चितवन । साहारा बहुउद्देश्यीय सहकारी ठगी आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाउने आदेश भएको छ । जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासले थुनछेक बहस नसकिएकाले लामिछानेलाई सुरक्षाकर्मीको जिम्मा लगाई जिल्ला प्रहरी कार्यालय पठाइएको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिनुभयो ।
सहकारी ठगी प्रकरणमा लामिछाने विरुद्धको मुद्दामा हिजो (बुधबार) थुनछेक बहस नसकिएपछि आज (बिहीबार) बहसमा निरन्तरता हुनेछ । चितवनको साहारा बहुउद्देश्यीय सहकारीको रकम अपचलन प्रकरणका प्रतिवादी लामिछाने बुधबार बिहान अदालत उपस्थित हुनुभएको थियो । बुधबार नै उहाँको बयान सकिएलगत्तै थुनछेक बहस सुरु भएको हो । लामिछानेको करिब ४ घण्टा लामो बयान लिइएको थियो ।
लामिछाने विरुद्धको मुद्दामा जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासमा बहस भइरहेको छ । थुनछेक बहस सकिएपछि लामिछानेलाई थुनामा पठाउने वा धरौटीमा छोड्ने वा साधारण तारेखमा छोड्ने भन्ने आदेश आउनेछ ।
बुधबार लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय सुशीलकुमार पन्त र धर्मराज आचार्य र अधिवक्ताहरू डा. नारायण दत्त कँडेल, चूडामणि सापकोटा, रामचन्द्र देवकोटा, सुवर्ण सापकोटा, सञ्जय गोले, गोपीलाल देवकोटा, केदारराज पन्त र दीपकराज तिमल्सेनाले वकालतनामा भरेको जनाइएको छ । मुद्दाका प्रतिवादी लामिछानेको तर्फबाट १० जना कानुन व्यवसायीहरूले बहस गर्ने जनाइएको छ ।
सरकारी तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने र सहायक न्यायाधिवक्ता बुद्धबहादुर थापाले बहस गर्नेछन् । यसैगरी, सहकारी पीडितको तर्फबाट बहस पैरवी गर्न वरिष्ठ अधिवक्ता राजकुमार श्रेष्ठ, अधिवक्ताहरू रमेश काफ्ले, सुनिता अधिकारी र शम्भु बर्तौलाले वकालतनामा दर्ता गराएका छन् ।
लामिछानेविरुद्ध मंगलबार चितवनको साहारा बहुउद्देश्यीय सहकारीको रकम ठगी कसुरमा अदालतमा मुद्दा दर्ता गरिएको थियो । साहारा बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको आरोपमा लामिछानेसहित थप १५ जनाविरुद्ध मुद्दा दायर भएको हो । चितवन जिल्ला अदालतमा मंगलबार पूरक मुद्दा दर्ता गरिएको हो । साहाराको रकम अपचलन र संगठित अपराध कसुरमा कारबाही गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री लामिछाने र तत्कालीन गोर्खा मिडिया नेटवर्क प्रालिका उपाध्यक्षसमेत रहेका पूर्वडिआइजी छविलाल बन्जाडे जोशीसहित १५ जना पूरकसहित मुद्दा दर्ता भएको हो ।
हाल पूरक अभियोगमा थप १५ सहित जम्मा ३२ जना प्रतिवादीउपर ठगी र संगठित अपराधको मुद्दा दर्ता भएको हो । मुलुकी अपराध संहिता २०७४ को दफा २४९ को उपदफा १, २ तथा संगठित अपराध निवारण ऐन २०७० को दफा ३ (१)(२)(३) र (५) विपरीतको कसुर कायम गरी अभियोग दर्ता भएको चितवन जिल्ला अदालतको सूचना अधिकारी शाखा अधिकृत अमृत विश्वकर्माले बताउनुभयो । उहाँका अनुसार सोही ऐनबमोजिम र संगठित अपराधमा दफा ९ (क) र (ग) बमोजिम मागदाबी लिएको छ ।
यसअघि असोज ८ गते बचतकर्ताको ३७ करोड ६५ लाख ६४ हजार ५ सय ४६ रुपैयाँ हिनामिना गरेको ठहर गर्दै प्रहरीले साहारा सहकारी १७ जनाविरुद्ध मुद्दा चलाउन रायसहितको प्रतिवेदनको आधारमा सरकारी वकिलको कार्यालयले मुद्दा चलाएको थियो । अदालतमा पेस गरिएको १ सय ९ पृष्ठको पूरक अभियोग पत्रमा लामिछाने र जोशी लगायतलाई सहकारी ठगी र संगठित अपराधको कसुर अनुसारको कारबाही र बिगो माग गरिएको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच