदा नेपालको समग्र अर्थतन्त्रलाई फाइदा पुग्ने भएकाले पैसा पठाउँदा औपचारिक माध्यम प्रयोग गर्न आग्रह गर्नुभएको थियो । उहाँले भन्नुभयो, ‘आर्थिक सुरक्षाका लागि प्रवासी नेपालीहरूले आफ्नो रेमिट्यान्स सुरक्षित र व्यवस्थितरूपमा औपचारिक बैंकिङ प्रणालीमार्फत् पठाउनुपर्छ । यसले तपाईंहरूको मिहिनेतको सही संरक्षण गर्नेमात्र होइन, नेपालकै आर्थिक स्थायित्वमा महत्वपूर्ण योगदान पुर्याउनेछ ।’
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले नेपाल र कतार दुवै देशको अर्थतन्त्रको विकासमा नेपाली श्रमिकको महत्वपूर्ण योगदान रहेकामा जोड दिनुभयो । कतारमा भारतीयपछि नेपाली श्रमिकको संख्या सबैभन्दा धेरै रहेको उल्लेख गर्दै उहाँले आफूहरू कतार आउनुको उद्देश्य डिजिटल सेवाबारे जानकारी गराउनु रहेको बताउनुभयो । जसमा कतारको मोबाइल प्रयोग गरी अनलाइनमार्फत् बैंकमा खाता खोल्न, कर्जाका लागि आवेदन दिन तथा बैंकअन्तर्गतका अन्य कम्पनीमार्फत् एसआइपी, म्युचुअल फण्ड र सेयर बजारमा लगानी गर्न सकिने उहाँको भनाइ थियो ।
नबिल बैंकका नायब महाप्रबन्धक आदर्श बजगाईंले भन्नुभयो, ‘नेपालको अग्रणी वित्तीय संस्थाका रूपमा हामी विदेशमा श्रम गरिरहेका नेपालीहरूको ठूलो योगदानलाई सम्मान गर्छौं । हाम्रो उद्देश्य भनेकै तपाईंहरूको मिहिनेतको उचित सदुपयोग गर्दै तपाईंहरूको आर्थिक सुरक्षालाई सुनिश्चित गर्ने वित्तीय उपकरण उपलब्ध गराउनु हो ।’
गैरआवासीय नेपाली संघ (एनआरएनए), कतारका अध्यक्ष रमेश भट्टले प्रवासी समुदायमा वित्तीय सचेतनाको आवश्यकतामा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘वित्तीय साक्षरताले दीर्घकालीन समृद्धिको ढोका खोल्छ । सचेत वित्तीय निर्णय गरेर र बैंकिङ सेवा सहीरूपमा उपयोग गरेर हामी रेमिट्यान्सलाई दिगो लगानीमा रूपान्तरण गर्न सक्छौं, जसले हाम्रो परिवार र नेपालको अर्थतन्त्रलाई फाइदा पु¥याउँछ ।’ नेपाल व्यवसाय संघ कतारका अध्यक्ष महेन्द्रप्रसाद चम्लागाईको महत्वपूर्ण योगदान रहेको थियो भने कार्यक्रमको अन्त्यमा स्ट्याण्डअप कमेडियन सुमन कार्कीले प्रस्तुति दिनुभएको थियो ।
नबिल बैंकले लामो समयदेखि कतारमा रहेका नेपाली श्रमिकलाई नेपालमा पैसा पठाउन सेवा प्रवाह गर्दै आएको छ । कतारबाट श्रमिकले पठाएको पैसा नेपालका कुनै पनि बैंकका खातामा तुरुन्तै जम्मा गर्न सकिन्छ । साथै उनीहरूले पठाएको रेमिट्यान्स मुलुकका विभिन्न स्थानमा रहेका २० हजारभन्दा बढी नबिल रेमिटका एजेन्टबाट सहजै प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच